साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुन्तला चोरी र भाटाकाे कार्वाही

रातको दश बजे अर्काको बारीको सुन्तलाको फेदमा के पढ्नलाई गएको थिइस् ? तेह्रा मतियार ! चोखो हुन खोज्छस् भन्दै सबैभन्दा पहिला दुइ भाटो त आफैंले पाइ हालियो । म बाट शुरु भएको कुटाइ भागारीमा दुइ–तिन, दुइ–तिन भाटाका दरले सबैले भेट्टाए पछि बल्ल बिदाबारी भइयो ।

Nepal Telecom ad

पराशर रिजाल :

विद्यार्थीकाल एउटा रमाइलो र उरण्ठेउलो समय रहेछ । मनलागेपछि कुनै पनि काम परिणामको वास्तै नगरी तुरुन्तै गरिने । बिना पूर्व योजना जता मन लाग्यो त्यतै गइने । उट्पट्याँग कामहरू पनि साथीहरूको लहै लहै मै रमाइलाकालागि गरिने । बुबा आमाको करकापले मात्र विद्यालयमा गइने, सरहरूको डरले मात्र होम वर्क र क्लास वर्क गर्ने । फट्याईं गर्न ठूलाबडाहरूको पिटाइको त्रासले मात्र रोकिने । बिद्यार्थी कालमा हामी पनि मौका अनुसार कहिले गल्ती गरेर दुःख पाउँथ्यौं, कहिले फट्याईं गर्थ्यौं र सजायाँ पाउँथ्यौं, कहिलेकाहीँ राम्रो काम गरेर स्यावासी पनि पाउँन्थ्यौं । तर स्याबासी चाहिँ झुक्किएर मात्र ।

२०३० साल हिँउदतिरको कुरा हो, सरस्वती डि एस् पि हाइस्कूल हाँङपाँङमा पढ्थें । त्यसबेला स्कूलको हेडसर गणेश राई हुनुहुन्थ्यो । एक पटक हेडसर बि एड पढ्न वा कुनै कामको सिलसिलामा जिल्ला बाहिर कतै जाने हुनु भयो । विद्या म्याडम पनि उहाँको माइतितिरै कतै लाग्नु भयो । केही दिनको लागि उहाँहरूको घर कुर्ने जिम्मा हामी विद्यार्थीहरूले पायौं । हामी दिनभरी स्कुल पढथ््यौं र बेलुका बेलुका खाना खाइसकेपछि हेड सरको घर कुर्न जाने गर्थ्यौं । फाइनल परीक्षाको बेला थियो तर अभिभावक बिनाका हामी उरण्ठेउला केटाहरू भेला भएपछि पढाइ भन्दा बढी गफ गरेर नै धेरै जसो समय बिताउँथ्यौं ।

एक दिन बेलुकाको कुरा हो, नवराज सुब्बा, काजी विष्ट, हरि संग्रौला, दिल बहादुर सुब्बा, पर्शु गौतम लगायत अरु पनि एकदुइ जना साथीहरू हेडसरको घरमा भेला भएका थियौं । मंसिर महिनाको पूर्णिमाको चार पाँच दिन पछिको कुरा हुनु पर्छ, रातको त्यस्तै दश बजेतिर जुन झुल्कियो । त्यतिबेला अचानक काजी बिष्टले सुन्तला खाने कुरा निकाले । सुन्तलाको कुरा सुन्ना साथ सबैको मुख एकैचोटी रसायो । कुरा त राम्रै हो तर रातको समयमा कहाँ पाउनु र खानु सुन्तला ? स्कुल मास्तिर कामाहाँग लिम्बुकामा आठ दशबाट गाछीहरू भएको सुन्तला बगैंचा थियो । कहिले काहीँ माग्दा एक दुइ दाना त त्यसै पनि पाइन्थ्यो । तर अहिले त उनीहरू सुतिसकेका थिए । कतै माग्न, किन्न जाउँ भने पनि गाउँ पुरै निधाइसकेको थियो ।

