साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खट्टर काकाको विनोदवार्ता

कहिलेकाहीँ ठुलाठुला पचेकाका धारिला प्रहारले खल्बल्याइदिन्छन् — व्रजको होलीजस्तै । फागुनको मदमस्त पूर्वी बतासमा झैं खट्टर काकाका लहडमा पनि निरङ्कुश वप्रक्रीडा (सिँगौरी)को मस्ती पाइन्छ । त्यही भएर त खट्टरत्व छ नि !

Nepal Telecom ad

रवीन्द्रनाथ त्यागी :

व्यङ्ग्यानुवाद :: रमेश समर्थन

काव्यशास्त्रविनोदेन कालो गच्छति धीमताम् !
संस्कृत साहित्यमा काव्यशास्त्रविनोदका असङ्ख्य रसधाराहरू बगेका छन् । तिनका भङ्गिमा पनि अपूर्व छन् । कुनै तरुणी र चञ्चल निर्झरिणीजस्तै अलमस्त पारामा बग्दछन् । कुनैले भने वर्षामा उर्लेकी गङ्गाले झैं बाँध नै भत्काइदिन्छन् । कुनैले उर्लिरहने समुद्रजस्तै आफ्ना उत्ताल तरङ्गहरूद्वारा आह्लादित पनि गर्छन् । कतै रसको उफान छ । कतै व्यङ्ग्यका फोकाहरू छन् । कतै हास्यका तरेलीहरू छन् । कतै परिहासको प्रवाह छ । कहिले शास्त्रमाथि नै छिटा पर्छन् । कहिले काव्यसित लडिबुडी खेलिन्छ । कहिले वेदपुराणसित भनाभन हुन्छ । कहिले देवताहरूसित घोंचपेंच हुन्छ । कहिले भगवानसित हासपरिहास हुन्छ । यसै र यस्तै विनोदपरम्पराका जीवन्त प्रतीक हुन् खट्टर काका । उनी काव्यशास्त्रमा रमाउँछन् अनि आफ्नो वाग्विचित्रताद्वारा चमत्कारको सृष्टि गर्छन् ।

खट्टर काका मस्त जीव हुन् । ठन्डाइ (भाङको सर्बत) छानेर आनन्द–विनोदको वर्षा गर्छन् । लहडमा आएर अद्भुत रसको धारा बगाइदिन्छन् । उनी अटेरी तार्किक हुन् । शास्त्रार्थमा कसैलाई मोलाहिजा गर्दैनन् । रामचन्द्रको ससुराल मिथिलाका निवासी भएका नाताले उनी भगवान्‌सित पनि रसिलो घोंचपेंच गर्नुलाई आफ्नो जन्मसिद्ध अधिकार ठान्दछन् । अनि अरूको त कुरै के ! उनी जसमाथि खनिन्छन् त्यसलाई व्यङ्ग्यले भुतुक्कै पारिदिन्छन् । उनको हास्य लहरमा परेर शास्त्र–पुराण, स्वर्ग–नर्क र पाप–पुण्य आदि सबैको डुँगा हल्लिन थाल्छ । व्यङ्ग्य–विनोदको बाढीमा ठुल्ठुला देवता पनि भासिन्छन् ।

कबिरदासले झैं खट्टर काकाले पनि उल्टो गङ्गा बगाउँछन् । उनका कुरा एक से एक अनौठा, निराला र झुक्याउने खालका छन् । जस्तै : ब्रह्मचारीले वेद पढ्नु हुँदैन । सती सावित्रीका उपाख्यानहरू कन्याहरूका हातमा दिनु हुँदैन । पुराणहरू छोरीबुहारीका योग्य छैनन् । दुर्गाको कथा स्त्रैणहरूद्वारा रचिएको हो । गीतामा श्रीकृष्णले अर्जुनलाई फस्ल्याङफुस्लुङ पारेका हुन् । दर्शनशास्त्रको रचना डोरी देखेर भएको हो । सक्कली ब्राह्मण विदेशमा छन् । मूर्खताका मुख्य कारण पण्डितहरू हुन् । दही–चिउरा–चिनी नै साङ्ख्यका त्रिगुण हुन् । स्वर्ग जाँदा धर्म भ्रष्ट हुन्छ ! आदि ।

