साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डिनर

ठेकेदार साहेब पनि कति खुसी थिए भने शरीरका दुबै भागबाट पटका पड्काइरहेका थिए । मेजर जनरलले कुनै फौजी ठट्यौली सुनाएका थिए जुन सुनेर आई. सी. एस.लाई छाडेर सबै मन फुकाएर हाँसे । हाँस्न त उनी पनि हाँस्दा हुन् तर उनीसित एउटा घटना भएछ ।

Nepal Telecom ad

रवीन्द्रनाथ त्यागी :

व्यङ्ग्यानुवाद : रमेश समर्थन

हिजो राति म एउटा डिनरमा गएँ । डिनर निकै सानदार थियो अनि त्यसमा विभिन्न प्रकारका व्यक्तिहरू निमन्त्रित थिए । आगन्तुकहरूको विविधता देखेर मैले एक्कासि सोच्न थालेँ, तुलसीदासले जुन ‘तुलसी यस संसारमा मान्छे भाँतिका छन्‌’ भन्ने पङ्क्ति लेखेका छन् त्यसबाट उनी पनि यस्तै कुनै डिनरमा गएको हुनुपर्छ भन्ने लख त पक्कै काट्न सकिन्छ ।

यो डिनर श्याम वर्णका लक्ष्मीहरू र तिनले लगाएका श्वेत वर्णका वस्त्रहरूको कस्तो आकर्षक मिश्रण थियो भने त्यहाँ रहेको लौरो लिएका गान्धीजीको चित्र देख्दादेख्दै पनि कहिले हत्या गर्ने इच्छा हुन्थ्यो भने कहिले आत्महत्या गर्न मन लाग्थ्यो । अतिथिहरू धेरै थिए भने सबै सुकिलामुकिला र ठुलाठालु थिए । केहीलाई त म पनि चिन्दथेँ तर अरूलाई चिन्दिनथेँ । एकजना सज्जन थिए जसको मुखमण्डल व्यभिचारका रेखाहरूले उद्दीप्त र प्रदीप्त थियो । यिनी पछिल्लो एक दशकदेखि ‘गीता’माथि शोध गर्दै थिए । उनी फलमा होइन, कर्ममा अधिकार राख्थे ।

एकजना मेजर जनरल थिए जसकी पत्नीले उनलाई कुकुरलाई झैँ बोलाउँथिन् । एकजना अर्का सज्जन थिए जो कुर्कुच्चामा उभिएर सिगार तान्दै थिए जुन निभिसकेको थियो । उनी इन्डियन सिभिल सर्भिसका भूतपूर्व सदस्य थिए । थिए त उनी पनि पाहुना नै तर हरेकलाई हेर्दा उनी यसरी हेर्थे मानौँ उनी भनिरहेका हुन्थे, ‘पख न, तिमीहरू एक एक जनामाथि एक्सन लिइने छ ।’ एकजना स्थानीय समाजसेवक थिए जो हेर्दै बेरा (खानेकुरा पुर्‍याउने) लाग्थे । निकै नम्र । हात मिलाउनका लागि पनि उनलाई फेरि सोझ्याउन अन्य व्यक्तिले श्रमदान नै गर्नुपर्ने गरी निहुरिन्थे । एकजना ठेकेदार थिए जो जमानतमा छुटेका थिए र निकै हँसिला, मिलनसार र समयमा काम लाग्ने खालका थिए । एकजना तन्नेरी अमिरज्यादा पनि थिए जो सायरी पनि गर्थे । तर सायरीमा जति काँचा थिए मायामा उति नै पाका थिए । त्यस हलका आधाजसो सुन्दरीहरूले उनलाई चिन्दथे ।

केही बेरपछि मैले आयोजकलाई भेटेँ । मैले पहिले उनलाई चिनेकै थिइनँ । वास्तवमा मलाई त एउटी सम्भ्रान्त महिलाले तानेर लगेकी थिइन् किनभने उनका पति कुनै यात्रामा थिए र निमन्त्रणा उनका दम्पतीलाई नै थियो । यस अवस्थामा उनले गरून् पो के ? हलमा गएपछि भने मैले के अनुभव गरेँ भने कैयौँ जोडीहरू त हामीजस्तै पो थिए । ए, अँ, केही उदास जोडी जो थिए ती भने पक्के पतिपत्नी हुँदा हुन् ।

