शम्भु गजुरेलसमर्पित र समर्थित्
उता बाहिर बसेका सिद्धान्तका सागर, समर्पणका सगर निष्ठाका नभ, निधारमा न्यायको न्यासधान सजाएर बसेका थिए सुक्नै लागेको वृक्षको फेदमा ।

शम्भुप्रसाद गजुरेल :
शब्दको खोस्टा र दाना छोडाउने रहर पालेर भौतारिने बानी परेको अराजक काइँलो म ! डुलिरहन्छु अनिश्चित गन्तव्यमा । मेरो बिहानको आरम्भ प्रायः चियाको तल्तल र समृद्धिको उल्काफल उम्लिने चिया भट्टीबाट हुन्छ। भकारो फाल्देउन बुढा भन्ने बुढीको अनुनयलाई हकार्दै नाकको टुप्पोमा पानीले चिस्याएर उक्लिएँ म चट्टी पड्काउँदै । लाम्चो खाट र चेप्टो आटको कुनामा बाक्सी परेको केत्लीमा छड्किँदै थियो चिया नामको नशा ।
खाट, आट र टाटमा फिटिदै थियो सत्ताको बहस । दाइ र भाइका दिमागमा विचारको फरक विर्य भरिएकोले फरक भाव उम्रनु स्वभाविक हो । चियाको चुस्कीसँगै टुक्का, धम्की, गाली, प्रजातन्त्र, गणतन्त्र, राजतन्त्र, जान्नेहरू, युवाहरू भन्ने मालिकका भक्त कुर्लिदै थिए । वहसको समापनपछि एउटै ताउलोमा साझा आमाले ओडालेको ढिँडो निल्ने दाजुभाइ नै आपसमा छुद्र वचन ओकल्दै थिए ।
हल्लाले आफ्नो ज्वाला उराल्दै थियो त्यतिबेला नाममात्रका जिम्मल बा आए खाटमा चाक टेकाए, सुनको दाँत देखाए अनि अर्डर लेखाए म चियाको समर्पित पारखी हुँ नि ! चिया चोपिलो बनाउ है नानीका बा । यो भनाइले छ्वास्स छोयो मलाई अनि समर्पित सँगै समर्थित शब्दलाई टाँगे मैले एउटै भारमा । अनि जिम्मल बातर्फ हेरेँ बाले धारा प्रवाह भने बरु जीवन त्याग्न तयार छु त चिया त्याग्न सक्दिनँ किनभने म चियाको समर्पित कार्यकर्ता हुँ ।
समर्पितको समर्पणले उकास्यो मेरो मनलाई अनि सनक चढ्यो ममा समर्पित र समर्थित कार्यकर्ता खोज्ने । अराजक मनमा पलाएको इच्छाको सुइरो बोकेर निस्किएँ म यी दुई शब्दका खोस्टा केलाउन । खोस्टा पछि दाना अनि दानापछि खोया निकाल्ने चाहना थियो मनमा तर कसरी ? बाउँडिएका पिँडुल्लालाई बटार्दै बाटो बग्दै थिएँ म तर दिमागले तर्कनाको तावामा कल्पनाको फुल्का उप्साउँदै थियो । बाटोको गप्चेरामा, सुकेका कप्टेरामा, खरूको शीतमा, परेवाको प्रीतमा नियाल्दै थिए मेरा लोचन कता छ शब्दको सार समर्पित र समर्थितको आधार ।
दारीदाइको बारीमा बयरको घारीमा पाकेका बयरले तानेन मलाई । दारी दाइको हातको सुल्फाको धुवाँले तान्यो अनि ताने मैले एक सर्को उडाएँ बादलको गुजुल्टा जस्तै धुवाँको गुजुल्टा आकाशतर्फ गयो उडेर मेरो आयुको केही अंश आफूसँगै बोकेर । मेरो चिन्ताको चनौटामा घोटिँदै गरेको चन्दनमा पानीको थोपो थिएन, पानी नभै चन्दन बनोस् कसरी तर दारी दाइले देखाए प्यासीलाई कुवा । समर्पित र समर्थित खोज्न कि त दलको दरबार जानुपर्छ कि त धर्मको कथा वाचनालयमा धाउनुपर्छ । कुरामा दम थियो अर्थ अहं थियो । लाग्यो मलाई पखेराको पँधेरो छोडेर मरुभूमिमा महासागर खोज्ने म महामूर्ख रहेछु ।
भैँसीको भकारोदेखि सोत्तरको लछारो अगेनाको रापदेखि बच्चाको आलापसम्म सबैको बोझ अर्धाङ्गिनीको थाप्लोमा लट्काइदिएँ आज पनि । प्रिय श्रीमतीलाई बातको पातमा लपेटेर पाकेको भात लोपरेर निस्किएँ म पार्टी कार्यालयको लेख, अभिलेख र शिलालेख उत्खनन् गर्न । टिमुरबोटेदेखि फारमेसगञ्ज , सुखानीदेखि छिन्ताङ, दोरम्बादेखि माडीसम्मको अस्तित्वबाट निर्मित मट्याङ्रा बोकेर उभिएका दलहरूको संयुक्त दरबारमा पुगेँ म । जङ्गल मासेर बनेको भव्य महलमा ठूलो रुख बनाएको रहेछ सिमेन्टको रुख प्लास्टिकको पात लाग्यो प्रकृति प्रेमी रहेछ दल ।
