साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सगरमाथा र हाम्रो उचाई

हाम्रा छिमेकी ठूला राष्ट्रहरू हाम्रो जस्तो सानो मुलुकका राजनैतिक, आर्थिक र सामाजिक तथा सांस्कृतिक जस्ता बाह्य रूपमा मात्र नभएर भौगोलिक रूपमै पनि भित्रभित्रै घुसेका रहेछन् ।

Nepal Telecom ad

विश्व शाक्य :

गफ भनेको वास्तवमा गफ नै हुने गरेछ । कुन सन्दर्भमा कुरो उठ्दा अन्त्य कहाँ गएर भइरहेको हुन्छ थाहा हुँदैन । त्यसै भएर यस्ता पाङमुङ्गे कुरालाई गफ भनिएको होला ।

कुरा हालसालकै हो, समाचारपत्रहरूमा सगरमाथाको उचाई २ मिटर बढेको खबर छापिएपछि कुरोको चुरो त्यहीबाट पलायो । एकजना साथीले भन्यो- “सगरमाथाको उचाई २ मिटर बढिसकेको रहेछ हगि ? हामी सगरमाथाका देशबासीले आफ्नै सगरमाथाको उचाई बढेको आफैलाई थाहा नहुनु, अरुले भनिदिनु पर्ने, अरुले बताइदिनु पर्ने यो पनि गजब नै हो ।”

“हामी आफै गजब छौँ । यो मात्र के गजब हो र ?” सँगैको साथीले प्रतिक्रिया व्यक्त गर्दै भन्यो- “हाम्रो देशमा सगरमाथाको उचाईमात्र बढेको हो र ? यहाँ त हरेक वस्तुको भाउ र त्यसको उचाई बढेको छ । खै कसले के थाहा पाउन सकेको छ ? कसले थाहा पाएर के नै नाप्न सकेको छ ? यहाँ नेताहरूको उचाई बढेको छैन कि ? यहाँ दाल चामलको भाउको उचाई बढेको छैन कि ? ऊ अस्ति भरखर सगरमाथाको उचाई सँगसँगै मट्टितेल र पेट्रोल डिजेलको भाउको उचाई बढ्यो । यत्तिले पुगेन अब खानेपानी र बिजुलीको भाउ पनि बढिसक्यो । के को उचाई घेटेको छ र सगरमाथाको उचाईको मात्र कुरा गर्छाैँ ?”

“लौ यसलाई त थाहै रहेनछ” तेस्रो साथीले भन्यो- “नेताहरूको भाउ बढे पनि नेताहरू भित्रको इमान्दारी र नैतिकताको भाउ स्वाट्ट घटेको छ । सामानहरूको भाउ ह्वात्त बढे पनि सामानको गुणस्तर स्वाट्ट घटेको छ । सगरमाथाको उचाई बढेकोमा छाती फुलाउँदा फुलाउँदै हाम्रो स्वाभिमान खुस्केको, हाम्रो संस्कृति खुस्केको, हाम्रो आफ्नोपन हराएको हामीले चालै पाउन छोडिसकेका छौँ । हामीले बढ्नुलाई मात्र हाम्रो अभीष्ट मानेका छौँ, त्यो बढ्नुभित्र हामीले हामीभित्र हुनुपर्ने कति मौलिकपन घटाइसकेका छौँ, धाइरहेका छौँ । त्यो हामीलाई चेत नै छैन । सगरमाथाको उचाई बढ्नुलाई हामीले बढ्नु मानेका छौँ । घरको उचाई बढ्नुलाई हामीले बढ्नु मानेका छौँ । कुर्सीको उचाई बढ्नुलाई हामीले बढ्नु मानेका छौँ । तर त्यो बढ्नुभित्र हामीले हाम्रा आदर्श, मूल्य र मान्यताहरूलाई कति निम्न तहसम्म घटाइसकेका छौँ । आज त्यसको नापो लिने चेष्टासम्म गरिएको छैन ।”

तेस्रो साथीको कुराले सबैलाई गम्भीर तुल्यायो । सबै मौन रहे । क्रमिकतालाई अगाडि बढाउँदै उसले फेरि भन्यो थाहा छ ? हाम्रो उचाई बढ्नुभित्रको विडम्बना के छ ? पृथ्वीनारायण शाहले विस्तारित गरेको नेपालको सीमानालाई बहादुर शाहले काँगडादेखि टिस्टासम्मको धरतीलाई फैलाए । धरती बढाउने सिलसिलामा थुप्रै वीरहरूले वीरगति प्राप्त गरे । त्यो बेला नेपालीले कहिल्यै उचाईको सपना देखेनन् । फैलनुमा आफ्नो स्वाभिमान खन्याए । जुनबेला भारतीय अङ्ग्रेजसँग सुगौली सन्धि भयो त्यो बेलादेखि नै नेपाल फैलनुबाट रोकियो र उसको उचाई बढ्ने क्रम सुरु भयो । राणाहरूको आसनमा अंग्रेज साम्राज्यको हात रहिन्जेल राणाहरूको एकछत्र उचाई बढिरह्यो । जब अङ्ग्रेज लखेटिए, राणाहरूको उचाई एकाएक तासको महल जस्तै भताभुङ्ग भएर ढल्न पुग्यो ।”

