साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मूर्खोपचार

समष्टि रूपमा यी माथिका समयवधि र व्यष्टि रुपमा अलग-अलग मानिसका पर्खाइहरू मूर्ख वा विद्वानका सिमाङ्कनका जवाफ प्राप्त हुने हुँदा पराइलाई मूर्ख बनाइ आफू स्वघोषित बौद्धिक नबनौँ ।

Nepal Telecom ad

देवीप्रसाद चापागाईं :

आगाको जल, घामको र जलको छाता, लुगा शीतको
तिखो अंकुश हातीको र लौरी भैंसी गधा गोरुको
गर्मीको जल-वायु, मन्त्र विषको, बत्ती अँध्याराको
सबको औषधी दैवले रचिदियो, बिर्सेछ के मूर्खको

(गुणरत्नमाला)

गुरुग्रन्थदेखि शिष्य ग्रन्थले कतै छाडेको छैन मूर्खलाई। मूर्खमाथि कत्रो प्रहार छ । तैपनि मूर्ख सुध्रिँदैन । मूर्खलाई अर्ति र भैंसीलाई सर्दी कबै हुन्न रे । गुणरत्नमालदेखि उखानटुक्काका सर्जकहरूको ठ्याक्कै र्‍याङठ्याङ मिलेको छ यस सबालमा । अब प्रश्न वर्षायामको छिचिमिराझैं उठ्न थाल्छ । किन मूर्खप्रति हाम्रा अध्येताहरू यति धेरै असहिष्णु छन् ? नेगेटिभ किन ? उत्तर मसँग पनि चित्त बुझ्दो पाउनु हुन्न । गाई र भैंसी भेट्नासाथ बाल्टी लिएर बस्दैमा दुध पाइन्छ र ? आफ्नो रुचिबेगरको विषयमा टाउको किन दुखाउनु आफ्नो प्रतिकूल हुनासाथ अरुलाई मूर्खको संज्ञा दिने तपाईं हामीजस्ताको जुँगा उखेलिदिने अधिकार पनि त जोसुकैसँग छ नि ।

मान्छेको जात राम्रा र असल कुराको सर्जक स्वयं हुन हतारिन्छ । जब अप्ठ्यारो र असहज परिस्थिति हाजिर हुन्छ ती सम्पूर्ण दोष विधाताको थाप्लोमा हाल्न पनि पछि पर्दैन । स्वयंको शतप्रतिशत नै गल्ती नभएको प्रवचन दिन पनि ऊ धक पनि मान्दैन । यसको दोष विधि विधानमाथि कि आफैंमा ध्यान विचार गर्न फिप्टीफिप्टीमा जाने कि? आधा विधाता बेहोरून आधा हामी । मूर्खलाई अज्ञानी, अटेरी, स्वाँठ बोलेर कोशकार पनि पन्छिएका छन् । कोशकार नै वीरभद्रको मुखबाट सुदर्शन चक्र झिकेर विष्णुस्वयं बैकुण्ठ सुइँकुच्चा ठोके झैं भएपछि हामी बबुराहकको के लाग्यो र ?

मूर्खको ओखती विद्या हो भन्दै अभिव्यक्तिनेहरू माथि झम्टिने बेला आइसक्यो । साक्षरता प्रतिशत वृद्धि भए अज्ञानता दूर हुँदै नेटो काट्छ भन्नेहरू आज शिक्षित प्रतिशत आशातीत हुँदा पनि खोइ त समाधान ? अपठितलाई मूर्खको संज्ञा दिएर पठित पानी माथिको ओभानो भएको देख्नु भएकै छ ।
मान्छेले आफूबाहेक कतिलाई मूर्ख बनायो कतिलाई त्यही समयको विद्वान-विदुषी । कुनै बेला पृथ्वी घुम्छ है भन्ने जनार्दो ब्रुडो मूर्ख कहलिए । विकासवादी सिद्धान्तका प्रणेता डार्विन विद्वान र मूर्खको फिप्टीफिप्टीको हालतमा पुगे उनको भर्भराउँदो उमेरमा पनि । मानवजातिका पुर्खा वानर हुन् भन्ने डार्विनको दृष्टिकोणलाई अहिले नासाको डि.एन.ए. परिक्षणले दृष्टिकोण उल्ट्याइदियो । सूर्यबाट प्रकाश र ताप आउँछ भन्ने वैज्ञानिक ॐ ध्वनि सूर्यबाट निरन्तर निसृत भएको जिकिर पेश गरिरहेका छन् अचेल । आफूबाहेक अरुलाई मूर्ख बनाउने मनिस भूत र भविष्यतमा एक न एकचोटी मूर्ख नबनी सुखै छैन ।

