साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गुड आफ्टर नाइट

प्रमुख सर त सबैभन्दा ज्ञाता हुन्छन् – सर्वज्ञानी । हामी त उनका अगाडि केवल टाउको हल्लाउने र ताली पड्काउने हुन्छौँ । सबैले सर्वअज्ञानी ठाने पनि उनी आफूलाई सर्वज्ञानी ठानिरहेका हुन्छन् ।

Nepal Telecom ad

सञ्जय साह मित्र :

“गुड मर्निङ सर” उनले आफ्नो घडीतिर हेर्दै मलाई अदपका साथ अभिवादन गरे ।
म विदेश जाने तयारीमा थिएँ । अंग्रेजी बोल्न वा दिलको कुरा खोल्न म अंग्रेजीमा अभ्यस्त बन्न चाहन्थें । जब उनले अभिवादन गरे तब फर्काउनलाई उनैको नक्कल गरेजस्तो गरेर मैले पनि घडीतिर हेरें । मेरो घडीले दिउँसो बनाइसकेको रहेछ । मैले सम्झेंसम्म मेरो घडीले ठिक टाइम दिइरहेको थियो । आज बिहानैको कुरो त हो नि, मेरो मोबाइलले चिच्याएर मलाई उठाउनु र इफेममा समाचार आउनु एकैचोटि भएथे । मेरी पत्नीलाई पनि थाहा छ, जब समाचारसँगै मेरो मोबाइलले प्यारी निद्राको अपहरण गर्ने गरी चिच्याउँछ तब दिनको सुरुआत नहुँदै उक्त दिनको एक चौथाई मृत्यु भइसकेको हुन्छ । अनि म समयको मामिलामा निकै कडा छु । म मेरो बुद्धिभन्दा घडीमा भर पर्छु । हरेक दिन रेडियोको समयसित एकचोटि अवश्य मिलाएको हुन्छु । निर्धारित समयभन्दा केही सेकेन्ड पनि ढिलो नगरी ट्वाइलेट छिर्ने मान्छे म । समयको महत्व मलाई थाहा छ । यसैले हतारमा ओकल्छु –“गुड आफ्टर मर्निङ, सर ।”

मरेको मुसोले हाँसेको हो कि दाँत देखाएको हो भन्ने भाव छुट्याउन नसकेजस्तै गरी ङिच्च दाँत देखाउँदै उनले व्यङ्ग्य गरे –“अंग्रेजी शब्दलाई नेपालीकरण गर्ने तपैँले त आज अंग्रेजीको दाँत भाँच्ने गरी खोक्नु भयो त ?”

“हात, खुट्टा, टाउको जे भाँच्चिए पनि मैले भनेको कुरा केरा त भएन नि ? मैले तपाईँलाई जबाफ फर्काउने बेलामा घडीको तिनओटै सुई एकअर्कामाथि खप्टिएका थिए । मैले गुड नुन भन्दा हुन्थ्यो त ?”

“मलाई लाग्यो कि तपाईँ मलाई गिज्याउँदै हुनुहुन्छ” पोलेको हरियो खुसानीमा अलिकति बढी तेल हालेजस्तो चिल्लो बोलीमा उनले भने –“अंग्रेजीको फोक्सो र मुटुको अप्रेसन गर्दै हुनुहुँदोरहेछ ।”

भकभके नभए पनि बकबके चाहिँ अवश्य हुँ । मलाई नबोली हुँदैन । बोल्नकै लागि जन्मेको हुँ । उनी गाईमाथि प्रकाश पारेर लेखेको निबन्धले हास्यव्यङ्ग्य पुरस्कार जितिसकेका मान्छे । उनलाई अंग्रेजी आउँछ नै । हामी एउटै अफिसका समान तहका कर्मचारी हौँ । अग्ला होचा भए पनि घोचपेच गरिरहन्छौँ एकले अर्कोलाई । कसैले कसैको बाउको केही नखाइदिएकोले ठाकठुक पर्दैन । उनको अंग्रेजी दम्भमाथि आफ्नो मूर्खताको घनले बजार्दै सोधें – “अँ साँच्ची, ठिक बार बजे चाहिँ कुन अभिवादन गर्ने ?”

