साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रतिगमन

मन्तराणीज्यूको हिल किसानको आँगनमा हिँड्दाहिँड्दै बटारियो । उहाँ कराउनुभयो 'मलाई लडाउने भयो यो आँगनले ।' पिए चिच्याए 'कतै प्रतिगमनकारीको षड्यन्त्र त होइन ?'

Nepal Telecom ad

हरि खनाल :

गाउँमा एउटा एनजिओले साझेदारी विधिमा तीन घरमा शौचालय बनायो । आफ्नो दलका सक्रिय सदस्यको घरमा शौचालय बनाउने आग्रह मन्तरीज्यूकै थियो । निर्माण सकिएपछि उहाँकै वरद् बाहुलीबाट उद्घाटन गराउने योजना बन्यो । योजनाअनुसार मन्तरीज्यूको हेलिकप्टर अवतरण भयो ।

अरू बेला गाउँका सबैजना उल्टिएर मन्तरीज्यूलाई हेलिप्याडमै स्वागत गर्न पुग्थे । यसपटक खासै मानिस देखिएनन् । मन्तरीज्यूले हिँड्दाहिँड्दै सोध्नुभयो ‘के यो गाउँमा पनि प्रतिगमनकारीको सङ्ख्या बढ्दैछ कि कसो ?’

शौचालय प्राप्त व्यक्तिले छाता ढल्काउँदै भने ‘हजुर खासै छैनन् । खेतीको समय भएकाले धेरैजसो खेतमा गएका होलान् । मैले नजानू त भनेको थिएँ तर खै ?’
‘हो यही खै मा त प्रतिगमनको गन्ध आउँछ । खैर केही छैन ।’ मन्तरीज्यूले चित्त बुझाउनुभयो ।

उद्घाटन कार्यक्रमको शैली राम्रै राखिएको थियो । मन्तरीज्यूले रिबन काट्ने अनि शौचालयभित्र पस्ने । अलिकति तुर्क्याउने वा पिरित्त पार्ने वा खलासै पार्ने। मन्तरीज्यू बाहिर आउनुभएपछि मन्त्राणीज्यूले पनि त्यसै गर्ने । शिलालेख पनि राम्रै लेखिएको थियो आज मिति …….मा …… संस्थाबाट निर्मित शौचालयको माननीय मन्तरी र मन्तराणीज्यूहरूले तुरुक्क/पिरित्त/खलास पारी गरिमामय उद्घाटन गर्नुभयो ।

उद्घाटन गर्नु अघि मन्तरीज्यूले सोध्नुभयो ‘अनि यो एउटा मात्रै हो कि अरू पनि उद्घाटन गर्ने ?’
‘अरू दुईओटा पनि छ हजुर ।’
‘अनि सबैमा तुरुक्क/पिरित्त/खलास पार्नुपर्ने हो ?’ मन्तरीज्यूले सोध्नुभयो ।
‘हो हजुर ।’ आयोजकको जवाफ ।
‘मलाई त अघिदेखि पिरित्त होइन सम्पूर्ण खलास पार्न मन छ कसरी अड्कलेर राख्ने त ?’ मन्तरीज्यूले सोध्नुभयो ।
‘मलाई पनि त हो नि ।’ मन्त्राणीज्यूले पनि सोही कुरा भन्नुभयो ।

‘केही छैन हजुर । हजुरहरूले पछाडिको नआए अगाडिको तुरुक्क । तुरुक्कले नपुगे पिरित्त र पिरित्तले पनि नपुगे खलास ।सक्नुहुन्छ अड्कलेर राख्नुहोस् । सकिएन भने हामी नै अलि अलि झिकेर प्रसादको रूपमा बाँकी दुई ओटामा पनि लगेर चढाउँला नि त ।’ आयोजकले भने । मन्तरीज्यूको अनुहारमा मन्द मुस्कान देखियो ।

कार्यक्रम दोस्रो विकल्पबाट पूरा भयो । जलपान कार्यक्रममा केही वयस्कहरू जम्मा भए । दुई जना युवाहरू पनि आए ।
‘ए युवाहरू अझै गाउँमा ? तिमीहरू कतै गएनौ ? ‘ मन्तरीज्यूले सोध्नुभयो ।
‘हामीले त पाउनु दुख पायौँ नि ।’ युवाहरूले एकै स्वरमा भने ।
‘के भयो र ?’ मन्तरीज्यूले सोध्नुभयो ।
‘के भएन भन्नुस् न । साठी लाख खर्च गरेर अमेरिका छिरेको । गएको दुई महिनामै घोक्र्याएर पठायो । विमानस्थलसम्म सिक्रीले बाँधेर ल्यायो । यी खुट्टामा डाम हेर्नुस् त ।’ एक युवकले देखाए ।

