सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सगरमाथा र हाम्रो उचाई

हाम्रा छिमेकी ठूला राष्ट्रहरू हाम्रो जस्तो सानो मुलुकका राजनैतिक, आर्थिक र सामाजिक तथा सांस्कृतिक जस्ता बाह्य रूपमा मात्र नभएर भौगोलिक रूपमै पनि भित्रभित्रै घुसेका रहेछन् ।

Nepal Telecom ad

विश्व शाक्य :

गफ भनेको वास्तवमा गफ नै हुने गरेछ । कुन सन्दर्भमा कुरो उठ्दा अन्त्य कहाँ गएर भइरहेको हुन्छ थाहा हुँदैन । त्यसै भएर यस्ता पाङमुङ्गे कुरालाई गफ भनिएको होला ।

कुरा हालसालकै हो, समाचारपत्रहरूमा सगरमाथाको उचाई २ मिटर बढेको खबर छापिएपछि कुरोको चुरो त्यहीबाट पलायो । एकजना साथीले भन्यो- “सगरमाथाको उचाई २ मिटर बढिसकेको रहेछ हगि ? हामी सगरमाथाका देशबासीले आफ्नै सगरमाथाको उचाई बढेको आफैलाई थाहा नहुनु, अरुले भनिदिनु पर्ने, अरुले बताइदिनु पर्ने यो पनि गजब नै हो ।”

“हामी आफै गजब छौँ । यो मात्र के गजब हो र ?” सँगैको साथीले प्रतिक्रिया व्यक्त गर्दै भन्यो- “हाम्रो देशमा सगरमाथाको उचाईमात्र बढेको हो र ? यहाँ त हरेक वस्तुको भाउ र त्यसको उचाई बढेको छ । खै कसले के थाहा पाउन सकेको छ ? कसले थाहा पाएर के नै नाप्न सकेको छ ? यहाँ नेताहरूको उचाई बढेको छैन कि ? यहाँ दाल चामलको भाउको उचाई बढेको छैन कि ? ऊ अस्ति भरखर सगरमाथाको उचाई सँगसँगै मट्टितेल र पेट्रोल डिजेलको भाउको उचाई बढ्यो । यत्तिले पुगेन अब खानेपानी र बिजुलीको भाउ पनि बढिसक्यो । के को उचाई घेटेको छ र सगरमाथाको उचाईको मात्र कुरा गर्छाैँ ?”

“लौ यसलाई त थाहै रहेनछ” तेस्रो साथीले भन्यो- “नेताहरूको भाउ बढे पनि नेताहरू भित्रको इमान्दारी र नैतिकताको भाउ स्वाट्ट घटेको छ । सामानहरूको भाउ ह्वात्त बढे पनि सामानको गुणस्तर स्वाट्ट घटेको छ । सगरमाथाको उचाई बढेकोमा छाती फुलाउँदा फुलाउँदै हाम्रो स्वाभिमान खुस्केको, हाम्रो संस्कृति खुस्केको, हाम्रो आफ्नोपन हराएको हामीले चालै पाउन छोडिसकेका छौँ । हामीले बढ्नुलाई मात्र हाम्रो अभीष्ट मानेका छौँ, त्यो बढ्नुभित्र हामीले हामीभित्र हुनुपर्ने कति मौलिकपन घटाइसकेका छौँ, धाइरहेका छौँ । त्यो हामीलाई चेत नै छैन । सगरमाथाको उचाई बढ्नुलाई हामीले बढ्नु मानेका छौँ । घरको उचाई बढ्नुलाई हामीले बढ्नु मानेका छौँ । कुर्सीको उचाई बढ्नुलाई हामीले बढ्नु मानेका छौँ । तर त्यो बढ्नुभित्र हामीले हाम्रा आदर्श, मूल्य र मान्यताहरूलाई कति निम्न तहसम्म घटाइसकेका छौँ । आज त्यसको नापो लिने चेष्टासम्म गरिएको छैन ।”

तेस्रो साथीको कुराले सबैलाई गम्भीर तुल्यायो । सबै मौन रहे । क्रमिकतालाई अगाडि बढाउँदै उसले फेरि भन्यो थाहा छ ? हाम्रो उचाई बढ्नुभित्रको विडम्बना के छ ? पृथ्वीनारायण शाहले विस्तारित गरेको नेपालको सीमानालाई बहादुर शाहले काँगडादेखि टिस्टासम्मको धरतीलाई फैलाए । धरती बढाउने सिलसिलामा थुप्रै वीरहरूले वीरगति प्राप्त गरे । त्यो बेला नेपालीले कहिल्यै उचाईको सपना देखेनन् । फैलनुमा आफ्नो स्वाभिमान खन्याए । जुनबेला भारतीय अङ्ग्रेजसँग सुगौली सन्धि भयो त्यो बेलादेखि नै नेपाल फैलनुबाट रोकियो र उसको उचाई बढ्ने क्रम सुरु भयो । राणाहरूको आसनमा अंग्रेज साम्राज्यको हात रहिन्जेल राणाहरूको एकछत्र उचाई बढिरह्यो । जब अङ्ग्रेज लखेटिए, राणाहरूको उचाई एकाएक तासको महल जस्तै भताभुङ्ग भएर ढल्न पुग्यो ।”

