
भानुभक्तलाई बाढीले बगाएपछि … !
जतिसुकै पशुपतिनाथले कल्याण गरुन् भने पनि मनसुन र भनसुनले गरिब र धनीबिचको खाडल पुर्न कहिल्यै सकेन र समानताको कसीमा न्याय र अन्याय जाँच्न कुनै माइकललाल अघि उभिन सकेनन् ।

ह्यारी- ८० :
एकै दिनको पानीले देश जलमग्न हुन्छ त ! आखिर बाढी आएपछि कसको के लाग्छ र ? यो बाढी कसैलाई हर्ष कसैलाई बिस्मात बन्ने गर्छ । बाढीका नाममा कसैको पाडी बगायो भने भैँसी नै सहयोग आउँछ त त्यो हर्ष नभए के ? घर, जहान परिवार, पाल्तु जनावर सबै बगायो भने पनि कसैलाई गोठ बनाउने बजेट पनि आउँदैन अनि यो बिस्मात नभएर के हो त ? कसैलाई घरगोठ बनाउने बजेटदेखि गोठमा गाईवस्तुलगायत श्रीमतीका ओठमा समेत दल्न पुग्ने क्रिम आउँछ । त्यति मात्र हो र आइसक्रिम पनि अफर गरी गरी आइपुग्छ । प्रकोपका वेला चन्दाका नाममा धन्दा चलाउनेको बिगबिगी यति चल्छ कि एकातिर कुम्ल्याउने र अर्कातिर यसो कनिका छर्दै फोटो खिच्ने र पोस्ट्याउनेको जुहारी नै चल्छ । भूकम्पमा देखिइहाल्यो नि ! भूकम्पपीडितका लागि बाँडिएका राम्रा पाल मैयाँसाहेबहरूले बिकिनी फेर्न कम्पाउन्डमै हाले रे भनेको सुन्दा फतुरे काकाको कान के भयो होला लौ भन्नुस् त !
भूकम्प त कमाउनेका लागि अकासे खेती रहेछ । यो कहिले आउँछ, कहिले, कति आउँछ कति ? भूकम्प आउनेको ठेगान नहुने हँुदा यसबाट कति र कहिले कमाउने भन्ने थाहै नहुने हुँदा यो अनिश्चित हुँदो रहेछ । बर्सेनि नियमित रूपमा आइरहने र भइरहने भनेको बाढीपहिरो नै हो । योजनाबद्ध रूपमा बादल लाग्न थालेदेखि नै बजेट निकासा हुन्छ तर बाढी आइसक्दा बजेट सकिसक्छ । प्रभावितलाई बजेट नभएको देखाएर कन्तबिजोक देखाउँदै अरू माग्न पाइने बर्खे खेती रहेछ यो । यो खेती गर्ने काइदाले फाइदा नै फाइदा भएन त ! आखिर दुधिलो मकै दारेर खान पल्केकाले यसो नगरेर कसो गर्ने त !
मनसुन र भनसुनको बाढीले जहिल्यै नेपाललाई सताइरह्यो । हामी बुद्धु छौँ र त वीर छौँ किन भनेका होलान् भूपीले जस्तो लाग्थ्यो मलाई पहिले पहिले । सृष्टिको पहिलो मुहान भने पनि, बुद्धको पावन भूमि भने पनि, जतिसुकै पशुपतिनाथले कल्याण गरुन् भने पनि मनसुन र भनसुनले गरिब र धनीबिचको खाडल पुर्न कहिल्यै सकेन र समानताको कसीमा न्याय र अन्याय जाँच्न कुनै माइकललाल अघि उभिन सकेनन् ।
बर्सेनि बाढी आउँछ, समाचारको विस्फोट हुन्छ तर पनि अर्को वर्ष उस्तै आउँछ अझ उर्लेर आउँछ । यहाँ वर्षाले मात्रै बाढी ल्याउने भए पो ! कहिले मेलम्चीले बाढी, कहिले हिमताल फुटेर बाढी, कहिले कोशी, गण्डकी, नारायणीले बाढी ल्याउँछ । यी समस्यामाथि समस्या आफैँ आएका होइनन् । लङ्गुरे माफियाले नदीलाई दुलो वा डुँड बनाइदिए, आफ्नो मङ्गलका लागि जङ्गल स्वाहा बनाइदिए अनि बाढी नआए के आउँछ त ? माथि सहर मुनि ढलको नहर, उता गाउँ डोजरले जोतेको र कपिएको विकासे गाउँ अनि बाढी कहाँ जाओास्, अनि किन नजाओस् पहिरो । यहाँ पहिरो होइन अर्कै पहिरोभित्रको गहिरो कुरा पनि छ । कसैलाई नभन्नुस् है । वास्तवमा पानीको बाढी मात्र होइन है, यहाँ त भेपका बट्टाभित्र र मोटर साइकलको पैडलभित्र अनि कता कता भेउ नै नपाइने गरी सुनकै बाढी आउँछ रे ! सबै भन्दा बढी आउने ठाउँ खोलानालाको बाटो छोडेर एअरपोर्टतिर आउन थालेको छ ।
