
नेपाली गीतका छुरा जस्ता बाङ्गाटिङ्गा कुरा
शिशिर योगीको स्वरको “यो देशमा एउटा मानिस खोजिरहेछु…” लोकप्रिय गीत लोकप्रिय त छ। तर देशका लागि ‘एउटा मान्छे’ ले मात्र के हुनसक्ला र ?

अमर अधिकारी :
नेपालमा गीत-संगीतको परम्परा सेतुरामले थालनी गरे सबै छक्क परे। साहित्य अन्तर्गतको काव्य विधामा सिधा मात्र होइन बाङ्गा कुरा पनि छन्। गीतमा ‘स्थायी’ र ‘अन्तरा’ मिलाएर रचना गर्न सकियो भने शाब्दिक हिसावले गीत उत्कृष्ट बन्छ। त्यसमा कुशल संगीतकारको संगीतले झनै उत्कृष्ट बन्नजान्छ होइन भने गीतकारले सात बल्ड्याङ खान्छ। गीतको शुरुआतमा आउने दुई हरफलाई ‘स्थायी’ भनिन्छ, यो अन्तराको बीच्चबीच्चमा र पुछारमा पनि रहन्छ। गीतको मध्यभागमा रहने दुई वा तीन वा चार हरफको संरचना भने ‘अन्तरा’ हो। लोकगीतहरु भने ‘अन्तरा’ बेगर हुने गरेको पाइन्छ र त सललल गाइन्छ।
दोहोरीमा गाइने गीतमा एकोहोरी पाइन्छ अर्थात् अन्तराको खाँचो पर्दैन। दोहोरीमा तरुनी पक्षले दुई र तन्नेरी पक्षले दुई हरफ गाउँछन् र तालमा ताल लाउँछन्। रेडियो नेपालमा २०३६ सालदेखि लोकगायिकाको रुपमा रहेकी वरिष्ठ गायिका चन्द्रकला शाहले गाउनुभएको राप्तीभेगको एउटा गीत यस्तो थियोः
उही मुलाको चाना भुजा उही मुलाको सिन्की
नेटो काटी गैजाम् भने जेईले रिसाउँछिन् कि।
यस गीतमा ‘गैजाम्’ भन्ने शब्द खासगरी दाङको पश्चिमतिर र सल्यानतिर चलनचल्तीमा रहेको रैथाने शब्द हो भने राप्ती भेगतिर पहिले आमालाई ‘जेई’ भनिन्थ्यो। त्यस्तै हजुरआमालाई ‘बोई’ वा ‘आँबै’ पनि भनिन्थ्यो र अझै पनि भनिन्छ। यी शब्दहरु कसैले बुझे त धेरैले बुझेनन्।
त्यसैले नेपाली वृहत् शब्दकोशमा समावेश भएका शब्दहरु अर्थात् आम नेपालीको बोलीचालीमा रहेका शब्दहरु गीतमा समावेश गरियो भने त्यो आम मानिसले बुझ्न खासै समस्या पर्दैन। हुन त शब्दकोशमा रहेका सबै शब्द सबै नेपालीले बुझेका हुन्छन् भन्ने छैन। संघीय राजधानी काठमाडौँ वरपर तामाङ जातीहरुको वस्ती भएको हुँदा रेडियो नेपालले पहिलेदेखि नै तामाङ सेलो गीत बजाउँदै आएको पाइन्छ र अहिले गाउँघरमा पनि गाइन्छ। प्रेमध्वज प्रधान, मदकृष्ण श्रेष्ठ र बाबुकाजी रञ्जितका नेवारी गीतहरु पनि बज्दैआएका थिए र अहिले पनि बज्छन्।
कुनै बखतसम्म सञ्चार क्षेत्रमा वर्चश्व कायम गरेका सरकारी सञ्चार माध्यमहरुमा रेडियो नेपाल अग्रणी थियो भने दोस्रोमा नेपाल टेलिभिजन पर्दथ्यो। रेडियो नेपालले बजाउने गरेका गीतहरुको वर्गीकरण पनि गरेको थियो। पुराना नेपाली गीत, आधुनिक नेपाली गीत र राष्ट्रिय गीत। यी तीन प्रकारका गीत बजाउनका लागि रेडियो नेपालले अलग अलग समय छुट्याएको थियो। पछि नेपाल टेलिभिजनले पनि यी तीन प्रकारका गीतहरु भनेर गीत बजाउने गर्दथ्यो।