अनेकौं खोपी खोपीभित्र अनेकौं टोपी जताततै झलमल्ल मांस मदिरा असरल्ल । कुराको चुरो खोज्न हिँडेको म कुथुर्के काइँलो कता के कता के को भावमा पुगेँ । भित्र वर्तमानका वरिस्ठसँग घनिष्ठ बनेका धनिस्ठ र बलिस्ठको रजगज थियो तर बाहिर मन्दिरको द्वार जस्तै थियो । दारी फुलेका, आँखा झुलेका, क्रान्ति भिडेका, गोडा गिँडेका, ईमानका सालिक हातमा कचौरा थामेर पिल्ल आँसु बगाउँदै थिए अनि लाग्यो क्रान्तिको समापनले अपमान गरेको धनुकाणको अवस्था यस्तै होला ।
लाचार हारको हाहाकार भन्दा पर चाहनाको चनौटोमा चोखो चन्दन घोट्ने मेरो इच्छा पूरा गर्न बसेका थिए एक योद्धा । उनका अनुहारका चर्म खोल्चामा छाल उराल्दै बगेका आक्रोशका ज्वारभाटामा असन्तोषको अग्नि दन्केको थियो । भावनाको भङ्गालोमा विश्वासको बर्को ओढाएर बाहिरबाट बङ्गलाको बुइँगललाई वितृष्णा भरी नेत्रले निहार्दै बसेका बृद्धका बाजुमा बसेँ म । संकोच र संसयको सुशेलीमा सम्भावनाको समुद्र खोज्न सम्मानको सुमेरु उभ्याएँ । विषयको बरियो फोएर बार्ताको बुकुरो बनाउने विचार गर्दगर्दा थिचिएको बारुद विस्फोट भए झैँ भावनाको बम पड्कियो वृद्धका मुखारविन्दबाट । क्रान्ति मशाल उचाल्दा उचाल्दै पाकेर सेता भएका आँखी भौं र टाउको छोडेर गएका रौँ ले इतिहासलाई वर्तमानसँग जोडेको थियो तर परिवर्तन युद्धको भरियाको भारलाई भड्खालोको भाँजो बनाएर आफन्तको चाँजाेपाँज मिलाउने टाउके र भुँडेको कर्तुत झरनाको छङ्छङ जस्तै सुनाए बा ले ।
विशाल भवनको भिन्न खोपीमा समर्थित र आयातीत विचारको मन्थन चल्दै रहेछ । नरम ओछ्यानमा गरम साथी पाउँदा खोपी परिवर्तन हुने रहेछ हरेक रात । तिखा उरोज र फाँचिला नितम्बले राम्रो बजार लिएको छ भने बुढा बाले । जनयुद्धको सुप झापाकाण्डको चटनी विमान अपहरणको सेकुवाको सहभोजन हरेक रात चल्दो रहेछ त्यहाँ ।
समभावको तर्कना तप्केको जस्तो लाग्थ्यो सबैका चतुर मुहारबाट । प्राप्तिको र्याल चुहिएको थियो रलल । पहिरनका समाजसेवी विचारका वक्र रेखा, स्वार्थका सगरमाथा, चाप्लुसीका चरमचुली प्रत्येक ढोकाबाट चिहाइरहेका थिए । उता बाहिर बसेका सिद्धान्तका सागर, समर्पणका सगर निष्ठाका नभ, निधारमा न्यायको न्यासधान सजाएर बसेका थिए सुक्नै लागेको वृक्षको फेदमा । अलि पर दोबाटोमा जमिन कब्ज्याउन सप्ताह महा यज्ञ आयोजना गरिएको रहेछ । जनयुद्धको चन्दा र लुटेको बैंकको मुद्दती खातालाई वाचक नारायण पोख्रेलको छाती छेड्ने महा तपस्वीको चरणमा अर्पण गरिँदै रहेछ ।
अनि त्यहाँबाट निस्किँदा पसिनाले लथ्पथ् ज्यान र प्यासले प्याक प्याक घाँटी भिजाउन धारो जस्तै आकृति सामु पुगेँ म । त्यो सुसाउँदै थियो चुहिएको थिएन । अनि सोचेँ समर्पित पानी जस्तै हराएछन्, समर्थित उन्मत्त बनेर सुसाउँदै रहेछन्र प्यास मेटाउन हाेइन बढाउन । भित्री काेया पाएर पनि सुकेकाे घाँटी भिजाउन शहरले प्रदूषित नदीकाे किनारातर्फ हुत्तिएँ म बबुराे ।
०००
नुवाकाेट
Subscribe
Login
0 Comments
Oldest







































