रामप्रसाद पन्थीपशुपतिको देशमा प्रभुहरूको अनुकम्पा !
हे दयानिधान ! हजुरहरूको यो आदर्श गणराज्यमा सबैमा प्रशन्न चित्त छ । अपराधीहरू जेल जान पर्देन । तस्करहरूले धक मान्नु पर्दैन । चोरहरूले चिन्ता गर्नु पर्दैन । भ्रष्टहरूलाई सबै छुट छ । लुट्नेहरू एकजुट छ। भोको र नाङ्गो कोही छैन ।
रामप्रसाद पन्थी :
वैदिक धर्ममा त्रिदेवका रूपमा ब्रह्मा, विष्णु र महेश्वर मानिन्छन् । यी त्रिदेवले सृष्टि, पालन र संहारको जिम्मेवारी सम्हालेका छन् । शक्ति पृथकीकरण र शक्ति सन्तुलनको सिद्धान्त मन्टेस्क्यू र जोन एडम्सले यिनै त्रिशक्तिबाट लिएको हुनुपर्दछ । यो सिद्धान्तले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको परिकल्पना गरेको छ । सिद्धान्तले एउटा निकायले अर्को निकायको अधिकार क्षेत्रमा हस्तक्षेप नगर्ने र एकले अर्कोलाई स्वेच्छाचारी हुन नदिई नियन्त्रणमा राख्ने मान्यता राख्दछ ।
मर्त्यलोकमा एउटा नेपाल नामक देश छ । यस देशले राज्य सञ्चालनका लागि संविधानको परिकल्पना गरेको छ । संविधानकै आधारमा व्यवस्थापिका, कार्यपालिका र न्यायपलिकाको गठन गरेको छ । अन्तर्राष्ट्रिय जगतमा आफूलाई स्वाधिन, सार्वभौम, अभिभाज्य र कानुनी राष्ट्रका रूपमा परिभाषित गरेको छ । यसमा कुनै सन्देह छैन ।
संसारमा नेपालले आफूलाई धर्म निरपेक्ष भनेर चिनाएको छ । तसर्थ यस देशका त्रिदेव ब्रह्मा, विष्णु र महेश्वरले आफूलाई हिन्दुवादी ठान्दैनन् । अझ भनौँ हिन्दूत्वलाई धर्म नै मान्दैनन् । जिज्ञासा हुन सक्छ, को हुन् त ती त्रिदेव ? विषयवस्तुको उठान गरेपछि बैठान पनि गर्नुपर्ला । नेपाली त्रिदेवका कथा ध्यानपूर्वक सुन्नुहोला ।
नेपाली त्रिदेव तपाईंहरूकै चिर परिचित अनुहार हुन् । सशरीर साक्षात रूपको दर्शन गर्न सक्नुहुन्छ । यी देवताको यथासक्य भक्ति गरे मनोरथ पूरा हुन बेर लाग्दैन । तपाईंको जिज्ञासा हुन सक्छ –
प्रभु दर्शन् कहाँ मिल्छ जाने कहाँ होला
फल फूल दक्षिणामा के पो लाने होला ?
चिन्ता लिनु पर्दैन । अराध्यदेवहरू भेट्न त्यति गाह्रो छैन । बुढानीलकण्ठ, बालकोट, खुमलटार त्रिदेवका त्रिधाम हुन् । यसबाहेक बालुवाटार, सिंहदरबार, शीतल निवास, वानेश्वरस्थित संसद भवन जस्ता आसपासका क्षेत्रहरूमा प्रभुहरूलाई नन्दी, भृङ्गी, चौसठ्ठी योगिनी लगायतका भक्त दलका साथमा भेटाउन सकिन्छ । एकान्तमा नै भेट्नु छ भने तारे होटलमा लैजानुहोस् । विदेशी ब्रान्डेड सिसाको सोमरस चढाउनुहोस् र मोटो दक्षिणाले ढडाउनुहोस । यति गर्नुभयो भने प्रभुहरू पगाल्न गाह्रो छैन । प्रभुहरू प्रशन्न पार्न सके सरकारी सेवामा भए सरूवा बढुवा पक्का हुन्छ । राजनीतिमा भए मन्त्री या राजदूत । व्यापारी भए भन्सारमा राजश्व छुट । ठेकेदार भए कामै गर्न नपर्ने टेण्डर पक्का । यसैगरी तपाईंको हैसियत अनुसारको जिम्मेवारी वा विशेष सुविधाका लागि दुविधामा पर्नु पर्दैन ।
नेपाल देशको राज्य सञ्चालन यिनै त्रिदेवको केन्द्रीयतामा रहन्छ । त्रिदेवहरूले व्यवस्थापिका संसदमा ओैँठाछापमा विद्यावारिधी प्राप्त विशिष्ट विद्वानहरूको व्यवस्था गर्नुभएको छ । छिमेकीको साउतीमा उतैका कुरा कपी गरेर यता पेष्ट गरी ऐन, कानुन निर्माण गराउनुहुन्छ । कार्यपालिकाको घुम्ने कुर्सी बीचमा राखेर कुर्सी दौड प्रतियोगिता गराउनुहुन्छ । छिर्के हानेर, खुट्टा तानेर एकले अर्कोलाई लडाएर दुईचार महिनमा पालो पर्ने गरी कार्यपालिका चलाउनुहुन्छ । आफ्नै भक्तहरू मध्येबाट निकटतम विश्वास पात्रलाई न्यायपालिका प्रमुख बनाउनु हुन्छ । आफू अनुकूल संविधान र कानुनको व्याख्या गराउनुहुन्छ । प्रभुहरूको भावना प्रतिकुल भए महाअभियोग दर्ता गराएर छेर बाख्री खेलाउनु हुन्छ । त्यसैले जे हुन्छ यो देशमा त्रिदेवको चाहनामा हुन्छ ।
