युगल बसेलमन्त्रीसँग सिधा कुरा
अमूल्य त होइन, थोरबहुत मतको मूल्य मैले चुकाएकै हो । जे भए पनि मलाई जितकौरी माला पहिराएबापत मैले मनका मन, टनका टन धन्यवाद मन फुकाएर उतिबेलै दिएको हुँ, अहिले पनि दिन्छु र फेरि पनि जिताए भने त झन् धेरै धेरै धन्यवाद दिनेछु ।

युगल बसेल :
पत्रकार – मन्त्रीज्यू, नमस्कार ।
मन्त्री – नमस्कारका लागि धन्यवाद । नमस्कार, पुरस्कार, सत्कार, जयजयकार, सरकार, अहङ्कार, चाटुकार, प्राडो कार, पाउजुहरूका झङ्कार, शीत्कार र विरोधीहरूको चित्कार मैले खुसीसाथ स्वीकार गर्छु भन्ने कुरा तपाईंमार्फत पाठक, श्रोता, दर्शक, भ्युअर जोसुकैकहाँ पुर्याउन चाहन्छु । तिरस्कार, धिक्कार र बाङगाटिङ्गा प्रश्न सोध्ने पत्रकारकाे भने वहिष्कार गर्न मन लाग्छ ।
पत्रकार – गत हप्ताको बाढी पहिरोले जनताको जीउधनमा ठूलो क्षति पुर्यायो तर मन्त्रीहरू वा भनौँ सरकार मूकदर्शक बने, उद्धारमा उदासीन देखिए भनेर सर्वत्र विरोध भइरहेको छ नि ?
मन्त्री – त्यसरी विरोध गर्नेहरू उहिलेको भाषामा अ त (अराष्ट्रिय तत्त्व) हुन् भने अहिलेको भाषामा लोकतन्त्र वा गणतन्त्र विरोधी हुन्, सत्ता ताक्ने षड्यन्त्रकारी तिनै हुन् र सरकारको अस्थिरताका पृष्ठपोषक पनि तिनै हुन् । मुख्य कुरा त हाम्रा प्रमुख विरोधी नै तिनीहरू हुन् ।
पत्रकार – यस्तो प्रलयकारी जलप्रकोपको कारण के होला ?
मन्त्री – कारण प्रष्टै छ, विदेशी शक्तिको चलखेल नै यसको मुख्य कारण हो । विदेशी भूमिबाट बाफिलो वायु क्षेप्यास्त्रको रूपमा प्रहार गरेर यहाँ उधुम मच्याउने विदेशी शक्तिको जोडदार भर्त्सना गर्न चाहन्छु म । अझ विदेशी ताकत गुहार्ने प्रपञ्चकारी विरोधी दलको त घनघोर भर्त्सना गर्न चाहन्छु ।
पत्रकार – आरिघोप्टे वर्षाको कारणले पैदा भएको बाढीपहिरोले पुर्याएको जिउधनको क्षति, पीडितको कष्टकर जीवन र हाँडीघाेप्टे सरकारको कार्यशैली बारे तपाईंको नजरिया के छ ?
मन्त्री – मेरो दृष्टिकोण प्रष्ट छ । बाढीपहिरो, आँधीतुफान, भुइँचालो, महामारी, आगलागी जस्ता विपत्तिहरू पहिल्यै खबर गरेर आउँदैनन् र आएपछि तिनले क्षति पनि पुर्याउँछन्, क्षति पुगेपछि बेहोर्नै पर्छ ।
पत्रकार – क्षति बेहोर्नेको घाउमा मलपट्टी लगाउने दायित्व सरकारको होइन ?
मन्त्री – त्यो दायित्व पूरा गर्न हामीले स्वास्थ्यकर्मीलाई फर्मान जारी गरेका छौं । स्वास्थ्यकर्मीकहाँ जोकोही जस्तोसुकै घाउ लिएर पुगे पनि मलमपट्टी नपाई फर्कनु पर्दैन भन्ने कुरामा ढुक्क भए हुन्छ ।
पत्रकार – देशमा गम्भीर संकट भएको बेला मन्त्री विदेश भ्रमणमा रल्लिए, मुख्य प्रशासक सम्मान थाप्न हल्लिए भन्ने गुनासो छ नि ?
