साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एक भैँसी हरेक परिवार : सुख समृद्दिको आधार

आफ्नो मान्छे भनेर बेलैमा सुझाव देको छु । खै सय दुई सय ल्याउनू त । दिनभरी आइडिया फोरममा बस्ता बस्ता टेन्स भै’राछ । झ्याप्प हाप हानेर सुतौँ ।

Nepal Telecom ad

जेन काइजेन :

झाेलानाथ हस्याङ फस्याङ गर्दै ढोका ढक्ढकाउन आइपुग्यो । छाला फुट्ला जस्तो गर्मीमा बत्ति पनि चैट । अनि यसो लुङ्गी कसेर झकाउन मात्र के थालेको थिएँ, ठूलै समस्या आएझैं  झोला करायो, ‘माडसाप्, माड्साप’ भन्दै । एकछिन त म अन्ठाएर जाला कि भनेर बसें । तर कालको खैँजो किन जान्थ्यो, आखिरमा ढोका नखोली भएन । मलाई देख्नासाथ उसले बडाे जतनसँग प्लास्टिकको झोलामा हालिएको केहि पाना अगाडि बढायो र भन्यो, ‘यो साह्रै महत्वपूर्ण दस्ताबेज, हजुरले बाचन गरिबक्सेदेखुन् मेरा पनि यी कान पवित्र हुन्थे ।’

‘यो राती नै पढेर बिताइहाल्न पर्ने चैं के छ ? तपाईं पनि हदै गर्नुहुन्छ । आफैँ पढे हुन्नथ्यो त ?’ म अलिक कसिएरै कराएँछु । आवाजका चापले लुङ्गीको गाँठो नै खुकुलियो । मलाई थाहा थ्यो साला झोले कालो अक्षर भैँसी बराबर भन्ने । तैपनि नेताकहाँ चाकरी पूजा गराउन पर्दा उसैलाई अघि लाउन परिगो त । अनि त्यो पोको फोएर पढ्न थालेँ ।

कमरेड मित्रहरु,
आज हाम्रो प्रभावशाली पार्टी ऐतिहासिक संकटमा परेको कुरा यहाँहरुलाई भनिरहन परेन । यो संकटका पछाडि राष्ट्रिय र अन्तर्राष्ट्रिय दोखहरु स्पष्ट रुपमा देखिएका छन् । ती दोखहरुलाई धूलो चटाउन अनि पार्टी र देशलाई यस संकटबाट मुक्त गराउनका लागि हामीले कठोर रुपमा अघि बढ्न पर्ने समय आएको छ । यो संकट तारण गर्न तुरुन्त लागु गर्न पर्ने केहि सूत्रहरु म यहाँ बाचन गर्न गैरहेको छु । यसलाई तपाईं पार्टी पङ्क्तिका सबै साथीहरुले उच्च मनोबलका साथ जनजनमा पुर्‍याउन पर्ने छ । यी आकस्मिक बैतरणी मन्त्रहरु कण्ठ पारेर छातिमा राखेर हिँड्न पर्ने छ । हरेक नागरिकलाई समृद्दिको शिखरमा पुर्‍याउने हाम्रो लक्ष्य भएको हुँदा यहि समृद्दि मार्गमा आउन सबैलाई आव्हान गर्नुपर्छ । सुन्नोस् राम्रोसँग : कुमार्गमा जानबाट रोक्ने, नमान्नेलाई ठोक्ने । ल ध्यान यता है त ।

१. देशलाई परनिर्भरताबाट जोगाउन एक परिवार एक भैँसीको अवधारणा ल्याउने । यसबाट स्वरोजगार साथै मानव विकासका लागि चाहिने सम्पूर्ण पौष्टिक पदार्थको कमी हुने छैन । मलखादका लागि कसैको मुख ताक्नुपर्ने छैन । हामीलाई हरेक कुरा अर्गानिक प्राप्त हुनेछ र यहाँ उत्पादित बस्तु किन्न विदेशी मुलुकहरुबिचमा होडवाजी लाग्नेछ । स्वदेशी मलखाद र बिउविजनको प्रयोग गर्नाले हामी कति मुद्रा वचत गरेर कति प्रतिशतले वैदेशिक व्यापार बढाउनेछौँ भन्ने कुराको तपाईंहरु अनमान लगाउन पनि असमर्थ हुनुहुनेछ ।

२. देशमा त्यतिका भैंसी भैसकेपछि तिनका छोरा राँगाहरु पनि प्रशस्त हुने नै भए । हो ती राँगाहरु रिटायर भएर बधशाला नजाउन्जेलसम्म तिनलाई यातायात र कृषिकार्यमा प्रयोग गरिनेछ । यसो गर्दा प्रदूषणमुक्त मुलुक हेर्न र राँगागाढाको मजा लिन विदेशीहरुको भीड लाग्नेछ । अब त्यो भीडलाई हामी त्यहि राँगाको शिकार र गोबरमलमा उत्पादित अन्न तथा सागसब्जी ख्वाएर पल्काउन सक्छौँ । अब दुग्धजन्य पदार्थको उत्पादन र खपतले हामी कहाँ पुग्छौँ पुग्छौँ । शत्रुहरुले यसलाई ढुंगे युगमा फर्कायो भन्लान् तर यो समयको माग हो र हाम्रो चलाखी पनि हो विश्वलाई परास्त गर्ने ।

