साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बजियाहरूले झण्डै मारे !

त्यहाँ त स लामो लामो सुइ बोकेका अस्तिका तीनै मानिसहरू ज्यमराज जस्ता भएर बसेका रहेछन् । अ‍ैया आथ्थो क्यै भन्नै नपाई अँठ्याइहाले । दौरा खोल्न लाए । मेरो ओठ मुख सुक्यो । आँखा चिम्लिएँ ।

Nepal Telecom ad

पराशर रिजाल :

धेरै अघिदेखि चाँगे वारिपारिका गाउँहरूको केन्द्र जस्तै थियो । तत्कालिन तेह्रथुम जिल्लाको आदर्श गाउँ पंचायत भएको हुँदा आदर्श गाउँको प्रगति हेर्न, घुम्न भनेर एक दुइ दिन बिराएर नयाँ नयाँ मान्छेहरू त्यहाँ आउने जाने गरिरहन्थे । गाउँ पंचायत कार्यालयमा बैठक, कचहरी पनि बराबर भैरहन्थ्यो । फराकिलो ग्राउण्ड भएको हुँदा हाँगपाँग, फुलवारी आठराइ देखिका अनि साँघु, फाकुम्बा क्षेत्र आसपासका विद्यालय र गाउँहरूबाट समेत फुटवल, भलिबल खेल्न शिक्षक विद्यार्थी, खेलाडी, खेलप्रेमी र अरु पनि विभिन्न विषय सन्दर्भमा मानिसहरू आउजाउ गरिरहन्थे ।

पुराना दिनहरू सम्झँदा एकदिनको घटना जहिले पनि याद आइरहन्छ । हाम्रो कक्षामा हत्तपत्त नआउने हेडसर खेमनाथ भट्टराई त्यस दिन हामीलाई रखबारी गर्दै हुनुहुन्थ्यो । पौष माघ तिरको हिउँदको कुनै दिन हुनु पर्छ , त्यतिबेला म कक्षा तीनमा पढ्दै थिएँ । हिउँदको दिनहरूमा विद्यालयको कोठा भित्र दिनभरि बसिरहँदा निकै जाडो हुन्थ्यो । कहिले कहीँ सरहरूलाई रिझाउन सक्दा भने स्कुलको ग्राउण्डमा घाम तापेर पढ्ने अवसर पाइन्थ्यो । त्यस दिन हेड्सरको निगाहले तेश्रो घन्टीबाट हामीलाई घाम तापेर पढ्ने सौभाग्य जुर्यो ।

टिफिन हुनै लाग्दा अचानक सुकिला मुकिला एक हुल मान्छेहरू विद्यालयको चौतारा छेवैमा देखा परे । चार पाँच जनाको त्यो टोली बिस्तार बिस्तार हामी पढ्दै गरेको ग्राउण्डतिरै लम्कियो । उनीहरू अन्यत्र कतै अलमल नगरी सिधै हामी भएको ठाउँमा आए । पढ्दै गरेको हाम्रो स्वर टक्क रोकियो र ध्यान उनीहरू तिरै केन्द्रित भयो । नजिकै आएर हेडसरलाई नमस्कार गर्दे भने ‘हामी बिद्यार्थीहरूलाई टिवि रोग नियन्त्रणकोलागि बिसिजिको खोप लगाउन जिल्लाबाट आएका हौं ।’ हेडसरले सानो स्वरमा भन्नु भयो ए राम्रो कुरा अनि कहिले लगाउँ त खोप ? उनीहरू एकै छिन रोकिए र भने हामी त तयारै छौं अहिल्यै पनि लगाउन सकिन्छ । टिफिन पछाडी छैटौं पिरियड देखि लगाउँदा कसो होला, उनीहरू मध्येको हाकिम जस्तो मान्छेले हेडसरको मनसाय बुझ्न प्रस्ताब गर्यो । हुन्छ, अरु स्टाफहरूसंग पनि एकपटक सल्लाह गरौं न त भन्दै सबैजना हेड्सरसँग कार्यालय तिर लागे । अक्सर सानो स्वरमा बोल्ने खेमनाथ सरको आवाज आज थोरै विद्यार्थीले मात्र सुन्न सके होलान् । नजिकै बसेकोले मैले भने यी सबै कुरा प्रष्ट साथ बुझें । उनीहरू गएपछि हामी बिचमा उनीहरूको आगमन र खोपको बारेमा कुरा चल्यो । हामी सबैको ओठमुख सुक्यो ।