मन्त्री – यस्तो प्रश्न सोध्ने तपाईं कस्तो पत्रकार ? यो सङ्कट पूर्वनिर्धारित थिएन, मन्त्रीको भ्रमणचाहिँ पूर्वनिर्धारित थियो भन्ने पनि बुझ्न सक्नुहुन्न ? हामीले कुनै योजना बनाएपछि त्यो पूरा गरी छाड्छौँ । वैदेशिक भ्रमण पूरा गरेर हामीले योजना पूरा गर्ने कला र कार्यशैलीको दसी पेश गरेका छौँ । अब मुख्य प्रशासक सम्बन्धी प्रश्नसमेत मलाई सोध्ने प्रश्नमा मिसाएर तपाईंले गम्भीर गल्ती गर्नुभएको छ, त्यो प्रश्न फिर्ता लिनुस् ।
पत्रकार – बाढीमा जीवन गुमाउनेहरूप्रति तपाईंहरू संवेदनशील हुनुभएन भन्ने आलोचना भाइरल भइरहेको छ त ?
मन्त्री – तपाईंको यस कथनको म सशक्त ढङ्गले खण्डन गर्न चाहन्छु । म, मेरा सहकर्मी मन्त्री, मेरा दलका निर्वाचित मनोनित सबै सांसदहरू, पालिका प्रमुख उपप्रमुखहरू यस तथ्यप्रति अत्यन्त संवेदनशील छौँ ।
पत्रकार – संवेदनशीलताको पुष्टि कसरी गर्नुहुन्छ त ?
मन्त्री – हामीले ज्यान गुमाउनेहरूप्रति चोटिलो श्रद्धाञ्जली व्यक्त गर्यौँ, घाइतेहरूको स्वास्थ्यलाभको जोडदार कामना गर्यौँ र मृतक तथा घाइतेका परिवारप्रति सशक्त सहानुभूति प्रकट गर्यौँ भन्ने महत्त्वपूर्ण कुरा थाहा नपाएझैँ गरेर यस्तो प्रश्न गर्ने तपाईंको पत्रकारिताप्रति मेरो गम्भीर प्रश्न छ ।
पत्रकार – मेरो पत्रकारिताप्रति प्रश्न उठाउनुभन्दा पनि तपाईं र सरकारप्रति उठेका सवालहरूको जवाफ उठाउनु ठिक होला कि, मन्त्रीज्यू ?
मन्त्री – हेर्नुस्, मन्त्री पद भनेको सानो कारिगरी र तकदिरीले मिल्ने पद होइन ; मिल्ने भए त तपाईं पनि मन्त्रीकै कुर्चीमा ढलीमली, अडेसमडेस गर्नुहुन्थ्यो होला नि, होइन ? त्यसैले मन्त्री सामु प्रस्तुत हुँदा अलि अदबका साथ प्रस्तुत हुनुपर्छ तपाईंहरू । मन्त्री कुनै गल्लीको कुकुर होइन ।
पत्रकार – मन्त्री पद तपाईंलाई नै फापोस्, मलाई यही पत्रकारिता ठिक छ र पत्रकारले पनि तपाईंको जस्तो पद धुमधमाकाका साथ हत्याइसकेका छन् भन्ने कुरालाई मध्येनजर गर्नुहोला ।
मन्त्री – धमाकाकासाथ आएकाहरू धडाकाकासाथ नै थचारिन्छन् । ती खहरे हुन् , हामीजस्तो जरुवाको पानीले बनेका खोलानाला हैनन् ।
पत्रकार – को थचारिन्छ कसले थचार्छ भन्नेतिर लागेर विषयान्तर नहोऊँ, आजको मूल विषयतिरै केन्द्रित होऊँ कि, मन्त्रीज्यू ।
मन्त्री – ठिक छ ठिक छ, तर पत्रकार हुँ भन्दैमा धेरै मख्ख नपर्नुहोला । मलाई ताकेर बाङ्गाटिङ्गा खबर नछाप्नुहोला । ममाथिका र मजस्ताको वैदेशिक भ्रमण हुँदा खबर बटुल्ने निहुँमा डलर हसुर्न पाइने वैदेशिक भ्रमणमा जान र काउन्सिलमार्फत वा सोझै नानाथरी अनुदान थाप्न मेरै मद्दत कामयाब हुन्छ भन्ने नभुल्नुहोला ।
पत्रकार – मेरो लाभहानिको चिन्ता त म आफै गर्छु नि, मन्त्रीज्यू । तपाईंलाई किन दुःख चिन्ता ? चिन्तन त बरू देशका जनताको दुःख चिन्ताबारे गरौँ न, मन्त्रीज्यू ।
मन्त्री – गरौँ गरौँ, म नाइँ भन्दिन ल ।
पत्रकार – तीन घण्टासम्म बक्खु खोला किनारमा पेसा धन्दा गर्ने निम्छरा नागरिकले बाढीबाट घेरिएर, टहराको छानामा उभिएर थरथर काम्दै करुण आवाजमा उद्धार माग्दा तिनको दुर्दशा देखेर छरछिमेकीले गुहार माग्दाको आवाज तपाईंहरूको कानमा छिरेन भन्ने जनगुनासो बारे तपाईंको प्रतिक्रिया के छ ?