त्रिदेवलाई कुनै कुरामा चित्त बुझेन वा कुनै कुराले कसैले रिझाउन सकेन भने उसलाई शनि संकटाको दशाले घेर्यो भनेर जाने हुन्छ । केही समय पहिला एउटा नरेशले फूर्ति देखाउन खोज्दा सात दिशामा फर्किएका सप्तदेवहरूले दरवारबाट जङ्गलतिर मिल्काएका थिए रे ! कसले कसलाई कतिखेर मिल्काउने भन्ने कुरा प्रभुहरूको मुडमा भरपर्छ । कतिखेर प्रभुहरू टाउकाको मूल्य तोक्नुहुन्छ । कतिखेर तिनै टाउकाहरूसँग आफ्ना टाउका जोड्नु हुन्छ । पत्तै हुँदैन । प्रभुहरूको लीला अपरम्पार छ । यस्तो लीला रच्ने अद्भूत क्षमता भएरै त प्रभु पद प्राप्त भएको हो ।
पद र प्रतिष्ठाका लागि कहाँ मात्रै छैन लफडा ? इन्द्रको स्वर्गलोकमा पनि बेलाबखत हङ्गामा चलिरहन्छ । ब्रह्मा, विष्णु र महेश्वरमा को ठूलो ? भन्नेमा रस्साकस्सी चलिरहन्छ । तर अप्ठ्यारोमा पर्दा एकले अर्कोलाई हार गुहार गरेकै हुन्छन् । एकले अर्कोको शरणमा परेकै हुन्छन् । यहाँका प्रभुहरू पनि त्यसै गर्नुहुन्छ ।
यो नेपाल नामक मर्त्य लोक हो । यहँ पशुपतिनाथ विराजमान हुनुहुन्छ । त्यसकारणले पनि यो पशुका पतिहरूको देश हो । भगवान पशुपतिनाथलाई पनि माथ गर्ने छद्मभेषी प्रभुहरू हुनुहुन्छ यहाँ । यी प्रभुहरूका धुपौरेहरू र तिनका लीला र चर्तिकला हेर्न पाउनु पनि अहोभाग्य नै मान्नु पर्छ ।
प्रभुहरूको साना दुःखले संघीय गणतन्त्र आर्ज्याको होइन । यहाँ प्रभुहरूले अर्जुनहरूलाई कुरूक्षेत्र पठाउनुभयो । नरसंहार रचाउनुभयो । रगतको खोलो बगाएर यो देश बचाउनु भयो । डलरसित साटेर धर्म निरपेक्षता बनाउनुभयो । तीन तहका सरकारका नाममा थुम्का थुम्कामा देवालयहरू खडा गर्नुभएको छ । भक्तजनहरूलाई दुःख नहोस् भनेर तेत्तीस कोटी देवताहरूलाई पिठाधीश बनाउनु भएको छ। हामी धन्य छौं प्रभु यहाँहरूको अनुकम्पाले । यहाँहरूकै निगाहले आज गाउँ घरमै प्रभुहरूको दर्शन मिलेको छ । यहाँहरूकै अंशावतारहरूको चरणकमलको सेवा गर्ने सौभाग्य प्राप्त भएको छ । रामराज्यको परिकल्पना सार्थक भएको छ ।
हे दयानिधान ! हजुरहरूको यो आदर्श गणराज्यमा सबैमा प्रशन्न चित्त छ । अपराधीहरू जेल जान पर्देन । तस्करहरूले धक मान्नु पर्दैन । चोरहरूले चिन्ता गर्नु पर्दैन । भ्रष्टहरूलाई सबै छुट छ । लुट्नेहरू एकजुट छ। भोको र नाङ्गो कोही छैन । घाम, पानी र हावा खाएर सबै तृप्त छन् । अनागरिक कोही छैन । छिमेकीहरूले समेत नागरिक पाएका छन् । नागरिकहरू शरणार्थी भिसामा सात समुद्रपार घुमेकै छन् । क्विन्टलका क्विन्टल सुन भित्रिएको छ । लंकामा सुन छ मेरा कान बुचै कसैले भन्नू परेको छैन । यो देश सुवर्णर नगरी भएको छ । जय होस् प्रभुहरूको ! जय होस् मेरो देश ! यहाँ शक्ति पृथकीकरण, शक्ति सन्तुलन र नियन्त्रणको नमूनायोग्य असल अभ्यास भएको छ ।
०००
रेसुङ्गा नगरपालिका २, तम्घास गुल्मी
२०८१श्रावण ५
Subscribe
Login
0 Comments
Oldest







































