मुक्तिनाथ शर्माबुद्धि नभको मोरो
उनीहरू याहा आएर धाक धक्कु लगाउन पछि पर्दैनन् । तर वास्तवमा उनीहरूका समस्या अनेक छन । त्यहाँ जान पाए त के के नै होला भन्ठान्छन् । यहाँको झिटी झाम्टो बेचेर उता गए । उता गए पछि फस्छन यस्ता समस्यामा ।

मुक्तिनाथ शर्मा :
बाहिर गेटमा एक्लै गुन्गुनाउँदै कोही मानिस आएजस्तो लागेर यसो चिहाउँदै थिएँ सरासर भर्याङनै चढेको थाहा पाएँ । को मान्छे होला भनेको त मिश्रमामा आएका रहेछन् । मामा आज कुनै कुराले पिरलिएर आएजस्तो लाग्यो । मुहार चुनाव हारेको नेताको जस्तो देखियो । चिन्तित मुद्रामा मामाले भन्नुभो “आएन मोरो । बुद्धि नभएको मोरो । मर्छु बरू घर त जान्न भन्यो रे । मरोस उतै ।”
यति सुने पछि त खाटी कुरा बुझ्न परेन र । मैले प्रस्न हुत्त्याएँ “ए मामा ! को आएन भनेको ? को हो बुद्धि नभएको ?”
मामाको पुराण अर्थात कथा सुरु भयो । गाउँको एउटा केटो विदेश गएकोमा घर फर्केन रे । यहा भर्खर बिहा गरेकी तरुनी पत्नी छोडेर गएको घर फर्केरै आएन । बुढा बाउ आमा र उसकी पत्नी छन घरमा । सम्पत्ति नभएको पनि होेइन छ गरी खाए सानु परिवार पालिन सक्छ । तर ऊ फर्केर आएन जसरि हुन्छ त्यसलाई घर पठाइदेउ भनेर गाउका उते रहेका मानिसलाई भन्दा उनले फकाउने हप्काउने आदि सारा अस्त्र प्रयोग गरेछन्। तर पनि मानेन किन भन्दा उसले भनेछः-
म उताबाट जब यता आएँ भनेजस्तो काम पाइन । जसरि हुन्छ बाँच्न त पर्यो । जहाँ जस्तो काम पाए पनि गर्न थाले । निच काम गरे पछि इज्जत पनि गिर्दै गयो । मेरो जीवनको स्तर नै गिर्यो । फोहोरी अप्ठेरा र घिन लाग्दा काममा मात्र बोलइने र खट्नेमा दरिएँ । कतिका घरका बाथरुम सफा गरेँ । कति पटक गन्हाउने ढलमा पसेर काम गरेँ, शरीरनै ढलमय पनि भयो । ज्यानै लाला जस्तो काम पनि गरेरै बाँचे । हुँदा हुँदा चारपाँच घरका भाँडा माझ्ने काम गरेर बाँचे । कामबाट जति पाएँ सबै खाएँ । बचत केही भएन । अब म कसरि घर जानसक्छु । जाने भएपछि केही लान पनि पर्यो तर त्यो क्षमता मसँग छैन । फेरि अर्को एउटा समस्या पनि छ यहा मैले धेरैका भाँडा माझे । जति भाँडा माझेँ म त त्यसमै अभ्यस्त भए छु । अचेल त अरुका भाँडा माझ्न पाए मात्र सुखी ठान्न थालेको छु आफैलाई । अब भन्नोस् त गाउँमा गएर ओल्लो पल्लो घर गएका बखत त्यहा जुठाभाँडा देखिएला तुरुन्तै मस्काउन मन लाग्ला । मावली ससुराली जान मनलाग्ला अथवा पर्ला त्यहा गएर पनि जुठाभाँडा देख्यो कि मस्काउन मन लाग्ला । अनि त पर्दैन फसाद ?
मिश्रमामाले यो कुरा सुनेछन ।उनलाई बसीसक्नु भएन छ अनि कसलाई भनु कसलाई भनु भएछ । आए मामा मेरा घर । मलाई बताए सबै कुरा । भने भने सर्लक्क कुरा मसँग । मैले मन मनै सम्झेँ विदेश गएका प्राय हाम्रा युवकका यस्तै समस्या छन प्राय । यद्यपि उनीहरू याहा आएर धाक धक्कु लगाउन पछि पर्दैनन् । तर वास्तवमा उनीहरूका समस्या अनेक छन । त्यहाँ जान पाए त के के नै होला भन्ठान्छन् । यहाँको झिटी झाम्टो बेचेर उता गए । उता गए पछि फस्छन यस्ता समस्यामा ।
अलि कति भाग्यमानीका तालुमा आलु फल्न पनि सक्छ तर धेरै जसोको बिल्लीबाठ नै हुन्छ । कि फर्कदै फर्कदैनन्, फर्के पनि दुःखै पाउछन । कि बाकसमा आउँछन् ।
मिश्रमामा र म यस्ता कुरामा चिन्तन गर्दै थियौँ, मेरी उनीका आँखाबाट आँसु बगेको देखियो ।
०००
बानेश्वर
Subscribe
Login
0 Comments
Oldest






