एकछिनको मौनतापछि उसले भन्यो- “थाहा छ ? त्यसपछि, सन् ५० को सन्धिपछि नेपालको अर्थ, राजनीति र संस्कृतिमा एकाएक उचाई बढ्नेक्रम सुरु हुँदै गयो । राजपरिवारलाई भारतले शरण दिएर प्रजातन्त्रको सौगात पठाएपछि एकाएक राजपरिवारको उचाई नेपाली आकाशमा स्थापित भयो । उनैताका कांग्रेसी राजनीति र नेताहरूको उचाई पनि दूर आकाशसम्म फैलियो । त्यसपछि के चाहियो ? यहाँका हर सानातिना कुराहरूको उचाई बढ्दै गयो, बढ्दै गयो । जति जति ती छिमेकी हातहरू बलिया हुँदै गए, यहाँको कुनै पनि गतिविधिको उचाई बढी नै रह्यो । उता चिनीको भाउ बढ्दा यता चिनी गायब भयो । चिनीको भाउले आकाश छोयो । उता तेलको भाउ बढ्दा यता तेल गायब । भाउले आकाश छोयो । छिमेकी हातहरू राजनीतिमा हावी हुँदा कहिले वामपन्थीहरूको उचाई हवात्त बढ्यो । कांग्रेसहरू गर्लामगुर्लुम भए । कहिले कांग्रेसको उचाई स्वाट्ट बढ्यो वामपन्थीहरू गर्लामगुर्लुम ढले ।

अर्थ र राजनीतिको उचाई बढाउनमा छिमेकी हातहरू प्रभावित छन् नै । विश्वको एक मात्र हिन्दू अधिराज्यको उचाई थप्न पनि ती पछि परिरहेका छैनन् । कहिले विश्व हिन्दू बौद्ध सम्मेलन भनेर तिनले धार्मिक सहिष्णुताको उचाई थपिरहेका छन् । कहिले विश्वका समग्र हिन्दू बौद्ध सम्मेलन भनेर तिनले धार्मिक सहिष्णुताको उचाई थपिरहेका छन् । कहिले विश्वका समग्र हिन्दू एक हौँ भनेर हिन्दू अधिराज्यको उचाई बढाइरहेका छन् । यी यावत कुराहरूलाई हेर्दा बुझ्दा सगरमाथाको उचाई बढ्नु खासै नौलो र ठूलो कुरो हो भन्ने लाग्दैन ।”

तेस्रो साथीको कुरा सुनिसकेपछि चौथो साथीले प्रतिक्रिया जनाउँदै भन्यो- “सगरमाथाको उचाई बढ्यो त बढ्यो, सगरमाथाको उचाई त्यसै त बढेको छैन, त्यसको भौगोलिक कारण छ ।”

“त्यो हो भारतीय पठारिलो भू-भाग नेपाली भू-भागभित्र पस्दै जानु ।” तेस्रो साथीले बीचैमा उछिनेर भन्यो- “त्यस्तै टिबेटको पठार पनि यतातिर घुस्दै आउनु ।”

यस भनाइपछि लामो सास तानिसकेर एक जनाले प्रतिक्रिया जनाउँदै भन्यो- “हाम्रा छिमेकी ठूला राष्ट्रहरू हाम्रो जस्तो सानो मुलुकका राजनैतिक, आर्थिक र सामाजिक तथा सांस्कृतिक जस्ता बाह्य रूपमा मात्र नभएर भौगोलिक रूपमै पनि भित्रभित्रै घुसेका रहेछन् । त्यसो भएर पो हाम्रो यो हबिगत भएको रहेछ । अब कसको बाबुको के लाग्छ ?”

०००
पोखरा
‘श्री पशुमहापुराण’ (२०५७)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
ट्रम्पकाे टरटर

ट्रम्पकाे टरटर

शेषराज भट्टराई
कुर्सीरसायन

कुर्सीरसायन

इन्दिरा चापागाईं
घर न द्वार हिँडे हरिद्वार

घर न द्वार हिँडे...

कृष्ण शर्मा सुमु
आधा सत्य आधा भ्रम- १५

आधा सत्य आधा भ्रम-...

अर्जुन दाहाल (क)
वीभत्स भाष्य

वीभत्स भाष्य

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x