याेगीश कृष्णखाल्डोको उँचाइ
अन्तर्राष्ट्रिय शान्ति संस्थाहरूले मध्यस्थता गर्ने इच्छा प्रकट गर्थै । विभिन्न विश्वविद्यालयका विद्वानहरू खाल्डो आन्दोलनको अध्ययन गर्न नेपाल आउने थिए ।

योगीश कृष्ण :
वर्षातको मौसम । वर्षात सँगसँगे भ्यागुता कराउन थाल्छन् । खेत पोखरीतिरबाट ट्यार्र ट्यार्र आवाज आउँछ । सदन सडकतिरबाट बजेट बजेटको आवाज आउन थाल्छ । यता पुरानो बजेट सकाउन अहोरात्र काम हुन थाल्छ । जुन काम अघिल्लो एघार महिनामा सम्पन्न हुन सकेको हुँदैन, अचानक एक महिनामा पूरा हुन्छ । सरकार, ठेकेदार, कर्मचारी, उपभोक्ता समितिका सदस्य अर्थात कार्यकर्ता खुसी हुन्छन् । जनता पनि खुसी हुन्छन् -सप्पै खाएर सक्नेछन् । जे भए पनि अलि अलि काम भएछ ।
वर्षात सँगसँगै अर्को चर्चा पनि आरम्भ हुन्छ । खासगरी शहरी क्षेत्रमा । खाल्डोको केही वर्ष यता खाल्डोको विशेष चर्चा हुँदै आएको छ ।संघीय मन्त्रीदेखि नगरपालिका सदस्य पनि खाल्डोको विषयमा चर्चा गरिरहन्छन्। अझ मेरो मित्र बन्धु त खाल्डोको विषयमा चिन्तन गर्दो थियो “म खाल्डोको उँचाइको बारेमा चिन्तन गर्दै छु ।”
मलाई उसको भनाइप्रति हाँसो उठ्यो “के कुरा गरेको यार । खाल्डोको पनि कतै उँचाइ हुन्छ ? गहिराइ पो हुन्छ ।”
ऊ त्यसैगिर मुस्कुरायो जब कुनै नेता जनताकोे मूर्खताप्रति मुस्कुराउँदै मत माग्न जान्छन् “रूपमा नजाऊ, सारमा जाऊ । अब खाल्डोहरू पहिले झैँ सामान्य रहेनन् । जब प्रधानमन्त्री स्वंयले खाल्डो पुर्ने आदेश दिनुभयो, त्यसै दिनदेखि खाल्डोहरू विशिष्ट भइसके । तिमीले विश्वको कुनै पनि देशको प्रधानमन्त्री वा कार्यकारी प्रमुखले सडकको खाल्डोको विषयमा यत्रो चिन्ता गरेको देखेका छौ ? नेपालका खाल्डोहरूले राष्ट्रिय स्तरको मान्यता प्राप्त गरिसके । उनीहरूको उचाइ बढिसक्यो ।
उसको कुरा सही लाग्यो । खाल्डाखुल्डीको हैसियत अचानक बढ्यो । चुनाव जितेको नेता जस्तै । यसअघि खाल्डोको कुनै भाउ थिएन । खाल्डोमा मानिस टेक्दा पनि टेक्दैन थिए, आँखा टेढो पार्दै किनाराबाट हिँड्थे । राज्यस्तरको कुरा गर्ने हो भने त झन कुनै मर्यादा नै थिएन । गाविस तहमा सचिव वा हद भए वडा सदस्यको यदाकदा आकर्षणको केन्द्र हुन्थ्यो– खाल्डो । नगर क्षेत्रमा मजदुरभन्दा अरुले त वास्तै गर्दैनथे । खाल्डोको दिन फिर्यो । खाल्डोको विषयमा सचिवहरू अद्यावधिक जानकारी सार्वजनिक गरिरहेका छन् । सदनमा खाल्डोको चर्चा हुन्छ । दलहरूका प्रवक्ताको बोलिमा खाल्डो छ । वरिष्ठ प्रशासकहरू खाल्डोको विषयमा सरकारलाई प्रतिवेदन बुझाउँछन् ।
सञ्चारमाध्यमहरू खाल्डोको समाचार प्रकाशन गरिरहेका छन् । कैयन् टिभी पत्रकारहरूलाई दुख पनि लाग्दो हो –खाल्डाहरू बोल्न सक्दैनन् । नभए मसलावाला समाचार लाइभ प्रसारण गर्न पाइन्थ्यो । छापे पत्रकार सोच्दा हुन् एक से एक खाल्डाहरूको अन्तवार्ता प्रकाशन गर्न सकिन्थ्यो – खाल्डो नेता, प्रभावशाली खाल्डो नेता, युवा खाल्डो नेता, वरिष्ठ खाल्डो नेता, सशक्त खाल्डो नेता आदि ।
खाल्डोहरू मानिस भएका भए के सोच्दा हुन् ? के गर्दा हुन् ?
