अमर अधिकारीगाई नभन्नु ल !
हाम्रो गहुँत पनि खासै शुद्ध हुँदैन । शहरका मान्छेले बाध्य भएर मात्र हाम्रो गहुँत लैजाने गर्छन् । रामदेवले उत्पादन गर्ने गहुँत र वामदेवले उत्पादन गर्ने गहुँतमा धेरै फरक छ ।

अमर अधिकारी :
सकेसम्म बाच्छीको, नभए गाईको भए पनि मुतौरीमा हातले घर्षण गराएर तामाको अंखोरा थाप्दै “मुत्-मुत् बाच्छी झाले बाच्छी पाउलास्” वा “छुल-छुल बाच्छी झाले बाच्छि पाउलास्” भन्दै जबर्जस्ती गहुँत निकाल्नु हुन्छ । हाम्रो स्वेच्छाले वा मनमौजीले पो मुत्न पाउनुपर्छ । यसरी जबर्जस्ती गरेर निकालेको मुतले पनि कहीँ धर्म होला त ? कि त मेरो पुच्छरको भेट्नामा डोरीले बाँधेर भाँडो झुण्ड्याउनु पर्यो न । त्यसो गरेमा आफू खुशी भाँडोमा खस्ने छ मेरो मुत अर्थात् गहुँत् ।
हामीलाई जैसी गाई भन्छन्, उपाध्याय गाई वनमा लगेर चराउँछन् । तर हामीलाई वनमा लैजाने मन गर्दैनन् । किनकि हामी दोस्रो दर्जाका गाई हौँ । त्यसैले हामीलाई गाई नभन्नु ल ! हामीले पर्याप्त मात्रामा घाँस खान दिँदैनन् । खोले, कुँडोले हाम्रो ज्यान खतरामा छ । हामीलाई ग्यास्ट्रिक भएको, प्रेसर र सुगर भएको मनुष्य भनाउँदाले थाहा नै पाउँदैनन् । हामीलाई ज्वरो आएको बखत हामीलाई सिटामोल नै दिदैनन् । हुन त यो देशमा मानिसले पनि सिटामोल नपाएको सुनिन्छ । सिटामोल नपाएकै कारण कतिपयको ज्यानै जाने गरेको पनि समाचारहरूबाट थाहा हुन्छ । हाम्रा सोली जस्ता कान भए पनि मान्छेको झोली जस्ता कानभन्दा कम छैनन् । हामी पनि सुन्छौँ तिमीहरूले झैँ । हामीलाई पनि आयो नून ख्वाउँछौ । आयो नूनमा १५ पिपिएम आयोडिन हुनुपर्नेमा साल्ट ट्रेडिङले ५५ पिपिएम आयोडिन मिसाउँदोरहेछ ।
मनुष्यलाई झैँ हामीलाई पनि थाइराइडको समस्या आएको छ कि ? शङ्का लाग्न थालेको छ । बाँधिएको बाँधियै गर्दा हाम्रा खुरहरूका साइज बढ्दै चुइँक्क-चुइँक्क आवाज आउँछ । वनमा लगेर चराउने गरेको भए पो खुर पनि खिइने र सही आकारमा हुने थिए । के गर्नु मनुष्यलाई पैसै ठूलो छ, दुहेर बजार लगेर पैसै कमाउनु छ । हाम्रा बाच्छाबाच्छीको अधिकार खोसिएको छ । जैसी गाईलाई अरु लोकल गाई जस्तै थेरापीको खाँचो हुन्छ । उकाली ओराली गर्ने उपाध्याय गाईको भाग्य नै हो । हामी जैसी गाई त एकै ठाउँमा बाँधिएको बाँधियै । हामी के धान राख्ने भकारी हौँ- हाम्रा सहकारी व्यवस्थापकका भकारी भने झैँ । त्यसैले हामी जैसीगाईलाई गाई नभन्नु ल !
गाईपालक भनाउँदा हाम्रा मालिकले हामी बाँधेको किलोनिरै बजारबाट पोकाका दूध ल्याएर फुटाएर ठूलो भाँडोमा हामीबाट दुहिएको दूध मिसाएको हामीले टुलुटुलु हेरेर पराल खाइराखेका हुन्छौँ । मालिक मनुष्यले हाम्रो दूध र त्यो पोकाको दूध मिसाउने अनि अलिकति इनारको पानी पनि मिसाउने त्यसमाथि थोरै चिनी मिसाउने गरेको काम उपभोक्ताले थाहा नै पाउँदैनन् । मनुष्यले त अर्को मनुष्यका तमाम खोटहरू थाहा पाउँछन् । एउटाले लोकसेवा पास गर्यो भने लोकसेवामा फेल हुनेले पछि गएर जागिरेलाई त्यो त भ्रष्टाचारी हो भन्दै हिँड्छन् । लोकसेवा पास गर्न नसक्ने अनि अरुलाई भ्रष्टाचारी भन्ने ? आफ्नो व्यापार बेढङ्गले गरेर घाटा खाने अनि ढङ्गले व्यापार गर्नेको प्रगति देखेर त्यो त कालाबजारी हो भन्ने? पार्टीहरू मात्र झालेमाले होइन गाई गोरु पनि झालेमाले हुन्छन् । अमेरिकामा दुईटा पार्टी हुँदा हाम्रो देशमा डेढसय वटा पार्टी हुनु हाम्रा लागि गौरवको कुरा हो । अमेरिकाभन्दा कम धनी छौँ र हामी ?- पार्टीको कुरा गर्दा ।
हामीलाई गाई भन्ने हो भने घाँस चाहिन्छ, त्यो पातवाले होस् वा डालेघाँस होस्, त्यसो गरेमा मात्र हामीलाई गाई भन्नुहोला । उपाध्याय गाईको गोबर र हामी जैसी गाईको गोबरमा धेरै फरक हुन्छ । उपाध्याय गाईको गोबरले घरको भुइँ लिपेमा वास्ना आउँछ तर हामी जैसी गाईको गोबरले लिपेमा गन्हाउँछ, किन कि हामीले घाँसभन्दा बढी अनाज खाएका हुन्छौँ । हाम्रो गहुँत पनि खासै शुद्ध हुँदैन । शहरका मान्छेले बाध्य भएर मात्र हाम्रो गहुँत लैजाने गर्छन् । रामदेवले उत्पादन गर्ने गहुँत र वामदेवले उत्पादन गर्ने गहुँतमा धेरै फरक छ । हरिद्वारबाट रामदेवले प्याकिङ गरेर पठाउने गहुँत मजाले विक्री हुन्छ । तर हाम्रो गहुँतको मूल्य नै छैन भन्या ! हामी गाई त हौँ तर जर्सी गाई । किन हामीलाई जैसी गाई भन्दै हेपेको त ? त्यसैले हामीलाई अबदेखि गाई नभन्नु ल !
०००
खुङ्ग्री, रोल्पा, हालः बुढानीलकण्ठ ।











































अब्बल !