लक्ष्मण गाम्नागेगाँडमाथि पिलो
मेरो अगाडि एउटी दुच्छर स्वभावकी नर्स उभिएकी रहिछन् । म सपनाबाट यथार्थमा आइपुगे र नर्ससँग क्षमा मागे । ‘बधाईं छ, एक्कैचोटी जुम्ल्याहा बच्चा भएका छन् । उता बेडमा राखेको छ, गएर हेर्नुस्’ भन्दै नर्स बाहिर निस्किई ।

लक्ष्मण गाम्नागे :
एकपछि अर्को गर्दै कहिले छोरीले र कहिले छोराले मलाई हप्काउन र धम्की दिन थाले । उम्रिदैका तीनपाते भनेजस्तो नाकवाट सिँगान बगाउँदै छोरीले चर्को स्वरमा मलाई झपार्दै भनी- ‘बाउ भएर यही हो तपाईंको चाला । यसरी झोक्राएर बसेर हुन्छ ? यी हेर्नुस्, मेरा दौरा फाटेर दसओटा प्वाल परिसक्यो, सुरालको सिलाई खुस्केर लाज नछोप्ने भइसक्यो । यस्तो लुगा लगाएर तपाईंकी छोरी हिँड्दा तपाईंलाई लाज लाग्दैन ? खोई मलाई स्कुल भर्ना गरिदिएको खोई मेरो बर्थडेमा केक काटेको ? खोई मलाई मासु खुवाएको ? खोई मलाई मेला हेराउन लगेको ? खोई ‘जू’ हेराएको ? खोई यो ? खोई त्यो ? खाई ऊ ? खोई ?? खोई ???’
भर्खर तीन वर्ष पुगेकी छोरीका कुरा सुनेर म अक्क न बक्क परेँ । मैले फकाउने उद्देश्यले बल्लतल्ल छोरीलाई नजिकै ल्याएँ र मुम्सुम्याएँ । मैले जे भनेपनि उसले सुनिनँ । उल्टै मेरो हात झङ्कारेर कट्टी कट्टी गर्दै फ्यान्निएर हिँडी । च्यार्रच्यार्र गर्दै छोरो आइपुग्यो मेरा अगाडि । थानासाना पर हुत्याएर औँलो ठड्याउँदै ऊ त कराउन पो थाल्यो- ‘हेर वाउ, त्यो खल्तीमा २-४ सौ रुप्याँ दाम बोकेर लिन्ठिङ लिन्ठिङ हल्लिएर हिँड्ने होइन । त्यो जाबो प्राइभरी स्कुलको मास्टरको जागिर खाएर यत्रो ४-४ जनाको परिवार कसरी पाल्छौ ?’
उसको अमर्यादित पारा देखेर मेरो रिसको पारो नब्बे डिग्रीमाथि चढ्यो । बज्जेलाई थप्पड लाइदिउँ कि जस्तो पनि लाग्यो, तर त्यो भर्खर जन्मेको चाउरे बच्चालाई हिर्काउने ठाउँ नै थिएन । मैले आवेगको वेगलाई रोकेर छोराको चिप्लो टाउको सुम्सुम्याउँदै भनेँ, ‘आफ्नो बाबुलाई ‘तिमी’ भन्नुहुन्न ! जन्मिँदाजन्मिँदै तिमी यस्तो असभ्य भयौ भने पछि कस्तो होउला ?’
