रवीन्द्रनाथ त्यागीडिनर
ठेकेदार साहेब पनि कति खुसी थिए भने शरीरका दुबै भागबाट पटका पड्काइरहेका थिए । मेजर जनरलले कुनै फौजी ठट्यौली सुनाएका थिए जुन सुनेर आई. सी. एस.लाई छाडेर सबै मन फुकाएर हाँसे । हाँस्न त उनी पनि हाँस्दा हुन् तर उनीसित एउटा घटना भएछ ।
रवीन्द्रनाथ त्यागी :
व्यङ्ग्यानुवाद : रमेश समर्थन
हिजो राति म एउटा डिनरमा गएँ । डिनर निकै सानदार थियो अनि त्यसमा विभिन्न प्रकारका व्यक्तिहरू निमन्त्रित थिए । आगन्तुकहरूको विविधता देखेर मैले एक्कासि सोच्न थालेँ, तुलसीदासले जुन ‘तुलसी यस संसारमा मान्छे भाँतिका छन्’ भन्ने पङ्क्ति लेखेका छन् त्यसबाट उनी पनि यस्तै कुनै डिनरमा गएको हुनुपर्छ भन्ने लख त पक्कै काट्न सकिन्छ ।
यो डिनर श्याम वर्णका लक्ष्मीहरू र तिनले लगाएका श्वेत वर्णका वस्त्रहरूको कस्तो आकर्षक मिश्रण थियो भने त्यहाँ रहेको लौरो लिएका गान्धीजीको चित्र देख्दादेख्दै पनि कहिले हत्या गर्ने इच्छा हुन्थ्यो भने कहिले आत्महत्या गर्न मन लाग्थ्यो । अतिथिहरू धेरै थिए भने सबै सुकिलामुकिला र ठुलाठालु थिए । केहीलाई त म पनि चिन्दथेँ तर अरूलाई चिन्दिनथेँ । एकजना सज्जन थिए जसको मुखमण्डल व्यभिचारका रेखाहरूले उद्दीप्त र प्रदीप्त थियो । यिनी पछिल्लो एक दशकदेखि ‘गीता’माथि शोध गर्दै थिए । उनी फलमा होइन, कर्ममा अधिकार राख्थे ।
एकजना मेजर जनरल थिए जसकी पत्नीले उनलाई कुकुरलाई झैँ बोलाउँथिन् । एकजना अर्का सज्जन थिए जो कुर्कुच्चामा उभिएर सिगार तान्दै थिए जुन निभिसकेको थियो । उनी इन्डियन सिभिल सर्भिसका भूतपूर्व सदस्य थिए । थिए त उनी पनि पाहुना नै तर हरेकलाई हेर्दा उनी यसरी हेर्थे मानौँ उनी भनिरहेका हुन्थे, ‘पख न, तिमीहरू एक एक जनामाथि एक्सन लिइने छ ।’ एकजना स्थानीय समाजसेवक थिए जो हेर्दै बेरा (खानेकुरा पुर्याउने) लाग्थे । निकै नम्र । हात मिलाउनका लागि पनि उनलाई फेरि सोझ्याउन अन्य व्यक्तिले श्रमदान नै गर्नुपर्ने गरी निहुरिन्थे । एकजना ठेकेदार थिए जो जमानतमा छुटेका थिए र निकै हँसिला, मिलनसार र समयमा काम लाग्ने खालका थिए । एकजना तन्नेरी अमिरज्यादा पनि थिए जो सायरी पनि गर्थे । तर सायरीमा जति काँचा थिए मायामा उति नै पाका थिए । त्यस हलका आधाजसो सुन्दरीहरूले उनलाई चिन्दथे ।
केही बेरपछि मैले आयोजकलाई भेटेँ । मैले पहिले उनलाई चिनेकै थिइनँ । वास्तवमा मलाई त एउटी सम्भ्रान्त महिलाले तानेर लगेकी थिइन् किनभने उनका पति कुनै यात्रामा थिए र निमन्त्रणा उनका दम्पतीलाई नै थियो । यस अवस्थामा उनले गरून् पो के ? हलमा गएपछि भने मैले के अनुभव गरेँ भने कैयौँ जोडीहरू त हामीजस्तै पो थिए । ए, अँ, केही उदास जोडी जो थिए ती भने पक्के पतिपत्नी हुँदा हुन् ।