मलाई यो काम कुनै ठुलै अपरेसन गर्नु जत्तिकै खतरनाक हो भन्ने लाग्यो । पहिले देखि नै अरु कसैलाई खोप लगाउन सुइ निकालेको देख्दा नै मेरो सातोपुत्लो उड्दथ्यो । आन जब यो कुरा थाहा पाएँ अरु कक्षाका साथीहरूलाई कतिबेला सुनाउँ भनेर छटपटी शुरुभयो र मौकाको प्रतिक्षा गरेर बसें । एकछिनमा टिफिन भयो । एक दुइ, एक दुइ गर्दै धेरै साथीलाई यो कुरा सुनाएँ । कतिको तत्कालै ओठमुख सुक्यो । कति साथीहरू भने यी कुराहरूको वास्ता नगरि उफ्रिन, खेल्न र दौडधुप तर्फ लागे । मलाई भने खोपको त्रासले खेलमा पटक्कै रुची गएन । सरहरूले उफ्रि उफ्रि रमाइलो गरि भलिबल खेलिरहे । ती नयाँ मान्छे पनि खेलमा सहभागी भए । घण्टी लाग्यो । सबै विद्यार्थीहरू कक्षा कोठातिर लागे । स्वास्थ्य कर्मीहरू र सरहरू पंचायत अफिसको आगनमा टेबल कुर्शि मिलाउन थाल्नु भयो ।

केही सरहरूले हाम्रो राम्ररी रखबारी गरिरहनु भएको थियो । सरहरूको कडा निगरानीको बिचमा मैले देख्दा देख्दै एक दुइजना साथीहरू विद्यालयबाट लुसुक्कन चिप्लिए । अब आफु कसरी जोगिने त ? मन बेजोडसंग ढुकढुकियो । उद्धारको कुनै उपाय सुझेन । पाँचौ पिरियड भरि सरहरू र स्वास्थ्य कर्मीहरू बीच के के हो वार्तालाप भइरह्यो । दोकानबाट चिया मगाएर खाए । सुन्तला ल्याएर खाए । सर र ती स्वास्थ्य कर्मीहरू खित्का छोडेर हाँसे , आफुलाई र यस्तो भययुक्त अप्ठयारो क्षणमा पनि यसरी हाँस्न सक्ने कस्तो निष्ठुर मन होला भन्ने लागि रह्यो । आफ्नो मन भने बढो खिन्न थियो ।

टिफिनमा आज साथीहरूले स्याउ सुन्तला चोर्न जाने पनि कुरा गरेनन् । पाँग्रा, बल्ढ्याँग्रा र लप्सीको खेल पनि राम्ररी जमेन । त्यसै झोक्राएरै जस्तो टिफिन समय बित्यो । पाँचौं पिरियडको अन्त्यतिर बल्ल बल्ल एउटा जुक्ति फुर्यो, दिशा गर्ने निहुले खोल्सातिर जाने र त्यतैबाट मावली तेल्लाबुँगतिर चम्पट ठोक्ने । तर किताब कपि के गर्ने नि साथमा लिएर हिँड्यो भने त पक्डाउ परिहालिन्छ, फेरी समस्या परयो । बुद्धि लगाएँ । आइडिया फुर्यो । किताब मेरो सहपाठी साथी प्रेमलाई जिम्मा दिने । उसले स्वीकार गर्यो । सर भए ठाउँ पेट दुखेको अभिनय गर्दै दिशा जान्छु सर भने । उनीहरूले मेरो शिरदेखि पाउसम्म सर्सर्ती हेरे । सरहरूले अनुहार हेर्दै थाहा पाउँछन् कि के हो भनेर कम्ता डर लागेन । तर मलाइ पेट दुखेको हो कि, भाग्न लागेको सरहरूले छुट्याउन सकेनन् । अन्त्यमा छिटो गएर आइज है त भनेर आज्ञा पाएँ । त्यतिबेला बन्द ट्वाइलेटको कतै व्यवस्था थिएन । खुला ठाउँ खोल्सा खोल्सि जता मन लाग्यो त्यतै मनपरि जाने गर्थ्यौं । म पश्चिम पट्टिको खोल्सातिर लागें । सरहरूले कतिपनि शंका गर्नु भएन । विद्यालय पछाडिको कुइनेटोले छेलेपछि दायाँ बायाँ कतै हेर्दे नहेरि म बेस्सरी दौडिएँ ।

