राईमाइला
अहिले यति सजिलो गरी गाउँबाटै गाडी चडेर अरुण नदीको पक्की पुल तरेर सररर हिँडेको राईमाइलामाथि बर्साएको सहानुभूति देखेर अचम्मै लाग्छ ।
अशोककुमार सिवा :
राईमाइलाले गाउँ छाडेको चर्चा आजकाल सर्वत्र सुनिन्छ । आखिर को रहेछ यो राईमाइला ? के रहेछ उस्को खुबिलिटी ? के रहेछ प्रतिष्ठा ? के रहेछ ओहोदा ? कतै खुलाएको भेटिन्न त । होइन अनि यो सब नखुलाई राईमाइलालाई कस्ले रोक्ने पहल गर्छ ? गाउँबाट हिँडी नै सक्यो भने कस्ले के भनेर खोज्छ ? हुनुपरेन केही खास कुरा ? कि कसो हो ? जान्दिन है म कोही जान्नेबुझ्नेले बुझाइदिनुस् ।
गाउबाट राईमाइला भन्दा पहिला रायो मूला हिँडे कसैले खोजेनन् । कोदो फापर कुदे कसैले रोकेनन् । धान मकै दौडे कसैले छेकेनन् । अन्य कतिपय माइलाहरू चम्पट ठोके कसैले कसैलाई सोधेनन् । अहिले राईमाइलाले गाउँ के छोडेको थियो कोकोहोलो पो छ त । मैले नबुझेको यत्ति हो । नबुझ्न पाइन्छ भन्ने मलाई लाग्छ । बेला बेला त मस्त निदाएको रिस पनि जाग्छ । मनको अमनचैन बेचैन हुन्छ । आखिर हो नि त । गाउँबाट राईमाइलो मात्रै हिँड्या हो त ? कति जेठो हिँडे कति साइलो, काइलो, ठाइलो, अन्तरे, जन्तरे, लखन्तरे, पानीमन्तरे अनि कान्छोहरू हिँडे । जेठी हिँडिन्, माइली हिँडिन्, साइली, काइली, कान्छी हिँडिन खोई चासो ?
कौयो दाजुभाइ, दिदीबहिनी बिदेशिएका छन् त्यसको तथ्य अङ्क कसैसंग छैन । यतिसम्म कि तिनै बिदेशिएका दाजुभाइ दिदीबहिनीबाट श्रम स्वीकृती दिए बापत पैसा खाने सरकारी निकायसँग नै तथ्य तथ्याङ्क छैन, राईमाइलाको कोकोहोलो छ गाँठे । गीत गाइबस्नु भन्दा पहिला विचार पुर्याउनु पर्दैन ? कुन गाडी चड्यो कुन घुम्ती काट्यो ? कतिवेला अरुण पार गर्यो अचम्म लाग्छ ।
कोटको खल्तीमा फोटो होला अनि कुन दिन फोटो हेरेर रोला रे के भन्या ? फोटो हेरेर किन रुन्छ ? केही गर्छु भनेर अठोट लिएर हिँडेको हो भने रोएर के काम ? रुँदा उस्को अठोट पुरा हुन्छ ? नचाहिने कुरा । बरू फोटो झिकेर हेर्दै भन्दो हो देखिस् तिमीहरूले म कस्तो भए खुव गाउमा के के न गरुम्ला भनेर बसेका होइनौ ? लठुवाहरू हो । हुनपनि हो न कृषिको लागी मल बिउ छ न कुनै कृषि प्राविधिक छन् न कृषि बजारको व्यवस्था छ न भण्डारणको बन्दोबस्त छ । कराएर मात्रै हुन्छ र ? कराएर नै हुने भए नेता र तिनको झोलेहरू सानो कराउँछन र गाउँमा खोई के नापियो ?
राईमाइला हिँड्यो रे । म पनि माइला, मैले गाउँ आज छोडेको हो र ? २०३८ सालको असोजमा छोडेर हिँडेको अहिले सम्म कसैले एकपटक पनि यो माइला हिँडेको बारे कतै सोधिखोजी गरेनन् । कसरी हिँड्यो होला, न यातायातको सुविधा न राम्रो बाटोघाटो न राम्रो पुलपुलेसो ३ दिन पैदल हिँडेर बल्ल तराई पुगिन्थ्यो । धरान पुगेर काठमाडौं आउने कोशी यातायातको गाडीमा ८०/- रुपैया भाडा तिरेर अति कष्टसाथ सिमभन्ज्याङको बाटो हुँदै काठमाडौं छिरेको । त्यो बेला सम्झिँदा अहिले कहाली लाग्छ तर कसैले दाइ माइला कता गयो ? कता पुग्यो ? के खायो ? सोधखोज गरेनन् । अहिले यति सजिलो गरी गाउँबाटै गाडी चडेर अरुण नदीको पक्की पुल तरेर सररर हिँडेको राईमाइलामाथि बर्साएको सहानुभूति देखेर अचम्मै लाग्छ ।
वास्तवमा यो राईमाइला हो चाहिँ को ? राईमाइला हिँड्नासाथ गाउँ रित्तै भयो होला त ? यो सबको बन्दोबस्त गर्ने व्यवस्थापन मिलाउने स्थानिय निकाय र प्रादेशीक निकाय अनि मुख्य बागडोर समाएर बसेको केन्द्रीय निकाय के हेरेर बसेको छ ? खाली कराएर र गाएर माइलाहरू गाउमा रोकिन्छन् ? भाषण सुनाएर मात्रै चित्त बुझाउछन् ? रोजगारीको प्रत्याभूति खोई ? आधुनिक कृषि प्रणाली, मल बिउको सर्वसुलभता खोई ? त्यसैले राईमाइलालाई गाउँमै रोक्न यी सबको व्यवस्थापन पहिला हुनुपर्यो तब न माइलाहरू रुक्छन् ।
राईमाइला तिमी जहाँ भए पनि आफ्नो लागी राम्रो काम गरेर बस्नु, कसैको कुरा नसुन्नु ।
०००
गल्कोपाखा, काठमाडौं ।
Subscribe
Login
0 Comments
Oldest