ईश्वर पाेखरेलमाछो कल : भ्यागुतो कल
तिनीहरूले नेपाल सरकार र महालेखाको मितव्ययिताको रटानलाई नसुने जस्तै गरी ममाथि घुस्सा र मुक्काको यति फजुल खर्च गरे : लामो सास तान्नु हुँदैन, अझै देब्रेपाटो दुख्छ ।

ईश्वर पोखरेल :
म्याडम र मिसहरूप्रतिको तीब्र आकर्षणमा भुतुक्कै भएर जानीबुझीकन मिसकल (दुनियांले जे भनोस् : नेपाली जिब्रो ‘मिस्ड कल’ होइन, ‘मिस कल’ नै भन्छ; कसैको टाउको दुखेर हुन्छ !) भनिएको हो भने दैव जानोस्; अन्यथा मानिसहरू नबुझेरै भ्यागुतो कललाई मिसकल भन्दै आएका छन् । कसलाई थाहा छैन— मोबाइलमा जम्मा दुई प्रकारका कल हुन्छन् : एउटा माछो कल, अर्को भ्यागुतो कल । तरुनी औँलालाई माछो र बुढी औँलालाई भ्यागुतो बनाएर बाजेबज्यैले ‘माछो—माछो : भ्यागुतो’ खेलाएको संझना छ ? त्यसो भए माछो समात्न खोज्दा पटकपटक भ्यागुतो समातेको पनि यादै होला ।
मलाई लाग्छ, माछो कल र भ्यागुतो कलका बारेमा अब थप व्याख्या गरिरहनु परेन । संक्षेपमा यत्ति भन्छु : माछो कल भनेको कल नै हो, त्यसमा ढाँट्छल हुँदैन । अतः कल गर्नेसँग ढुक्कले कुरा गरे हुृन्छ : कल दस्तुर ऊ आफै तिर्छ । बील भुक्तानीको अलोकप्रिय दायित्व एनजिओ/आइएनजिओ वा कुनै दातृनिकायले बेहोर्छ भने आफ्नो गोजेरोको माग, अवस्था, आयतन र कुल भारवहन क्षमताको सामान्य ख्याल समेत नगरी ज्युनार गर्ने हाम्रो राष्ट्रिय चरित्र जो छ ।
भ्यागुतो कलको भने कुरा अलि बेग्लै छ । भ्यागुतो कल भनेको ‘दिन्छु, दिन्छु’ भनेर अन्त्यमा ‘इस् दिन्छु’ भने जस्तै हो । सुरुमा ‘दिन्छु, दिन्छु’ भनेर अन्त्यमा ‘इस् दिन्छु’को यस प्रसङ्गले तपाईंलाई, दैवी विपत्तिको समयमा जति सहयोग गर्न तयार भएको बचन दिने र अन्त्यमा केही नदिने महामना दाता वा सामाजिक संस्थाको सहयोग घोषणा सभामा सर्वश्व दान गरेको घोषणा गर्ने र पछि चुनदाम सहयोग गर्न पनि पसिनापसिना हुने उदार समाजसेवीको संझना भयो भने मेरो के लाग्छ : म आफै पनि कुनै समय चुनाबको बेलामा उम्मेदबार हुन उक्साउने तर जाबो मत चाहिं अर्कै विरोधी दलको उम्मेदबारको चुनाब चिन्हमा लगाउने होनहार कार्यकर्ता, सहृदयी सुभेच्छुक, कट्टर समर्थक र बचनबद्ध मतदाताबाट पटकपटक पछारिएको ‘लास्टै’ लोकप्रिय नेता थिएँ ।
हुन त माछा र भ्यागुतामा उतिसारो फरकै के छ र ! दुबै ‘चल्छ’, चलाउनु पर्छ । अझ चलाइएको छ भनौं । फुर्सदमा जब म जाल बोकेर निस्किन्छु; सानामा बज्यैको भ्यागुता औला बढी समातेकाले हो कि, जालमा माछा कम भ्यागुता चै बढी पर्छन् । सुरुमा भ्यागुता जति छाडी दिन्थेँ र फुर्लुङमा थोरै माछा लिएर निराश मुद्रामा फर्किन्थेँ । स्थानीय स्रोतसाधनको उच्चतम् प्रयोग गरी विकासमा फड्को मार्ने मन्त्रीज्यूको भाषणको डोज बढी परेपछि भने फुर्लुङ्मा दुबै हुन्छन् : अचेल माछाजति ठूलाघरेको छोरो आएर लैजान्छ र म चाहिं ‘स्थानीय स्रोत साधन’को समुचित उपयोग गर्छु ।
अचेलका बाजेबज्यै नातिनातिनीहरूलाई ‘माछो— माछो : भ्यागुतो’ खेलाउँछन् कि खेलाउँदैनन् कुन्नि ? सानामा यो खेल खेल्न पाएको छ भने, जसले जति ढाँटोस् : झिंझो लाग्दैन । हामी नेपालीहरू कसरी प्रत्येक पटक मोबाइल बज्दा उत्तिकै उत्साहित हुन्छौँ, प्रत्येक वर्ष नेपाल सरकारको नीति तथा कार्यक्रमलाई कसरी उत्तिकै मनोयोगका साथ सुन्ने गर्दछौं र राजनीतिक दलहरूले चुनाबका बेला वितरण गर्ने चुनावी घोषणापत्रको प्रत्येक नयाँ संस्करणलाई कुन जाँगरले कसरी उत्तिकै अभिरुचिका साथ पढ्ने गर्दछौं : माछो समात्ने लालसा राखेर भ्यागुतो स्वीकानु पर्ने अवस्थामा चित्त बुझाउन हामी सानैदेखि बानी परेका हुन्छौँ । होइन भने मोबाइलको पटकपटकको भ्यागुतो कलको रिङले ब्लडप्रेसर नर्मल भएको मान्छेलाई पनि नराम्रोसँग रिङाउन सक्छ ।
मलाई अचेल त भ्यागुतो कलले पनि निराशाको उल्टो आशा प्रदान गर्दछ । विशेषतः युवतीको भ्यागुतो कलमा म उच्च संभावना देख्ने गर्दछु । त्यसैले गच्छेले धानेसम्म युवतीको कलको आशामा म सबै भ्यागुतो कललाई रेस्पोन्स गर्छु, गर्दैआएको छु । कतिपय भ्यागुतो कललाई पछ्याउंदै म ‘पोखरी’सम्म नै पुगेको छु । के ढाँट्नु, भर्खरै पनि म पार्कमा एउटीलाई तीन घन्टा पर्खेर फर्केको हुँं । ऊ आइन : राम्रै गरी ।
अलि अगाडि एउटीको भ्यागुतो कललाई पछ्याउंदै थिएँ ऊ आफैले माछो कल गरेर एकान्तमा बोलाई । आउँदा उसले लोकल गुन्डाहरूलाई पनि लिएर आइछे । तिनीहरूले नेपाल सरकार र महालेखाको मितव्ययिताको रटानलाई नसुने जस्तै गरी ममाथि घुस्सा र मुक्काको यति फजुल खर्च गरे : लामो सास तान्नु हुँदैन, अझै देब्रेपाटो दुख्छ ।
आज भने त्यस्तो केही भएन ।
०००
बोझेपोखरी, ललितपुर
(‘मिर्मिरे’ वर्ष- ५२, अङ्क- २, पूर्णाङ्क- ३६० बाट)
Subscribe
Login
0 Comments
Oldest









