खोल्सा पारिपटिबाट केही मानिस भारि बोकेर आउँदै थिए । डिलमाथि, बाटामुनी खेतबारीमा मानिसहरू काम गर्दै थिए । कता दौडिएको भनेर कोही कोही चिनेका मानिसहरू सोद्धै थिए । आँ उँ गरेर टारें । कसै कसैले यो केटो कता दौडिएछ भनेर उनीहरूबीच कुरा गरेको पनि सुने । डर झन् बढ्यो । कति बटुवाहरूले कस्को छोरा नानी भनेर सोध्दै थिए । म केही नबोली, जवाफ नफर्काइ दौडिरहें । मौला डाँडा माथितिरबाट केही मानिसहरूको हुल ओह्रालो झर्यो । सरहरू पो हुन् कि भन्ने भयले एक छिन त जिउ नै जिरिँग भयो । धन्न होइन रहेछन् । मौला डाँडा परि सिमसार खेत नजिकै के पुगेको थिएँ, खोल्साबाट बुर्लुक्कै के उफ्रियो । कोही समात्न झम्टिए जस्तै लाग्यो । एक पटक फेरी सातो उड्यो । थुइक्क स्याल पो रहेछ । सधैं स्याल शब्द सुन्दै डर लाग्ने आज जम्काभेट हुँदा पनि केही जस्तो लागेन । यात्रा अझ रफ्तारमा बढ्यो ।

तेल्लाबुँग कामी डाँडामा सदा झैं आज पनि मानिसहरूको खैलाबैला उत्तिकै थियो । आरनमा हसिँया, खुर्पा, खुर्मी, कोदालो, फाली, करुवा, कराई, डाडु पन्यु आदि विभिन्न औजार र भाँडाकुँडा बनाएको हेरेर घण्टौं अल्मलिने, मलाई असाध्यै मन पर्ने ठाउँ, आज कत्ति पनि त्यहाँ रोकिन मन लागेन । पछाडि फर्किएर हेर्ने पनि आँट थिएन । बरालको घर र अग्निप्रसादको घर खोल्सापारि कटेर मावली घर देखेपछि मैले ठुलो श्वास फेरें । मावलीघर नटेकुन्जेल मैले पछाडि फर्केर हेर्ने साहास नै गरिन । हजुर बुबा, मामा, माइजुहरू घरमा हुनुहुन्नथ्यो । हजुर आमा घरको काम धन्दामा घरको एक कुनामा व्यस्त हुनुहुन्थ्यो । बिरालोको चालमा सुटुक्क माथिल्लो तलामा चढें । भकारी भित्र छिरें र श्वास दबाएर लुकें । सधैं मावल वा घर पुग्ना साथ के खाउँ र कसो गरुँ लाग्थ्यो, आज कति पनि छटपटि भएन । बेलुकी खाना खाने बेलामा मात्र एकैचोटी भुँइतलामा बुर्लुक्क प्रकट भएँ । सबै छक्क परेर हेरेको हेर्यै भए । हैन यो केटो कहाँबाट आइपुग्यो हजुरबुबाले भन्नु भयो । घरबाट पठाएर आइस् के भनेर हजुरबुबा हजुरआमाले केरकार गरेर सोध्नु भयो । मैले आँआँ उँँउँ गरेर टारें । केटाकेटी हो बेलामौकामा त्यत्तिकै पनि भागेर पनि आउँछन् । भागेरै आयोे होला नि भनेर सानीमाहरूले अनुमान गरे । एकछिन् पछि मेरो प्रशंग सामसुम भयो ।

भोली पल्ट कसैले म मावल आएको खबर घरमा पुर्याएछन् । मेरो साथीले उसैदिन खबर र किताब पुर्याएछ । आमा तीन दिनपछि मलाई लिन आउनु भयो । धन्न बुबा आउनु भएन । बुबा आउनु भएको भए मेरो भाले सातो जान्थ्यो । भोली पल्टै आमासंगै घर फर्कनु पर्यो । बुबाको सामुन्नेमा अरु तीन चार दिन जति परिन ।

