रुद्र ज्ञवालीखुराक
हुँडारबाट आजित सिंह र रातामुखेको आपतकालीन बैठक बस्यो । बैठकले पिपलपाते हुँडारलाई बर्खास्त गरी अरण्यदेशको सत्ता नियन्त्रणमा लियो ।

रुद्र ज्ञवाली :
आफ्नो अगाडि दुईहात जोडेर दुईखुट्टाको भरमा उभिएको हुँडार देखेर अरण्याधीश सिंह अचम्ममा पर्यो ।
“कताबाट अन्मरिइस् घुसपैठी ?” उपेक्षाको भावमा सिंहले सोध्यो ।
“प्रभु मलाई हजुरको सेवा गर्ने अवसर दिनु पर्यो । अरण्यराजको मुख्य कारणी हुन पाए यो गुलाम प्रभुको खुराक पुर्याउने जिम्मा लिन्छ ।” हुँडारले बिन्ती बिसायो ।
“तँ पिपलपातेको के भर भयो र ?” सिंहले प्रतिक्रिया जनायो ।
“जे भयो भयो । अब त्यस्तो हुँदैन प्रभु ।” हुँडारले चिप्लो घस्यो ।
“लौ अझै एकपटक हेरौँ ।” सिंहले भन्यो ।
हुँडार अरण्याधिपतिमा नियुक्त भयो । उसले अरण्यदेशका पहिचानहरूको शिकार गर्दै धेरै आफूले हसुर्यो र अलिअलि प्रभुका चरणमा चढाउँदैै गर्यो । यसबाट सिंह असन्तुष्ट भयो ।
“अब पनि मेरो ज्यान सुहाउँदो शिकार ल्याइनस् भने म तैंलाई खाइदिन्छु ।” सिंहले चेतावनी दियो ।
“तँ मात्रै छस् र यहाँ । तँ नभए रातामुखे मीत मुख मिठ्याएर बसेका छन् ।” मनमनमा यही सोच्दै हुँडार बाटो लाग्यो ।
सिंहसँगकै जस्तो प्रस्ताव लिएर हुँडार रातामुखे निवासमा हाजिर भयो । सिंहसँग राखेजस्तै प्रस्ताव राख्यो र रातामुखे प्रजातिको मुखियालाई विश्वासमा पार्यो ।
तदनुपरान्त हुँडारले सिंहसँग सम्बन्ध विच्छेदगरी रातामुखेसँग सम्बन्ध स्थापित गरेको घोषण गर्यो ।
तर लागेको बानी कहाँ जान्थ्यो र । रातामुखेसँग पनि उसको मनमुटाव सुरु भयो र त्यो विवाद सम्बन्ध विच्छेदको अवस्थामा पुग्यो ।
हुँडारबाट आजित सिंह र रातामुखेको आपतकालीन बैठक बस्यो । बैठकले पिपलपाते हुँडारलाई बर्खास्त गरी अरण्यदेशको सत्ता नियन्त्रणमा लियो ।
हतास र निरास हुँडार अचेल मुसो देखे पनि तर्सिन्छ र एक्लै बर्बराउने गर्छ । बर्बराएको बेला ऊ भन्ने गर्छ, “पल्लो छिमेकी मैनाकोजस्तै मेरो खुराक पनि बाजले खोस्यो ।”
०००
भैरहवा
Subscribe
Login
0 Comments
Oldest








