हरेक दृष्टिकोणलाई सम्मान गर्नुपर्ने गुरुशिष्य परम्पराबाट जुठेल्नीको मूलाझैं बढेका र पढेका हामी । मूर्ख तीन किसिमका हुन्छन् भन्दै कक्षामा विद्यार्थी हसाउने म उरेन्ठेउलो मार्काको टिचर । विद्यार्थी उत्तम, मध्यम र अधम हुन्छन् भन्दै पौरषत्य दर्शन फलाक्ने म अधकल्चो प्रवचक । अरुलाई नचिन्ने मूर्ख, आफूलाई नचिन्ने महामूर्ख अनि आफू र अरू दुबैलाई नचिन्ने पटमूर्ख । विद्यार्थी त हाँसे तर म हाँस्न भने सकिन । भुटे भाङ पोले पिँडालु केही बुझिन म भाफूले । बरू पटमूर्खको कित्तामा उभिँदा चाहिँ न्यायसम्पादन राम्रै हुन्थ्यो कि ? गुरुका अन्तरइच्छा बुझी व्यवहार गर्ने उत्तम शिष्य, कुनै काम अह्राउँदा रोवोटले झैँ कार्यसम्पादन गर्ने मध्यम अनि अह्राउँदा पनि अटेर गर्ने अधम । यो कक्षालाई कन्ट्रोल गर्ने आफ्नै तरिकाको क्रियसन । पहिलो पटकमै वोध गर्ने उत्तम दोस्रो पटकमा वोध गर्ने मध्यम, तेस्रो पटक पनि भन्नुपर्ने अधम । लौ विद्यार्थी कावुमा आइहाले । अब बुझ्नुहोस् म कुन कित्ताको मूर्ख हुँ ?

पयः पानं भुजङ्गनाम केबलं विषवर्द्धनम ।
उपदेशो हि मूर्खानाम शान्तये ॥ (हितोपदेश)

सर्पले दूध पिए पनि त्यो दूध विषसरी हुन्छ । मूर्खलाई जति अर्ति दिए पनि त्यो शान्त हुन्न । गौंडै पिच्छे मूर्खमाथिका प्रहार गर्दै हाम्रो परम्परा र मूल्यमान्यता यसरी कुद्छ जुन गँजेडीका गफ सुनेर हाँसेझै हाँस्न मन लाग्छ । अब तपाईंको रिस मैमाथि ओइरिन सक्ला । हुन त मलाई नै मूर्ख भनिदिनुहोस् लुतो पन्छिहाल्यो ।
कुनै दिन मैले आफ्नो अहमता र मपाईंत्व प्रदर्शन गर्न मूर्खमाथि यस्तो कविता रचेको रहेछु । त्यसकारण मलाई नै मूर्ख भनिदिए न्याय हुन्थ्यो कि ?

आँखाले सुन्दछु भन्छ त्यो कानले देख्दछु
छालाले स्वाद लिन्छ, जिब्राले स्पर्श
रातमा घाम लाग्छ, उसको दिनमा तारा
आगो चिसो हुन्छ रे नैतिकतामा घाटा ।
व्रम्हमूहुर्त के जानोस् त्यो पिशाचमूहुर्त जान्दछ
पढेर हात्ती ठूलो भएको हो र ! बोल्दै पो हिँड्दछ
‘दम’ शब्दको शाब्दिक अर्थ त्यो जान्दैन
‘घर’ हो त्यसको मतलव त्यो मान्दैन ।
‘दम’ रोगको घर हो त्यो हो अर्थमा
त्यस्ता गहिरा कुरा नगरों भन्छ व्यर्थमा
अब मूर्ख नसुधारौँ भन्छु कुनै शर्तमा
टाउकाको ओखती नलगाउँ भन्छु नाइटामा ।

यसरी हेर्दा मूर्खको ओखती होला न नहोला ? अन्योलमा पर्दछौँ हामी । गुणरत्न मालाले दोष त ईश्वरलाई नै थोपरिदिएको छ । हितोपदेश पनि त्यसैको पथगामी ।
एक विदुषी थिइन मृणालिनीदेवी । उनको गज्जबको तर्क थियो । मूर्ख, विद्वान, पठित आदि शब्द समयसापेक्ष हुन्छ । कुनै जमानामा जङ्गबहादुर मूर्ख र कुनै काल खण्डमा आँटिलो, सहासी र बहादुरको उपमा भिराइ पाउँछन् । त्यही द्वापरयुगका कृष्णले बाल्यकालमा मुर्ख्याई गरेका दृष्टान्तहरूका चाङ भेटिन्छ । भीमसेनले हनुमानसँग बलको होड गरे। त्यही घटना मुर्ख्याई र महाभारत कालमा दुर्योधन त्यसपूर्व वृक किच्चक, जरासन्धसँगको युद्धमा बहादुर, आँटी र सहासी बने ।

अपवादमा चाहिँ के देखिन्छ भने जीवको पूर्वाधमा मूर्ख र उत्तरार्धमा बुद्धिमान कहलिएका व्यक्तिलाई भने कसैले यो मूर्ख थियो भनिरहन पर्दैन । ऊ आफै आफ्ना मुर्ख्याइँका घटना मुरली मकै झैँ उत्कृष्ट वाचनकलामा अभिव्यक्तिन्छ । जीवनको उत्तरार्धमा या असफलता हात लागेको घटनामा जोकोहिले प्रश्न उठाए ऊ आगो बन्छ र तत्क्षणर्े त्यो व्यक्तिलाई शत्रु घोषणा गर्न तम्तयार देखिन्छ । यस्ता इतिवृतान्तका दृष्टान्त हाम्रा धार्मिक शास्त्रका आख्यान आख्यानमा हामी पाउँछौ ।

