रवीन्द्रनाथ त्यागीखट्टर काकाको विनोदवार्ता
कहिलेकाहीँ ठुलाठुला पचेकाका धारिला प्रहारले खल्बल्याइदिन्छन् — व्रजको होलीजस्तै । फागुनको मदमस्त पूर्वी बतासमा झैं खट्टर काकाका लहडमा पनि निरङ्कुश वप्रक्रीडा (सिँगौरी)को मस्ती पाइन्छ । त्यही भएर त खट्टरत्व छ नि !

रवीन्द्रनाथ त्यागी :
व्यङ्ग्यानुवाद :: रमेश समर्थन
काव्यशास्त्रविनोदेन कालो गच्छति धीमताम् !
संस्कृत साहित्यमा काव्यशास्त्रविनोदका असङ्ख्य रसधाराहरू बगेका छन् । तिनका भङ्गिमा पनि अपूर्व छन् । कुनै तरुणी र चञ्चल निर्झरिणीजस्तै अलमस्त पारामा बग्दछन् । कुनैले भने वर्षामा उर्लेकी गङ्गाले झैं बाँध नै भत्काइदिन्छन् । कुनैले उर्लिरहने समुद्रजस्तै आफ्ना उत्ताल तरङ्गहरूद्वारा आह्लादित पनि गर्छन् । कतै रसको उफान छ । कतै व्यङ्ग्यका फोकाहरू छन् । कतै हास्यका तरेलीहरू छन् । कतै परिहासको प्रवाह छ । कहिले शास्त्रमाथि नै छिटा पर्छन् । कहिले काव्यसित लडिबुडी खेलिन्छ । कहिले वेदपुराणसित भनाभन हुन्छ । कहिले देवताहरूसित घोंचपेंच हुन्छ । कहिले भगवानसित हासपरिहास हुन्छ । यसै र यस्तै विनोदपरम्पराका जीवन्त प्रतीक हुन् खट्टर काका । उनी काव्यशास्त्रमा रमाउँछन् अनि आफ्नो वाग्विचित्रताद्वारा चमत्कारको सृष्टि गर्छन् ।
खट्टर काका मस्त जीव हुन् । ठन्डाइ (भाङको सर्बत) छानेर आनन्द–विनोदको वर्षा गर्छन् । लहडमा आएर अद्भुत रसको धारा बगाइदिन्छन् । उनी अटेरी तार्किक हुन् । शास्त्रार्थमा कसैलाई मोलाहिजा गर्दैनन् । रामचन्द्रको ससुराल मिथिलाका निवासी भएका नाताले उनी भगवान्सित पनि रसिलो घोंचपेंच गर्नुलाई आफ्नो जन्मसिद्ध अधिकार ठान्दछन् । अनि अरूको त कुरै के ! उनी जसमाथि खनिन्छन् त्यसलाई व्यङ्ग्यले भुतुक्कै पारिदिन्छन् । उनको हास्य लहरमा परेर शास्त्र–पुराण, स्वर्ग–नर्क र पाप–पुण्य आदि सबैको डुँगा हल्लिन थाल्छ । व्यङ्ग्य–विनोदको बाढीमा ठुल्ठुला देवता पनि भासिन्छन् ।
कबिरदासले झैं खट्टर काकाले पनि उल्टो गङ्गा बगाउँछन् । उनका कुरा एक से एक अनौठा, निराला र झुक्याउने खालका छन् । जस्तै : ब्रह्मचारीले वेद पढ्नु हुँदैन । सती सावित्रीका उपाख्यानहरू कन्याहरूका हातमा दिनु हुँदैन । पुराणहरू छोरीबुहारीका योग्य छैनन् । दुर्गाको कथा स्त्रैणहरूद्वारा रचिएको हो । गीतामा श्रीकृष्णले अर्जुनलाई फस्ल्याङफुस्लुङ पारेका हुन् । दर्शनशास्त्रको रचना डोरी देखेर भएको हो । सक्कली ब्राह्मण विदेशमा छन् । मूर्खताका मुख्य कारण पण्डितहरू हुन् । दही–चिउरा–चिनी नै साङ्ख्यका त्रिगुण हुन् । स्वर्ग जाँदा धर्म भ्रष्ट हुन्छ ! आदि ।
