साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रमुख अतिथिको कुरा – लोखर्केको उखान जस्तो

नमागेको सल्लाह दिनेलाई गफास्ट अतिथि, रोशमात्रै पोख्नेलाई खग्रास अतिथि, ३ मिनेट भनेर ३० मिनेट बोल्नेलाई खलास अतिथि, पछि बस्नै नसक्नेलाई घाँस अतिथि, चिया सकिएपछि आउनेलाई बकवास अतिथि ।

Nepal Telecom ad

संप्रस पौडेल :

मरेका बिरालो काखी च्यापेर ठिमीको उकालो हिडेजस्तो मुसाले भिजाएका र साङ्लाले चिथोरेका किताब बोकेर बिहे भोजमा जान तयार भएको थिएँ ।यसो सम्झिएँ- लोखर्के राती जाडोले लुगलुग कामेपछि “भोलि चाहिँ श्रेष्ठ दाइकोमा ग‌एर हिटर किनेरै ल्याउँछु” भन्छ रे ।नयाँ किताब लेख्छु भन्दाभन्दै भ्याइएन ।
बोकेका किताब पनि किताब होइनन्, उहिल्यै बुवाले सरकारी जागिर खाँदा अफिसकै फोटोकपि मेसिनबाट पाण्डुलिपि प्रिन्ट गराएर आफैँले किताब नाम दिएका चिजबिज।
०००
लोखर्केका कुरा पत्याउनु भएन ?
स्मार्ट युगको लोखर्के हो । तपाईँका हजुर्बा हजुर्माका पालाका होइन नि !
उबेलाको लोखर्के एसइइमा ए प्लस ल्याइकन त्रिभुवन विश्वविद्यालयबाट मास्टर्स गरिकन कालो टोपी रुखमा अड्काएको केही सालमा नामका अगाडी ‘डाक्टर लोखर्के’ लेख्नेगरी विद्वान भइसक्यो । त्यसो त बलिया प्रकाशक, विज्ञापन एजेन्सी अनि किनिदिने पाठक पाए लोखर्केले किताब पनि लेख्थ्यो होला ।
०००
त्यो लोखर्के कहिलेकाहीँ त नभ‌एर मेरै कहानी जस्तो लाग्ने क्या !
दिनभरी कक्षाकोठामा पिसाब चेप्यो, घाँटी बेच्यो । बेलुका घरमा आयो, फेसबुकमा हुट्टी लायो । टिकटकमा रुवाबासी सुन्यो, युट्युबका हेडलाइनमा सरम मान्यो । पत्रिकामा आदर्शका हल्ला गर्दै जिल्ल पार्दै गिल्ला बेच्यो । अफिस चलेका दिनका कुरा यस्ता भए ।

विदाका दिनका कुरा अर्कै हुन्छन् ।
कार्यक्रममा प्रमुख अतिथि पाउनलाई झिस्मिसेदेखि मोलमोलाई गर्‍यो, घुर्की लायो, पीर पोख्यो, निमन्त्रणा नगर्ने आयोजकलाई बाटैमा भेटेर हुन्छ कि घाटैमा भेटेर हुन्छ ‘ठेट्ना समूह’ भन्दै गाली गर्‍यो, भनसुन गरेर हुन्छ कि तर्साएर,थर्काएर, चिप्ल्याएर हुन्छ कि फुत्काएर वा खोसेर प्रमुख अतिथिको पद पायो अनि गएर गफ जोत्यो- ‘हाम्रा पालामा यस्तो हुन्थ्यो, ठेट्ना मोराहरू जान्दै जान्दैनन् ।’ अन्तिममा सबै हिँडिसकेपछि खाली कुर्सीबाट आँखा टपक्क टिपेर फोनमा व्यस्त भएका सभाध्यक्षतिर टाँस्दै ‘तर सोधेका चाहिँ थिए है’ भनेर खुसी मनायो र चिप्ल्याएर एकथान प्लास्टिकका मायाको चिनो आयोजकबाट दिन लगाइयो, सहभागीलाई भाषणअघि नै भगाइयो, गलामा माला अनि रातै अबिर लाएर छिमेकीलाई छकाइयो ।

