साइबर अपराध सम्बन्धी सचेतना सामग्री

समर्पित र समर्थित्

उता बाहिर बसेका सिद्धान्तका सागर, समर्पणका सगर निष्ठाका नभ, निधारमा न्यायको न्यासधान सजाएर बसेका थिए सुक्नै लागेको वृक्षको फेदमा ।

Nepal Telecom ad

शम्भुप्रसाद गजुरेल :

शब्दको खोस्टा र दाना छोडाउने रहर पालेर भौतारिने बानी परेको अराजक काइँलो म ! डुलिरहन्छु अनिश्चित गन्तव्यमा । मेरो बिहानको आरम्भ प्रायः चियाको तल्तल र समृद्धिको उल्काफल उम्लिने चिया भट्टीबाट हुन्छ। भकारो फाल्देउन बुढा भन्ने बुढीको अनुनयलाई हकार्दै नाकको टुप्पोमा पानीले चिस्याएर उक्लिएँ म चट्टी पड्काउँदै । लाम्चो खाट र चेप्टो आटको कुनामा बाक्सी परेको केत्लीमा छड्किँदै थियो चिया नामको नशा ।

खाट, आट र टाटमा फिटिदै थियो सत्ताको बहस । दाइ र भाइका दिमागमा विचारको फरक विर्य भरिएकोले फरक भाव उम्रनु स्वभाविक हो । चियाको चुस्कीसँगै टुक्का, धम्की, गाली, प्रजातन्त्र, गणतन्त्र, राजतन्त्र, जान्नेहरू, युवाहरू भन्ने मालिकका भक्त कुर्लिदै थिए । वहसको समापनपछि एउटै ताउलोमा साझा आमाले ओडालेको ढिँडो निल्ने दाजुभाइ नै आपसमा छुद्र वचन ओकल्दै थिए ।

हल्लाले आफ्नो ज्वाला उराल्दै थियो त्यतिबेला नाममात्रका जिम्मल बा आए खाटमा चाक टेकाए, सुनको दाँत देखाए अनि अर्डर लेखाए म चियाको समर्पित पारखी हुँ नि ! चिया चोपिलो बनाउ है नानीका बा । यो भनाइले छ्वास्स छोयो मलाई अनि समर्पित सँगै समर्थित शब्दलाई टाँगे मैले एउटै भारमा । अनि जिम्मल बातर्फ हेरेँ बाले धारा प्रवाह भने बरु जीवन त्याग्न तयार छु त चिया त्याग्न सक्दिनँ किनभने म चियाको समर्पित कार्यकर्ता हुँ ।

समर्पितको समर्पणले उकास्यो मेरो मनलाई अनि सनक चढ्यो ममा समर्पित र समर्थित कार्यकर्ता खोज्ने । अराजक मनमा पलाएको इच्छाको सुइरो बोकेर निस्किएँ म यी दुई शब्दका खोस्टा केलाउन । खोस्टा पछि दाना अनि दानापछि खोया निकाल्ने चाहना थियो मनमा तर कसरी ? बाउँडिएका पिँडुल्लालाई बटार्दै बाटो बग्दै थिएँ म तर दिमागले तर्कनाको तावामा कल्पनाको फुल्का उप्साउँदै थियो । बाटोको गप्चेरामा, सुकेका कप्टेरामा, खरूको शीतमा, परेवाको प्रीतमा नियाल्दै थिए मेरा लोचन कता छ शब्दको सार समर्पित र समर्थितको आधार ।

दारीदाइको बारीमा बयरको घारीमा पाकेका बयरले तानेन मलाई । दारी दाइको हातको सुल्फाको धुवाँले तान्यो अनि ताने मैले एक सर्को उडाएँ बादलको गुजुल्टा जस्तै धुवाँको गुजुल्टा आकाशतर्फ गयो उडेर मेरो आयुको केही अंश आफूसँगै बोकेर । मेरो चिन्ताको चनौटामा घोटिँदै गरेको चन्दनमा पानीको थोपो थिएन, पानी नभै चन्दन बनोस् कसरी तर दारी दाइले देखाए प्यासीलाई कुवा । समर्पित र समर्थित खोज्न कि त दलको दरबार जानुपर्छ कि त धर्मको कथा वाचनालयमा धाउनुपर्छ । कुरामा दम थियो अर्थ अहं थियो । लाग्यो मलाई पखेराको पँधेरो छोडेर मरुभूमिमा महासागर खोज्ने म महामूर्ख रहेछु ।

भैँसीको भकारोदेखि सोत्तरको लछारो अगेनाको रापदेखि बच्चाको आलापसम्म सबैको बोझ अर्धाङ्गिनीको थाप्लोमा लट्काइदिएँ आज पनि । प्रिय श्रीमतीलाई बातको पातमा लपेटेर पाकेको भात लोपरेर निस्किएँ म पार्टी कार्यालयको लेख, अभिलेख र शिलालेख उत्खनन् गर्न । टिमुरबोटेदेखि फारमेसगञ्ज , सुखानीदेखि छिन्ताङ, दोरम्बादेखि माडीसम्मको अस्तित्वबाट निर्मित मट्याङ्रा बोकेर उभिएका दलहरूको संयुक्त दरबारमा पुगेँ म । जङ्गल मासेर बनेको भव्य महलमा ठूलो रुख बनाएको रहेछ सिमेन्टको रुख प्लास्टिकको पात लाग्यो प्रकृति प्रेमी रहेछ दल ।