पर नरमान मोक्तान सरको छिमेकमा पनि सुन्तलाको ठूलै बगैंचा थियो । सरहरू दैनिक जसो त्यहाँ सुन्तला किनेर खाइरहन्थे । हामीहरू पनि अनुकुलतामा ( पैसा हुँदा ) कहिले कता कहिले कता सुन्तला किनेर खान्थ्यौं । रुपैंयाका पचास साठीवटा पाईन्थ्यो । पछिपछि हाँगपाँगमा चाहिँ महँगिएर एक रूपैंयाँको चालिसवटामा झरेको थियो । तेल्लाबुँग मामा घरमा त रुपैंयाको सयवटा सम्म पनि बेच्दथे । मावलमा आफुलाई त किन्नै पर्दैनथ्यो । तर यतिबेला त्यो सम्झनु भनेको ल्हासाको सुन सम्झेर रमाउनु जस्तै मात्रै हुन्थ्यो ।

टिका प्रसाईं, च्यादर घर, बिद्याराज, रुद्र प्रसाईंको घर सुन्तलाका केही गाछहरू नभएको होइन । त्यता पारी गाउँतिर माग्यो भने थोरै थोरै त जस्ले पनि दिन्थे । तर अहिले त रातको समयमा कहाँबाट पाउने सुन्तला ? यी विकल्पहरू सम्झन मात्र काम लाग्थ्यो । भोली चाहिँ खोजेर ल्याउँला भनेर केही साथीहरूले कुरा गरे ।

हामी भन्दा हृष्टपुस्ट बलिया काजी विष्टले आजै म तिमिहरूलाई जसरी पनि सुन्तला खुवाउँछु तर तिमिहरू म सँगसंगै हिँड्नु पर्छ भनेर प्रस्ताब राखे । सुन्तला खाने कुरामा कसको असहमति हुन्थ्यो र । सबै जनाको समर्थन जुट्यो । रातीको दश बजे गाउँघर चारैतिर चकमन्न थियो । बाहिर आकाश खुला थियो र भर्खरै हल्का जुन पनि लाग्दै थियो । काजी मोटाघाट बलिया मान्छे उनले अघिअघि कमाण्डिग गरेको हुँदा हामी पनि उनको पछिपछि निर्धक्क लाग्यौं । सुरुमा त उनकै घरतिर लैजान लागेछन् क्यारे भन्ने लाग्यो । कि कतै बिच बाटोमा ल्याएर लुकाएको पनि हुनसक्छ भन्ने हामीले अनुमान गर्यौं । तर उनी त स्कुलै छेउका नरेन्द्र विष्टको घर तर्फ पो सिधै हानिए । हामी पनि उनको आदेश अनुसार पछ्याउँदै गयौंं । त्यो उनीहरूको आफ्‌नै घर त्यहिँ गएर माग्ने भएछन् भन्ने लागेको थियो तर घरका सबै मानिसहरू सुतिसकेको हुँदा माग्न मिल्ने अवस्था भएन । उनले सबैलाई साबधान हुन संकेत गरे । अब भने प्रष्ट भयो, उनले त्यहीँ सुन्तला चोर्ने योजना बनाएका रहेछन् ।

अब चोरिको काम तिर लागिँदैछ । मनमा ठूलो भुकम्प गयो । कतै थाहा पाए भने डरले जिउ लगलग् काम्यो । यो उनको परिवार भित्रैको घर भएको हुँदा अनुमति बिना यसरी टिप्न शायद उनलाई खासै अप्ठ्यारो महशुस भएन होला । हामीलाई भने यो काम एकदमै खतरनाक हो भन्ने लाग्यो । हामी विस्तारै चाल मारेर सुन्तला बगैंचामा पुग्यौं र दुइ जना साथीहरू रुखमा चढे । अब हाम्रो चोर्ने काम शुरु भयो ।