लामो दूरीका गाडीहरुमा बज्ने कतिपय गीतहरु सुन्दा लाग्छ कि गीतका रचयिता, संगीतकार र गायक आलाकाँचा छन्। कच्चा वैद्यको मात्रा यमपुरीको यात्रा जस्तै हो यो। सुन्दा नै दिक्क लाग्ने। जस्तो पनि रचिदिने, जस्तो पनि संगीत दिने र जस्तो पनि गाइदिने गर्नाले गीत संगीतको महत्व घट्दै गएको पनि पाइन्छ। यस्ता गीतहरु यात्रुहरुका लागि निदहराम सरह हुन्छन्।
महाकवि लक्ष्मी प्रसाद देवकोटाले रचेको मुना मदनमा उल्लिखित र नारायण गोपालले गाएको “ईश्वर तैँले रचेर फेरी कसरी बिगारिस् ….” उल्लेख छ। यसरी ईश्वर वा भगवानलाई ‘तँ’ भनिनु उचित त होइन, तर साहित्यले समय र परिस्थिति अनुसार शब्दहरु र सम्बोधन खोज्छ। त्यस्तै रामकृष्ण ढकालले गाएको एउटा गीतमा “दैव तेरो मायाको खेलले……” भनेर पनि गीत रचिएको छ। नेपाली चलचित्र बदलिँदो आकाशको एउटा गीत नारायणगोपालले गाएका थिए “जन्मनुपर्छ हरेक मानिस लिएर नौलो आश ……।” जन्मिने बेलामा चेतना नै नभएको शिशुले कसरी नौलो आश लिनसक्ला र ? चलचित्र सिन्दूरमा नारायण गोपालकै स्वरको “छोरीको जन्म हारेको कर्म…..” गीत हालको परिवेशमा मेल खाँदैन। यसमा महिला अधिकारकर्मीहरुले आपत्ति जनाउन सक्छन्। उसै त के निहूँ पाऊँ कनिका बुकाउँ झैँ छ हाम्रा नारीहरुमा जौँका बारीहरुमा।
नारायण गोपालकै एउटा सुमधुर गीत छ, जुन कर्णप्रिय पनि छ “आँधीले उडाइदेला लाजका ती पर्दाहरु…।” यसको भाव कतिपयले खास अर्थमा लिनसक्लान्, तर यहाँ लाज छोप्ने भित्री वस्त्रको कुरा पनि झल्किन्छ। एकताका निकै बज्ने गरेको थियो- नारायण गोपालले गाएको चाँदनी शाहको रचनाको “एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा।” गीतमा मान्छेलाई वस्तुको रुपमा उल्लेख गरिएको छ। मान्छेलाई ‘एउटा’ होइन ‘एकजना’ भनिनुपर्ने थियो। त्यस्तै आशा भोसलेले गाएको “एउटा मान्छे मन पर्छ….” भन्ने गीत मीठो त छ, तर सुहाउँदो शब्द भएन।
नारायण गोपालको अर्को गीत “ए मलाई माया गर्छु भन्ने हजुर ! कहिले माया पनि देखाउने गर….” पनि निकै लोकप्रिय छ। यहाँ ‘कहिले’ को पछाडि ‘काहिँ’ थपेर गाउनसकेको भए अझै उत्तम हुनेथियो। जनकविकेशरी धर्मराज धापाले गाएको गीत “हरियो डाँडामाथि हलो जोत्ने साथी….” राम्रो त छ। तर डाँडामाथि होइन जोत्नुपर्ने बारी त डाँडामुनि हो। त्यस्तै मीत्रसेनको “मलाई खुत्रुक्कै पार्योे जेठान तिम्रो बैनीले” गीत ससुराली गएको बखत बजाउन मिल्दैन, किन कि जेठानले सुनेपछि कुरो अर्कै भैदिन्छ। शिशिर योगीको स्वरको “यो देशमा एउटा मानिस खोजिरहेछु…” लोकप्रिय गीत लोकप्रिय त छ। तर देशका लागि ‘एउटा मान्छे’ ले मात्र के हुनसक्ला र ?