हिजोआज बाढी पनि आधुनिक बनिसकेको छ । देश सङ्घीयताभित्र छिरिसकेपछि बाढीले अग्रगामी छलाङ मारिसकेको छ । यहाँ त बाढी पनि हवाईजहाज चढेर आउँदो रहेछ । बाबुसा’प, मैयाँसा’पनीहरूको योजनामा भेल बाढी आउँदो रहेछ बाबै । कसले रोक्नु त्यति ठुला बाढी । चिया बगानमा बाढी छिरेपछि, एअरपोर्टमा छिरेपछि बाँध बाँधेरै साध्यै रहेन छ । आफ्नै चपरी आफ्नै दुवाली भएपछि माछा मार्न सक्नुपर्ने हो तर पनि आम्मै ! ती त ह्वेल माछा भन्दा नि ठुला भएपछि कसले समाउन सक्नु, कसले रोक्न सक्नु त्यो बाढी । देशमा बग्ने अन्य बाढी पनि कति छन् कति ! संसद्मा हेर्यो यत्रो कचौरा जत्रो देशाँ सांसद् बाढी छ । प्रदेशैपिच्छे नेतैनेताको बाढी छिरेको छ । जनता भन्दा नेतातिर तराजु ढल्केको देश कहीँ छ भने यहीँ छ । सबै भालेले कर कर कर गर्दै कर उठाएर जनतालाई चरी नाङ्गै बनाएपछि जनताको भेलबाढी खाडीतिर हानिएको छ । हुनेखानेहरूको बाढी विकसित भनाउँदा देशतिर बगे । अर्कातिर हुँदा खानेहरू बगेर खाडीतिर पुगे, पुग्दै छन् । यता त मलिलो देश बगेको बाढी कसरी रोकिएला त !
आखिर वर्षाको भेल बगेर समुन्द्रैतिर त हुइँकिने रहेछ । ऋणको बाढी जनताको टाउकामा, सहकारीको बचत बाढी नेताका मुट्ठीतिर बगेपछि जनताको झुपडीमा बाढी छिर्दैन त ? घुसको बाढी, भ्रष्टाचारीको कार्यालयमा बढेको बाढी, नेताका आली अटालीमा चाकरी गर्न जाने झोलेको बाढी, घुम्ती घुम्तीमा नागरिकता किन्नेको बाढी, चेलीबेटी र सोझासाझालाई युद्धग्रस्त मुलुकमा बेच्नेको बाढी, बाढी पनि तह र तप्काका कति कति ? यो देशामा बाढी बढेको बढ्यै छ । धर्म, जात किन्ने र बेच्ने बाढीको बिगबिगी त्यतिकै छ । अनि किन नबगाओस् त झुपडी, किन नपसोस् त बाढी गाउँ गाउँ बस्ती बस्तीमा । किन पहिरो नजाओस् ठाउँ ठाउँमा ! पहाडका कुना कन्दरमा डोजर चलाएपछि । ठेकदार बढेका बढ्यै छन्, पहिरो खस्याखस्यै छ । बाटो भासिएको छ, पुल बगेका छन् र त नेता उकासिएका छन् एअरपोर्ट बनेर पनि टुलुटुलु हेरेर बसिरहेकै छ क्यारे । बाटो भत्के पनि केको पिर ! जनताको पूजा गर्छु भन्दै गएका पण्डितहरूले चौकामा बसेपछि जनताकै श्राद्ध गर्न थालेपछि जनताले पनि के गरुन् ! जसो जसो बाहुनबाजे उसै उसै स्वाहा गर्नुपरेन त !
हुन पनि अरू देशमा पनि बाढी आउँछ र जान्छ । नगण्य क्षति हुन्छ अनि पो समाचारै आउँदैन । हाम्रो देशामा भने मानव निर्मित काण्डैकाण्डका बाढीले प्राकृतिक बाढीलाई मलजल गरिरहेछ र त हुँडारहरूले बाढीबाट घरभित्रै नुनदेखि सुनसम्मको बजेटको बाढी हुलिरहेछन् ।
वास्तवमा फलामलाई फलामले काटे झैँ देशमा भइरहने बाढीलाई युवा बाढीले नै रोक्न सक्छ त ! जबसम्म जनता रहिरहन्छन् तबसम्म बाढीको लुकामारी रहिरहने नै छ । त्यही भएर पो फतुरे काका फत्फताउँदा रहेछन् त, “देशमा कुवा खनाउने घाँसीको जय होस्, भानुको जय होस् । हरेक वर्ष बाढी आउँदा सोहोरेर भुँडी भर्न पाइन्छ भन्नेहरूलाई त्यही बाढीले बगाओस् । धेरै भानुभक्तलाई बाढीले बगाएपछि बल्ल चेत खुल्दै गएर आवाज उठ्न थालेको छ बाढीको ! अब बचेका भानुलाई बाढीले नबगाओस् !” अस्तु !!
०००
गोकर्णेश्वर ५, काठमाडौँ
२०८१ साल असार २९ गते (भानुको स्मृतिमा श्रद्धासुमन !)
Subscribe
Login
0 Comments
Oldest