बद्रीप्रसाद दाहाल ‘भस्मासुर’भानाे ! नमस्कार छ !!
चोखो मौलिक भारती किन यहाँ भाँच्दै र मास्दै गए ! प्राडाका पगरी गुथेर कतिले भाषा बिगार्दै गए !! आफ्ना गौरव उच्च पौरख भुली, मात्रै बिकाऊ हुँदा । भत्के वर्ण विवर्ण बेथिति बढी पाखण्डका छन् फुँदा।।

बद्रीप्रसाद दाहाल :
हाम्रा धीर प्रकाण्ड पण्डित तिमी हौ भारतीका कर !
हाम्रा संस्कृति सभ्यता सिप कला देदीप्य छाै सर्जक !!
हाम्रा वाङ्मय काव्य कानन फुले, माली सुसारे तिमी !
भाषा मानक पार्न कम्मर कस्याै हौ राष्ट सञ्जीवनी !!
नेपाली रसना खिपेर कविता कुँद्दै खुले लेखनी !
नेपाली मनका व्यथा हृदयले, सारेर लेख्थ्यौ कवि ! !
भाषा मानक सुन्दरै सुरसिलाे नाच्छन् महा—काव्यमा ।
पाेख्याै भक्ति कथा र दर्शन सफा हाँस्छन् सबै काव्यमा ।।
चोखो मौलिक भारती किन यहाँ भाँच्दै र मास्दै गए !
प्राडाका पगरी गुथेर कतिले भाषा बिगार्दै गए !!
आफ्ना गौरव उच्च पौरख भुली, मात्रै बिकाऊ हुँदा ।
भत्के वर्ण विवर्ण बेथिति बढी पाखण्डका छन् फुँदा।।
छैनन् खोज — गवेषणा सतहमै जुध्दै र बाझ्दै ठुला –
मात्रै नक्कल गर्दछन् पर— प्रथा भाषा बनाई लुला ।
साट्छन् स्वार्थ पिएर विज्ञपन नै धिक्कार ! धिक्कार छ !
ताताे रश्मि छरेर दग्ध गरिद्याै भानाे ! नमस्कार छ !!
०००
धादिङ
Subscribe
Login
0 Comments
Oldest






