“ओइ नाना ओइ नाना तिमी हामी दुईजना…” गीत पनि एकताका बज्नेगर्थ्यो। तिमी र हामी दुईजना कसरी भयो ? ‘तिमी’ एकवचन हो भने ‘हामी’ वहुवचन हो। अञ्जु पन्तले गाएको “एउटा डाली न्याउली रुन्छे अर्को डाली कोइली…” गीत पनि अलि नमिले झैँ लाग्छ। किन कि न्याउली र कोइली एउटै मौसममा र एउटै रुखमा कहिल्यै पनि बस्दैनन्। अञ्जु पन्तले गाएको अर्को गीत “मलाई बाँसुरीले रुवायो…” मा बाँसुरीले नभएर बाँसुरीको स्वर वा आवाजले रुवायो भनेको भए राम्रो हुनेथियो।
कुखुराको भालेले आउँदैजाँदै … गीत यो लेखक केही महिनाअघि दाङबाट काठमाडौँ आउन चढेको बसमा घन्किएको थियो, जुन अश्लिल जस्तो लागेको थियो। कुनै बखत रेडियो नेपालले बजाउने गरेको सो गीत त्यतिबेला अश्लिल जस्तो त लाग्दैनथ्यो। त्यस्तै कुनैबखत एउटा रात्रीबसमा “तिम्रो त्यो बाँझो खेत म खनिदिउँला” भन्ने गीतले पनि अश्लिलता झल्काएको थियो। कुन्ति मोक्तानले गाएको गीतको अन्तरामा उल्लेख छ “सुनगाभा हूँ भीरमा पनि फुल्नसक्छु नि…”, सुनगाभा भीरमा कहिल्यै पनि फुल्दैन, सुनगाभा त रुखको हाँगामा फुल्छ।
कुनै बखत डेजी बराइलीले गाएको गीत “भैँसी लड्यो है माया भीरबाट हेर, नौसय साठी है माया गैहाल्यो लौ खेर” कर्णप्रिय र भावुकखालको थियो। तर गाईलाई जस्तो भैँसीलाई भिराला जमिनमा लगेर चराइँदैन, भैँसीलाई समथर ठाउँमा मात्र चराइन्छ। भैँसीको मूल्य दशकौँ अगाडिको भएकोले त्यो गीत मीठो भए पनि समयसापेक्ष छैन। गीतमा कुनै पनि वस्तुको मूल्य तोकिनु हुँदैन। अहिले नौसय साठीमा भैँसी त होइन, कुखुरा चाहिँ पाइन्छ।
एक चलचित्रमा अनुराधा पौड्यालले गाएको गीत “पुरानो हुँदैन माया जुनीजुनीलाई पनि” गीत पनि लोकप्रिय बन्यो। तर माया के लुगा हो पुरानो र नयाँ हुनका लागि ? कि धान चामल हो पुरानो र नयाँ भन्ने ? “मेरो जीवनबाट जाने भए जाऊ, तर अन्तिम पल्ट भेट्न आउ” भन्ने गीत पनि एकताका निकै बज्यो। अन्तै गैसकेकी प्रेमिका पूर्व प्रेमीलाई भेट्न आउलिन् र ? नविन के भट्टराईले गाएको एउटा गीत छ “तिमीलाई मह… ” ‘म’ भन्नुपर्नेमा ‘मह’ किन ?
चर्चित लोकगायक पशुपती शर्मा, दुर्गेश थापा पनि विवादास्पद गीत गाएकै कारण विवादमा परिसकेका छन्। ‘विस्तराले पोल्यो’ गीत गाएकोमा शान्तिश्री परियारले माफी पनि मागिसकेकी छिन्। राजु सुनामको शब्द तथा संगीत रहेको तथा पुष्प खड्का र जिसु कोइरालाको अभिनय रहेको “हेर्ने हो र देखाइदिम्” गीत बजारमा आइसकेपछि विवादमा परेका कारण सो गीत युट्युबबाट मेटाइएको छ। डिआर सुजनद्वारा संगीतवद्ध “नेपाली हाम्रो जात….” गीत पनि विवादमा तानिएको थियो। गायकले आफूलाई झुक्काएर गाउन लगाएको स्पष्टीकरण दिएका थिए। झुक्काएर त होइन मुक्काएर गाउन लगाए जस्तो भान हुन्छ।
०००
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ, काठमाडौँ।
Subscribe
Login
0 Comments
Oldest