३. त्यसपछि हामीले रोजगारको कुनै चिन्ता लिनै पर्दैन । हरेक मान्छे कि भैँसीको कुँडो पकाउन, कि भैँसी चराउन वा दुहुनमा व्यस्त रहनेछ । त्यसैगरी कोहि विदेशी घुमाउनमा, कोहि होटलमा हुने छ । सबै ब्यस्त जिन्दगी मस्त हुनेछ ।

४. अहिलेको अव्यवहारिक र मुढे शिक्षालाई पूर्ण रुपमा निषेध गरेर कृषिमा आधारित पर्यटन, यातायात र व्यापारको शिक्षा दिइनेछ । अहिलेका सम्पूर्णर शिक्षालयलाई विविध तालिम केन्द्रमा परिणत गरी हरेक नागरिकलाई रुचि अनुसारको उचित तालिम दिइनेछ ।

५. बाहिरिया अस्वस्थ खानेकुराको अत्याधिक प्रयोगबाट उत्सर्जित आजकालका महामारीजन्य सुगर, प्रेसर जस्ता रोगहरु हम्रो व्यवस्थित र सुधारिएको खानपान प्रणालीले गर्दा आफैं निर्मूल भएर जानेछन् । त्यसपछि सबै अस्पतालहरुलाई हामी बाख्रा तथा कुखुरा पालन केन्द्रमा परिणत गरेर अर्को आर्थिक तथा सामाजिक क्रान्ति गर्न सक्नेछौँ ।

६. समय बदलिरहने र आजको अवस्था भोलि नरहने भएकोले अहिलेका उल्झनपूर्ण सम्पूर्ण कानूनहरु र कानूनको जड संविधानलाई समेत विस्थापन गरी आवश्यकता अनुसार मौखिक कानूनी व्यवस्था गरिनेछ । यसले गर्दा सम्पूर्ण कानूनी झमेलाको अन्त्य हुनगई छिटो छरितो न्याय सम्पादन हुने कुरामा हामीले विश्वास राख्नु जरुरी छ ।

७. र अन्त्यमा सम्पूर्ण सामाजिक तथा मनोवैज्ञानिक समस्याको मुहान इन्टरनेट र मोवायल फोन भएकोले यसमा पूर्ण प्रतिवन्ध लगाइ टोलटोलमा साँझको बखत मनोरञ्जनका लागि निःशुल्क टिभी राखिनेछ । यसमा आउने एकमात्र कृषि कार्यक्रम हेर्न सबैलाई प्रोत्साहित गरिनेछ ।

८. सम्पूर्ण पत्रकारिता, सिनेमा, स्कुल, अस्पताल र विश्वविद्यालय जस्ता अन्य सबै मान्छे अल्मल्याउने अनुत्पादक क्षेत्रका जनशक्तिलाई समेत पकेट क्षेत्र तोकेर सामूहिक भैँसी स्याहार केन्द्रमा रोजगार दिइनेछ ।

९. वैदेशिक अध्ययन यात्रालाई पूर्ण रुपमा निषेध गरी बैदेशिक रोजगार नीतिलाई सहज तुल्याइनेछ । अहिलेका मेनपावर खारेज गरी सोझै सरकारी निकायबाटै सशुल्क रोजगारी मिलाइनेछ ।

यी माथि उल्लेखित प्रमुख बुँदाहरुले देशको रोजगार, शिक्षा, स्वास्थ्य, यातायात, सन्चार र व्यापार नीतिलाई सम्बृद्दितर्फ धकेल्ने कुरामा दुईमत छैन । र दोश्रो मतको कुरा जसले गर्छ, त्यसलाई कुमार्गमा जानबाट रोक्ने, नमान्नेलाई ठोक्ने सूत्र प्रयोग गर्न तमाम कार्यकर्ताहरुलाई निर्देशित गर्दछु । र बाँकी झिना मसिना कुरा हामी मिलाउँदै जानेछौँ । अन्य व्यवस्थापन मिलाउन सघाउ पुर्‍याउने उद्देश्यले एक सर्वशक्तिमान आयोग गठन गरिनेछ । यसै आयोगले सार्वजनिक सुनुवाइ गरी जनसाधारणको राय निरन्तर संकलन गर्नेछ । आयोगको अध्यक्ष आजीवन पार्टी अध्यक्ष नै रहनुहुनेछ । र जताबाट जेसुकै राय आए पनि निणर्य आदरणीय अध्यक्षज्यूकै हुनेछ ।
जय देश जय देश ।

यति सुनेपछि झोले ङिच्च हाँस्यो । अनि मलाई सोध्यो, ‘अब के क्षमता छ मलाई भन्नू । बुर्जुवा शिक्षाको काम छैन । बरु राय सुझाव संकलन टोलीको एरिया कमाण्डर बनाउन शिफारिस गरिदिउँला । आफ्नो मान्छे भनेर बेलैमा सुझाव देको छु । खै सय दुई सय ल्याउनू त । दिनभरी आइडिया फोरममा बस्ता बस्ता टेन्स भै’राछ । झ्याप्प हाप हानेर सुतौँ ।

त्यसपछि दुई सय टिपेर झोले हिँड्यो । अब यस्तै आइलाग्ला जस्तो छ । पाटी भनेरै जीवन बिताइयो । दिएको जिम्मेबारी पूरा नि गरिन्छ । बरु देश बनाउने सवालमा तपाईंको सुझाव केहि छन् भने भनिहाल्नू ।

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x