यसरी खट्टर काकाले भङ्गको तरङ्गमा रङ्गविरङ्गका कुरा गरेर तिरिमिरि झ्याइँ पार्छन् । उनी सोमरसलाई भाङ प्रमाणित गर्छन् र आयुर्वेदलाई महाकाव्य ! भगवानलाई कहिले ठुलाबा, सानाबा भन्छन् त कहिले सम्धी भन्छन् । कहिले उनलाई नास्तिक प्रमाणित गर्छन् त कहिले खलनायक भन्न भ्याउँछन् । उनी षोडशोपचार पूजालाई एकाङ्की नाटक भन्छन् भने कामदेवलाई वास्तविक सृष्टिकर्ता भन्छन् । उनले उपनिषद्मा विषयानन्द पाउँछन् भने वेदान्तमा वाममार्ग र साङ्ख्यदर्शनमा विपरीत रतिका झाँकीहरू देख्छन् । यिनी आफ्नो तर्कशक्तिले पातिव्रत्यलाई व्यभिचार प्रमाणित गर्छन् भने सतीलाई असती बनाउँछन् ।

खट्टर काकाले हाँसैहाँसोमा केही उल्टै कुरा भनिहाले पनि तर्कले त्यसलाई प्रमाणित नगरी छाड्दैनन् । श्रोतालाई आफ्नो तर्कजालमा फँसाएर उनीहरूलाई भुलभुलैयामा पार्नु उनको प्रिय कौतुक हो । उनले चित्रलाई यस्तो गरी प्रस्तुत गर्छन् कि सबै परिप्रेक्ष फेरिन्छन् । बडे बडे दिग्गज चरित्र पनि बामपुड्के र विद्रूप देखिन्छन् । उनका नजरमा सिद्धान्तवादी सनकी हुन् भने जीवनमुक्त माटाका डल्ला ! त्यस्तै देवताहरू गोबरगणेश लाग्छन् । धर्मराज अधर्मराज अनि सत्यनारायण असत्यनारायण भासित हुन्छन् । आदर्शका चित्रहरू कार्टुनजस्ता देखिन्छन् । उनी पाठकका आँखामा कस्तो चस्मा लगाइदिन्छन् भने दुनियाँ नै उल्टो देखिन्छ । उनी आफ्ना कुराको जादुले बुद्धिलाई सम्मोहित गरेर शीर्षासन गराइदिन्छन् ।

कट्टर पण्डितहरूलाई खण्डित पार्न खट्टर काका माहिर छन् । पाखण्डखण्डनमा त उनले प्रमाण र व्यङ्ग्यबाणहरूको यस्तो झरी लाइदिन्छन् कि त्यसको जवाफ कसैसँग हुँदैन । ‘कः समः करिवर्यस्य मालतीपुष्पमर्दने !’ उनका लागि त सबै शास्त्र पुराण हात्तीलाई मालतीको बोटजस्तै हुन् । उनी शास्त्रहरूलाई भकुन्डोलाई झैं उफारेर खेल्छन् । अनि, खेलखेलमै फलित ज्योतिषलाई छलित ज्योतिष, मुहूर्त विद्यालाई धूर्त विद्या, तन्त्रमन्त्रलाई षड्यन्त्र र धर्मशास्त्रलाई स्वार्थशास्त्र प्रमाणित गरिदिन्छन् । यसै गरी आत्मा, पुनर्जन्म, स्वर्ग, मोक्ष र ब्रह्मको भन्डाफोर गरेर छोड्छन् ।

खट्टरदर्शनको मान्यता के छ भने — ‘सर्वं रसमयं जगत् !’ उनको रसवादमा षड्रस र नवरस अनि अमरस र काव्यरस पानीका फोकाझैं एकाकार हुन्छन् । साङ्ख्यको प्रकृति, वेदान्तको माया, पुराणकी देवी र स्वर्गका अप्सराका बिचको अन्तर पनि मेटिन्छ । शृङ्गार र भक्तिमा उनी नङमासुको सम्बन्ध पाउँछन् भने वैराग्यमा पनि रसकलशको झल्को पाउँछन् ।

