साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भर्‍याङ चोरहरूदेखि सावधान

सिँढी चोरहरूको यात्रा सुन्दर होस् ! भविष्यमा सिँढीचोरहरू तक्मामा देखिने छन् र सबैलाई चक्मा दिनेछन् । त्यस्ता भर्‍याङ चोरदेखि सावधान रहन निवेदन गर्दछु । भर्‍याङ चोरदेखि सावधान !!

Nepal Telecom ad

घनश्याम रेग्मी:

के रे भर्‍याङ चोर रे ?
हैन कस्तो चोर हो यो भर्‍याङ चोर्ने ?
तपाईंलाई अचम्म लाग्न सक्छ, अरू धनमाल त चोरी हुन्छ नै तर भर्‍याङ चोर रे ? यो कस्तो चोर होला ?

धनमाल र अन्य वस्तु चोरेर त दुःख नगरीकन अर्काको सामान मस्तले प्रयोग गर्न सक्ला । रुपैयाँ पैसा चोरेको भए आवश्यकताका सामान किन्ला । खाद्यान्न भए पकाएर खाला पेट भर्ला । सुन चाँदी भए बेचेर पैसामा बदल्न , सङ्ग्रह गर्न र गहना बनाएर लगाउन पनि सकिने हुन्छ, तर भर्‍याङ चोरेर त्यो चोरले न त पैसामा बदल्न सक्छ, न खान मिल्छ, न लगाउन मिल्छ । न त सङ्ग्रह गरेर पछि आवश्यकता पर्दा बेच्न नै सकिन्छ । भर्‍याङ त झन् लामो र कसैलाई खास समयमा मात्र चाहिने नत्र “चाहिँदाको भाँडो नचाहिँदाको ठाँडो” भएकाले बाहिरै राखिन्छ । न घामलेपानीले बिग्रिने न करोडौं मूल्य खर्चिनु पर्ने ! कङ्कालजस्तो भनूँ कि घोचो घारोजस्तो वस्तुलाई कसले पो भित्र राखोस् ?
हो, म त्यही भर्‍याङ चोरीको कुरा गर्दैछु ।

चोर !
यो शब्द त तपाईंले सुन्नु भएकै शब्द भयो । अर्काको सामान, धन पैसाजस्ता चिजहरू थाहै नदिएर सुटुक्क लैजानु नै चोरी हो । जसले यसो गर्छ त्यो चोर हो । चोरिएको धनमाल वा सामानको प्रकृति हेरेर चोरले दण्ड सजाय पाउनैपर्छ ।

चोरीको प्रकृति हेरेर सामान्य चोरी भएमा चोरलाई स्थानीय भद्र भलाद्मीकहाँ लगिन्छ, केरकार गरिन्छ र सम्झाई बुझाई गरेर पठाइन्छ । विशेष किसिमको चोरी भएमा प्रहरीमा उजुरी हुन्छ । हिरासतमा लिइन्छ र अदालतमा पेस गरिन्छ । मुद्दा लाग्छ र कसुर ठहरे नेल लगाएर जेल पनि कोचिन्छ । तर यो भर्‍याङ चोरीको मामिलामा के हुने भन्ने किटानी पनि कतै भेटिएन ।

भर्‍याङ !
भर्‍याङ शब्द अपरिचित शब्द पनि होइन, सायद धेरैले बुझ्नु र प्रयोग गर्नुभएको होला । जे भए पनि घर मन्दिर वा गोठको माथिल्लो तलामा उक्लिनुपर्दा ढुङ्गा इँट्टाबाट निर्मित भएका स्थाई प्रकृतिका बाहेक बाँस काठमा किला ठोकेर वा सग्लो काठको मुढामा खाप वा अखेटा काटेर भुइँमा वा तल्लो तलामा टेकाएर उपल्लो तलामा पुग्न प्रयोग गरिने लिस्नो, भर्‍याङ वा सिँढी जे भने पनि आखिर उही शब्द । भर्‍याङ शब्द बन्दासम्म यसले धेरै चरणहरू पार गरेको होला । अवस्था र स्थान हेरेर भर्‍याङ घरभित्र वा बाहिर जहाँ पनि राख्न सकिने कुरा भइहाल्यो । सुबिधाका दृष्टिले होस् वा सान, मान र प्रतिष्ठा देखाउन र जोगाउन जे होस् एउटा मुढोबाट निर्मित साँघुरो लिस्नोको अवस्थाबाट फराकिलो र विस्तारित भर्‍याङ हुन उसलाई निकै समय लागेको हुनुपर्छ । लिस्नो , सिँढी वा भर्‍याङ जे भए पनि तलबाट माथि वा माथिबाट तल झर्न प्रयोग हुने साधन भएकाले यसको विशेष महत्त्व छ । यत्तिकै माथि पुग्न कहाँ सजिलो छ र भर्‍याङविना ? त्यसैले त ती चोरहरूले भर्‍याङ चोरेका होलान् ।