आइतबारदेखि विद्यालय जानेक्रम फेरी शुरु भयो । त्यस दिन कसैले केही नभनेकोले सरहरूले म भागेको पुरानो कुरा बिर्सिसके छन् भन्ने लागेर ढुक्कै भएँ । सामान्यतः धेरै बिद्यार्थीमा कतिबेला को कता जान्छ त्यति पत्तो हुँदैनथ्यो पनि । विद्यालय पुगेको भोलीपल्ट कार्यालयमा बोलावट भयो । अस्ति तीन दिन किन स्कुल आइनस् भनेर सरहरूले स्पष्टिकरण लिनु भयो । भुँडी दुख्यो सर, मैले निहु बनाउँदै भने । बिरामी भएँ भन्दा सधैं उन्मुक्ति पाइने हुँदा धेरै जसो विद्यार्थीहरूले बिरामीकै निहु गर्दथे । मैले पनि त्यहि निहु बनाएँ । त्यसपछि सोधखोज भएन । कुरा टुँगियो ढुक्क भइयो ।

आफु भागे पछि यता साथीहरूले खोप लगाएछन् । त्यसै दिन देखि कति साथीहरूलाई ज्वरो आएछ । कतिको खोप लगाएको ठाउँ पाक्न थाल्यो । विद्यालय आएका साथीहरूले आफ्नो खोप लगाएको घाउ पालै पालो देखाए । मैले डराउँदै डराउँदै हेरें र मनमनै आफु जोगिएकोमा खुशि भएँ ।

अर्को मंगलबारको दिन त्यस्तै ११/१२ बजेको समय थियो । दुर्गा सर आएर हाम्रो कक्षाका चारजना साथीहरूको नाम बोलाएर भन्नु भयो ल तिमीहरू तल कार्यालयमा एकछिन हिँड त एउटा काम छ । सितिमिति विद्यार्थीहरूलाई कार्यालयमा बोलाईदैनथ्यो । कुनै उपद्रो वा विमाख गरेमा स्पस्टिकरण लिन, सजायाँ दिन वा कुनै राम्रो कामकोलागि पुरस्कृत गर्न बोलाइन्थ्यो । राम्रो काम केही गरिएको थिएन । पुरस्कृत गर्न अवस्य होइन । किन बोलाईयो त आज भनेर हात खुट्टा लुगलुग कामे । डर मान्दै मान्दै हामी कार्यालयको गेट छेउमा पुग्यौं र भित्र चियाएर हेर्यौं । सरले अनुमति दिए पछि भित्र पस्यौं र एक छेउमा उभियौं । केही नौला मानिसहरू शिक्षक कोठाको टेबुल नजिकै कुर्शिमा बसेका थिए । लौ भगौडा लाहुरेहरू यीनै हुन् । यीनीहरूलाई सबैभन्दा लामो सुइ कुन छ त्यहि लगाइदिनु पर्यो, फेरी देखि नभागुन्‌ ,नयाँ मान्छे तिर हेर्दै हेडसरले भन्नु भयो ।

हाम्रो सातोपुत्लो गयो । त्यहाँ त स लामो लामो सुइ बोकेका अस्तिका तीनै मानिसहरू ज्यमराज जस्ता भएर बसेका रहेछन् । अ‍ैया आथ्थो क्यै भन्नै नपाई अँठ्याइहाले । दौरा खोल्न लाए । मेरो ओठ मुख सुक्यो । आँखा चिम्लिएँ । काम्दै काम्दै जिउ जिम्मा लगाएँ । दुइजनाले निचोरेर पाखुरामा निकैबेर सियोले घोप्दै झिक्दै गरे जस्तो लाग्छ । निकैबेर पछि ल भयो अब भने । मेरो यो अवस्था देखेर पालो कुरेर बसेका अरु साथीहरू भिजेका मुसा जस्तै लुछ्ुप्पै भएर एकै ठाउँ टाँसिए । उनीहरूको पालो आउनु अघि नै मैले त्यहाँबाट विदा पाएँ । सबै कक्षाका खोप लगाउन बाँकी रहेका विद्यार्थीहरू प्रत्येकलाई पालै पालो बोलाइयो र त्यसरी नै थर्काएर खोप लगाइयो । त्यस दिन देखि विद्यालयमा कोही नयाँ मानिसहरू आएको देख्यो कि खोप लगाउनेहरू नै आएका हुन कि भनेर आँग नै जिरिँग जिरिँग भइरह्यो ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x