त्यसै पनि चोर्ने कुरा जोखिम पूर्ण थियो नै । त्यसमा पनि अनुभव कहिल्यै नभएका आलाकाँचा चोरहरू मिनेट मिनेटमा असफल हुने वा पक्डाउ पर्ने खतरा थियो । साथ नलागौं कि भन्ेन एक मनले सोच्यो, फेरी एकलकाँटे भइने खतरा हुन्छ । साथीहरूले आँट गरेको हुँदा साथ नदिँदा त लाछि पनि भइन्छ भन्ने डर लाग्यो । मनलाई सान्त्वना दिँएँ, नडरा केटा थाहा पाउँदैनन् । साथ दिइनस् भने बरु साथीहरूको समुहबाट अलग्गिन्छस् । भए भरको हिम्मत बटुलें र साथीहरूको साथ नछोड्ने निर्णयमा अडिग रहें ।

विष्टका घरमा सबै जना सुतिसकेका थिए । धन्न कुकुर थिएन । केही साथीहरू चालमारेर सुन्तलाको रुखमा चढे । पर्शुराम गौतम, नवराज सुब्बा र मेरो फेदमा गार्ड गर्ने जिम्मेवारी पर्यो । त्यसै पनि कुर्ने काम असाध्यै पट्यार लाग्दो हुन्छ । त्यसमा पनि चोरीको काममा गार्ड गर्नु पर्ने चुनातीपुर्ण जिम्मेवारी, मनमा बेजोडको हुरी हुण्डरी चलिरह्यो । फेरी बेलाबेला नवराजजी त्यत्तिकै आयो आयो भनेर अत्याउँछन् पनि । रुखमा चढ्नेले रुखैमा सुन्तला खाएर बोक्रा झार्न थाले । डरका बिच पनि हाम्रो जिब्रो रसायो । नवराजजी हामीलाई पनि झारिदेउन भनेर बिचबिचमा कराउँदै रहे । धेर् कराएपछि दुइ चारबटा झारिदिएं । झार्दा पनि हाँगा र पातमा लागेर सर्याँगँ र सुरुँग, स्वार्र सुर्र गर्थ्यो । कतिवटा सुन्तला भूइंमा खसेर भ्यात्त गर्दै ठूलै आवाज निकालेर फुट्थ्यो । खसेको भेट्न पनि छामछुम गर्नु पर्ने । अँध्यारोको कारण झर्दा झर्दै बिचैमा समात्न सकिँदैनथ्यो । तै पनि केही दाना फेला परे । सुन्तला चाख्न पाएपछि मन अलि शान्त भयो । तर साथीहरूले सोचे भन्दा अलिक ढिलै गरे ।

केही विपत्ति आइलाग्ने हो कि भन्ने चिन्ता झन् पछि झन् बढदै गयो । सायद अंध्यारोमा छामी छामी टिप्नु पर्ने भएर होला, साथीहरू रुख माथि माथि नै के के गुनगुनाउँछन् । प्रष्ट सुनिदैन । रुखमा चढ्नेहरू बिचको कुरा होला ? “कति भयो भरिएन झोला ? अब ओर्लिऔं” आदि इत्यादी केही भनेको होला ।

विद्यालय त्यहाँबाट चार पाँच डिल जति मास्तिर पुर्वपट्टि पर्दथ्यो । हेडसरको घर बिष्टको घरबाट त्यस्तै तीन चार डिल माथि थियो । विष्टको घर सुन्तलाको बगैंचाको भित्तापट्टी थियो । त्यहाँबाट थोरै पूर्व हाइस्कुलबाट डाँडैडाँडा ओह्रालो झर्ने ठाडो बाटो थियो । पश्चिमपट्टी बाँसझाँग र ठाडो खोल्सो । अनि सुन्तला बगैंचा विष्टको आँगन नै मुनीको कोठेबारी थियो । कोठेबारीको डिलमा सुन्तलाका बोटहरू थिए ।