महिना दिनभरी पुग्ने फोटो खिचायो । बिहान-साँझ सामाजिक सञ्जालमा आतङ्क मच्चायो । प्रमुख अतिथि नबनाउनेलाई गाली गर्दै बेलुकी स्टाटस लेख्यो – भोलिपल्ट सच्यायो ।
०००
दुख कति कति…, लङ्गौटी च्याति कुसुमे रुमाल ।
प्रमुख अतिथिको फन्डाले यो साल पनि लोखर्केको हिटरवाला उखान दोहोरिने भयो । प्रमुख अतिथि बन्न थालेपछि नयाँ नयाँ आगन्तुकहरूले किताब उपहार दिँदा रहेछन् । सँगसँगै ‘किताब कति थान निस्किए ?’ भनी सोध्दा रहेछन् ।

अहो बित्यासै पर्‍यो नि ! किताब त लेखिएकै छैन ।
बुवा भेला र बेसीको मेलालाई त किताब चाहिएन, कवि सम्मेलनअघि त लेख्छु भन्दाभन्दै भ्याइएन ।

अलि अलि लेखिएका भनेका त्यही फेसबुकका स्टाटस मात्रै हुन् । त्यो पनि ‘बबाल साहित्य’ भनेर लेखेको तर अहिले मेमोरीमा देखाउने बित्तिकै ‘बाल साहित्य (बाल नदिने)’ झैँ लागेर ‘हाइड’ गर्दैको हैरान ।
०००
अब ६० वर्ष नपुगी किताब लेखिएला जस्तो छैन । तर अनुभवै अनुभवले भरिपूर्ण भएकाले नलेख्ने कुरो पनि भएन । आखिर भोका प्रकाशक र चिम्रा पाठक छँदैछन् । अहिलेलाई भ्याइएन तर त्यतिखेर यस्ता यस्ता किताब पो लेख्न सकिएलान्:
* कौशीको झरेको फूल हेरेर – रून्चे किताब
* दोस्रो फूल झरेपछि ‘फेरि अर्को फूल झर्‍यो’ – दुखान्त किताब
* आकाशको जून हेरेर बेलामा उपचारै नपाइ मरेकी आमाको नाममा – पिन्चे किताब
* नातिनातिनालाई स्टाटस अपडेट गर्न लाएर – प्रविधि कविता
* शब्दकोषबाट बल्ढ्याङ्ग्रा र गल्ड्याङ्ग्रा शब्द बटलेर – एब्स्ट्र्याक्ट कविता
* ए ठेट्ना हो, दाह्री त्यसै फूलेन – अनुभव साहित्य
* कपाल त्यसै झरेन – जोश साहित्य, सँगसँगै एकमुठी धनियाँझैँ ‘प्रमुख अतिथि उवाच’- फोसा साहित्य
* सबै ग‌इग‌ए अब मेरै पालो – उदास कृति
* नातिनातिनाले विदेशतिर बोलाएमा ‘ट्रान्जिटका एक घण्टा’ – नियात्रा
* अमेरिकाबाट छोराबुहारीसँगै छोरीज्वाइँ भेट्न जाँदा ‘लण्डनका चार दिन’ – यात्रा विवरण
* अष्ट्रेलियामा नौ रात – जात्रा संस्मरण
* यस्तो त कहिल्यै लेखिनेछैन – (आफ्नै कृतिको) समालोचना
कस्ता कस्ता ठेलिका ठेली किताब त लेख्नै बाँकी पो रहेछ ।
०००
समाजमा ज्यादै माग हुनाले भ्याइएन…
कहिले चैते दसैँमा भाले कप चल्छ, कहिले बडा दसैँमा खसी कप चल्छ । कुखुरा र खसी किन्नुपर्नाले प्रमुख अतिथि बन्ने आँट अर्कोले गर्ने होइन ।

कहिले चिया अड्डामा चियाको पैसा तिरेपछि आफ्नो कुरा खाना खाने बेलासम्मै फुर्सदले सुनाउन पाइन्छ । कहिले टोल विकासमा दर कार्यक्रम चल्छ । दूध र चामलको पैसा दिएपछि प्रमुख अतिथिको निमन्त्रणा घरमैँ आइपुग्छ । मामाको घोडामा भान्जाको हि हि भनेको यही होला ।