यसरी खट्टर काकाले भङ्गको तरङ्गमा रङ्गविरङ्गका कुरा गरेर तिरिमिरि झ्याइँ पार्छन् । उनी सोमरसलाई भाङ प्रमाणित गर्छन् र आयुर्वेदलाई महाकाव्य ! भगवानलाई कहिले ठुलाबा, सानाबा भन्छन् त कहिले सम्धी भन्छन् । कहिले उनलाई नास्तिक प्रमाणित गर्छन् त कहिले खलनायक भन्न भ्याउँछन् । उनी षोडशोपचार पूजालाई एकाङ्की नाटक भन्छन् भने कामदेवलाई वास्तविक सृष्टिकर्ता भन्छन् । उनले उपनिषद्मा विषयानन्द पाउँछन् भने वेदान्तमा वाममार्ग र साङ्ख्यदर्शनमा विपरीत रतिका झाँकीहरू देख्छन् । यिनी आफ्नो तर्कशक्तिले पातिव्रत्यलाई व्यभिचार प्रमाणित गर्छन् भने सतीलाई असती बनाउँछन् ।
खट्टर काकाले हाँसैहाँसोमा केही उल्टै कुरा भनिहाले पनि तर्कले त्यसलाई प्रमाणित नगरी छाड्दैनन् । श्रोतालाई आफ्नो तर्कजालमा फँसाएर उनीहरूलाई भुलभुलैयामा पार्नु उनको प्रिय कौतुक हो । उनले चित्रलाई यस्तो गरी प्रस्तुत गर्छन् कि सबै परिप्रेक्ष फेरिन्छन् । बडे बडे दिग्गज चरित्र पनि बामपुड्के र विद्रूप देखिन्छन् । उनका नजरमा सिद्धान्तवादी सनकी हुन् भने जीवनमुक्त माटाका डल्ला ! त्यस्तै देवताहरू गोबरगणेश लाग्छन् । धर्मराज अधर्मराज अनि सत्यनारायण असत्यनारायण भासित हुन्छन् । आदर्शका चित्रहरू कार्टुनजस्ता देखिन्छन् । उनी पाठकका आँखामा कस्तो चस्मा लगाइदिन्छन् भने दुनियाँ नै उल्टो देखिन्छ । उनी आफ्ना कुराको जादुले बुद्धिलाई सम्मोहित गरेर शीर्षासन गराइदिन्छन् ।
कट्टर पण्डितहरूलाई खण्डित पार्न खट्टर काका माहिर छन् । पाखण्डखण्डनमा त उनले प्रमाण र व्यङ्ग्यबाणहरूको यस्तो झरी लाइदिन्छन् कि त्यसको जवाफ कसैसँग हुँदैन । ‘कः समः करिवर्यस्य मालतीपुष्पमर्दने !’ उनका लागि त सबै शास्त्र पुराण हात्तीलाई मालतीको बोटजस्तै हुन् । उनी शास्त्रहरूलाई भकुन्डोलाई झैं उफारेर खेल्छन् । अनि, खेलखेलमै फलित ज्योतिषलाई छलित ज्योतिष, मुहूर्त विद्यालाई धूर्त विद्या, तन्त्रमन्त्रलाई षड्यन्त्र र धर्मशास्त्रलाई स्वार्थशास्त्र प्रमाणित गरिदिन्छन् । यसै गरी आत्मा, पुनर्जन्म, स्वर्ग, मोक्ष र ब्रह्मको भन्डाफोर गरेर छोड्छन् ।
