साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पशुपतिको देशमा प्रभुहरूको अनुकम्पा !

हे दयानिधान ! हजुरहरूको यो आदर्श गणराज्यमा सबैमा प्रशन्न चित्त छ । अपराधीहरू जेल जान पर्देन । तस्करहरूले धक मान्नु पर्दैन । चोरहरूले चिन्ता गर्नु पर्दैन । भ्रष्टहरूलाई सबै छुट छ । लुट्नेहरू एकजुट छ। भोको र नाङ्गो कोही छैन ।

Nepal Telecom ad

रामप्रसाद पन्थी :

वैदिक धर्ममा त्रिदेवका रूपमा ब्रह्मा, विष्णु र महेश्वर मानिन्छन् । यी त्रिदेवले सृष्टि, पालन र संहारको जिम्मेवारी सम्हालेका छन् । शक्ति पृथकीकरण र शक्ति सन्तुलनको सिद्धान्त मन्टेस्क्यू र जोन एडम्सले यिनै त्रिशक्तिबाट लिएको हुनुपर्दछ । यो सिद्धान्तले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको परिकल्पना गरेको छ । सिद्धान्तले एउटा निकायले अर्को निकायको अधिकार क्षेत्रमा हस्तक्षेप नगर्ने र एकले अर्कोलाई स्वेच्छाचारी हुन नदिई नियन्त्रणमा राख्ने मान्यता राख्दछ ।

मर्त्यलोकमा एउटा नेपाल नामक देश छ । यस देशले राज्य सञ्चालनका लागि संविधानको परिकल्पना गरेको छ । संविधानकै आधारमा व्यवस्थापिका, कार्यपालिका र न्यायपलिकाको गठन गरेको छ । अन्तर्राष्ट्रिय जगतमा आफूलाई स्वाधिन, सार्वभौम, अभिभाज्य र कानुनी राष्ट्रका रूपमा परिभाषित गरेको छ । यसमा कुनै सन्देह छैन ।

संसारमा नेपालले आफूलाई धर्म निरपेक्ष भनेर चिनाएको छ । तसर्थ यस देशका त्रिदेव ब्रह्मा, विष्णु र महेश्वरले आफूलाई हिन्दुवादी ठान्दैनन् । अझ भनौँ हिन्दूत्वलाई धर्म नै मान्दैनन् । जिज्ञासा हुन सक्छ, को हुन् त ती त्रिदेव ? विषयवस्तुको उठान गरेपछि बैठान पनि गर्नुपर्ला । नेपाली त्रिदेवका कथा ध्यानपूर्वक सुन्नुहोला ।

नेपाली त्रिदेव तपाईंहरूकै चिर परिचित अनुहार हुन् । सशरीर साक्षात रूपको दर्शन गर्न सक्नुहुन्छ । यी देवताको यथासक्य भक्ति गरे मनोरथ पूरा हुन बेर लाग्दैन । तपाईंको जिज्ञासा हुन सक्छ –
प्रभु दर्शन् कहाँ मिल्छ जाने कहाँ होला
फल फूल दक्षिणामा के पो लाने होला ?

चिन्ता लिनु पर्दैन । अराध्यदेवहरू भेट्न त्यति गाह्रो छैन । बुढानीलकण्ठ, बालकोट, खुमलटार त्रिदेवका त्रिधाम हुन् । यसबाहेक बालुवाटार, सिंहदरबार, शीतल निवास, वानेश्वरस्थित संसद भवन जस्ता आसपासका क्षेत्रहरूमा प्रभुहरूलाई नन्दी, भृङ्गी, चौसठ्ठी योगिनी लगायतका भक्त दलका साथमा भेटाउन सकिन्छ । एकान्तमा नै भेट्नु छ भने तारे होटलमा लैजानुहोस् । विदेशी ब्रान्डेड सिसाको सोमरस चढाउनुहोस् र मोटो दक्षिणाले ढडाउनुहोस । यति गर्नुभयो भने प्रभुहरू पगाल्न गाह्रो छैन । प्रभुहरू प्रशन्न पार्न सके सरकारी सेवामा भए सरूवा बढुवा पक्का हुन्छ । राजनीतिमा भए मन्त्री या राजदूत । व्यापारी भए भन्सारमा राजश्व छुट । ठेकेदार भए कामै गर्न नपर्ने टेण्डर पक्का । यसैगरी तपाईंको हैसियत अनुसारको जिम्मेवारी वा विशेष सुविधाका लागि दुविधामा पर्नु पर्दैन ।

नेपाल देशको राज्य सञ्चालन यिनै त्रिदेवको केन्द्रीयतामा रहन्छ । त्रिदेवहरूले व्यवस्थापिका संसदमा ओैँठाछापमा विद्यावारिधी प्राप्त विशिष्ट विद्वानहरूको व्यवस्था गर्नुभएको छ । छिमेकीको साउतीमा उतैका कुरा कपी गरेर यता पेष्ट गरी ऐन, कानुन निर्माण गराउनुहुन्छ । कार्यपालिकाको घुम्ने कुर्सी बीचमा राखेर कुर्सी दौड प्रतियोगिता गराउनुहुन्छ । छिर्के हानेर, खुट्टा तानेर एकले अर्कोलाई लडाएर दुईचार महिनमा पालो पर्ने गरी कार्यपालिका चलाउनुहुन्छ । आफ्नै भक्तहरू मध्येबाट निकटतम विश्वास पात्रलाई न्यायपालिका प्रमुख बनाउनु हुन्छ । आफू अनुकूल संविधान र कानुनको व्याख्या गराउनुहुन्छ । प्रभुहरूको भावना प्रतिकुल भए महाअभियोग दर्ता गराएर छेर बाख्री खेलाउनु हुन्छ । त्यसैले जे हुन्छ यो देशमा त्रिदेवको चाहनामा हुन्छ ।