खट्टर काकाको सिद्धान्त छ —‘रसं पीत्वा रसं वदेत् !’ उनी जे बोल्छन् त्यसैमा रस घोल्छन् । जसरी उनको ठन्डाइमा गुलाफका पत्रका साथै मरिचको मिश्रण पनि हुन्छ त्यसै गरी रसवार्तामा अलङ्कारमाधुर्यसँगै व्यङ्ग्य–विद्रूप–विडम्बनाको चर्को मसला पनि हुन्छ । खट्टर काकाका अमिला, गुलिया र पिरा कुरामा चटपटे चाटको आनन्द पनि आउँछ । उनका उत्कट परिहासहरूमा समेत त्यही स्वाद पाइन्छ जुन खुर्सानीको अचारमा पाइन्छ । जसरी ससुरालका अश्लील गाली पनि मिठा लाग्छन् त्यसै गरी खट्टर काकाका तितामिठा ठट्टा पनि जन्तीसित गरिने हलुका खालका वाग्विनोदजस्तै प्रिय लाग्छन् । ‘न नर्मयुक्तं वचनं हिनस्ति !’

खट्टर काकाका व्यङ्ग्यबाणहरू मौरीका खिलझैं हुन्छन् । तर ती तीखा, काँडादार र चोट पुर्‍याउने खालका भएर पनि रसिला हुन्छन् । तिनले कुमकुमले झैं मिठो चोट पुर्‍याउँछन् र रेसमी (नरम) फोहराले झैं काउकुती पनि लगाउँछन् । तर कहिलेकाहीँ ठुलाठुला पचेकाका धारिला प्रहारले खल्बल्याइदिन्छन् — व्रजको होलीजस्तै । फागुनको मदमस्त पूर्वी बतासमा झैं खट्टर काकाका लहडमा पनि निरङ्कुश वप्रक्रीडा (सिँगौरी)को मस्ती पाइन्छ । त्यही भएर त खट्टरत्व छ नि !

खट्टर काकालाई कोही चार्वाक (नास्तिक) भन्छन्, कोही पक्षधर (तार्किक) भन्छन् भने कोही गोनु झा (विदूषक) ! कसैले उनको विनोदलाई तर्कपूर्ण मानेका छन् भने कसैले उनको तर्कलाई विनोदपूर्ण मानेका छन् । वस्तुतः खट्टर काका के हुन् ? यो एउटा गाउँखाने कथाजस्तै छ । तर उनी जे भए पनि शुद्ध विनोदभावले मनोरञ्जनको प्रसाद वितरण गर्दछन् । त्यसैले मानिसहरूका प्रिय बनेका छन् । उनका कुरामा कुन्नि कस्तो रस छ कि प्रतिपक्षलाई पनि आकर्षित गर्दछ ।

आजभन्दा झन्डै पच्चिस वर्षपहिले खट्टर काका मैथिली भाषामा प्रकट भए । जन्मनासाथ उनी प्रसिद्ध पनि भए । मिथिलाका घरघरमा उनको नाम चल्यो । जब उनका केही विनोदवार्ताहरू ‘कहानी’ र ‘धर्मयुग’ आदिमा छापिए अनि हिन्दीका पाठकहरूले पनि एउटा नयाँ स्वाद भेट्टाए । गुजराती पाठकहरूले पनि उनको चास्नी चाखे । उनलाई कैयौं भाषाहरूले अपनाए । उनी कति बहुचर्चित र लोकप्रिय भए भने टाढाटाढाबाट यस प्रकारका चिठी आउन थाले — खट्टर काका को हुन् ? उनी कहाँ बस्छन् ? अनि उनका अन्य वार्ताहरू कहाँ पाइन्छन् ? आदि ।