खट्टरदर्शनको मान्यता के छ भने — ‘सर्वं रसमयं जगत् !’ उनको रसवादमा षड्रस र नवरस अनि अमरस र काव्यरस पानीका फोकाझैं एकाकार हुन्छन् । साङ्ख्यको प्रकृति, वेदान्तको माया, पुराणकी देवी र स्वर्गका अप्सराका बिचको अन्तर पनि मेटिन्छ । शृङ्गार र भक्तिमा उनी नङमासुको सम्बन्ध पाउँछन् भने वैराग्यमा पनि रसकलशको झल्को पाउँछन् ।
खट्टर काकाको सिद्धान्त छ —‘रसं पीत्वा रसं वदेत् !’ उनी जे बोल्छन् त्यसैमा रस घोल्छन् । जसरी उनको ठन्डाइमा गुलाफका पत्रका साथै मरिचको मिश्रण पनि हुन्छ त्यसै गरी रसवार्तामा अलङ्कारमाधुर्यसँगै व्यङ्ग्य–विद्रूप–विडम्बनाको चर्को मसला पनि हुन्छ । खट्टर काकाका अमिला, गुलिया र पिरा कुरामा चटपटे चाटको आनन्द पनि आउँछ । उनका उत्कट परिहासहरूमा समेत त्यही स्वाद पाइन्छ जुन खुर्सानीको अचारमा पाइन्छ । जसरी ससुरालका अश्लील गाली पनि मिठा लाग्छन् त्यसै गरी खट्टर काकाका तितामिठा ठट्टा पनि जन्तीसित गरिने हलुका खालका वाग्विनोदजस्तै प्रिय लाग्छन् । ‘न नर्मयुक्तं वचनं हिनस्ति !’
खट्टर काकाका व्यङ्ग्यबाणहरू मौरीका खिलझैं हुन्छन् । तर ती तीखा, काँडादार र चोट पुर्याउने खालका भएर पनि रसिला हुन्छन् । तिनले कुमकुमले झैं मिठो चोट पुर्याउँछन् र रेसमी (नरम) फोहराले झैं काउकुती पनि लगाउँछन् । तर कहिलेकाहीँ ठुलाठुला पचेकाका धारिला प्रहारले खल्बल्याइदिन्छन् — व्रजको होलीजस्तै । फागुनको मदमस्त पूर्वी बतासमा झैं खट्टर काकाका लहडमा पनि निरङ्कुश वप्रक्रीडा (सिँगौरी)को मस्ती पाइन्छ । त्यही भएर त खट्टरत्व छ नि !
खट्टर काकालाई कोही चार्वाक (नास्तिक) भन्छन्, कोही पक्षधर (तार्किक) भन्छन् भने कोही गोनु झा (विदूषक) ! कसैले उनको विनोदलाई तर्कपूर्ण मानेका छन् भने कसैले उनको तर्कलाई विनोदपूर्ण मानेका छन् । वस्तुतः खट्टर काका के हुन् ? यो एउटा गाउँखाने कथाजस्तै छ । तर उनी जे भए पनि शुद्ध विनोदभावले मनोरञ्जनको प्रसाद वितरण गर्दछन् । त्यसैले मानिसहरूका प्रिय बनेका छन् । उनका कुरामा कुन्नि कस्तो रस छ कि प्रतिपक्षलाई पनि आकर्षित गर्दछ ।
आजभन्दा झन्डै पच्चिस वर्षपहिले खट्टर काका मैथिली भाषामा प्रकट भए । जन्मनासाथ उनी प्रसिद्ध पनि भए । मिथिलाका घरघरमा उनको नाम चल्यो । जब उनका केही विनोदवार्ताहरू ‘कहानी’ र ‘धर्मयुग’ आदिमा छापिए अनि हिन्दीका पाठकहरूले पनि एउटा नयाँ स्वाद भेट्टाए । गुजराती पाठकहरूले पनि उनको चास्नी चाखे । उनलाई कैयौं भाषाहरूले अपनाए । उनी कति बहुचर्चित र लोकप्रिय भए भने टाढाटाढाबाट यस प्रकारका चिठी आउन थाले — खट्टर काका को हुन् ? उनी कहाँ बस्छन् ? अनि उनका अन्य वार्ताहरू कहाँ पाइन्छन् ? आदि ।