अचानक विष्टको घरभित्रबाट गुनगुनाहट आयो, कतै हाम्रो चोरीको सुईंको त पाएनन् ! मन अलिक चिसो भयो । होइन होला । आफ्नै सुरमा बोलेका होलान् । मनलाई थुम्थुम्याएँ । एक छिन ढुक्क भयो । तर तुरुन्तै फेरी बगैंचै तर्फ फर्किएको घरको माथिल्लो तलाको ढोका घरक्क गरेर खुल्यो । घरभित्रको बत्तिको उज्यालोले बगैंचालाई बाहिरपट्टिबाट पुलुक्क चियायो । धन्न हामी रुखका मुनी अँध्यारा भित्र थियौं । रुखमा चढ्ने पनि हाँगा पातले छेलिएर अन्धकार भित्रै लुकेका थिए । अझै त सुरक्षितै नै छौं मनले सान्त्वना दियो । तर किन यति राती यसरी ढोका खुलेको त हँ ! हाम्रो चोरीको क्यै संकेत पाएको त होइन ! नत्र भए यति राती किन बत्ति बाल्नु पर्यो ? किन ढोका खोल्नु पर्यो ? मन बेजोडसँग ढुक्ढुकियो । कान ठाडा ठाडा भए । त्यसको एक दुइ मिनेट मै भुईंतलाको बगैंचै तर्फ फर्किएको ढोका खुलेपछि भने हाम्रो होसले ठाउँ छोड्यो ।

अब कता तर्फ भाग्ने त, पूर्व योजना केही गरिएको होइन । रुख मुनिको डिल कति अग्लो, कस्तो छ क्यै अन्दाज थिएन । तर तत्काल निर्णय नगरे अरु के के विपत्ति आई लाग्ने हो । आँखा चिम्लिएर डिलबाट झ्वाम्मै हाम्फालें । हामफाल्दा भुईंमा पुग्न पनि निकै बेर लागेको जस्तो लाग्छ, फेदमा पुगेर एकै डल्लो परियो । डिल असाध्यै अग्लो रहेछ । नजिकै चर्पी रहेछ, धन्न त्यस भित्र चाहीँ परिएनछ । एक्‌छिन त हल्लिनै सकिएन, तर धेरैबेर त त्यसरी बस्न पनि मिल्दैनथ्यो । सास फेर्नै गारो जस्तो हुँदैहुँदै उठें । सकि नसकि तँग्रिए । अँध्यारामा सबै चोर साथीहरू कता फरार भए कता ? रुखकालाई खबर गर्न संभब नै भएन । लर्खराउँदै डाडातिर लागें । एकछिनपछि घुमेर विद्यालय छेउ हुँदै ओठमुख सुकाएर आफ्‌नो ठाउँमा आइपुगें । नवराजजी शायद खोल्सातिर कतैबाट हो अघि आइपुगिसके छन् ।
रुखबाट दिल बहादुर र काजि विष्ट भने विस्तारै आफ्नै सुरमा सुन्तला टिपिसकेर झरेछन् । आफूले टिपेको सुन्तला गह्रौं भएकोले हामीलाई समेत बोकाउन टर्च बालेर ए नवराज, ए पराशर भन्दै खोज्न थाले छन् । अघि हामी उभिएको सुन्तलाको फेदैमा रहेको खुला चर्पीमा नरेन्द्र विष्टको बुबा दिशा बस्या रछन् । टर्च बाल्दा पो बुढालाई पुलुक्क देखेछन् । बुढाले आफ्नै छोरो आएको ठानी को कुमार हो भनेर संबोधन गर्दा पो साथीहरूको सातोपुत्लो गएछ र लौ फसाद पर्यो भन्दै कुलेलम ठोकेछन् । एकै सासमा उनीहरू हेडसरको घरमा आईपुगे । सबै जना भेला भयौं । साथीहरूले मेहनतको कमाई घटनाको बेलिविस्तार लगाउँदै, ठट्टा गर्दै रमाईरमाई खाए । मलाई भने डर लागिरह्यो । गुलियो सुन्तला पनि खासै स्वादिस्ट लागेन । राती ननिदाएसम्म डर लागि रह्यो ।

