साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रजातान्त्रिक पशु पार्टी

यसै सन्दर्भमा व्यवस्थापनको मनोमानी र ज्यादतीलाई लिएर जावलाखेल चिडियाखानाका सम्पूर्ण पशुहरुले एकछाक मात्र खाएर पालैपालो आमरण अनशन बस्ने भएका छन् ।

Nepal Telecom ad

विश्व शाक्य :

नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने तीनवटा परिचयहरु छन् । नेपाललाई सागरमाथाको देश भने पछि दुनियाले चिन्छन् । नेपाललाई मन्दिरै मन्दिरको देश भने पनि चिन्छन् र त्यस्तै गरी नेपाललाई गौतम बुद्ध जन्मेको देश भने पनि चिन्दछन् । यस पटकको जनक्रान्तिले ल्याएको प्रजातन्त्रले नेपाललाई विश्व जगतमा चिनाउने अर्को एउटा विशेषण (परिचय) थपेको छ, त्यो हो “प्रजातान्त्रिक पशु पार्टी” ।

बहुदलीय शासन व्यवस्थामा कुनै पनि राजनैतिक वा अराजनैतिक संघ, संस्था र पार्टीहरु खोलिनु आम कुरा हुन् । तर राष्ट्रिय पशुहरु संगठित भएर राजनैतिक पार्टी खोलिनु सायद विल्कुलै यो एउटा नौलो मात्र नभै अपूर्व घटना हो। यो असाधारण कुरा हो । त्यसैले नेपाललाई चिनाउने थप विशेषता पशुहरुको सामुहिक पार्टी “प्रजातान्त्रिक पशु पार्टी” पनि हुन गएको निर्विवाद छ ।

हालसालै श्रावण संक्रान्तिको लुतो फाल्ने दिन “प्रजातान्त्रिक पशु पार्टी ” को विधिवत् घोषणा भएको छ । २००७ सालको जनक्रान्ति देखि संलग्न राजनैतिक पार्टीहरु पछि नेपालमा पशुहरुको व्यापक सहभागिता रहेको यो अर्को ठूलो राजनैतिक पार्टी हुने विश्वास पर्यवेक्षकले लिएका छन् । पार्टीको झण्डा पहेलो रङ्गको पृष्ठभूमिमा मध्य भागमा सूर्य निल्न लागेको हनुमान राखिएको जानकारी प्रपपाबाट थाहा हुन आएको छ ।

वर्तमान सन्दर्भमा पहेलो रंग मन्डले तन्त्रको प्रतीक हो भने वैदिक कालिन सन्दर्भमा शान्ति, वैराग्य र आध्यात्मिक प्रखरताको प्रतीक हो । सूर्य पूर्वीय आध्यात्मिक चिन्तनको केन्द्रविन्दु हुनुका साथै सम्पूर्ण निरीह प्राणी जातिको संहारक तत्वज्ञान पनि हो । बाँदर अन्धोभक्त र बुद्धवीरको प्रतीक हो । पहेंलो रङ्गको पृष्ठभूमिमा सूर्यलाई हनुमान (बाँदर) द्वारा निल्न खोजिनुको तात्पर्य आध्यामिक र राजनैतिक मण्डलेतन्त्रबाट शोषित, पीडित निरीह धर्मान्ध प्राणीहरुलाई बहादुरीसाथ आर्थिक र भावनात्मक दासताबाट मुक्ति दिलाउनु हो भन्ने कुरा थाहा हुन आएको छ।

नेपालका वरिष्ठ पशुहरुको राष्ट्रिय भेलाले स्थापित स्वामी भुकण्डर दास अध्यक्ष रहनु भएको उक्त पार्टीमा भालेश्वर मिश्र, योगी गोरुराम महाराज, गन्धवीर बोके लामा, कबुतर मियाँ र श्रीमती मोमोबाई फर्नान्डीज सदस्य रहनु भएको छ । उक्त पार्टीको महामन्त्री पदमा बङ्गुरानन्द महास्थविर रहनु भएको जानकारी पनि प्राप्त भएको छ ।

