अशोककुमार शिवाअङ्ग्रेजी पढौँ पटापट, नेपाली सफाचट
ग्लोबलाइजेसन लोकलाइजेसन, सेपरेटलाइजेसन हुँदै पर्सनलाइजेसनमा सिमित हुनेछ भने लिवरलाइजेसन इन्स्पेक्सनाइजेसन, गाइडाइजेसन हुँदै कण्ट्रोलाइजेसनमा थुर्रिन पुग्नेछ । अङ्ग्रेजी पढौँ पटापट, यसैलाई रटौँ रटारट । नेपाली भने सफाचट ।

अशोककुमार शिवा :
सन् १९९० को दशकदेखि विश्वमा नवीन विषयले प्रचार पाउन थाल्यो । यसरी प्रचारमा आएका विषयहरूमा ग्लोबलाइजेसन र लिबरलाइजेसन प्रमुख हुन् । यसै कालदेखि विभिन्न मिडियाहरूले विश्वलाई एउटा ठाउँ अर्थात् ग्लोब भिलेज बनाउन थाले । विश्वको जुनसुकै कुनामा घटेका घटनाहरू तुरुन्त विश्वभरी प्रचारित हुन थाले । विज्ञानको विकासले गर्दा विश्वमा सञ्चारका नयाँ–नयाँ साधनहरूको प्रयोग बढ्न थाल्यो । पत्रपत्रिका, रेडियो, टेलिफोन तथा टेलिभिजन हुँदै हुर्केको सञ्चार जगत्मा स्याटेलाइटको प्रवेशसँगै सञ्चारको नयाँ युग शुरु भयो । इन्टरनेट, इ–मेल, फ्याक्समेल आदि सहित कम्प्युटरको नयाँ जनेरेसन तयार भयो । यी सुविधाहरू अधिकांश अङ्ग्रेजी माध्यममा सञ्चालित हुने गर्दछन् । यिनले अङ्ग्रेजी नै बोल्दछन् र बुझ्दछन् पनि ।
अबको युग भनेको अङ्ग्रेजीको युग हो । आजभोलिका यङ्ग जेनेरेसनले डेटिङ्ग गर्न होस् वा च्याटिङ्ग गर्न होस् अङ्ग्रेजीलाई नै माध्यम बनाउने गर्छन् । त्यसैले अब अङ्ग्रेजीमा पारङ्गत हुनु अति जरूरी छ । यसै कुरालाई मध्येनजर गरी नेपालको उच्च शिक्षामा केही समय अगाडि नेपाली विषयलाई हटाउने निर्णय भएको थियो । बडो बुद्धिमानी निर्णय थियो त्यो । निर्णय होस् त्यस्तो । तर केही बुद्धुहरूले कोकोहोलै मच्चाए । पाठ्यक्रमबाट अनिवार्य नेपाली हटाउने त्यो पुनित निर्णयका विरुद्धमा केही लठुवा नेपालीहरूले उधुमै गरे । बुद्धिमानहरूले गरेको त्यो दूरदर्शी निर्णय केही समयका लागि स्थगित हुन पुगेको छ । यो साह्रै नराम्रो काम भयो है ।
नेपालीको सट्टा अङ्ग्रेजीलाई नै पाँच भागमा विभक्त गरेर दैनिक पाँचै भागको पाँचै घण्टी पढाई हुनुपर्दछ । यो नै आजको आवश्यकता हो । किन चाहियो नेपाली भाषा ? नेपाली भाषा ग्लोबलाइज हुन पनि सक्दैन नि हैन र ? फेरि नेपाली त घरमै प्राक्टिस भै हाल्छ नि । नेपाली भाषाको विकासलाई नै अवरुद्ध गर्ने निर्णय हुन लाग्यो भनी विरोध गर्ने हरिलट्ठकहरूलाई के थाहा । आफ्ना छोरा– छोरीलाई चाहिँ विदेश पठाएर अङ्ग्रेजी भाषामा पढाउने निर्णय गर्दा अनुचित भयो भनी विरोध गर्ने । यो त भएन नि ।
यदि समयको मागलाई नबुझी गल्ति गर्ने हो भने विज्ञानले उल्टो दिशा लिने छ । ग्लोबलाइजेसन लोकलाइजेसन, सेपरेटलाइजेसन हुँदै पर्सनलाइजेसनमा सिमित हुनेछ भने लिवरलाइजेसन इन्स्पेक्सनाइजेसन, गाइडाइजेसन हुँदै कण्ट्रोलाइजेसनमा थुर्रिन पुग्नेछ । त्यसैले अब छाडौं नेपालीको रट, अङ्ग्रेजी पढौँ पटापट, यसैलाई रटौँ रटारट । नेपाली भने सफाचट ।
०००
काठमाडौँ








































आहा दमादार,प्रेरणादायक