फलाम काट्ने तरबारले पाकेको केरा काटेझैँ गरी सजिलोसित जबाफ दिए उनले –“गुड आफ्टर नुन ।”
हाजरी धस्काएर कुन्नि केको एउटा पुडिया च्यातेर मुखमा कोचे उनले । मलाई जताततै थुक्न नै घिन लाग्छ न त म पनि आकाशतिर हेर्दै मुख आँ गरेर बोराको मुख खोलेर खन्याएजस्तै खन्याएर आनन्द लिन्थें । प्याच्च थुक्नेको मुखमै थुकिदिऊँ जस्तो लाग्छ । मैले उनलाई नखा भनेर कहिल्यै भनेको छैन । मेरो बाउको खाँदैनन् र मलाई खा खा भनेर कर पनि गर्दैनन् । म बसेतिर बिर्सेर पनि थुक्दैनन् । उनको मुखबाट धुलो उडेर नाकतिर जाँदै गर्दा मैले अविश्वास प्रस्ताव पेश गरें –“आफ्टर नुनले त नुनभन्दा पछि न बुझाउँछ । अंग्रेजीमा नुन भनेको पानीमा घुल्नेजस्तो पदार्थ त होइन । ठिक बार बजेलाई बुझाउँछ । ठिक बार बजेभन्दा आधा मिनेट बाँकी छ भने मर्निङ नै कहलाउँछ र आधा मिनेट पनि बढी भयो भने आफ्टर नुन कहलाउँछ । तर, मलाई जस्तो एक सेकेन्ड तल–माथि नभएको अवस्थामा यदि कसैलाई अभिवादन गर्नुपर्‍यो भने गुड नुन भन्ने कि नभन्ने ? मैले कतै नसुनेरै अघि भनेको हुँ – गुड आफ्टर मर्निङ, सर ।”

टेबुलमा काम पर्खिरहन्छ । कामभन्दा कुरो प्यारो हुन्छ हामीलाई । जो कुरोमा जित्यो उसले काममा जित्नै पर्दैन । कसैले गरेको कुनै राम्रो काम हेर्नको लागि कतै विज्ञापन गरिन्न तर भाषण सुन्नको लागि सित्तैमा माहुरीको गोलोभन्दा अझ बाक्लो उपस्थिति हुन्छ । कहिलेकाहीँ हामी कुरो गर्नको लागि मात्र हाजिरी गर्न कार्यालय आउँछौँ । म नअलमलिकन पुनर्प्रश्न गर्छु – “कि, गुड मिड डे भन्न सकिन्छ सर ?”

उत्तर दिन अलमलको चलमल अनुहारमा देखें । हाजिरी किताबमा नाम अगाडि भएकाले उनी सिनियर हुन् । उमेरले मात्र नभई बालबच्चा, पत्नी र जायजेथाले चाहिँ म धेरै सिनियर हुँ । यसैले उनले मलाई अभिवादन गर्दा अदपको भाउ मिसाउँछन् । सिनियर उनले मानेका छन्, मैले मानेको छु । दुवै जना सिनियर भएपछि जुनियर कोही रहँदैन । सिनियरलाई सिरियस बनाउनु अपराध हो । यो बुद्धि मेरो दिमागले उत्पन्न गरेपछि हँस्यौली पारामा केही भन्न खोज्दै थिएँ । उनले भने –“चुरो कुरो त यही हो – अभिवादन गर्ने । जसरी बुझे पनि भइहाल्छ । तर तपाईँको तर्कतिर किन ध्यान नगएको होला विद्वानहरूको ?”

हाम्रो समाजमा परम्परागत जिब्रोले प्रणाम तथा आधुनिक र परम्पराको ठिमाहा जिब्रोले नमस्कार भनिरहँदा आधुनिक जिब्रो भने पश्चिमतिर लर्बरिएकै हो । अहिले अभिवादन फ्युजनको युगमा छ, संक्रमित छ । अंग्रेजी आचारमा अभिवादन गरेको चार कक्षामा नै पढेको थिएँ – गुड मर्निङ, गुड आफ्टर नुन, गुड इभ्निङ र गुड नाइट । अनि अंग्रेजी सरले हरेक दिन हातमा लट्ठीको सुम्लो डाम्दै कम्तीमा एउटा माने रटाउनु हुन्थ्यो – मर्निङ माने बिहान, नुन माने दिउँसो, इभ्निङ माने साँझ र नाइट माने राती । गुड माने राम्रो त स्कुल नजाँदै जानिसकेको थिएँ । त्यत्ति बेला सरहरूले नै नबुझेको अहिले चाहिँ बुझ्‌दैछु, गुड माने शुभ । “त्यैँ त, मलाई अझै पनि असजिलो लाग्छ एघार बजेतिर गुड मर्निङ बोल्न, साढे तिन बजेतिर गुड आफ्टर नुन भन्न र राती खाना खाने बेलामा गुड इभ्निङ वा गुड नाइट भन्न । अझ कुनै दिन कुनै कारणले जाग्राम बसेको छु भने रातिको दुई तिन बजेतिर न गुड नाइट भन्नु न गुड मर्निङ भन्नु कसैलाई ।” उनले सबै कुरो बुझेको बिरामी बाँदरले ‘होमा हो’ जस्तै मुन्टो हल्याए मात्र ।