‘तिमीहरूले बेलैमा फोन गरेका भए त म डोनाल्ड ट्रम्पलाई भनिदिन्थेँ नि ।’ मुस्कुराउँदै भने मन्तरीज्यूले ।
‘तपाइँले डोनाल्ड ट्रम्पलाई फोन गर्ने ? लु यस्ता बकम्फुसे कुराचाहिँ नगर्नूहोस् । यी त जाली कुरा हुन् मन्तरीज्यू । हामी सर्वस्व भएर आएका छौँ बरू कुनै रोजगारीमा लगाइदिनुपर्योस ।’ अर्का युवकले भने ।

‘तिमीहरूमा प्रतिगमनको भूत चढेछ । म तिमीहरूको बोलीबाटै बुझ्दैछु ।’ मन्तरीज्यू जङ्गिए ।
‘किन हजुरका सबै कुरा नपत्याएकाले ? अनि मुलुकमै रोजगारी चाहियो भनेको भएर प्रतिगमन देख्नुभएको होला हैन ?’ अर्का युवक पनि जङ्गिए ।

‘हेर भाइ हो । मन्तरीज्यूसँग धेरै नबोल । गाली बेइज्जतीमा जानुपर्ला है खोरमा । याशिका खोर गएको खबर पढेनौ ? परछाइँले हिरासतको हावा खाएको सुनेनौ ?’ मन्तरीज्यूको पिएले चोर औँला देखाउँदै युवाहरूलाई हपारे ।

‘मलाई अघिदेखि शङ्का लाग्दैछ युवा भएर देशमा बस्ने भनेपछि यी प्रतिगमनकारी हुनुपर्छ । प्रमाणित भयो कि भएन ?’ मन्तरीज्यूले पिएतिर हेर्दै भने । त्यहाँ निकैबेर खासखुस चल्यो । अनि नाराबाजी शुरु भयो ‘विकासप्रेमी मन्तरीज्यू जिन्दावाद । प्रतिगमन मुर्दावाद ।’

मन्तरीज्यूको हेलीप्याडतर्फ सवारी हुने बेला भयो । उहाँको कार्यक्रमको तालिका निकै व्यस्त थियो । कुनै जिल्लामा इङ्लिस स्कुलको उद्घाटन, कुनै जिल्लामा पार्टीको वडा कार्यालय उद्घाटन, कतै गृहप्रवेश उद्घाटन । उठ्ने बेलामा दही ओठमा लगाइदिने भनेर शौचालय प्राप्त घरका व्यक्तिले बजारमा दही किन्न पठाएका थिए । दही ल्याउने मान्छे आइपुगेकै थिएनन् । सबैको ध्यान दही ल्याउनेतिर थियो ।

‘अब उठौँ हेलीकप्टरमा चढ्ने बेलामा खाए पनि हुन्छ ।’ मन्तरीज्यूका पिएले आइडिया दिए । सबैजना उठे । मन्तराणीज्यूको हिल किसानको आँगनमा हिँड्दाहिँड्दै बटारियो । उहाँ कराउनुभयो ‘मलाई लडाउने भयो यो आँगनले ।’

पिए चिच्याए ‘कतै प्रतिगमनकारीको षड्यन्त्र त होइन ?’ जे होस् हिल नाच्दानाच्दै मन्तरीज्यूका दुई भुसतिघ्रे रक्षकले मन्तराणीज्यूलाई च्याप्पै समाते र आँगनको प्रतिगामी षड्यन्त्र विफल भयो । हेलिकप्टरको नजिक पुग्दा दही पनि आइपुग्यो ।

मन्तरीज्यूको ओठमै पुगेको दही पनि फर्कियो । मन्तरीज्यूले भन्नुभयो ‘दहीमा प्रतिगामी बासना आयो ।’ दही ल्याउने मान्छे जिल्लिए । हेलिकप्टरले हावा चलाउन थाल्यो । जनता जनार्दन चिच्याए ‘हाम्रो खाइदल जिन्दावाद । हाम्रा विकासप्रेमी मन्तरी र मन्तराणी जिन्दावाद ।’
‘प्रतिगमनको पनि मुर्दावाद भनूँ न ।’ एकजनाले प्रस्ताव गरे ।
अर्काले सोधे ‘प्रतिगमन भनेको के हो ?’
एकजनाले मुसुमुसु हाँस्दै भने ‘अघि यहाँ आउनुभयो नि गमन भयो । अहिले फर्किनुभयो नि अब यताको लागि प्रतिगमन भयो ।’

‘त्यसो भए मुर्दावाद नभनूँ । फर्किएकै राम्रो ।’ अर्काले जवाफ दिए । हेलिकप्टरले भने डाँडो काटिसकेको थियो ।

०००
धादिङ

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Prem kharel
Prem kharel
1 year ago

Dai tapai ko Rachana Sabi ghat lagdo Cha. Arko sirjana ko praticha ma chu.

Nepal Telecom ad
भाग्यमानीको निधार ठूलो

भाग्यमानीको निधार ठूलो

कृष्ण शर्मा सुमु
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
1
0
Would love your thoughts, please comment.x
()
x