रवीन्द्रनाथ त्यागीशोकसभा
रुने सज्जन मेरा तिनी अधिकारीका नजिक आएर मर्ने मान्छेको नामठेगाना पो सोध्न थाले । मेरा मित्रले पनि उनलाई सबै जानकारी दिए अनि उनले जसरी अधिकारीलाई हेरे त्यो देखेर लाग्दै थियो उनी अब अर्को कर्मचारी कहिले मर्छ भनेर पो सोध्न चाहन्छन् कि ?
रवीन्द्रनाथ त्यागी :
व्यङ्ग्यानुवाद :: रमेश समर्थन
त्यस दिन म आफ्ना मित्रलाई भेट्न उनको कार्यालयमा जाँदा थाहा पाएँ, त्यहाँ काम गर्ने कुनै कर्मचारीको मृत्यु भएको उपलक्ष्यमा कार्यालयको तेस्रो चरण अर्थात् चारबजे कार्यालयमा नै एउटा शोकसभाको आयोजन हुँदै छ । शोकसभापछि कर्मचारीहरू सरासर आआफ्नो घर जान पाऊन् भनेर नै चार बजेको समय निर्धारण गरिएको थियो । मेरा मित्र जो आफै एउटा अधिकृत हुन् उनले यस कुरामा विशेष जोड दिँदै बारम्बार यो कुरो जसरी दोहोर्याइरहेको थिए त्यस हिसाबले लाग्थ्यो मानौं विदाका निम्ति अन्य कर्मचारीहरूले नै उसको हत्या गराएका वा गरेका हुन् । त्यसो त छिटै कार्यालय छोड्न पाइने आशामा उनी आफैँ पनि कम्ता प्रसन्न थिएनन् । एकपटक त मलाई लाग्यो यदि यसै गरी प्रतिदिन नै शोकसभाको कार्यक्रम चल्ने र छिटै घर जान पाइने हो भने उनलाई कुनै आपत्ति नहोला ।
मलाई भनिएअनुसार मर्ने व्यक्ति सामान्य प्रकृतिको मानिस थियो । अन्य कर्मचारीजस्तै ऊ पनि कार्यालयमा सुत्थ्यो, थोरैधेरै काम पनि गरिटोपल्थ्यो, बिँडीको धुवाँ उडाउँथ्यो अनि साँझपख आफ्नो साइकल समातेर घर जान्थ्यो । मनको सफा थिथो अनि आफ्नो र पराईको भेद गर्दैनथ्यो । यसैले होला एक दिन आफ्नो पुरानो साइकलको साटो कुनै अन्य सहयोगीको नयाँ साइकल लैजाँदै गर्दा समातियो पनि । प्रतिवर्ष समारोहमा ऊ टेन्ट लगाउने काममा सघाउँथ्यो । एकदुई पटक बाथरुममा गुनगुनाइरहेको अवस्थामा पनि देखिएको थियो । यिनैलाई छाडेर उसको नाम इतिहासबद्ध गर्नेयोग्य कुनै कुरो थिएन ।
तर शोकसभामा पुग्दा भने मर्ने व्यक्तिमा ठुलाठुला खुबीहरू रहेको रहस्य खुल्यो । अथवा यसो भन्न सकिन्छ, संसारमा जति पनि खुबीहरू छन् ती सबै उसमा थिए र कमी भन्ने चराको त भुत्लो पनि थिएन । एकजना वक्ताले त यसै कुरामा जोड दिँदै उसको तुलना सुकरातसितै गरिदिए । अर्का एकजना वक्ताले त उसलाई सुकरातभन्दा कैयौंगुना उच्चकोटिको भन्दै उसको मृत्युमा यति शोकविह्वल भए कि हामी पनि विचलित भयौँ । पछि भने उसको मृत्युबाट यदि कसैलाई बढी खुसी प्राप्त भएको छ भने तिनै थिए भनेर कसैले भनेको थियो । मृतककी पत्नीसित लसपसमा थिए रे र मृतकसित उनले केही रकम लिनुपर्ने पनि थियो रे !
बोल्नेहरू त त्यहाँ धेरै थिए तर चर्चायोग्य भने तीनचार जनामात्र थिए । एकजना सज्जन जा्े उससित कहिलेकाहीँ ब्रिज खेल्ने गर्थे र एकपटक ऊ हार्दा उनले उसका जुँगा नै मुडिदिएका थिए तर लिनुपर्ने धन नगुमोस् भनेर उनले उसका आधा जुँगालाई मात्र बलिवेदीमा चढाएका थिए । तर आज मञ्चमा उभिएर उनी अब आफ्नो त्यस्तो मित्रको अभावमा बाँच्नै कठिन हुने बताउँदै थिए । यसै गरी एकजना अधिकृतले मृतकको कार्यतत्परता र कर्तव्यपरायणताको व्यापक व्याख्या गरेपछि अन्य कर्मचारीहरूलाई दिवङ्गत आत्माको चरित्रको अनुकरण गर्न अनुरोध गरे । पछि बल्ल थाहा भयो यिनै अधिकारीले विगत तीन वर्षदेखि उसको बढुवा स्थगित गरेर दुःख दिइरहेका थिए र उसको अकालमृत्युको कारण यो निराशा पनि थियो ।
आखिरमा एकजना प्रौढ सज्जन क्षितिजमा अत्यधिक मात्रामा एकसाथ प्रकट भए अनि माइकलाई अँगालो हालेर रुन थाले । लगभग दश मिनेटसम्म भक्कानो छोडेर रोएपछि उनले रुमाल झिकेर श्रोतातर्फ एउटा दृष्टिपात गरे अनि उसै गरी रुन थाले । त्यो देखेर मलाई लाग्यो ‘एको रसः करुणैव’ भनेर भवभूतिले उनैलाई देखेर लेखेको हुनुपर्छ । यिनको शोक देखेर मैले मेरा मित्रलाई पुलुक्क हेरेँ । उनले मलाई कानमा भने, ‘रुनु त यी महाशयक जन्मौटे रहर हो र यस क्षेत्रमा त यिनी कति प्रतिभाशाली छन् भने विनाकारण पनि कहीँ पनि र कहिले पनि घन्टौँ लगातार रोइरहन सक्छन् ।
रुने कार्यक्रम समाप्त भएपछि सभाको विसर्जन भयो । ती रुने सज्जन मेरा तिनी अधिकारीका नजिक आएर मर्ने मान्छेको नामठेगाना पो सोध्न थाले । मेरा मित्रले पनि उनलाई सबै जानकारी दिए अनि उनले जसरी अधिकारीलाई हेरे त्यो देखेर लाग्दै थियो उनी अब अर्को कर्मचारी कहिले मर्छ भनेर पो सोध्न चाहन्छन् कि ?
०००
(यो लेख प्रसिद्ध व्यङ्ग्यकार रवीन्द्र त्यागीको ‘प्रतिनिधि व्यंग्य’को ‘शोक–सभा’बाट अनुवाद गरिएको हो ।)
Subscribe
Login
0 Comments
Oldest






