सदा झैं भोलिपल्ट बिहान उठियो । खाना खाएर विद्यालय गइयो । दिनभरि पढियो । बेलुका छुट्टी हुने बेलामा संगम क्लबमा सरहरूले बोलाएको छ एकछिन् जानु अरे भनेर कसैले खबर लिएर आयो । मनमा थोरै चिसो पस्यो । कतै हिजो रातीको विषय त होइन ? तर मलाई मात्रै एक्लै बोलाएको हुँदा त्यस्तो केही नहोला भन्ने लाग्यो । डराई डराई गएँ । प्रलाद सर र काजी सर संगम ढोकै छेउनेर मुसुमुसु गर्दै उभिनु भएको रहेछ । मलाई देखेर सोध्नु भयो, ए के छ केटा, कस्तो चल्दैछ तेरो पढाई ? ए पढाईको विषयमा कुरा गर्न बोलाएको रहेछ, धन्न हिजोको फट्याँईं खुलेन छ, बचियो, भनेर ढुक्क भएँ । थोरै सम्हालिँदै भने ठिकै छ सर । के काम थियो, किन आइस् त अहिले ? सरले बोलाएको छ भनेर खबर आयो । ए ठिकै छ, त्यसो भए हिँड्न त भित्रै । म अलि अप्ठ्यारो मान्दै मान्दै भित्र पसें । संगम क्लब भित्र त हिजो सुन्तला चोर्ने पुरै टिमलाई नै ल्याईसकेको रहेछ । म एक जना मात्र बाँकी रहेछु । साथीहरूलाई देखेपछि भने मेरो पुरै होस हवास् गुम्यो । साथीहरू एक अर्कालाई दोष लगाएर आफु उम्किने कोशिस गर्दै रहेछन् । तर हामी भन्दा सानो नवराजबाट बिहानै सबै पोल खुलिसकेको रहेछ ।

हाम्रो पुरै टिम आइपुगेपछि अब सरहरूको एक्सन सुरु भयो । मेरो अनुपस्थितिको फाइदा उठाएर सबैले योजनाकार मलाई देखाएर आफु उम्किने कोशिस गर्दै रहेछन् । म पुगेपछि साथीहरू सबै खँग्रङ्गै भए । मैले मेरो निर्दोषिता जाहेर गर्दै भने मैले सुन्तलाको फेदमा बस्ने मात्र काम गरेको हो, रुखलाई छुँदा पनि नछोएको, मलाई त्यसै दोष लाग्यो सर । मेरो कुरा भुईंमा खस्न पाएको थिएन, सरहरूको कड्केको श्वर आयो, ए ! रातको दश बजे अर्काको बारीको सुन्तलाको फेदमा के पढ्नलाई गएको थिइस् ? तेह्रा मतियार ! चोखो हुन खोज्छस् भन्दै सबैभन्दा पहिला दुइ भाटो त आफैंले पाइ हालियो । म बाट शुरु भएको कुटाइ भागारीमा दुइ–तिन, दुइ–तिन भाटाका दरले सबैले भेट्टाए पछि बल्ल बिदाबारी भइयो ।

फेरी फेरी यस्तो काम नगरुन् भनेर सतर्क गराउन विद्यालयले हाम्रा घर घरमा बुबा आमा अभिभावकहरूलाई साथीहरू मार्फत चिठी पनि पठाएको रहेछ । तर बीचैमा यो कुराको सुँईंको पाएर हाम्रै हातबाट त्यसलाई गायब बनायौं । बुबा आमा भए ठाउँ यो घटना पुग्न पाएन । त्यस पछि भने सुन्तला चोर्ने काममा हाम्रा कुनै पनि साथीहरूले हिम्मत गरेनन् ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गधाको कथा

गधाको कथा

माधव पोखरेल गोज्याङ्ग्रे
परिचय

परिचय

दिव्य गिरी
अपेक्षा

अपेक्षा

सुशीला शर्मा
कामरेडमा नाउँ दरिएन

कामरेडमा नाउँ दरिएन

डा. गाेपीन्द्र पाैडेल
0
Would love your thoughts, please comment.x
()
x