त्रिदेवलाई कुनै कुरामा चित्त बुझेन वा कुनै कुराले कसैले रिझाउन सकेन भने उसलाई शनि संकटाको दशाले घेर्‍यो भनेर जाने हुन्छ । केही समय पहिला एउटा नरेशले फूर्ति देखाउन खोज्दा सात दिशामा फर्किएका सप्तदेवहरूले दरवारबाट जङ्गलतिर मिल्काएका थिए रे ! कसले कसलाई कतिखेर मिल्काउने भन्ने कुरा प्रभुहरूको मुडमा भरपर्छ । कतिखेर प्रभुहरू टाउकाको मूल्य तोक्नुहुन्छ । कतिखेर तिनै टाउकाहरूसँग आफ्ना टाउका जोड्नु हुन्छ । पत्तै हुँदैन । प्रभुहरूको लीला अपरम्पार छ । यस्तो लीला रच्ने अद्भूत क्षमता भएरै त प्रभु पद प्राप्त भएको हो ।

पद र प्रतिष्ठाका लागि कहाँ मात्रै छैन लफडा ? इन्द्रको स्वर्गलोकमा पनि बेलाबखत हङ्गामा चलिरहन्छ । ब्रह्मा, विष्णु र महेश्वरमा को ठूलो ? भन्नेमा रस्साकस्सी चलिरहन्छ । तर अप्ठ्यारोमा पर्दा एकले अर्कोलाई हार गुहार गरेकै हुन्छन् । एकले अर्कोको शरणमा परेकै हुन्छन् । यहाँका प्रभुहरू पनि त्यसै गर्नुहुन्छ ।

यो नेपाल नामक मर्त्य लोक हो । यहँ पशुपतिनाथ विराजमान हुनुहुन्छ । त्यसकारणले पनि यो पशुका पतिहरूको देश हो । भगवान पशुपतिनाथलाई पनि माथ गर्ने छद्मभेषी प्रभुहरू हुनुहुन्छ यहाँ । यी प्रभुहरूका धुपौरेहरू र तिनका लीला र चर्तिकला हेर्न पाउनु पनि अहोभाग्य नै मान्नु पर्छ ।

प्रभुहरूको साना दुःखले संघीय गणतन्त्र आर्ज्याको होइन । यहाँ प्रभुहरूले अर्जुनहरूलाई कुरूक्षेत्र पठाउनुभयो । नरसंहार रचाउनुभयो । रगतको खोलो बगाएर यो देश बचाउनु भयो । डलरसित साटेर धर्म निरपेक्षता बनाउनुभयो । तीन तहका सरकारका नाममा थुम्का थुम्कामा देवालयहरू खडा गर्नुभएको छ । भक्तजनहरूलाई दुःख नहोस् भनेर तेत्तीस कोटी देवताहरूलाई पिठाधीश बनाउनु भएको छ। हामी धन्य छौं प्रभु यहाँहरूको अनुकम्पाले । यहाँहरूकै निगाहले आज गाउँ घरमै प्रभुहरूको दर्शन मिलेको छ । यहाँहरूकै अंशावतारहरूको चरणकमलको सेवा गर्ने सौभाग्य प्राप्त भएको छ । रामराज्यको परिकल्पना सार्थक भएको छ ।

हे दयानिधान ! हजुरहरूको यो आदर्श गणराज्यमा सबैमा प्रशन्न चित्त छ । अपराधीहरू जेल जान पर्देन । तस्करहरूले धक मान्नु पर्दैन । चोरहरूले चिन्ता गर्नु पर्दैन । भ्रष्टहरूलाई सबै छुट छ । लुट्नेहरू एकजुट छ। भोको र नाङ्गो कोही छैन । घाम, पानी र हावा खाएर सबै तृप्त छन् । अनागरिक कोही छैन । छिमेकीहरूले समेत नागरिक पाएका छन् । नागरिकहरू शरणार्थी भिसामा सात समुद्रपार घुमेकै छन् । क्विन्टलका क्विन्टल सुन भित्रिएको छ । लंकामा सुन छ मेरा कान बुचै कसैले भन्नू परेको छैन । यो देश सुवर्णर नगरी भएको छ । जय होस् प्रभुहरूको ! जय होस् मेरो देश ! यहाँ शक्ति पृथकीकरण, शक्ति सन्तुलन र नियन्त्रणको नमूनायोग्य असल अभ्यास भएको छ ।

०००
रेसुङ्गा नगरपालिका २, तम्घास गुल्मी
२०८१श्रावण ५

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ढाेग दियाँ

ढाेग दियाँ

रामप्रसाद पन्थी
झिङ्गे दाउ

झिङ्गे दाउ

रामप्रसाद पन्थी
मोबाइलको ठाँडो

मोबाइलको ठाँडो

रामप्रसाद पन्थी
मोडर्न ड्रेस

मोडर्न ड्रेस

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
छाडा साँढेको खोजी

छाडा साँढेको खोजी

ठाकुरप्रसाद अधिकारी
विवशता

विवशता

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x