‘चुप लाग्नुस् तपाईं ! यस्तो आची गनाउने अस्पतालमा ल्याएर राख्नुभा’छ । शुपणर्खाजस्ता नर्स छन्, कसाहीजस्ता डाक्टर छन्, न सफा पानी छ, न सफा ट्वाइलेट, बाथरुम छन् । छिःछिःछिःछिः ।’ केटो ठूलोठूलो स्वरले कराउन लाग्यो । मैले नबोल्न इशारा गर्दागर्दै पनि ऊ इराकमा बम पड्केजस्तो पड्क्यापड्क्यै गर्न थाल्यो ।
‘खल्तीमा सुको दाम छैन, आफू एकजनाले भुँडीभरि भात खान सक्या छैन, तेस्तालाई बिहे गर्नुपर्ने छोरा छोरी पान जन्माउनुपर्ने एउटी छोरी हुँदाहुँदै फेरि छोरे नभई नहुने ? लेख्ले-पढ्ने बेलामा भैँसीका डडाल्नामा बस्तैमा र गोरुका जिउबाट किर्ना झार्दैमा बित्यो । हजुर आमाको तिलहरी चोरेर कहिले दार्जिलिङ र कहिले काठमाडौ भाग्दैमा बित्यो । घरबाट चामल र तोरी चोरेर पैनीका डिलमा लुकाएर स्कल जाँदा बजार लगेर बेचेर सधैँ क्याराम खेल्दाखेल्दै पढ्ने समयजति त्यत्तिकै नास गर्नुभो । अझ लुकीलुकी बिँडी खाएको र पढेको बहानामा कोर्सको किताबभित्र दीर्घबाह र वसन्तका जासुसी उपन्यास लुकाएर पढ्दापढ्दै एसएलसीमा आलु खाएको कुरा पनि मैले भन्नैपर्छ कि । फुच्चे केटो एकनाससँग कराएको करायै गर्न थाल्यो ।
मेरा वरिपरिका मान्छे नवौं आश्चर्यको यो घटना जिल्ल परेर हेर्न थाले । म लाजशरमले पानी पानी भइसके । मैले निकै साहस गरेर भुईंमा झरेको थाङ्नो टिपेर शिशुलाई गुट्मुट्याएँ र लगेर उसकी आमाको छेउमा सुताइदिएर आएँ ।
एक्कैछिनमा फेरि छोराछोरी दुवैजना पाखुरा सुर्किँदै आइपुगे । कसले कति कडा र कति चर्को गरी गाली गर्न सक्छ भन्दै उनीहरू त तँछाडमछाड गर्न लागे । के हो ड्याड, मेरो बिहेसिहे गरिदिनुपर्दैन ? आफूमात्रै मोज गर्ने ? सब क्लासमेटहरूले म्यारिज गरिसक्यो । मैमात्र बुङ्गै बस्ने हेर्नुस् ड्याड, भन्या छु या त अमेरिका, जापानतिर पढ्न पठाउनुस् या त अलङ्कारको जिम्मा लगाउनुस् । ऊ मेरो लास्टको बोइफ्रेन्ड हो, उसले त बिहे नै गर्छु भन्या छ । आफूले नसकेपछि ह्यान्डस्अप त गर्नुपर्यो नि ड्याड ।’ छोरीको कुरामा सही थाप्दै छोरो उर्लियो ‘ओ ड्याड, यसरी चुपचाप झोक्राएर बस्ने हो त्यो चाउरी परेको गालाको छालासाला तन्काइदिउँ । खोई फिफ्टी थाउ निकाल्नुस् त खुरुक्क । लास्ट मन्थको फी तिरेकै छैन । एँच । मलाई पनि त्यो डली नेपालीले साइट दिइराख्या छ, म पनि तेसलाई ल्याइदिउँ कि क्या ।’
छोरो चुप लागेकै थिएन, छोरी कराइहाली ‘ओ ड्याड, कानसान छैन कि क्या हो ? किन नबोलेको ?
छोराले अगाडि बढेर मेरो कान समात्तै भन्यो, ‘यी छ नि कान त, तर कानमा पूरा कानेआँची भरिएको छ, सुन्दै सुन्दैन हो !’
‘तान्दे न कान तान्दे । छोरीले अर्डर गरी । छोराले मेरो कान बटारेर तान्न थाल्यो । ‘ऐया ! नगर न माइडियर । नगर न’ मैले उसको हात हटाउँदै भने । ‘ओ दाइ कसलाई माइडियर भनेको ? दिउँ चप्पल फुकालेर ?’ मेरो अगाडि एउटी दुच्छर स्वभावकी नर्स उभिएकी रहिछन् । म सपनाबाट यथार्थमा आइपुगे र नर्ससँग क्षमा मागे । ‘बधाईं छ, एक्कैचोटी जुम्ल्याहा बच्चा भएका छन् । उता बेडमा राखेको छ, गएर हेर्नुस्’ भन्दै नर्स बाहिर निस्किई ।
‘ज… ज… जुम्ल्याहा ??’ मलाई पेन्टागनमा प्लेन पड्केको अनुभूति भयो । आत्तिएर जुरुक्क उठे । खुट्टो निदाएर टेक्नै नहुने भएको रैछ । म अस्पतालबाहिर राखिएको थोत्रो काठको बेन्चमा थुचुक्कै भएर बसेँ ।
०००
काठमाडौं
‘लाठीचार्ज’ (२०६१)
Subscribe
Login
0 Comments
Oldest








