धेरै दिनदेखि साहित्यिक बन्धुहरूको खट्टर काकाका फुटकर विनोदवार्ताहरूलाई मैथिलीमा जस्तै हिन्दीमा पनि पुस्तकाकारमा ल्याइयोस् भन्ने अनुरोध थियो । अवकाश पाएपछि मैले उनलाई सुरुबाटै सिँगारपटार गर्न थालें अनि विगत केही महिनाको परिश्रमको फलस्वरूप खट्टर काका अभिनव रूपमा तपाईंहरूका सामु छन् । मैथिलीको ‘कका’ बाट हिन्दीको यस ‘काका’मा आकारको वृद्धि त भएकै छ, प्रकारमा पनि केही विशेषता आएको छ । मैथिली संस्करणका कतिपय आञ्चलिक वार्ताहरूलाई हटाएर हिन्दी क्षेत्रअनुकूल उपयुक्त सामग्री जोडिएको छ । फेरि पनि कतै कतै आञ्चलिकताको झाँकी दर्शन भने हुने छ । आँचलको बुट्टाजस्तै । मैथिलीको ‘चूडा’ (चिउडा) र ‘नस’ (नास) जस्ता कोमल शब्दहरूलाई यथावत् रहन दिइएको छ । आवश्यकतानुसार कतै कतै फुटनोटहरू पनि दिइएका छन् । खट्टर काकाको यस हिन्दी रूपलाई यथासम्भव मूलजस्तै रोचक र आकर्षक बनाउने चेष्टा गरिएको छ ।
राजकमल प्रकाशनकी प्रबन्धनिर्देशिका श्रीमती शीला सन्धूले यस पुस्तकको प्रकाशनमा जुन रुचि लिनुएको छ अनि मेरो सुविधाका दृष्टिले पटनामै यसको मुद्रणको व्यवस्था मिलाउनुभएको छ, त्यसका निम्ति म उहाँको आभारी छु । प्रिय जगदीशजीले जुन सुरुचिका साथ छपाइ गनुभएको छ, त्यसका निम्ति उहाँ पनि धन्यवादका अधिकारी हुनुहुन्छ । फेरि पनि प्रेसको मेसिनले यदाकदा ठट्टा गरिहाल्छ । कतै ‘दयामय’ ‘दवामय’ बनेका छन् ! कतै ‘मिलिता’को आकार भङ्ग भएको छ ! यसै गरी अरू पनि थुप्रै त्रुटिहरू होलान् ! अतः उदार पाठकहरूसित प्रार्थना छ —
यदक्षर–पदभ्रष्टं मात्राहीनं च यद् भवेत्
यदसाधु च तत् क्षम्यं होलिकापरिहासवत् !
यदि यस हास्य–व्यङ्ग्य–विनोदमय कृतिबाट विद्वान्हरूको अलिकति पनि पारितोषिक भयो भने त्यही लेखकको पारितोषिक हुने छ । जसरी गीतगोविन्दकार जयदेवले आफ्ना पाठकहरूलाई रसको निमन्त्रणा दिएका थिए त्यसै गरी खट्टर काकाका तर्फबाट पनि हास्यनिमन्त्रणा दिन सकिन्छ —
यदि विनोदरसे सरसं मनः
यदि च काव्यकलासु कुतूहलम्
विविधशास्त्रपुराणकथादिकम्
शृणु तदा परिहास–विजल्पितम् !
—लेखक
०००
रानीघाट, पटना
२०. ८. १९७१
हिन्दीको चौथो संस्करण २००१ बाट
Subscribe
Login
0 Comments
Oldest





































