डा. छायादत्त न्यौपाने ‘बगर’भाे खाेज्दिनँ
विश्वासमा रमेकाे स्वभाव असल, गरिखानेलाई हेपेर बहादुर बन्ने बलशाली असल, असलै असल अचेल त शकुनि, दुर्याेधन, महिषासुर, विभीषणभन्दा माथि उठेका असलहरूकाे बाेलबाला असल ।
डा. छायादत्त न्याैपाने :
ल, कान थाप्नु न है आदरणीयज्यू ! सुटुक्क भन्छु । अन्त भेद नखाेल्नु नि ! मनकाे कुरा भन्छु । मैले खाेजेँ,धेरै खाेजेँ, धेरैतिर खाेजँ तर कहीँ कतै भेटिनँ र निर्णय गरेँ तपाईं असलसँग भेट्ने ।
आजको प्रविधिमय दुनियाँ सुनाउँछ -चारैतिर असलै असलकाे भिड छ । गाउँ सहर, सामाजिक सञ्जाल, टिकटक….सबैतिर असल छन् । देशकाे माटाे बेचेर आफू भुँडी फुलाउने नेता असल । बाहिर बाहिर पिटेझै र राेएझैं गर्न सिपालु अभिनय कला असल, बुढा आमाबा थर्काएर घरखेत बेच्न बाध्य पार्ने सभ्य सन्तान असल, उत्पादन याेग्य खेतबारी बाँझै राखी विदेसिएर सस्तोमा पसिना बेच्ने स्वाभिमान असल, कमजोर आफन्त जितेर ठगी खाने ठिमाहा असल, कक्षामा नपढाई राजनीतिक झाेलाे बाेकेर तलब थाप्ने शिक्षक असल, एकछिनमा सकिने नियम अनुकूल काम नगरिदिएर सर्वसाधारणलाई हप्तौं सास्ती दिने घुस्याहा कर्मचारी असल, खचाखच खाँदेर यात्री काेच्दै अन्टसन्ट बाेल्ने निर्लज्ज सार्वजनिक सवारी चालक, सहचालक असल, एकै ठाउँमा भिड बढाउने तर जनतालाई अत्यावश्यक परेका ठाउँमा यात्री चढाउन ओराल्न पनि नदिने सवारी व्यवस्थापन प्रहरी असल, हुन्छ हुन्छ गर्छु ,आजै हुन्छ भन्ने वर्षौं समय खाइदिने तर काम नगरिदिने सेवा प्रदाय असल, आहा कति राम्रो सिर्जना भनेर ताली पिट्दै खाजा खाउन्जेल प्रशंसा, छुटेपछि ताइनतुइकाे झुर रचनाले समय खाइदियाे भन्दै अर्कोतिर फर्किने साहित्यकार असल, खामसहित पाण्डुलिपि आए भूमिका र कार्यक्रममा फूलैफूलले ठाेक्ने नभए काँडै काँडाले घाेच्ने समीक्षक असल, सहकारीको रिनसिन थाती राखेर गहना किनिदिने श्रीमान् असल, बिहानैदेखि जाेतिएकाे श्रीमान्लाई घरकाे स्वस्थ हाेइन हाेटेलकै मिठाे खाना खुवाउने श्रीमती असल ।
सरल सहज व्यवहार बिर्सेर धाकधम्कीले छाेराछाेरी श्रीमती तह लाउँछु भन्ठान्ने मनहुस पति र बा असल, बाेलेकाे वचन गरेको प्रतिबद्धता पालना गर्दै नगरी छलछामकाे सहारा खाेज्दै राजनीतिक पार्टी पार्टी चहार्ने कार्यकर्ता असल, विद्यार्थीले पनि मैले जत्तिकै जान्नुपर्छ नभा पास हुँदैन भनेर आफू विद्यार्थी हुँदाकाे हैसियत थाहा नपाउने प्राध्यापक असल, सहायक कर्मचारीलाई चिउरीको बिउ खाेज्न बजार पठाउने कृषि विभागकाे महानिर्देशक असल, शैक्षिकसत्र सकिएपछि विद्यालय विद्यालयमा पुस्तक पुर्याउने पाठ्यक्रम विकास केन्द्र असल, कमजोर विद्यार्थी किन कमजोर भयाे ? पत्ता लगाएर आवश्यक सहयोग गर्नुभन्दा यति पनि नजान्ने ? भनेर मनाेबल खसाउने कर्तव्यविमुख शिक्षक असल, गुटबन्दीमा रमेका जेपा…लेखकलाई पुरस्कार पाेक्याउन अवसर दिने गुट र संस्था दुवै असल, असल,असलकै सान ।
अचेल चलेकाे कस्तो राम्रो चलन ! आफै आफूलाई असल छु भनी प्रमाणित गर्न घाँटी फुलाई फुलाई घण्टाैं फलाक्ने बानी असल, दिउँसै लालटिन बालेर धुइँपताल खाेज्दा पनि नभेटिने असलकाे बिउ असल, छलकपटले बचाउँछ भनी विश्वासमा रमेकाे स्वभाव असल, गरिखानेलाई हेपेर बहादुर बन्ने बलशाली असल, असलै असल अचेल त शकुनि, दुर्याेधन, महिषासुर, विभीषणभन्दा माथि उठेका असलहरूकाे बाेलबाला असल । कमसलले हाे खाेर पस्ने न्याय मान्ने असलहरूले त मात्रै घुस, कमिसन खान लठैत प्रयोग गरेर धुकुटी रित्याउने हाे असल, यत्ति पनि नबुझ्ने तपाईं ? त्यै भएर बन्नै सक्नुभएन असल ? लाै भाे यसै हाे भने अब खाेज्दिनँ याे कतै नपाइने भाषणमा बाेलेजस्ताे व्यवहार असल ! अस्तु।
०००
पर्वत, हाल काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest






