सबैभन्दा पहिले खाल्डो भेला हुन्थ्यो । जुन खाल्डोमा पुरिएर एक बालिकाको मृत्यु भएको थियो त्यसको छेउको सानो खाल्डोले कानेखुसी गर्दै भन्ने थियो “आज हामी जुन अवस्थामा आइपुगेका छौँ , त्यसको श्रेय तपाइँलाई जान्छ । यो भेलाको सभाध्यक्ष गर्न म तपाइँको नाम प्रस्ताव गर्छु ।”
ठूलो खाल्डोको अनुहारमा चमक आउने थियो । उसलाई लाग्दो हो – गजब चमचा फेला पारेँ ।
चमचाले भेलाको कल्याङ् कुलुङ्लाई शान्त हुन आग्रह गर्दै भन्ने थियो “यस्ता सबै कार्यक्रममा सभाध्यक्षको आवश्यकता हुन्छ । यसका लागि म उहाँ ठूलो खाल्डोको नाम प्रस्तावित गर्दछु ।”
रत्नपार्कको मञ्चको खाल्डोले तुरुन्त उठेर समर्थन जनाउँने थियो । उसको कुरा सकिनासाथ रौतहटको खाल्डो जहाँ चार जना डुबेर मरेका थिए, ऊ जुरमुराउने थियो “परिणाम मात्र होइन, परिमाण पनि हेर्नुस्, म भित्र डुबेर चार जना मरेका छन् । अध्यक्ष पदमा मेरो दावेदारी छ । ”
सामान्य खाल्डो जोमाथि टेकेर पनि मानिस आवतजावत गर्थे उसले विरोध जनाउने थियो “हुन्न । मानिस मर्नु राम्रो कुरा होइन । हामी हिंसालाई प्रश्रय दिन सक्दैनौँ ।”
चमचाले जुरुक्क उठेर भन्ने थियो “कैयन निर्दोषको हत्या गर्ने मुलुकको प्रधानमन्त्री, मन्त्री जस्ता ठूल ठूला पदमा बसेका छन् । यहाँ मलाई के लाग्छ भने हामी खाल्डोहरूको विरुद्ध ठूलै षडयन्त्र भइराख्या छ । प्रतिगामी तत्वहरू सलबलाई रहेका छन् । हामी अग्रगमनमा गइरहेको वर्तमान अवस्थामा यस्ता कुराहरूप्रति वैज्ञानिक तवरले बुझ्नु आवश्यक छ ।”
खाल्डोले कृतज्ञतापूर्वक चमचालाई हेर्दै आफू सभाध्यक्ष भए पनि वा नभए पनि जस्तोसुकै अवस्थामा खाल्डोहरूको मुक्तिका लागि जस्तोसुकै मूल्य चुकाउने प्रतिबद्धता जाहेर गर्ने थियो र तालीको गडगडाहट बीच ऊ सभाध्यक्षको आसन ग्रहण गर्ने थियो ।
चमचाले भन्न सुरु गर्ने थियो “मुलुकका प्रधानमन्त्रीले खाल्डोको विषयमा जसरी चासो देखाउनु भयो, त्यसलाई सारमा बुझ्ने हो भने ठूलै षडयन्त्र भएको हुनु पर्छ भन्ने हाम्रो बुझाइ रहेको छ । संसारका कुनै पनि प्रधानमन्त्रीले खाल्डो पुर्ने आदेश दिएको कसैले सुन्नु भएको छ ? यस्तो संसारमा कतै भएको छैन ।