को कति सत्य र यथार्थको नजिक पुग्दछ । त्यसको विश्लेषणले नै सत्यता, मूर्खताका यथार्थिक विवरण आउन सक्ला । कुनैबेला संस्कृतलाई संस्कृतका अध्ययनार्थी र अध्येतालाई मूर्ख भन्दै अङ्ग्रेजी वा अन्य भाषालाई प्राथमिकता दिनेहरू आज संस्कृतको अध्ययनविना जोकोही पूर्ण नहुने तर्क पोखिरहेका छन् । अङ्ग्रेजी लगायत अन्य भाषामा प्रयुक्त शब्द संस्कृत भएका तर्क फलाकिरहेछन् । संस्कृतमा वानरलाई मर्कट पनि भनिन्छ । मर्कट शब्दलाई थुप्रै भाषाहरूले प्रयोग गरेको बोलिरहेछन् । (Mono (स्पेनियश), Matmum (अरविक), monoo (पुरानो इटालियन, masque (Zoology), Monkey ( English), अब गाईलाई संस्कृतमा गौः। अब त्यही शब्द नेपालीमा गाई, गाय (हिन्दी), गउ (प्राकृतिक), गाइ (डोट्याली), Kauz (Germaic), cow (अङ्ग्रेजी) अब यी यस्ता अध्येताहरू अध्ययनले खारिएका माथि पनि मूर्ख र मूख्याईंको उपाधि दिने वाचक पनि फेला पर्दैनन् भन्ने के ग्यारेन्टी ?

आफूबाहेक अरुलाई मूर्ख बोल्न नहिच्किचाउने मानिस आखिर गीता दर्शनको कर्मयोगलाई पनि मुर्ख्याई शास्त्र भन्न पछि नपर्लान् । काम गर्नु अरे फलको आशा नगरौं, त्यस्तो पनि हुन्छ भन्दै ऊ पड्किन्छ । पूर्वजन्म र पश्चजन्मको हाकाहाकी विरोध गर्दछ । झगडाको ओखती चुप लाग्नु हो भन्ने आदर्शवाणी अस्वीकार गरेर मौन बस्नुलाई समर्थन गरेको अर्थमा ‘मौनं स्वीकृतम् लक्ष्यणम्’ भन्दै हण्ड्रेड पर्सेन्ट चुप लाउनु समर्थन गर्नु हो भन्ने विचार थोपरेर मरीमरी हाँस्छ ।

पराइलाई मूर्ख बनाएर ओखती खोज्ने हामी मूर्खहरूलाई ओखतीको जरुरत नै किन पर्‍यो त ? समयका डल्लाहरूले त्यसको चित्तबुझ्दो उत्तर दिइहाल्छ । मन्वन्तर, युग, दिव्यवर्ष, स्रहास्राब्दी शताब्दी, दशाब्दी आदिले जवाफ आफैँ बोकेर हाजिर हुन्छ । समष्टि रूपमा यी माथिका समयवधि र व्यष्टि रुपमा अलग-अलग मानिसका पर्खाइहरू मूर्ख वा विद्वानका सिमाङ्कनका जवाफ प्राप्त हुने हुँदा पराइलाई मूर्ख बनाइ आफू स्वघोषित बौद्धिक नबनौँ । कालिदासलाई सरस्वतीले मूर्खको परिभाषा दिएकी थिइन् अरे । योग्यमाथि शासन गर्ने अयोग्य र अयोग्य जान्दा जान्दै सल्लाह दिने योग्यहरू मूर्ख हुन् । ए ! अब त अन्यत्र दगुर्नु नै परेन यही जवाफ काफी छ । मूर्ख आफूबाहेकलाई बनाएर आनन्दानुभूति गर्ने तपाईं हामी पनि उम्किन सक्दैनौँ । योग्यताको आधार सर्टिफिकेट मात्र होइन भन्नेले पनि मूर्खमाथि नै अन्ततोगत्वा असन्तोष पोखेका छन् । ॐ मूर्खभ्यो नमः ।

०००
काठमाडौं
२०८१/०४/०९

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
को भैरव ?

को भैरव ?

देवीप्रसाद चापागाईं
साँढे नबनाऊ

साँढे नबनाऊ

देवीप्रसाद चापागाईं
टाउकेहरूको देवाली

टाउकेहरूको देवाली

देवीप्रसाद चापागाईं
मामा ! अब हाम्रो पालो

मामा ! अब हाम्रो...

देवीप्रसाद चापागाईं
भकुण्डो र मुखुण्डोको वार्ता

भकुण्डो र मुखुण्डोको वार्ता

देवीप्रसाद चापागाईं
अपवाद

अपवाद

देवीप्रसाद चापागाईं
0
Would love your thoughts, please comment.x
()
x