हो , त्यही भर्‍याङ चोरीको कुरा हो । आजकल जताततै भर्‍याङ चोरी भइरहेको छ । सहर केन्द्रित मानिसहरूले गाउँ छोड्न थाले । उनीहरूले आफूसँग भर्‍याङ लैजान्नन् । गाउँका उरन्ठ्याउला केटाहरू त्यही भर्‍याङ चढेर रित्ता घरका बार्दलीमा पुग्छन्, चुरोटका बट्टा रित्याउँछन्, सेल्फी हान्छन्, बोतल रित्याउँछन् र तिनै भर्‍याङ अर्काको घरतिर फर्काएर छोडिदिन्छन् । कतिले तिनै अधमरा भर्‍याङ प्रयोग गरेर झ्यालबाट भित्र चिहाउँछन् । चोरी गर्छन् र त्यो भर्‍याङ जहाँको त्यहीँ छोडिदिन्छन् । भर्‍याङ देख्नेले फलानाको घरको भर्‍याङ प्रयोग गरेर चोरी गरियो भनेपछि भर्‍याङ धनीले नै चोरी गरेको ठहर्ने भयो जब कि चोर अरू कोही नै हो ।

कुरा केही पहिलेको हो । फाँटको खेतमा हाम्रो एउटा गोठ थियो । हिउँदमा गाई वस्तु तल बाँधिन्थे । माथिल्लो भागको आधा भागमा मानिस बस्न मिल्ने र आधा भागमा पराल भुस आदि राखिन्थ्यो । वर्षा याममा अलिकति परालमात्र रहेको गोठ प्राय रित्तो नै हुन्थ्यो । हामी वर्षा लागेपछि खेत रोपाइँ सकेर वस्तुसहित माथिको घरबारीतिर केन्द्रित हुन्थ्यौँ । वर्षा याममा गोठमा भएको त्यो सिँढी ससाना केटाकेटी र बाख्रा आदि नचढुन् भनेर घुमाएर पिठ फर्काएर चढ्न नमिल्ने गरिदिन्थ्यौँ वा भुइँमा लडाएर छोडिदिन्थ्यौँ ।

एक पटक त्यसरी भुइँमा लडाएर छोडेको त्यो सिँढी त्यही गाउँको एउटा पिलन्धरेले मैले जङ्गलबाट बनाएर ल्याएँ भनेर बोकेर अर्को छिमेकीका घरमा लगेर टेकाइदिएछ र दाम खाएछ । केही दिन पछि यो थाहा भयो एउटा घरमा लागेको सिँढी चोरेर अर्कोलाई बेच्ने , किनेर ढुक्क प्रयोग गर्ने सिँढी चोर सप्रमाण समातिए । मैले त्यस बेलादेखि सिँढी चोरीको घटना देखेको हुँ । आज त्यस्तै सिँढी चोरहरू जताततै छ्याप्छ्याप्ति पाइन थालेका छन् । शिक्षा दिनेदेखि भिक्षा लिनेसम्मका तमाम मान्छेहरू सिँढी चोर्न र अर्काको सिँढी ढुक्कसँग प्रयोग गर्नमा अगाडि छन् । यो भर्‍याङ मेरो हो मैले यति गरेँ भनेर धाक जमाउँछन् । त्यस्ता सिँढी चोरहरू आफू माथि पुग्नेमात्र होइन त्यही सिँढी प्रयोग गरेर अरूमा शासन गर्न पनि पछि पर्दैनन् । राजनीतिमा त यसको भरमार प्रयोग भएकै छ । गाउँदेखि सहरसम्म सिँढी चोरहरू बढेका बढ्यै छन् ।