मैले भित्तामा टाँसिएका मनोरम चित्रहरू र झुन्डिएका झालरबत्तीहरूलाई हेरिरहेँ । कतै राजा रवि वर्मा झुन्डिएका थिए भने कतै हेब्बार झुन्डिएका थिए । एउटा भित्तामा बया (भँगेरोजस्तो चरो )को गुँड झुन्डिएको थियो भने त्यसमा एउटा यस्तो बाँदरको चित्र पनि थियो जसले चराको गुँड भत्काउने गर्थ्यो भनेर लोककथाहरूमा वर्णन गरिएको छ । अरू पनि केके र कुन कुन देशविदेशका विचित्र वस्तुहरू कि त भित्तामा झुन्डिएका थिए कि भुइँमा राखिएका थिए । एउटा महङ्गो गलैँचामाथि आफ्नो सिगार निभाउँदै मैले के पनि अनुभव गरेँ भने विभिन्न पाहुनाहरूसँगै त्यस हलले
कुनै सङ्ग्रहालयको र चिडियाखानाको पनि आनन्द दिइरहेको थियो । कुनै कुनै चरीहरू त साँच्चिकै बुलबुल थिए ।

म यस्तै चिन्तन अनुचिन्तनमा डुबिरहेकै समयमा अचानक कतैबाट डिनर आरम्भ भएको भन्ने सूचना आयो । म त्यसै गरी झस्केँ जसरी कुनै वेला बहालपुरमा अचानक महावत खाँ आउँदा शाहज्यादा खुर्रम झस्केको थियो । मैले यस डिनरको सूचना त्यही तीन दिनपहिले पाएको थिएँ र त्यसै दिनदेखि मैले आफूलाई आधापेट खानामा टिकाएर राखेको थिएँ । विवाहभन्दा पहिलाको ब्रह्मचर्यजस्तै । उभिएपछि थाहा पाएँ, खाना टेबुलमा लगाइएको छ र उभिएरै खानुपर्ने छ । मलाई भने उभिएर खाने कुरासित झर्को नै लाग्छ । यस्तो चलन चलाउने कुनचाहिँ धूर्त रहेछ कुन्नि ? मलाई त के लाग्छ भने उभिएर गर्न सकिने एउटा मात्र काम छ र त्यो हो उभिनु । बाँकी सबै काम कि त बसेर गरिन्छ कि सुतेर गरिन्छ ।

अब टेबुलतिर मानिसहरू यसरी ओइरिने भएका थिए जसरी मरेको गधामाथि गिद्धहरू ओइरिन्छन् । त्यसै समयमा एउटा नवयुवकले भन्यो, ‘लेडिज फर्स्ट’ । म रिसले भुट्भुटिएँ । सबै कुरामा केटीहरू नै पहिले ? इन्द्र पनि ऋषिमुनिहरूको तप भङ्ग गर्नका लागि उर्वशी, मेनका या तिलोत्तमालाई नै पठाउँथे । यदि एकपटक मात्र पनि कुनै गुन्डा या तन्नेरी लठैतलाई पठाएको भए इलाकाका सबै आश्रमहरू काँजीहाउस बन्ने थिए । अझै पनि अवस्था उही छ । दिल्लीमा एउटा शिक्षण संस्थान छ जहाँ केटीहरूले जेसुकै लगाए पनि या नलगाए पनि, बरन्डामा चुरोट तन्काए पनि र केटाहरूलाई सताए पनि सबै स्वीकार्य मानिन्छ । अँ, केटाहरूले भने केही गर्न पाउँदैनन् । उनीहरूले आँखा झुकाउनुपर्छ र छाप्रामा गएर चिया पिउनुपर्छ । क्यान्टिनमा त पहिलेदेखि नै सौन्दर्यस्वयंवर चलिरहेको हुन्छ । ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः ।’

झन्डै एक घण्टापछि महिलाहरूले कुरुक्षेत्र छाडे । त्यसपछि मैले टेबुलरूपी संयोगितालाई वरण गर्ने प्रयत्न गरेँ तर असफल भएँ । पूर्वतिरबाट पस्न खोजेको त त्यहाँ कुनै बुढामान्छेका नक्कली दाँत र चस्मा खसेका थिए । पश्चिमतिरबाट पस्न खोज्दा तिनै बुढाबा आफैँ लडिरहेका थिए । उत्तरतिरबाट पस्न चाहन्थेँ तर त्यहाँ एक जना नरननारी रूपका व्यक्ति थिए जसलाई नहटाई पस्न सकिँदैनथ्यो । दक्षिण किल्ला फत्ते गर्ने सम्भावना त थियो तर त्यहाँ युद्धपछिका रित्ता खोकाझैँ रित्ता प्लेटबाहेक केही थिएन । अँ, चम्चाहरू भने अवश्य थिए । मैले एउटा चम्चा उठाएँ र एउटा कुनामा उपेक्षित अवस्थामा भोक्ताको प्रतीक्षा गरिरहेका लालमोहनमाथि ध्यान केन्द्रित गरेँ । त्यो देखेर त मलाई आश्चर्य पो लाग्यो यति राम्रो कुरा छोडेर यी सम्भ्रान्त मानिसहरू किन सलाद र सुपसित नाता लगाउन खोजेका होलान् भनेर । मैले उनीहरूको पापको प्रायश्चित्त गर्ने उद्देश्यले एउटा कचौरा उठाएँ र यस्तो ठाउँमा गएर बसेँ जहाँ लालमोहन र मेरा बिचमा चम्चाबाहेक अरू कोही थिएन ।

