हरिशंकर परसाईंबहिरो मुख्यमन्त्री
मैले बुझ्नका लागि मुख उठाएपछि एउटा भैरवले भन्यो, ‘महाराज, उनले कानको यन्त्र झिकेर त्यहाँ हात राखेर बसेका छन् ।’ ‘तर वत्स, उनले किन त्यसो गरेछन् ?’ ‘किनभने उनी गान्धीजीका भक्त हुन् । उनी नराम्रो कुरो सुन्दैनन् ।’

हरिशंकर परसाईं :
व्यङ्ग्यानुवाद : रमेश समर्थन
‘अघोर भैरव’को अखाडामा निकै गडबडी मच्चिएको छ । एक दिन केही भैरव भैरवीहरूले आएर भने, ‘महाराज, अब हामीलाई मुक्त गरिदिनुस् । हामी नोकरी गर्छौं ।’
मैले भनें, ‘ए अभागी हो ! जीवनभरिको साधनालाई माटामा मिलाउँदै छौ । के तिमीहरूलाई साधना प्रिय लागेन ? ज्ञान ? मुक्ति ? परमपद ?’
उनीहरूले भने, ‘महाराज, तपाईंको मुक्ति र परमपदहरू हामीलाई चाहिँदैन । हामी त भारत सरकारको योजना विभागमा कतै ब्लक डेभलपमेन्ट या कम्युनिटी प्रोजेक्टमा नोकरी गर्छौं । यी याजनाभन्दा ठुलो परमपद अर्को छैन भन्ने कुरो हामीले थाहा पाइसकेका छौं । ब्लक डेभलपमेन्ट अफिसर त अहिले इन्द्रभन्दा पनि ठुलो हो ।’
म चिन्तित भएँ । यदि भैरव भैरवीको त्यागी मन यी पदहरूमा रमायो भने कति ठुलो लोभ होला ?
मैले भनें, ‘आखिर तिमीहरूले त्यहाँ पाउँछौ पो के र ?’
उनीहरूले भने, ‘स्वर्गसुख ! लाखौंको छेलोबेलो । जिप, नोकर र सामान ! मोज हुन्छ नि ! यो त भारतका राष्ट्रपतिभन्दा पनि ठुलो पद हो ।’
मैले भनें, ‘मूर्ख हो ! सरकार यतिसारो मूर्ख छैन र त्यति अन्धो पनि छैन । उसले सबै कुराको छानबिन गर्छ र खोजी गर्छ । मन्त्री एस. के. डे. जाँच गर्न आएका छन् भन्ने कुरो सुनेका छैनौ ?’
उनीहरूले भने, ‘उनले के थाहा पाउन् महाराज, एक त आँखाका अन्धा छन् र गायक पनि छन् । यो यस्ताको वशको कुरो होइन ।’
मैले भनें, ‘तिमी गल्ती गर्दै छौ । गायक त के. सी. डे. हुन् । यिनी एस. के .डे. हुन् । सामुदायिक विकास योजनाहरूका केन्द्रीय मन्त्री ! उनले भने, ‘रुसमा एउटा लाइनमा रेलहरू दशबाह्र मिनेट ढिला हुन्थे । एक पटक स्टालिनले दशबाह्रवटा स्टेसन मास्टरहरूलाई गोलीले उडाइदिए । अनि त कहिल्यै रेलहरू ढिला भएनन् ।’ उनले भने, ‘यस विभागमा धेरै नै भ्रष्टाचार र बेइमानी व्याप्त छ । केही काम भएको छैन । भारतमा पनि कडाइ गरिन्छ, अनि मात्र सबै काम ठिक हुनेछ ।’
मेरा कुरा सुनेर उनीहरूले हाँसेर भने, ‘महाराज, तपाईंले आश्रम छोड्नुहुन्न, त्यसैले तपाईंले सबै कुुरो थाहा पाउनुहुन्न । एस. के. डे.ले कुनै पनि अधिकारीको केही पनि बिगार गर्न सकेनन् भन्ने थाहा छ तपाईंलाई ? खानेपिउने कुरामा त एम. एल. ए.देखि मुख्यमन्त्रीसम्म समावेश छन् । जब मध्यप्रदेश विधानसभामा विरोधी सदस्यहरूले एस.के.डेको भनाइमा मध्यप्रदेशमा निर्माणकार्य पटक्कै भइरहेको छैन, भ्रष्टाचार भइरहेको छ र पैसा बगिरहेको छ भनेर भने अनि काटजू साहेबले के गरे थाहा छ तपाईंलाई ?’
मैले बुझ्नका लागि मुख उठाएपछि एउटा भैरवले भन्यो, ‘महाराज, उनले कानको यन्त्र झिकेर त्यहाँ हात राखेर बसेका छन् ।’
‘तर वत्स, उनले किन त्यसो गरेछन् ?’
‘किनभने उनी गान्धीजीका भक्त हुन् । उनी नराम्रो कुरो सुन्दैनन् ।’
भक्तहरूमा मारपिट
सिवनीको समाचार हो । पर्यूषण पर्वमा जैनीहरूका दुई समूहमा मारपिट भयो । मारपिटको कारण थियो मन्दिरको भेटीको पैसा कससँग रहने भन्ने । यसै कुरामा झगडा भएको थियो । यो मारपिट पनि ठिक पावन पर्वमा भएको थियो । त्यसै बेला जैनहरूमा ‘क्षमावाणी’ उत्सव हुन्छ जसमा परस्पर गल्तीहरूमा क्षमा गरेर भाइचारा देखाउँदै अँगालो हालिन्छ । मारपिटका लागि योभन्दा राम्रो अवसर पाइँदैन ।
यसरी जैन धर्मका सिद्धान्तहरू मिले-
अपरिग्रह – मन्दिरको पैसा कसले राख्ने भन्ने कुरामा नै लड्न थाले ।
क्षमा – आपसमा झगडा गरे ।
अहिंसा – आपसमा टाउकोफुटाइ भयो ।
०००
परसाईं रचनावली भाग २ बाट ‘वधीर मुख्यमन्त्री ’ काे नेपाली अनुवाद
Subscribe
Login
0 Comments
Oldest







