आजकल त बजारमा फलाका रडहरू जोडेर बेल्डिङ गरेर चाहिएजस्ता सिँढीहरू बनाउन झन् सजिलो भएको छ । रङरोगन गर्नेदेखि लिएर बिजुली तार जोड्ने, नेटका तार तान्नेहरूलाई ग्रिल पत्तीका सिँढीहरू सस्तो र सजिलै पाइन्छन् । नेट जोड्नेहरू फोल्डिङ हुने पोर्टेबल एरिएलजस्ता सिँढी बोकेर मोटरसाइकलमा कुदिरहेका देख्न सकिन्छ । त्यस्ता भर्‍याङ पाए कति सजिलो हुन्थ्यो यी भर्‍याङ चोरहरूलाई । हाम्रा लाउके नेताहरू एउटा भर्‍याङ बनाउन सक्तैनन् । अर्काको भर्‍याङको सहाराले माथि पुग्छन् र त्यही भर्‍याङ बनाउने, उपलब्ध गराउनेको खेदो खन्छन् ।हेर्दै जानुहोला तिनै भर्‍याङ चोरहरूको शासन यहाँ हुनेछ र हामी हेरेको हेर्‍यै हुनेछौं ।

यही सहरमा एक जना कर्मठ साहित्य सेवीले साहित्यको विकास र विस्तार गर्ने हेतुले एउटा साहित्यिक संस्था दर्ता गरेर राम्रो काम गरिरहेका थिए । उनलाई आफ्नो काम विशेषले राजधानी बस्नुपर्ने भयो । उनले सिर्जना गरेको त्यो साहित्यिक संस्थामा भर्‍याङ चोरहरूका आँखा परेछन् । रातारात उनीहरू त्यो भर्‍याङ चढे र त्यो संस्था आफ्नो नाममा दर्ता गरेर त्यसमा आफ्नो हैकम चलाए । महिनौं पछि पूर्व सञ्चालकलाई थाहा भयो आफ्नो भर्‍याङ त अरूले प्रयोग गरिरहेका छन् । भर्‍याङ चोरहरूले त्यही भर्‍याङ चढेर माथि मात्र पुगेनन् उनै पूर्व संस्थापकमाथि खेदो खने ।

त्यो साहित्यिक भर्‍याङमा एउटा परिवार विशेषले आफ्नो मनोमानी प्रयोग गर्न थाल्यो । आजकल त्यही सिँढी प्रयोग गरेर ती सिँढी चोरहरू साहित्यको ब्यापार गर्दैछन् । आफूले एउटा भरपर्दो सिँढी बनाउन नसक्नेहरू अर्काले बनाएको सिँढी चढेर अट्टालिकामा बसेर कुर्लिएको सुहाएको छैन भनेर भन्ने पनि कोही भएनन् । थुक्क सिँढी चोरहरू ! तिम्रा स्वाभिमान र तिम्रा आदर्श त्यही सिँढी चोर्दा प्रष्ट भइसकेको छ । अब तिनै सिँढी चोरहरू माला लगाउँनेछन्, खादा लगाउँनेछन् , अबिर जात्रा गरेर त्यही भर्‍याङ चढेर हात हल्लाउँदै बार्दलीमा पुगेर सेल्फी हान्नेछन् । उनका भरौटेहरू सिँढी चोरहरूको जय होस् भनेर कुर्लिने दिन अब टाढा छैन । सिँढी चोरहरूको यात्रा सुन्दर होस् ! भविष्यमा सिँढीचोरहरू तक्मामा देखिने छन् र सबैलाई चक्मा दिनेछन् । त्यस्ता भर्‍याङ चोरदेखि सावधान रहन निवेदन गर्दछु ।
भर्‍याङ चोरदेखि सावधान !!

०००
हाल : बैजनाथ १, चिसापानी ,बाँके

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
खुसीनगर !

खुसीनगर !

घनश्याम रेग्मी
सल्लाह – काटेर राम्रो हुनू

सल्लाह – काटेर राम्रो...

घनश्याम रेग्मी
नाक र नेतृत्व

नाक र नेतृत्व

घनश्याम रेग्मी
पाइँनेछ मिठो फल

पाइँनेछ मिठो फल

घनश्याम रेग्मी
वृद्धवृद्धा सँगै छन्

वृद्धवृद्धा सँगै छन्

घनश्याम रेग्मी
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x