मैले बसेर लालमोहन खाइरहेँ । एकभन्दा एक उम्दा थियो । प्रत्येकबाट कुनै सच्चा कलाकारको साधनाको अनुभूति हुन्थ्यो । मैले खाइरहेँ र खाइ नै रहेँ । बिच बिचमा मैले डिनर टेबुलतिर लगिँदै गरिइरहेका रक्सीका बोतलहरूलाई पनि हेरिरहेँ । तिनको गति र सङ्ख्या देखेर त देशको खडेरीयुक्त क्षेत्रमा यही रक्सीले किन सिँचाइ नगरेको होला भन्ने लागिरह्यो । यदि रक्सीले अफिसर, समाजसेवक र कलाकार जन्माउन सक्छ भने खेतबाट गहुँ, जुनेलो र धान किन उब्जाउन सक्दैन ? म यिनै उदात्त विचारहरूमा हराइरहेको वेला एक्कासि थाहा पाएँ लालमोहनको भाँडो त रित्तिइसकेछ । मैले त्यसलाई उठाएर टेबुलमा फूलदानी राखेझैँ राखिदिएँ ।

खाना खाएर सबैजना एउटा अर्को कोठामा गए र त्यहाँ सोफा तथा गलैँचामा बसे । रक्सीको लहर अझै चलिरहेकै थियो । एकजना सोझाजस्ता सज्जनले भने रोटीको नाम नै रुमाली रोटी भन्ने सुनेपछि रोटीलाई नै रुमालका रूपमा प्रयोग गर्न सकिएला कि भनेर त्यसलाई पट्याएर गोजीमा हालेका थिए । ठेकेदार साहेब पनि कति खुसी थिए भने शरीरका दुबै भागबाट पटका पड्काइरहेका थिए । मेजर जनरलले कुनै फौजी ठट्यौली सुनाएका थिए जुन सुनेर आई. सी. एस.लाई छाडेर सबै मन फुकाएर हाँसे । हाँस्न त उनी पनि हाँस्दा हुन् तर उनीसित एउटा घटना भएछ । उनी एउटा सिउँडीको गमलालाई मुढा ठानेर त्यसमाथि बस्न पुगेछन् र यस प्रक्रियामा सिगारले उनको घाँटीको बाटो समातेछ । यस अवस्थामा उनले हाँस्न नमिल्ने भएछ ।

कफी पिएपछि डिनर सकियो । आयोजककी पत्नीले सबैसित हात मिलाइन् भने पत्नीका पतिले आफैँ गएर सबैका कारका ढोका आफ्नै हातले खोले । एउटा तन्नेरीले त आयोजकपत्नीको म्वाइँ पनि खायो । केटो कुमारै जस्तो थियो । सके उसको बाउ पनि कुमारै हुँदो हो ! जे होस्, डिनर भने सकिएको थियो तर मलाई भने अझै पनि यो डिनर कुन उपलक्षमा थियो भन्ने कुराको सुइँको पनि लागेको थिएन । तर पाहुनाहरूलाई घरबाट निस्किँदै गरेको देखेर आयोजकपत्नी जुन रूपमा प्रसन्न देखिन्थिन् त्यसलाई देखेर के अनुमान गरेँ भने पक्कै यो डिनर उनको गृहप्रवेशको शुभ उपलक्षमा आयोजित थियो ।

०००
रवीन्द्र त्यागीको ‘प्रतिनिधि व्यङ्ग्य’को ‘डिनर’बाट नेपालीमा अनुवाद ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तैलचित्र

तैलचित्र

रवीन्द्रनाथ त्यागी
एउटा ससानो कुरो

एउटा ससानो कुरो

रवीन्द्रनाथ त्यागी
स्ट्राइक

स्ट्राइक

रवीन्द्रनाथ त्यागी
प्रजातन्त्र

प्रजातन्त्र

रवीन्द्रनाथ त्यागी
हाम्रो राजभाषा

हाम्रो राजभाषा

रवीन्द्रनाथ त्यागी
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x