अलिकति सास र अलिकति साहस बटुलेर प्रस्ताव गरें –“बिहान ९ बजेदेखि बार बज्नु अगाडिसम्म ‘गुड मर्निङ’को साटो ‘गुड आफ्टर मर्निङ’ वा ‘गुड बिफोर नुन’ भन्न सकिन्न र ? यस्तै गरी समय मिलाएर ‘गुड बिफोर इभ्निङ’, ‘गुड बिफोर नाइट’, ‘गुड आफ्टर नाइट’, ‘गुड बिफोर मर्निङ’ भन्दा पनि होला कि ?”

मेरो अनुहार नुन दलेर सफा भएको दाँत जस्तो चम्किलो भयो तर उनको अनुहार भने नुन खाएको कुखुराजस्तो ओइलायो । मलाई लाग्यो, उनलाई रिङटा लागिरहेको छ । मैले हत्त न पत्त एक गिलास पानी दिएँ । हत्तपत्तको काम लतपत भनेझैँ भयो । पानी तातो न तातो थियो । चिसो भन्ठानेर उनले एकै सप्कोमा गिलासै निलूँ झैँ गरी मुख खोलेर पानी हुले । अंग्रेजी बोल्ने मुख हो भनेर तातो पानीले सम्मान गरेन । पोल्यो । अनि सोझै कुन भाषा निस्क्यो कुन्नि थाहा भएन, टेबुलको टंक्युपर, कागज, रजिस्टर सब पवित्र भयो । चिच्याहटले घरै उचालियो । कार्यालय बन्द भयो । सरको मुखमा केही भयंकर विस्फोट भएजस्तो सन्सनीपूर्ण हावा फैलियो । कार्यालय प्रमुखले सबै कुरा बुझेर परम पूज्य परमात्माको वाणीझैंँ ओकले –“बाफ नभएको तातो पानी र पाप नभएको बानी धेरै खतरनाक हुन्छ । निष्बाफ र निष्पापदेखि सतर्क रहनुपर्छ ।”

प्रमुख सर त सबैभन्दा ज्ञाता हुन्छन् – सर्वज्ञानी । हामी त उनका अगाडि केवल टाउको हल्लाउने र ताली पड्काउने हुन्छौँ । सबैले सर्वअज्ञानी ठाने पनि उनी आफूलाई सर्वज्ञानी ठानिरहेका हुन्छन् । मौका चौका हान्न खोज्दै मैले आफ्नो अंग्रेजी ज्ञानलाई आफ्नो कार्यालय प्रमुखको मुखबाट पनि केही बढाउन चढाउन निवेदन गरें – “गुड मर्निङभन्दा पहिले ‘गुड आफ्टर नाइट’ हुन्छ कि नाइँ, सर ?”

अजिङगरले घोर्ले सर्पलाई हेरेझैँ जब मलाई हेरे तब मेरो हालत बाघको मुखमा परेको बाख्रा जस्तै भयो । केही बोलिनँ । कतै कहिल्यै पनि बोल्ने आँट गरिनँ तर आज पनि म आफ्नो प्रश्नको उत्तर खोज्दै छु । कुनै दिन तपाईँलाई पनि सोध्न पुगें भने कृपया नरिसाइदिनुहोला ।

०००
२३ मंसिर २०८१
मित्रनगर, गरुडा ४, रौतहट

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
युगल बसेल
युगल बसेल
1 year ago

लेख्छन् सञ्जय शाह दिन्छन् आनन्द अथाह

Nepal Telecom ad
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
सुप्रिमो

सुप्रिमो

सञ्जय साह मित्र
कुत्ताभक्ति

कुत्ताभक्ति

सञ्जय साह मित्र
विवाह विदा र हनिमून प्याकेज

विवाह विदा र हनिमून...

सञ्जय साह मित्र
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
1
0
Would love your thoughts, please comment.x
()
x