मन्त्री – कानमा नछिरेको होइन, राम्ररी नै छिरेको हो । हामीलाई कुनै एक खोलाको आवाजमात्र हेक्का राखेर पुग्दैन नि, देशभरिका आवाजको चासो राख्नुपर्छ । त्यसैले त्यो करुण पुकारा हाम्रो कानमा छिरेन भन्नु सरासर भ्रमपूर्ण कुरा हो ।
पत्रकार – सुनुवाइ भएको हो भने उद्धारका कदम किन चालिएनन् त ?
मन्त्री – मेरा दुईवटा मात्रै खुट्टाका कदम कता कता चाल्नु ? निगरानीमा राख्नका लागि ठूला व्यापारीकहाँ कदम चाल्नु कि, बडाबडा ठेकेदारकहाँ जानु कि, मालदार अड्डा ताक्रे जागिरदारकहाँ पुग्नु कि, सुटुक्क यताको माल उता उताको माल यता गरेर पेटीका पेटी बिटा छाप्नेकहाँ पुग्नु कि, फाइभ स्टार होटल धाउनु कि विदेश भ्रमणतिर पाइला चाल्नु ? तपाईं नै भन्नुस् त ।
पत्रकार – त्यसोभए प्राथमिकतामा नपरेर त्यसका लागि कदम नचालिएको हो ?
मन्त्री – त्यसो पनि होइन । त्यसलाई पनि प्राथमिकतामै पारेर हाम्रै दलको सक्रिय सदस्य क्षणिकलाल दवाङलाई कदम चाल्न लगाइएको हो । चारमध्ये दुईजनाको उद्धार गरेकै हो नि हाम्रो पूर्णकालीन कार्यकर्ताले ।
पत्रकार – क्षणिकलाल त नागरिक समाजका सदस्य पो हुन्, तपाईंका कार्यकर्ता कहिले बने ?
मन्त्री – गएको शनिबारदेखि नै हामीले उनलाई हाम्रो दलमा ससम्मान प्रवेश गराएका छौँ भन्ने कुरा हाम्रो दलको केन्द्रीय सचिवालयको अभिलेखले पुष्टि गर्छ ।
पत्रकार – हालै एक दुईजना मन्त्री मुलुकको त्रासदीपूर्ण अवस्थाका बावजुद विदेशको सयर लम्बाएर फर्कनुभयो । त्यस सयरको खास उपलब्धि के हो ?
मन्त्री – उहाँहरू के भैँसी कोसेली थाप्न जानुभएको हो र ठोस उपलब्धि खोज्ने ? भ्रमण सफलतापूर्वक सम्पन्न भयो त्यही नै मुख्य उपलब्धि हो ।
पत्रकार – तपाईंलाई जनताले आफ्नो अमूल्य मत दिएर जिताए, मन्त्री पद दिलाए । बदलामा तपाईंले आफ्ना मतदातालाई के दिनुभयो ?
मन्त्री – अमूल्य त होइन, थोरबहुत मतको मूल्य मैले चुकाएकै हो । जे भए पनि मलाई जितकौरी माला पहिराएबापत मैले मनका मन, टनका टन धन्यवाद मन फुकाएर उतिबेलै दिएको हुँ, अहिले पनि दिन्छु र फेरि पनि जिताए भने त झन् धेरै धेरै धन्यवाद दिनेछु ।
पत्रकार – अब अन्तमा तपाईंको थप भनाइ केही छ कि ?
मन्त्री – यस्तो आपत् विपतको बेला सरकारको दरकार पर्यो भन्दै जनताले हाम्रो मुख ताक्ने मूर्खता गर्ने होइन । गुनी उद्धारकर्ता बनेर जुनी फेरि विधाता बन्ने हो । असल नागरिकको कर्तव्य पनि त्यही नै हो । मेरो यो ओजदार सन्देश तपाईंमार्फत जनता कहाँ पुगोस् ।
०००
तुम्कोट, सन्धिखर्क-१, अर्घाखाँची







































सुन्दर लेखन ।
सान्दर्भिक लेख । नेता जनताप्रति कत्ति पनि जिम्मेवार नहुदा दैवी विपत्तिको सामना गर्न सर्व साधारण जनता सधै विवस हुनु दुर्भाग्यपूर्ण ।