अनेकौं खोपी खोपीभित्र अनेकौं टोपी जताततै झलमल्ल मांस मदिरा असरल्ल । कुराको चुरो खोज्न हिँडेको म कुथुर्के काइँलो कता के कता के को भावमा पुगेँ । भित्र वर्तमानका वरिस्ठसँग घनिष्ठ बनेका धनिस्ठ र बलिस्ठको रजगज थियो तर बाहिर मन्दिरको द्वार जस्तै थियो । दारी फुलेका, आँखा झुलेका, क्रान्ति भिडेका, गोडा गिँडेका, ईमानका सालिक हातमा कचौरा थामेर पिल्ल आँसु बगाउँदै थिए अनि लाग्यो क्रान्तिको समापनले अपमान गरेको धनुकाणको अवस्था यस्तै होला ।

लाचार हारको हाहाकार भन्दा पर चाहनाको चनौटोमा चोखो चन्दन घोट्ने मेरो इच्छा पूरा गर्न बसेका थिए एक योद्धा । उनका अनुहारका चर्म खोल्चामा छाल उराल्दै बगेका आक्रोशका ज्वारभाटामा असन्तोषको अग्नि दन्केको थियो । भावनाको भङ्गालोमा विश्वासको बर्को ओढाएर बाहिरबाट बङ्गलाको बुइँगललाई वितृष्णा भरी नेत्रले निहार्दै बसेका बृद्धका बाजुमा बसेँ म । संकोच र संसयको सुशेलीमा सम्भावनाको समुद्र खोज्न सम्मानको सुमेरु उभ्याएँ । विषयको बरियो फोएर बार्ताको बुकुरो बनाउने विचार गर्दगर्दा थिचिएको बारुद विस्फोट भए झैँ भावनाको बम पड्कियो वृद्धका मुखारविन्दबाट । क्रान्ति मशाल उचाल्दा उचाल्दै पाकेर सेता भएका आँखी भौं र टाउको छोडेर गएका रौँ ले इतिहासलाई वर्तमानसँग जोडेको थियो तर परिवर्तन युद्धको भरियाको भारलाई भड्खालोको भाँजो बनाएर आफन्तको चाँजाेपाँज मिलाउने टाउके र भुँडेको कर्तुत झरनाको छङ्छङ जस्तै सुनाए बा ले ।

विशाल भवनको भिन्न खोपीमा समर्थित र आयातीत विचारको मन्थन चल्दै रहेछ । नरम ओछ्यानमा गरम साथी पाउँदा खोपी परिवर्तन हुने रहेछ हरेक रात । तिखा उरोज र फाँचिला नितम्बले राम्रो बजार लिएको छ भने बुढा बाले । जनयुद्धको सुप झापाकाण्डको चटनी विमान अपहरणको सेकुवाको सहभोजन हरेक रात चल्दो रहेछ त्यहाँ ।

समभावको तर्कना तप्केको जस्तो लाग्थ्यो सबैका चतुर मुहारबाट । प्राप्तिको र्‍याल चुहिएको थियो रलल । पहिरनका समाजसेवी विचारका वक्र रेखा, स्वार्थका सगरमाथा, चाप्लुसीका चरमचुली प्रत्येक ढोकाबाट चिहाइरहेका थिए । उता बाहिर बसेका सिद्धान्तका सागर, समर्पणका सगर निष्ठाका नभ, निधारमा न्यायको न्यासधान सजाएर बसेका थिए सुक्नै लागेको वृक्षको फेदमा । अलि पर दोबाटोमा जमिन कब्ज्याउन सप्ताह महा यज्ञ आयोजना गरिएको रहेछ । जनयुद्धको चन्दा र लुटेको बैंकको मुद्दती खातालाई वाचक नारायण पोख्रेलको छाती छेड्ने महा तपस्वीको चरणमा अर्पण गरिँदै रहेछ ।

अनि त्यहाँबाट निस्किँदा पसिनाले लथ्पथ् ज्यान र प्यासले प्याक प्याक घाँटी भिजाउन धारो जस्तै आकृति सामु पुगेँ म । त्यो सुसाउँदै थियो चुहिएको थिएन । अनि सोचेँ समर्पित पानी जस्तै हराएछन्, समर्थित उन्मत्त बनेर सुसाउँदै रहेछन्र प्यास मेटाउन हाेइन बढाउन । भित्री काेया पाएर पनि सुकेकाे घाँटी भिजाउन शहरले प्रदूषित नदीकाे किनारातर्फ हुत्तिएँ म बबुराे ।

०००
नुवाकाेट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छद्म छायाहरू

छद्म छायाहरू

शम्भु गजुरेल
बिनाकाम दामैदाम

बिनाकाम दामैदाम

शम्भु गजुरेल
मेरो जेठो छोरो

मेरो जेठो छोरो

शम्भु गजुरेल
कालकाे काल छैन

कालकाे काल छैन

शम्भु गजुरेल
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
बाजी

बाजी

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x