नन्दलाल आचार्यनारी मुक्तिका पाँच चट्याङ
सासू कुर्लिइन्, "के गरेकी छेस्, कुलटा !" माहिलीले आँखा उठाई । ओठमा मुस्कान खेल्दै भनी, "अब म कुनै शृङ्खला होइन, शृङ्खला तोड्ने पहिलो आवाज हुँ !"

नन्दलाल आचार्य :
१. मुक्ति
“के म अब उही अँध्यारो गुफामा फर्किनुपर्छ ?” राधाले थरथराउँदै प्रश्न गरिन् ।
माहिली आमाले आँखाभरि आँसु पार्दै भनिन्, “छोरी, यो समाजको नियम यस्तै हो ।”
राधाले ऐनामा आफ्नो अनुहार नियालिन् । निधारमा सिन्दूरको रातो धर्को अझै पनि टल्किरहेको थियो । घाँटीमा पोतेको तौल अनुभूत भइसकेको थियो । श्रीमान् बितेको दुई दिनमै यो विधवा जीवनको सजाय किन ?
बाहिर बासन्ती हावाले अमलटासका पहेँला फूलहरू हल्लाइरहेको थियो । उनीहरू टल्किरहे, झरिरहे, फेरि पलाइरहे ।
राधाले आँसु पुछ्दै दृढ स्वरमा भनिन्, “हजुरआमा, यो समाजको नियम बदल्नुपर्छ । अब म आफैँ नयाँ बाटो रोज्नेछु ।”
माहिली आमाले गहभरि माया पार्दै भनिन्, “छोरी, तँ साँच्चै नारी स्वतन्त्रताको नयाँ बिहान होस् ।”
०००
२. हातहरूको आवाज
“म पनि मान्छे हुँ, हैन र ?” सुमित्राको आवाज करिब-करिब चिच्याहटमा परिणत भयो ।
आमाले गमलामा पानी हाल्दै भनिन्, “छोरी, मान्छे मात्रै हैन, नारी पनि छ्यौ । यस घरभित्रको सीमारेखा तिमी नाघ्न पाउँनौँ ।”
बिहानको घाम झ्यालबाट भित्र छिरेझैँ सुमित्राको मुहारमा एकाएक चमक आयो, “आमा, हिजोको दिन गयो । अब सीमारेखा मेट्ने बेला आइसक्यो ।”
बाहिर गाडीको हर्न बज्यो। हातमा झोला समाउँदै, आँखामा आत्मविश्वास भरेर ऊ निस्किई।
बाटोभरि पाईलाहरू आत्मसम्मानको गीत गाउँदै हिँडिरहेका थिए। चोकको कुना पुग्दा एउटी सानी केटी उसको हात समाउँदै मुस्काई।
सुमित्राले बिस्तारै भनिन्, “अब हामीलाई चुप लगाउने समय सकियो, अब हामी आफैँ आवाज हौं।”
०००
३. जिन्स पाइन्ट
“केटीले जिन्स पाइन्ट लगाउनु पाप हो ?”
उसको स्वर हलमा घन्कियो। सभामुख छक्क परे ।
पुरानो भित्तामा टाँसिएको पोष्टर झल्झली देखिन थाल्यो- “नारी स्वतन्त्रता र समानता: अन्तर्राष्ट्रिय नारी दिवस विशेष कार्यक्रम ।”
सभामा उपस्थित वृद्ध, युवा, महिला, पुरुष सबै एकआपसमा मुखामुख गर्न थाले ।
“एउटी आमाले छोरो जन्माउँछिन्, संसार चलाउँछिन् । तर, एउटी छोरीले जिन्स पाइन्ट लगाउँदा संस्कृति खल्बलिन्छ ? कसको संस्कृति ? कुन धर्मले निषेध गरेको छ यो लुगा ?”
केटीको आँखामा बिजुली चम्कियो र विद्रोह बोल्यो ।
एक वृद्धले हिम्मत जुटाएर भने, “हाम्रो सभ्यता—।”
“हाम्रो सभ्यता ? कि पुरुषवादी अहंकार ?” केटीको स्वर ज्वालामुखी जस्तै फुट्यो ।
हल एकछिन शान्त रह्यो । त्यसपछि त्यहाँभरिको तालीको गडगडाहटले छत हल्लियो ।
सभामुख स्तब्ध भए ।
केटीले माइक समातेर अन्तिम चोटि सोधी, “अब भन्नुस्, केटीले जिन्स पाइन्ट लगाउनु पाप हो ?”
०००
४. शृङ्खला
“तिमीलाई थाहा छ, आइमाईलाई सिन्दूरले होइन, स्वाभिमानले सुहाउँछ !”
“तर यो समाज…!”
“समाज ? समाज त हामी आफैं हौं, रीतिहरू हामीले नै कोरेका हौं । अब ती च्यात्नुपर्छ !”
माहिलीले गहभरि आँसु पार्दै ऐनामा हेरी । निधारको सिन्दूर, घाँटीको पोते, हातभरि चुरा । ती सबले उसलाई सौभाग्य दिएका छन् भनेर बुझेकी थिई, तर सासै अड्किने गरी बाँच्न बाध्य बनाएका थिए ।
उसको मनमा वर्षौंदेखि दबाइएका विद्रोहका आगोहरू सल्किए । चुरा फुटे, पोते चुँडियो, सिन्दूर उडायो ।
सासू कुर्लिइन्, “के गरेकी छेस्, कुलटा !”
माहिलीले आँखा उठाई । ओठमा मुस्कान खेल्दै भनी, “अब म कुनै शृङ्खला होइन, शृङ्खला तोड्ने पहिलो आवाज हुँ !”
०००
५. अन्तिम प्रश्न
“मेरो अस्मिता सधैँ किन तिम्रो पौरखको तराजुमा तौलिनुपर्छ ?”
सुनौलो घाम हाँसे पनि उसको मनमा सधैँको जाडो छाएको थियो । घरको ढोकामा उभिएकी ऊ ऐनामा आफ्नै छायाँलाई नियालिरहेकी थिई- अविचल, अबोल, कठोर ।
“तेरो भाग्य नै त्यस्तै छ । चुप लाग् !” भित्तामा झुन्ड्याइएको उसको धमिलो तस्बिर हाँसेझैं देखिन्थ्यो ।
बेसिनबाट पानीका थोपा टप टप झर्थे- उसकै आँखाबाट खसिरहेका सपनाजस्तै ।
कसैले भित्रैदेखि आवाज दियो- “कहिलेसम्म ?”
ऊ उठी । ऐनाभित्रको छायाँलाई चिहाई ।
बिस्तारै, तर दृढतापूर्वक, ऐनाको सिसा चकनाचुर पार्दै उसको आवाज गुञ्जियो-
“अब म आफ्नै तराजु बनाउनेछु !”
०००
२०८१ फाल्गुन १९ गते ।
बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर ।
nandalalacharya@gmail.com
मोबाइल नम्बर- ९८४२८२९२०६
Subscribe
Login
0 Comments
Oldest










































