डिल्लीप्रसाद अधिकारीसूचना
एकाबिहानै डोरीको खाँचो किन भयो ? कतै अनिष्ट त हुने होइन ? देशले चिन्ता गर्ने बेला आएको छ । सबैमा यो सूचना पुगोस् । यो सूचनाकै युग भएकाले सबैले सुसूचित हुन पाउनुपर्छ ।
डिल्लीप्रसाद अधिकारी :
महावीरप्रसाद ठूला नेता हुन् । यसपालिको चुनाउ हारेपछि उनको सातो उडेको छ । म पनि हार्छु भन्ने उनलाई हेक्का नभएकाले उनलाई हार पचाउन गाह्रो परिरहेछ । प्रजातन्त्रमा जनताको मत सर्वोच्च हो भनेर उनले बिर्सेका बेला उनी हारे ।
तिनताक देशमा डोरीको बिक्रीवितरण राम्रो थियो । महावीरले डोरी उत्पादनमा विशेष जोड यसकारण पनि दिने गर्दथे कि आफ्ना चुनावी भाषणमा उनी विपक्षीलाई डोरीमा झुन्डिएर मर्ने सुझाउ दिने गर्दथे । जनतामा नैराश्य यति धेरैले छाएको थियोे कि बालकदेखि लिएर युवा र प्रौढ मानिसहरू आत्महत्या गर्न पनि प्रायः डोरीकै सहायता लिन्थे ।
डोरीको उपयोग आत्महत्याका लागि हुनेछ भनेर उनले यसको उत्पादनमा जोड दिएका भने होइनन् । डोरीले जनतालाई एकसूत्रमा बाँधेर आफैतिर डोर्याएर शासन गरिरहने महावीरको पवित्र इच्छा थियो । तर दिनदिनै डोरी दुई अङ्गुल छोटो हुनथालेपछि उनी विचलित बन्न थाले । यसोदाले कृष्णलाई ओखलमा बाँध्न खोज्दा डोरी छोटो भएको मिथक जस्तै यहाँ पनि डोरी छोटो भयो । जनता तर कृष्ण थिएनन्, मानवीय गुण भएका मान्छे थिए र डोरी छोटो हुने आयतन झन् बढ्दै गयो । बाँधिन नचाहनेहरूको संख्या पनि बढ्दो हुँदै जान थाल्यो ।
महावीरलाई सकस हुन थाल्यो जसले गर्दा उनले शासनको काम राम्ररी गर्न सकेनन् । प्रकटमा नभने पनि उनलाई थाहा थियो कि डोरीले जनतालाई झुन्ड झुन्डमा बाँधिएको छ । भन्न त उनी जनता ऐक्यबद्ध छन् भन्थे ।
चुनाउ हारेपछि त झन् डोरी छोटिने प्रक्रिया बढ्दै गयो । अहिले जितेकालाई भने डोरीको आवश्यकता किन नपरेको होला भनेर महावीर छक्क पर्थे । मायाको डोरीले बाँधेपछि महावीरले उत्पादन गरेको डोरी नचाहिने भएकाले डोरीको माग घटेर गयो फलतः उत्पादन पनि घट्यो ।
आज बिहानै महावीरप्रसाद एउटा दोकानमा डोरी किन्न आएका रहेछन् । हठात् उनलाई त्यो पनि एकाबिहानै डोरीको खाँचो किन भयो ? कतै अनिष्ट त हुने होइन ? देशले चिन्ता गर्ने बेला आएको छ । सबैमा यो सूचना पुगोस् । यो सूचनाकै युग भएकाले सबैले सुसूचित हुन पाउनुपर्छ ।
०००
रिणाक, सिक्किम
Subscribe
Login
0 Comments
Oldest





































