हरि खनालप्रतिगमन
मन्तराणीज्यूको हिल किसानको आँगनमा हिँड्दाहिँड्दै बटारियो । उहाँ कराउनुभयो 'मलाई लडाउने भयो यो आँगनले ।' पिए चिच्याए 'कतै प्रतिगमनकारीको षड्यन्त्र त होइन ?'

हरि खनाल :
गाउँमा एउटा एनजिओले साझेदारी विधिमा तीन घरमा शौचालय बनायो । आफ्नो दलका सक्रिय सदस्यको घरमा शौचालय बनाउने आग्रह मन्तरीज्यूकै थियो । निर्माण सकिएपछि उहाँकै वरद् बाहुलीबाट उद्घाटन गराउने योजना बन्यो । योजनाअनुसार मन्तरीज्यूको हेलिकप्टर अवतरण भयो ।
अरू बेला गाउँका सबैजना उल्टिएर मन्तरीज्यूलाई हेलिप्याडमै स्वागत गर्न पुग्थे । यसपटक खासै मानिस देखिएनन् । मन्तरीज्यूले हिँड्दाहिँड्दै सोध्नुभयो ‘के यो गाउँमा पनि प्रतिगमनकारीको सङ्ख्या बढ्दैछ कि कसो ?’
शौचालय प्राप्त व्यक्तिले छाता ढल्काउँदै भने ‘हजुर खासै छैनन् । खेतीको समय भएकाले धेरैजसो खेतमा गएका होलान् । मैले नजानू त भनेको थिएँ तर खै ?’
‘हो यही खै मा त प्रतिगमनको गन्ध आउँछ । खैर केही छैन ।’ मन्तरीज्यूले चित्त बुझाउनुभयो ।
उद्घाटन कार्यक्रमको शैली राम्रै राखिएको थियो । मन्तरीज्यूले रिबन काट्ने अनि शौचालयभित्र पस्ने । अलिकति तुर्क्याउने वा पिरित्त पार्ने वा खलासै पार्ने। मन्तरीज्यू बाहिर आउनुभएपछि मन्त्राणीज्यूले पनि त्यसै गर्ने । शिलालेख पनि राम्रै लेखिएको थियो आज मिति …….मा …… संस्थाबाट निर्मित शौचालयको माननीय मन्तरी र मन्तराणीज्यूहरूले तुरुक्क/पिरित्त/खलास पारी गरिमामय उद्घाटन गर्नुभयो ।
उद्घाटन गर्नु अघि मन्तरीज्यूले सोध्नुभयो ‘अनि यो एउटा मात्रै हो कि अरू पनि उद्घाटन गर्ने ?’
‘अरू दुईओटा पनि छ हजुर ।’
‘अनि सबैमा तुरुक्क/पिरित्त/खलास पार्नुपर्ने हो ?’ मन्तरीज्यूले सोध्नुभयो ।
‘हो हजुर ।’ आयोजकको जवाफ ।
‘मलाई त अघिदेखि पिरित्त होइन सम्पूर्ण खलास पार्न मन छ कसरी अड्कलेर राख्ने त ?’ मन्तरीज्यूले सोध्नुभयो ।
‘मलाई पनि त हो नि ।’ मन्त्राणीज्यूले पनि सोही कुरा भन्नुभयो ।
‘केही छैन हजुर । हजुरहरूले पछाडिको नआए अगाडिको तुरुक्क । तुरुक्कले नपुगे पिरित्त र पिरित्तले पनि नपुगे खलास ।सक्नुहुन्छ अड्कलेर राख्नुहोस् । सकिएन भने हामी नै अलि अलि झिकेर प्रसादको रूपमा बाँकी दुई ओटामा पनि लगेर चढाउँला नि त ।’ आयोजकले भने । मन्तरीज्यूको अनुहारमा मन्द मुस्कान देखियो ।
कार्यक्रम दोस्रो विकल्पबाट पूरा भयो । जलपान कार्यक्रममा केही वयस्कहरू जम्मा भए । दुई जना युवाहरू पनि आए ।
‘ए युवाहरू अझै गाउँमा ? तिमीहरू कतै गएनौ ? ‘ मन्तरीज्यूले सोध्नुभयो ।
‘हामीले त पाउनु दुख पायौँ नि ।’ युवाहरूले एकै स्वरमा भने ।
‘के भयो र ?’ मन्तरीज्यूले सोध्नुभयो ।
‘के भएन भन्नुस् न । साठी लाख खर्च गरेर अमेरिका छिरेको । गएको दुई महिनामै घोक्र्याएर पठायो । विमानस्थलसम्म सिक्रीले बाँधेर ल्यायो । यी खुट्टामा डाम हेर्नुस् त ।’ एक युवकले देखाए ।