उमेरले ५० नाघेको पुरूष भए पनि आमाभेलामा चार किलो फलफूल बाँडेर होस् वा युवा क्लबमा फूटबल किनिदिएर होस् प्रमुख अतिथि बन्न अर्कोको पालो आउने होइन । बालक्लबमा घरभरिका बालबालिकाका औँला समाएर कार्यक्रममा पुगे प्रमुख अतिथि बन्ने अर्कोले आँट गर्ने होइन । बुद्धिजीवि भेला होस् कि पल्लो गाउँको मेला होस् प्रमुख अतिथिको अनुभवी अर्को पुस्ता नभएकाले जिम्मेवारी आफ्नै हुन्छ । फेरि जो कोहीलाई यो पदवी दिएर कार्यक्रमको शोभा दसैँको प्याजको भाउजस्तो ह्वात्तै बढाउनु पनि त भएन ।
०००
प्रमुख अतिथि बनेका अनुभवै लेख्ने हो भने पनि एउटा पुस्तकालय त यस्तै गन्थनले भरिँदो हो । भर्‍याङमुनि नअटेर आँगनसम्म किताबका बोराहरू पुग्दा हुन् । उपहारका नाममा जन्तिदेखि मलामीसम्म बाँड्दा अनि बेहुलाबेहुलीदेखि क्रियापुत्रीसम्म बाँड्दा दोहोरिनु र तेहरिनु सामान्य हुँदो हो । बाउआमाका बिहेमा दिएका किताब सन्तानका पास्नी, ब्रतबन्ध, गुन्युचोली, बिहेसम्म धारावाहिक हुँदो हो ।

कार्यक्रम सुरू भएको आधी घण्टा पछि पुगेर कुराउने प्रमुख अतिथि हुनुभन्दा आधी घण्टा पुग्नेलाई प्रमुख अतिथि बनाउँदा बेस हुने रहेछ । दोस्रोलाई विशिष्ट अतिथि, तेस्रोलाई विशेष अतिथि, चौथोलाई खास अतिथि, पाँचौँलाई बास अतिथि, चियाअघि आउनेलाई गिलास अथिति बनाउन सकिने रहेछ ।

नमागेको सल्लाह दिनेलाई गफास्ट अतिथि, रोशमात्रै पोख्नेलाई खग्रास अतिथि, ३ मिनेट भनेर ३० मिनेट बोल्नेलाई खलास अतिथि, पछि बस्नै नसक्नेलाई घाँस अतिथि, चिया सकिएपछि आउनेलाई बकवास अतिथि ।

चिनी नहालेको चिया खानु, लामो हात गरी गरी सेल्फी लिनु, अरूका विश्वासमा मोबाइल तेर्स्याएर फोटो खिचाइ माग्नु, कार्यक्रममा समयमैँ पुग्नु, कार्यक्रममा को आए आएनन् आयोजकभन्दा बढी ख्याल गर्नु । आफू बोल्दाबोल्दो बाहिरिनेको अनुहार याद गर्नु, मुसाले बुट्टा भरेको साङ्लाले बिष्टा गरेको गाता दोब्रिएको किताब उपहार दिनु । अहो ! प्रमुख अतिथि हुन बडो सङ्कट पो रहेछ ।

आयोजकलाई भँडार खनेर आँगन पुर्न लाएपछि आधी घण्टा अघि नगएर हुन्छ ? प्रमुख अतिथि भनेर संस्थाहरूले बोलाएका बोलायै गरे भने मैले किताब कसरी लेख्नू ? कुनबेला लेख्नू ? लेख्छु भन्दा भन्दै फुर्सदै पाइएन ।
हो कि होइन भन्नुस् त । किताब लेख्छु भन्ने कुरो पनि लोखर्केको जाडाको हिटरको कथाझैँ भइगयो । घिउ न तेल, पका बुढी सेल ।

०००
मनहरी-५, मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
तलतल

तलतल

केशवराज आमोदी
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
0
Would love your thoughts, please comment.x
()
x