हरि कोर्कालीअहिले म प्रधानमन्त्री हुन्थेँ त
नयाँ नौलो संघियता कताकति असहज भैरहेको सुन्छु पहिलो चस्मा अलिअलि त असहज हुन्छ भनेर सम्झाउने थिएँ । करको डर मान्नै पर्दैन तस्करीका नाकाहरू र ती नाकामा खेल्ने ह्वेलहरू यथावत नै छन्

हरि कोर्काली :
सर्वप्रथम त
अत्यधिक बहुमतको
अग्लो र चिल्लोे भर्याङ चढेर
महापूर्णिमाको चन्द्रमालाई
निचोरनाचोर पारेर
भएभरको अमृत ल्याउने थिएँ ।
विश्वभरिका नेपालीलाई
त्यही अमृतको टीका दिएर
अजर/अमर तुल्याउने थिएँ ।
आफ्ना नागरिकलाई
अजर, अमर तुल्याउने पहिलो राष्ट्रमा
नेपालको नाम लेखाउने थिएँ ।
रोगले कसैलाई नछुने
र अस्पताल चाहिंदै नचाहिने भएपछि
स्वास्थ्यका यावत कार्यक्रमहरू खारेज गरेर
सरकारी खर्चमा ठुलो बचत गर्ने थिएँ ।
त्यही बचतले समृद्ध नेपाल निर्माणको महाअभियानलाई
गुडुडुडु हाँक्ने थिएँ ।
रोगी र बुढाबुढी कोही नहुने भएपछि
भत्तासत्ताकाे के काम र ?
सबैले मिलेर राज्यको ढिकुटीलाई
सबल तुल्याएर
राष्ट्रिय एकता प्रवर्धन र प्रदर्शन गराउने थिएँ ।
अजम्मरी टीकाप्रति
विश्वकै ध्यान खिचेर
पर्यटन उद्योगमा स्वर्णयुग प्रवेशका
सम्पूर्ण झ्याल ढोकाहरू
ह्वाङह्वाङती खुल्ला गर्ने थिएँ ।
अजम्मरी खोपको निर्यातबाट
वैदेशिक व्यापारलाई
अचम्मै उच्च नाफामा पुर्याउने थिएँ ।
अमृत एउटैको व्यापारबाट
देशको अर्थतन्त्रलाई
नम्बर एकमा उकाल्ने थिएँ ।
नेपाली मुद्रालाई
विश्वभर ग्राह्य तुल्याउने थिएँ ।
पाइपबाट चुलाचुलामा ग्यास पुर्याउने र
उज्यालोका लागि
हनुमानका वृद्ध पिताजीको मुख ताक्ने
प्रविधि पुरानु भइ सक्यो,
चाहिए जति तातो, चिसो र उज्यालो
एकै ठाउँमा जम्मा गर्न सकिने
सौर्य उर्जाको अत्याधुनिक भण्डार विकास गरी
घरघरमा निशुल्क जडान गरिदिएर
नेपालीको जीवनस्तरलाई
विश्वले नै
ठाडो मुण्टो लगाएर हेर्नुपर्ने गरी
बाफरे उचाइमा पुर्याइ दिने थिएँ ।
द्रुत गतिको विकासका लागि
अहर्निस खट्न जरुरी छ,
एउटा अर्को अझ उन्नत
तातो पनि फर्काउन सक्ने चन्द्रमा स्थापित गरेर
हरेक रातलाई न्यानो चाँदनी रातमा बदल्ने थिएँ
र
न्यानु चाँदनी रातमा पनि
कार्य संचालन गर्न
रात्रिकालिन प्रधानमन्त्रीको पद सृजना गरेर
लक्ष्मीकै बहानका जस्ता
लक्ष्मीलाई टाढैबाट चिन्ह सक्ने आँखा भएको
प्रत्यासी खोजी, टुङ्गो लगाई
इतिहासकै सबैभन्दा लोकप्रिय प्रधानमन्त्रीले
गठबन्धने सर्त मुताविक
बीचमै पद त्याग्नु पर्ने पो हो कि भन्ने भयबाट
आफ्ना दारुभक्तहरूलाई
मुक्त गर्ने थिएँ ।
लगातारको भूक्षय र
हजारौं वर्षको खनजोतले
देशको माटो रुखिएको छ/ किटिएको छ
मेहनतले खानै नपुग्ने भएको छ
छिमेकी पिण्डहरूबाट
छानीछानी
सुकुमारी कन्ने माटो ल्याएर
उब्जनी ह्वात्तै बढाउने थिएँ ।
भएको पानी जम्मै प्रदुषित भै सक्यो ,
मन्दाकिनीको एकएक भँगालो
ओरालेर प्रदेश प्रदेशमा एकएक अँगालो
निशुल्क उपलब्ध गराउने थिएँ ।
अल्छी नगरी
चोभारको गल्छीमा बाँध बाँधेर
राजधानीमा
जलक्रीडा र जल यातायातको
मनोरञ्जनपूर्ण व्यवस्था मिलाउने थिएँ ।
होचा ठाउँका बस्तिलाई
अग्ला ठाउँमा सारेर
घरघरमा मोटरबोट पुर्याएर
धुलो, हिलो, धुवाँ, खाल्डाखुल्डी
साँगुरा सडक र भ्रष्टाचारको कहालीबाट
राजधानीलाई मुक्त गराउने थिएँ ।
तेस्रो ध्रुवको टुप्पैसम्म
केवलकार संचालन गरेर
त्यहाँको शुद्ध हावा ल्याई
राजधानीको प्रदुषित वायूलाई विस्थापित गरेर
प्रदूषण मुक्त राजधानीको सपना पनि
चुट्कीभरमै साकार तुल्याउने थिएँ ।
नयाँ नौलो संघियता
कताकति असहज भैरहेको सुन्छु
पहिलो चस्मा अलिअलि त असहज हुन्छ भनेर
सम्झाउने थिएँ ।
करको डर मान्नै पर्दैन
तस्करीका नाकाहरू र
ती नाकामा खेल्ने ह्वेलहरू यथावत नै छन्
उनीहरूकै सम्पर्कमा रहेर काम गर्नू
जति पनि तिर्न सकिन्छ भनी, सम्झाई
करको डरबाट पनि सबैलाई मुक्त गरिदिएर
समृद्ध नेपालका सुखी नेपालीको
उज्यालो अनुहार हेर्दै रमाउने थिएँं ।
०००
भक्तपुर
रचनाकाल : वि.सं.२०७५
Subscribe
Login
0 Comments
Oldest







