‘तिमीहरूले बेलैमा फोन गरेका भए त म डोनाल्ड ट्रम्पलाई भनिदिन्थेँ नि ।’ मुस्कुराउँदै भने मन्तरीज्यूले ।
‘तपाइँले डोनाल्ड ट्रम्पलाई फोन गर्ने ? लु यस्ता बकम्फुसे कुराचाहिँ नगर्नूहोस् । यी त जाली कुरा हुन् मन्तरीज्यू । हामी सर्वस्व भएर आएका छौँ बरू कुनै रोजगारीमा लगाइदिनुपर्योस ।’ अर्का युवकले भने ।
‘तिमीहरूमा प्रतिगमनको भूत चढेछ । म तिमीहरूको बोलीबाटै बुझ्दैछु ।’ मन्तरीज्यू जङ्गिए ।
‘किन हजुरका सबै कुरा नपत्याएकाले ? अनि मुलुकमै रोजगारी चाहियो भनेको भएर प्रतिगमन देख्नुभएको होला हैन ?’ अर्का युवक पनि जङ्गिए ।
‘हेर भाइ हो । मन्तरीज्यूसँग धेरै नबोल । गाली बेइज्जतीमा जानुपर्ला है खोरमा । याशिका खोर गएको खबर पढेनौ ? परछाइँले हिरासतको हावा खाएको सुनेनौ ?’ मन्तरीज्यूको पिएले चोर औँला देखाउँदै युवाहरूलाई हपारे ।
‘मलाई अघिदेखि शङ्का लाग्दैछ युवा भएर देशमा बस्ने भनेपछि यी प्रतिगमनकारी हुनुपर्छ । प्रमाणित भयो कि भएन ?’ मन्तरीज्यूले पिएतिर हेर्दै भने । त्यहाँ निकैबेर खासखुस चल्यो । अनि नाराबाजी शुरु भयो ‘विकासप्रेमी मन्तरीज्यू जिन्दावाद । प्रतिगमन मुर्दावाद ।’
मन्तरीज्यूको हेलीप्याडतर्फ सवारी हुने बेला भयो । उहाँको कार्यक्रमको तालिका निकै व्यस्त थियो । कुनै जिल्लामा इङ्लिस स्कुलको उद्घाटन, कुनै जिल्लामा पार्टीको वडा कार्यालय उद्घाटन, कतै गृहप्रवेश उद्घाटन । उठ्ने बेलामा दही ओठमा लगाइदिने भनेर शौचालय प्राप्त घरका व्यक्तिले बजारमा दही किन्न पठाएका थिए । दही ल्याउने मान्छे आइपुगेकै थिएनन् । सबैको ध्यान दही ल्याउनेतिर थियो ।
‘अब उठौँ हेलीकप्टरमा चढ्ने बेलामा खाए पनि हुन्छ ।’ मन्तरीज्यूका पिएले आइडिया दिए । सबैजना उठे । मन्तराणीज्यूको हिल किसानको आँगनमा हिँड्दाहिँड्दै बटारियो । उहाँ कराउनुभयो ‘मलाई लडाउने भयो यो आँगनले ।’
पिए चिच्याए ‘कतै प्रतिगमनकारीको षड्यन्त्र त होइन ?’ जे होस् हिल नाच्दानाच्दै मन्तरीज्यूका दुई भुसतिघ्रे रक्षकले मन्तराणीज्यूलाई च्याप्पै समाते र आँगनको प्रतिगामी षड्यन्त्र विफल भयो । हेलिकप्टरको नजिक पुग्दा दही पनि आइपुग्यो ।
मन्तरीज्यूको ओठमै पुगेको दही पनि फर्कियो । मन्तरीज्यूले भन्नुभयो ‘दहीमा प्रतिगामी बासना आयो ।’ दही ल्याउने मान्छे जिल्लिए । हेलिकप्टरले हावा चलाउन थाल्यो । जनता जनार्दन चिच्याए ‘हाम्रो खाइदल जिन्दावाद । हाम्रा विकासप्रेमी मन्तरी र मन्तराणी जिन्दावाद ।’
‘प्रतिगमनको पनि मुर्दावाद भनूँ न ।’ एकजनाले प्रस्ताव गरे ।
अर्काले सोधे ‘प्रतिगमन भनेको के हो ?’
एकजनाले मुसुमुसु हाँस्दै भने ‘अघि यहाँ आउनुभयो नि गमन भयो । अहिले फर्किनुभयो नि अब यताको लागि प्रतिगमन भयो ।’
‘त्यसो भए मुर्दावाद नभनूँ । फर्किएकै राम्रो ।’ अर्काले जवाफ दिए । हेलिकप्टरले भने डाँडो काटिसकेको थियो ।
०००
धादिङ








































Dai tapai ko Rachana Sabi ghat lagdo Cha. Arko sirjana ko praticha ma chu.