धेरै दिनदेखि साहित्यिक बन्धुहरूको खट्टर काकाका फुटकर विनोदवार्ताहरूलाई मैथिलीमा जस्तै हिन्दीमा पनि पुस्तकाकारमा ल्याइयोस् भन्ने अनुरोध थियो । अवकाश पाएपछि मैले उनलाई सुरुबाटै सिँगारपटार गर्न थालें अनि विगत केही महिनाको परिश्रमको फलस्वरूप खट्टर काका अभिनव रूपमा तपाईंहरूका सामु छन् । मैथिलीको ‘कका’ बाट हिन्दीको यस ‘काका’मा आकारको वृद्धि त भएकै छ, प्रकारमा पनि केही विशेषता आएको छ । मैथिली संस्करणका कतिपय आञ्चलिक वार्ताहरूलाई हटाएर हिन्दी क्षेत्रअनुकूल उपयुक्त सामग्री जोडिएको छ । फेरि पनि कतै कतै आञ्चलिकताको झाँकी दर्शन भने हुने छ । आँचलको बुट्टाजस्तै । मैथिलीको ‘चूडा’ (चिउडा) र ‘नस’ (नास) जस्ता कोमल शब्दहरूलाई यथावत् रहन दिइएको छ । आवश्यकतानुसार कतै कतै फुटनोटहरू पनि दिइएका छन् । खट्टर काकाको यस हिन्दी रूपलाई यथासम्भव मूलजस्तै रोचक र आकर्षक बनाउने चेष्टा गरिएको छ ।

राजकमल प्रकाशनकी प्रबन्धनिर्देशिका श्रीमती शीला सन्धूले यस पुस्तकको प्रकाशनमा जुन रुचि लिनुएको छ अनि मेरो सुविधाका दृष्टिले पटनामै यसको मुद्रणको व्यवस्था मिलाउनुभएको छ, त्यसका निम्ति म उहाँको आभारी छु । प्रिय जगदीशजीले जुन सुरुचिका साथ छपाइ गनुभएको छ, त्यसका निम्ति उहाँ पनि धन्यवादका अधिकारी हुनुहुन्छ । फेरि पनि प्रेसको मेसिनले यदाकदा ठट्टा गरिहाल्छ । कतै ‘दयामय’ ‘दवामय’ बनेका छन् ! कतै ‘मिलिता’को आकार भङ्ग भएको छ ! यसै गरी अरू पनि थुप्रै त्रुटिहरू होलान् ! अतः उदार पाठकहरूसित प्रार्थना छ —
यदक्षर–पदभ्रष्टं मात्राहीनं च यद् भवेत्‌
यदसाधु च तत् क्षम्यं होलिकापरिहासवत् !

यदि यस हास्य–व्यङ्ग्य–विनोदमय कृतिबाट विद्वान्‌हरूको अलिकति पनि पारितोषिक भयो भने त्यही लेखकको पारितोषिक हुने छ । जसरी गीतगोविन्दकार जयदेवले आफ्ना पाठकहरूलाई रसको निमन्त्रणा दिएका थिए त्यसै गरी खट्टर काकाका तर्फबाट पनि हास्यनिमन्त्रणा दिन सकिन्छ —
यदि विनोदरसे सरसं मनः
यदि च काव्यकलासु कुतूहलम्‌
विविधशास्त्रपुराणकथादिकम्‌
शृणु तदा परिहास–विजल्पितम् !
—लेखक

०००
रानीघाट, पटना
२०. ८. १९७१
हिन्दीको चौथो संस्करण २००१ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तैलचित्र

तैलचित्र

रवीन्द्रनाथ त्यागी
एउटा ससानो कुरो

एउटा ससानो कुरो

रवीन्द्रनाथ त्यागी
स्ट्राइक

स्ट्राइक

रवीन्द्रनाथ त्यागी
प्रजातन्त्र

प्रजातन्त्र

रवीन्द्रनाथ त्यागी
हाम्रो राजभाषा

हाम्रो राजभाषा

रवीन्द्रनाथ त्यागी
झाँसीका भँगेरा जोडी

झाँसीका भँगेरा जोडी

डा. सुमनराज ताम्राकार
राजनीतिक पीडित

राजनीतिक पीडित

सीताराम नेपाल
सेकेण्ड ह्याण्ड

सेकेण्ड ह्याण्ड

भोजराज रेग्मी ‘मुखाले’
श्राद्ध

श्राद्ध

त्रिलोचन ढकाल
बानीले रानी हुन्छ, बानी बिग्रे खरानी हुन्छ

बानीले रानी हुन्छ, बानी...

नगिता लेप्चा राई
0
Would love your thoughts, please comment.x
()
x