मैले भित्तामा टाँसिएका मनोरम चित्रहरू र झुन्डिएका झालरबत्तीहरूलाई हेरिरहेँ । कतै राजा रवि वर्मा झुन्डिएका थिए भने कतै हेब्बार झुन्डिएका थिए । एउटा भित्तामा बया (भँगेरोजस्तो चरो )को गुँड झुन्डिएको थियो भने त्यसमा एउटा यस्तो बाँदरको चित्र पनि थियो जसले चराको गुँड भत्काउने गर्थ्यो भनेर लोककथाहरूमा वर्णन गरिएको छ । अरू पनि केके र कुन कुन देशविदेशका विचित्र वस्तुहरू कि त भित्तामा झुन्डिएका थिए कि भुइँमा राखिएका थिए । एउटा महङ्गो गलैँचामाथि आफ्नो सिगार निभाउँदै मैले के पनि अनुभव गरेँ भने विभिन्न पाहुनाहरूसँगै त्यस हलले
कुनै सङ्ग्रहालयको र चिडियाखानाको पनि आनन्द दिइरहेको थियो । कुनै कुनै चरीहरू त साँच्चिकै बुलबुल थिए ।
म यस्तै चिन्तन अनुचिन्तनमा डुबिरहेकै समयमा अचानक कतैबाट डिनर आरम्भ भएको भन्ने सूचना आयो । म त्यसै गरी झस्केँ जसरी कुनै वेला बहालपुरमा अचानक महावत खाँ आउँदा शाहज्यादा खुर्रम झस्केको थियो । मैले यस डिनरको सूचना त्यही तीन दिनपहिले पाएको थिएँ र त्यसै दिनदेखि मैले आफूलाई आधापेट खानामा टिकाएर राखेको थिएँ । विवाहभन्दा पहिलाको ब्रह्मचर्यजस्तै । उभिएपछि थाहा पाएँ, खाना टेबुलमा लगाइएको छ र उभिएरै खानुपर्ने छ । मलाई भने उभिएर खाने कुरासित झर्को नै लाग्छ । यस्तो चलन चलाउने कुनचाहिँ धूर्त रहेछ कुन्नि ? मलाई त के लाग्छ भने उभिएर गर्न सकिने एउटा मात्र काम छ र त्यो हो उभिनु । बाँकी सबै काम कि त बसेर गरिन्छ कि सुतेर गरिन्छ ।
अब टेबुलतिर मानिसहरू यसरी ओइरिने भएका थिए जसरी मरेको गधामाथि गिद्धहरू ओइरिन्छन् । त्यसै समयमा एउटा नवयुवकले भन्यो, ‘लेडिज फर्स्ट’ । म रिसले भुट्भुटिएँ । सबै कुरामा केटीहरू नै पहिले ? इन्द्र पनि ऋषिमुनिहरूको तप भङ्ग गर्नका लागि उर्वशी, मेनका या तिलोत्तमालाई नै पठाउँथे । यदि एकपटक मात्र पनि कुनै गुन्डा या तन्नेरी लठैतलाई पठाएको भए इलाकाका सबै आश्रमहरू काँजीहाउस बन्ने थिए । अझै पनि अवस्था उही छ । दिल्लीमा एउटा शिक्षण संस्थान छ जहाँ केटीहरूले जेसुकै लगाए पनि या नलगाए पनि, बरन्डामा चुरोट तन्काए पनि र केटाहरूलाई सताए पनि सबै स्वीकार्य मानिन्छ । अँ, केटाहरूले भने केही गर्न पाउँदैनन् । उनीहरूले आँखा झुकाउनुपर्छ र छाप्रामा गएर चिया पिउनुपर्छ । क्यान्टिनमा त पहिलेदेखि नै सौन्दर्यस्वयंवर चलिरहेको हुन्छ । ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः ।’
झन्डै एक घण्टापछि महिलाहरूले कुरुक्षेत्र छाडे । त्यसपछि मैले टेबुलरूपी संयोगितालाई वरण गर्ने प्रयत्न गरेँ तर असफल भएँ । पूर्वतिरबाट पस्न खोजेको त त्यहाँ कुनै बुढामान्छेका नक्कली दाँत र चस्मा खसेका थिए । पश्चिमतिरबाट पस्न खोज्दा तिनै बुढाबा आफैँ लडिरहेका थिए । उत्तरतिरबाट पस्न चाहन्थेँ तर त्यहाँ एक जना नरननारी रूपका व्यक्ति थिए जसलाई नहटाई पस्न सकिँदैनथ्यो । दक्षिण किल्ला फत्ते गर्ने सम्भावना त थियो तर त्यहाँ युद्धपछिका रित्ता