एकछिनको मौनतापछि उसले भन्यो- “थाहा छ ? त्यसपछि, सन् ५० को सन्धिपछि नेपालको अर्थ, राजनीति र संस्कृतिमा एकाएक उचाई बढ्नेक्रम सुरु हुँदै गयो । राजपरिवारलाई भारतले शरण दिएर प्रजातन्त्रको सौगात पठाएपछि एकाएक राजपरिवारको उचाई नेपाली आकाशमा स्थापित भयो । उनैताका कांग्रेसी राजनीति र नेताहरूको उचाई पनि दूर आकाशसम्म फैलियो । त्यसपछि के चाहियो ? यहाँका हर सानातिना कुराहरूको उचाई बढ्दै गयो, बढ्दै गयो । जति जति ती छिमेकी हातहरू बलिया हुँदै गए, यहाँको कुनै पनि गतिविधिको उचाई बढी नै रह्यो । उता चिनीको भाउ बढ्दा यता चिनी गायब भयो । चिनीको भाउले आकाश छोयो । उता तेलको भाउ बढ्दा यता तेल गायब । भाउले आकाश छोयो । छिमेकी हातहरू राजनीतिमा हावी हुँदा कहिले वामपन्थीहरूको उचाई हवात्त बढ्यो । कांग्रेसहरू गर्लामगुर्लुम भए । कहिले कांग्रेसको उचाई स्वाट्ट बढ्यो वामपन्थीहरू गर्लामगुर्लुम ढले ।

अर्थ र राजनीतिको उचाई बढाउनमा छिमेकी हातहरू प्रभावित छन् नै । विश्वको एक मात्र हिन्दू अधिराज्यको उचाई थप्न पनि ती पछि परिरहेका छैनन् । कहिले विश्व हिन्दू बौद्ध सम्मेलन भनेर तिनले धार्मिक सहिष्णुताको उचाई थपिरहेका छन् । कहिले विश्वका समग्र हिन्दू बौद्ध सम्मेलन भनेर तिनले धार्मिक सहिष्णुताको उचाई थपिरहेका छन् । कहिले विश्वका समग्र हिन्दू एक हौँ भनेर हिन्दू अधिराज्यको उचाई बढाइरहेका छन् । यी यावत कुराहरूलाई हेर्दा बुझ्दा सगरमाथाको उचाई बढ्नु खासै नौलो र ठूलो कुरो हो भन्ने लाग्दैन ।”

तेस्रो साथीको कुरा सुनिसकेपछि चौथो साथीले प्रतिक्रिया जनाउँदै भन्यो- “सगरमाथाको उचाई बढ्यो त बढ्यो, सगरमाथाको उचाई त्यसै त बढेको छैन, त्यसको भौगोलिक कारण छ ।”

“त्यो हो भारतीय पठारिलो भू-भाग नेपाली भू-भागभित्र पस्दै जानु ।” तेस्रो साथीले बीचैमा उछिनेर भन्यो- “त्यस्तै टिबेटको पठार पनि यतातिर घुस्दै आउनु ।”

यस भनाइपछि लामो सास तानिसकेर एक जनाले प्रतिक्रिया जनाउँदै भन्यो- “हाम्रा छिमेकी ठूला राष्ट्रहरू हाम्रो जस्तो सानो मुलुकका राजनैतिक, आर्थिक र सामाजिक तथा सांस्कृतिक जस्ता बाह्य रूपमा मात्र नभएर भौगोलिक रूपमै पनि भित्रभित्रै घुसेका रहेछन् । त्यसो भएर पो हाम्रो यो हबिगत भएको रहेछ । अब कसको बाबुको के लाग्छ ?”

०००
पोखरा
‘श्री पशुमहापुराण’ (२०५७)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लाहुरेकाे हुर्मत

लाहुरेकाे हुर्मत

विश्व शाक्य
धर्मपुराण

धर्मपुराण

विश्व शाक्य
दुई छोटा कविता

दुई छोटा कविता

विश्व शाक्य
लाैराेकाे जात थर

लाैराेकाे जात थर

विश्व शाक्य
पाकेटमार

पाकेटमार

कृष्ण प्रधान
पर्यटकको परिहास

पर्यटकको परिहास

रामकुमार पाँडे
भू-शासन

भू-शासन

माधव पोखरेल गोज्याङ्ग्रे
आधुनिक सीता

आधुनिक सीता

रमेन्द्र काेइराला
जता मल्कु त्यतै ढल्कु

जता मल्कु त्यतै ढल्कु

रामप्रसाद अर्याल ‘अविराम’
फटा नीति सकियो

फटा नीति सकियो

वलदेव थापा
0
Would love your thoughts, please comment.x
()
x