नेपालमात्र त्यस्तो देश हो जहाँ प्रधानमन्त्रीले यस्तो आदेश दिएका छन् । हाम्रो अस्तित्व समाप्त पार्न प्रधानमन्त्रीले यस्तो आदेश दिएका हुन् । विदेशीको इशारामा कर्मचारी नियुक्त हुने यो देशमा उनले सहजै यस्तो आदेश दिए होलान् त ? यसमा अन्तराष्ट्रिय षडयन्त्र भएको हुनुपर्छ । यसको निमित्त हामी सबै खाल्डोहरू एक ढिक्का भएर आफ्नो अस्तित्व रक्षाका लागि लडन तयार हुनुपर्छ ।”
राजनीतिक दलको एक नेताको घरछेउको खाल्डोले उठेर भन्ने थियो “लडनाका लागि हामीलाई तन र मनले मात्र पुग्दैन । धनको पनि आवश्यकता पर्छ । हामीले यस विषयमा पनि ध्यान दिनुपर्छ । भन्नु हुन्छ भने म चन्दा उठाउन तयार छु ।”
इन्जिनियर र प्रशासकको घरछेउको खाल्डोले अर्को प्रस्ताव राख्ने थियो “म कसैले थाहा पत्तो नदिएर अर्थ सङ्कलनको उपाय सुझाउँछु । खाल्डो पुर्ने त कर्मचारी र ठेकदारहरू न हुन् । उनीहरूसँग हामी गोप्य सभझौता गरौँला –हामी पुरिए जसरी बसिदिन्छौँ । भुक्तानि आधा आधा बाँडेर लिउँला । अहिले वर्षातको मौसम छ– उनीहरूलाई पनि जबाफ दिन सजिलो छ –“पुरेको त हो, पानीले बगायो ।”
एवम् रीतले भेला राजनीतिक दलको रूपमा परिणत हुने थियो । जुन खाल्डोमा परेर धेरै मानिस मर्छन् त्यसलाई दलको अध्यक्ष बनाउने विधान पारित हुने थियो । दलले सरकारसँग माग राख्ने थियो । अन्तर्राष्ट्रिय शान्ति संस्थाहरूले मध्यस्थता गर्ने इच्छा प्रकट गर्थै । विभिन्न विश्वविद्यालयका विद्वानहरू खाल्डो आन्दोलनको अध्ययन गर्न नेपाल आउने थिए ।
अन्ततः सरकारले खाल्डोसँग वार्ता गर्न सर्वदलीय सहमतिका आधारमा वार्ता कमिटी गर्ने थियो । खाल्डाेकाे उँचाइ झन झन बढ्ने थियाे ।
०००
काठमाडाैं







































अखिल नेपाल खाल्डाे सम्मेलन हुनु पर् याे। मेरै छिमेककाे कुसल नामकाे एउटा बाबुलाई खाल्टाेले निलेकाे थियाे ।यस्ता निल्ने खाल्टा देशै भरि छन् । यी सबैकाे सम्मेलन गराएर राष्ट्रप्रमुखका नजरमा खाल्टा पारेर देशका खाल्टाहरूकाे विकास हुन पर्छ । सुखी नेपाली र समृद्ध नेपाल तब हुन्छ । वर्षभरपाे वजेट सात दिनमा सक्ने व्यवस्था हुनु पर्छ । अर्काे संस्करणमा याेगीशजीले याे छुट कुरा पनि थप्नुहुनेछ ।
५० को दशकदेखि विभिन्न उपनामले व्याङ्ग्य लेख्दै आउनु भएका योगिशकृष्ण खरेल आजभोलि आफ्नै नामबाट लेख्दै आउनु भएको छ । समसामयिक विषयमा कलम चलाउदै आएका खरेलका पछिल्ला लेखमा राजनीति तथा सामाजिक विषयमा चोटिलो प्रहार रहेका छन् ।