डा. छायादत्त न्यौपाने ‘बगर’सपनाकाे पिङ
भन्नुहाेला पुलिस प्रशासन छ, शान्ति सुरक्षा पाइन्छ, याे भ्रम हाे ! असम्भव छ । पुलिस प्रशासन पनि त जसकाे लौरो उसैको बहर, उतै सँगै लाग्ने हाे नि ।
डा. छायादत्त न्यौपाने बगर :
हँ ! मलाई कसरी ढुङ्गा भन्या तपाईंले ? कहाँ के भाषण गरेँ । के भनेर झुटाे आश्वासन बाँडे ? मैले कसलाई ठेस लगाएँ,धाेका दिएँ । कसकाे के ठगेर खाएँ ? उर्वर खेत बाँझाे राखेर बिदेसिन कसलाई अराएँ ? कसका झ्याल ढाेका फुटालेर छाेरी बुहारीका लुगा च्यातेँ हँ ? खै के हत्याएँ निजी सुखका लागि ? कसकी स्वास्नीमा आँखा लगाएर चुनावी टिकटकाे माेलभाउ गरेँ ?
फेरि म देश ठग्ने, धुकुटी लुट्ने मैमत्त साँढेझैं डुक्रँदै हिँडेर झाेपडीका बत्ती निभाउने बहादुर पनि त हाेइन । सामाजिक मूल्यकाे पर्खाल भत्काउँदै वल्लाघर पल्लाघर छिरेकाे देख्नुभाे र ? विचारै नगरी मलाई नेता भनेको ? हँ ? कतै मैले निमुखाकाे पसिना लुटेको छु कि रगत चुसेकाे छु ? यदि यस्तो उत्तम पुरुषार्थ देखाएको छैन भने म कसरी नेता भएँ ? यत्ति पनि गर्न नसक्ने जाबाे लुखुरेलाई नेता भन्ने ? कत्रो हिम्मत तपाईंको हँ ! जसकाे सामान्य कार्यकर्तासम्म बन्न नभई नहुने याेग्यता पुग्दैन त्यसैलाई नेता भनेर ठुला ठुला भ्रष्टाचारको पाेकाे कुम्ल्याउने महामानवकाे अपमान गर्ने ? तपाईंलाई यत्रो उपद्राे गर्ने हिम्मत कसले दियाे हँ ?
म अरुकाे निर्देशनमा देश चलाउन सक्ने आँटिलाे हुँ र भन्या के नेता हुनलाई । न त मसँग रिनमाथि रिन लिएर देश खाेक्र्याउने दाउ छ, न त कुनै ठुला ठुला कम्पनीको राजस्व आफूतिर फर्काएर खल्ती भरी राज्य ठग्ने ह्याउ छ ! मसँग छ त खालि आङ छाेप्न एकसरो कछाड भाेटाे , एक पेट उमालेकाे दाल र उसिनेकाे चामल मात्र छ। यतिले पुग्छ नेता हुनलाई ? दालभातकै लागि त हाे म रातदिन खटिइरहने । म त मजदुर न परेँ । यति सजिलै मलाई नेता भनिदिएर त्यत्रो न्यायालय कब्जा गरी गरी निर्धक्क डाकाहरूलाई संरक्षण दिन सक्ने/जान्ने आदर्शपुरुषकाे धाेती खुस्काउने हाे त तपाईंले ? कसरी सक्नुभाे यस्तो अपराध गर्न ? अबदेखि कहिल्यै कसैले यस्तो नगर्नु मेराे विशेष अनुराेध छ ।
के बडेमानका राष्ट्रिय गौरवका आयोजनाबाट आउने कमिसन डकारेका महाजनलाई हाेच्याउने ? घुसले अनमत्त परेका धूर्तरामकाे तिखो सिङ भाँचिदिने ? यदि यसाे हाेइन भने छलकपट, लुटपाट, चाेरी बलात्कार क्यैमा कहिल्यै भाग नलिएको रुन्चेलाई देश हाँक्न सक्ने यत्रो अग्लाे नेता भनेर दिनदहाडै जनता ढाँट्न सुहाउँछ र महाशय तपाईंलाई ?
महाशयलाई कस्तो थाहा नभा भन्या हत्तेरीका ! याे खेतबारी खन्ने, खर्पनाँ साग बाेक्ने, सरकारी स्कुलाँ छाेराछाेरी पढाउने, पालाे आउँदा गुठी पूज्न नसकेर थातथलाे छाडेर भाग्ने बबुराेलाई नेता भन्दिएपछि नैतिकता बेच्ने, नीति नियम मिच्ने, व्यापारीसँग चन्दा उठाएर गुन्डा पाल्ने, गरिबमाथि करका कर थाेपरेर आफूले माेज गर्ने, जनताको नाम बेचेर छाेरालाई विदेशमा पढाउने र स्वास्नीलाई सारी किन्ने, खाेकी लाए विदेश धाउने, स्वास्नीलाई मेक्सी किन्न जापान जाने आँटिलाे व्यक्तिलाई तल पार्न मिल्दैन भनेर ? यस्तो नमिल्ने कुरा गरेर हिँड्नुभाे भने हेक्का रहाेस् महाशय तपाईंमाथि कतिखेर कहाँ साङ्घातिक आक्रमण हुन्छ भन्नै सकिन्न ।
भन्नुहाेला पुलिस प्रशासन छ, शान्ति सुरक्षा पाइन्छ, याे भ्रम हाे ! असम्भव छ । पुलिस प्रशासन पनि त जसकाे लौरो उसैको बहर, उतै सँगै लाग्ने हाे नि ।
याे सत्ता शक्ति, पद पैसा नभा मान्छे जसले हाड फालेर गुन्डागर्दी गर्न/गराउन सक्दैन, चाहँदैन र सधैं इमानकाे गीता गाएर हिँड्छ त्यसकाे कसैले केही सुन्छ र ? यहाँ न्यायकाे उज्यालोले सर्वसाधारणको अनुहार उजेलिनलाई ? यस्ता हावा कुरा घाममा सुकाएर धूर्तहरूले बगाउने गाेहीका आँसुकाे बाढीबाट समेत जाेगिन नजानेकाे बबुराले शासन गर्छ भनेर कसरी पत्याउनुभा महाशयले ?
यी र यस्तै विवेककाे बिउ राेपी श्रमले सिंचाइ गरेँ भन्दै नैतिकताको काेदालाले गाेडमेल गर्छु भन्नुहुन्छ भने याे असम्भव देउरालीमा सुस्ताउने सपनाकाे पिङ हाे । मच्चिउन्जेल आनन्द,बिउँझँदा वीरबहादुरले आमाकाे गुनियाे च्यातेर टाेपी सिलाइरहेकाे हुनेछ ।
त्यसैले महाशय सरल, सजिलो, नैतिक मूल्यमा अडिएकाे, विवेकशील, कर्मयाेगी, त्याग र समर्पणमा रमाउन सिकेर श्रमले बाँचेको इमानदार व्यक्ति नेता हुन्छ भनेर दिउँसै सपना देख्न छाडिदिए हुन्छ आजैदेखि ।
०००
पर्वत, हाल काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