खोकाझैँ रित्ता प्लेटबाहेक केही थिएन । अँ, चम्चाहरू भने अवश्य थिए । मैले एउटा चम्चा उठाएँ र एउटा कुनामा उपेक्षित अवस्थामा भोक्ताको प्रतीक्षा गरिरहेका लालमोहनमाथि ध्यान केन्द्रित गरेँ । त्यो देखेर त मलाई आश्चर्य पो लाग्यो यति राम्रो कुरा छोडेर यी सम्भ्रान्त मानिसहरू किन सलाद र सुपसित नाता लगाउन खोजेका होलान् भनेर । मैले उनीहरूको पापको प्रायश्चित्त गर्ने उद्देश्यले एउटा कचौरा उठाएँ र यस्तो ठाउँमा गएर बसेँ जहाँ लालमोहन र मेरा बिचमा चम्चाबाहेक अरू कोही थिएन ।
मैले बसेर लालमोहन खाइरहेँ । एकभन्दा एक उम्दा थियो । प्रत्येकबाट कुनै सच्चा कलाकारको साधनाको अनुभूति हुन्थ्यो । मैले खाइरहेँ र खाइ नै रहेँ । बिच बिचमा मैले डिनर टेबुलतिर लगिँदै गरिइरहेका रक्सीका बोतलहरूलाई पनि हेरिरहेँ । तिनको गति र सङ्ख्या देखेर त देशको खडेरीयुक्त क्षेत्रमा यही रक्सीले किन सिँचाइ नगरेको होला भन्ने लागिरह्यो । यदि रक्सीले अफिसर, समाजसेवक र कलाकार जन्माउन सक्छ भने खेतबाट गहुँ, जुनेलो र धान किन उब्जाउन सक्दैन ? म यिनै उदात्त विचारहरूमा हराइरहेको वेला एक्कासि थाहा पाएँ लालमोहनको भाँडो त रित्तिइसकेछ । मैले त्यसलाई उठाएर टेबुलमा फूलदानी राखेझैँ राखिदिएँ ।
खाना खाएर सबैजना एउटा अर्को कोठामा गए र त्यहाँ सोफा तथा गलैँचामा बसे । रक्सीको लहर अझै चलिरहेकै थियो । एकजना सोझाजस्ता सज्जनले भने रोटीको नाम नै रुमाली रोटी भन्ने सुनेपछि रोटीलाई नै रुमालका रूपमा प्रयोग गर्न सकिएला कि भनेर त्यसलाई पट्याएर गोजीमा हालेका थिए । ठेकेदार साहेब पनि कति खुसी थिए भने शरीरका दुबै भागबाट पटका पड्काइरहेका थिए । मेजर जनरलले कुनै फौजी ठट्यौली सुनाएका थिए जुन सुनेर आई. सी. एस.लाई छाडेर सबै मन फुकाएर हाँसे । हाँस्न त उनी पनि हाँस्दा हुन् तर उनीसित एउटा घटना भएछ । उनी एउटा सिउँडीको गमलालाई मुढा ठानेर त्यसमाथि बस्न पुगेछन् र यस प्रक्रियामा सिगारले उनको घाँटीको बाटो समातेछ । यस अवस्थामा उनले हाँस्न नमिल्ने भएछ ।
कफी पिएपछि डिनर सकियो । आयोजककी पत्नीले सबैसित हात मिलाइन् भने पत्नीका पतिले आफैँ गएर सबैका कारका ढोका आफ्नै हातले खोले । एउटा तन्नेरीले त आयोजकपत्नीको म्वाइँ पनि खायो । केटो कुमारै जस्तो थियो । सके उसको बाउ पनि कुमारै हुँदो हो ! जे होस्, डिनर भने सकिएको थियो तर मलाई भने अझै पनि यो डिनर कुन उपलक्षमा थियो भन्ने कुराको सुइँको पनि लागेको थिएन । तर पाहुनाहरूलाई घरबाट निस्किँदै गरेको देखेर आयोजकपत्नी जुन रूपमा प्रसन्न देखिन्थिन् त्यसलाई देखेर के अनुमान गरेँ भने पक्कै यो डिनर उनको गृहप्रवेशको शुभ उपलक्षमा आयोजित थियो ।
०००
रवीन्द्र त्यागीको ‘प्रतिनिधि व्यङ्ग्य’को ‘डिनर’बाट नेपालीमा अनुवाद ।
Subscribe
Login
0 Comments
Oldest





