बनकाली स्थित “प्रजातान्त्रिक पशु पार्टी ” केन्द्रीय कार्यालयको उ‌द्घाटन क्रममा झण्डोत्तोलन गर्दै अध्यक्ष भुकण्डर दासले पार्टीको मूलउद्देश्यहरु घोषणा गरेको थाहा भएको छ । ३० वर्षसम्मको निरंकुश शासकहरुले आर्थिक रुपले मात्र नेपाली (पशुहरु लगायत) हरुलाई भिखारी तुल्याएको नभई भावनात्मक रुपमै भिखारी बनाएको छ भन्नु हुँदै नेपाललाई धर्म परायण, समुन्नत र आदर्श राष्ट्र स्थापित गर्न प्रपपाले गहन भूमिका खेल्न सक्ने दृढता व्यक्त गर्नु भएको छ ।

भावनात्मक आवेग र खोक्रो नाराको भरमा मात्र नहिँडी भावनात्मक रुपमै देश, राष्ट्र र राष्ट्रियताको लागि समर्पित हुन समस्त पशुहरुलाई आग्रह गर्नु भएको पनि थाहा भएको छ । जसरी तीस बर्ष सम्मको निरंकुश शासनकालमा मण्डले शासकहरुले विरोधी विचारधारा तथा प्रतिबन्धित पार्टीहरुलाई तथानाम गाली र दोषाराेपण गरेर राजनैतिक, आर्थिक र धार्मिक स्वार्थ पूरा गर्थे त्यही प्रवृत्ति वर्तमान प्रजातान्त्रिक वातावरणमा पनि दोहरिन खोजेको भान आम नेपालीमा पर्न आँटेको स्थितिलाई ध्यानमा राख्दा मानिसले आत्मिकरुपमा शहीदको मूल्यांकन कहिल्यै गर्न नसकेको दोषारोपण गर्दै देश समाज र संस्कृतिको लागि मान्छे भन्दा पशुहरु बढी शहीद भएका छन तर शहीद हुनुको मूल्य मागेका छैनन् भन्नु भयो ।

धर्मको नाममा यहाँ अनगिन्ति शोषण गरिने, देउतालाई खुशी पार्न लाखौं निर्दोषीहरुको बली चढाईने, सभ्यता, संस्कृति र संस्कारको जगेर्ना गर्न असंख्य नीरीह प्राणीको वध गर्ने फाशिष्ट भनिने व्यवस्था भन्दा पनि घृणित धार्मिक परस्पराको अन्त्य आजको आवश्यकता हो । जसरी सदियौंदेखि मानिसले संस्कृति सभ्यता र संस्कारको नामले विभिन्न सम्प्रदायहरु खडा गरी धर्मको नाममा निरीह प्राणीहरु उपर शोषण गर्दै आईरहेको छ, त्यसरी नै सम्पूर्ण प्राणी जगतको कल्याणको लागि आज नीरीह शोषित समाजले पवित्र धर्मको नामसँग जोडिएका सम्पूर्ण सम्प्रदाय र तिनले जन्माएका विकृत संस्कार र अवशेषहरुलाई बली चढाउनु पर्ने आवश्यकता ठहर गरेको पनि थाहा भएको छ।” शोषक” र “सामन्ती” जस्तो सस्तो नाराको आडमा राष्ट्रिय मर्यादा र चरित्रलाई नै धमिल्याउने गरी पशुचरन तथा वन्यजन्तु आरक्षित जङ्गल असभ्य र अनियमित पाराले झण्डा गाड्दै अतिक्रमण गर्नु राष्ट्रघाती अराष्ट्रिय चरित्र हो भन्ने कुरा उल्लेख गरेको पनि थाहा हुन आएको छ ।

प्रजातान्त्रिक पशु पार्टीले निकट भविष्यमा अधिराज्य भरी पशु कार्यालयहरु खोल्ने र आम पशुहरुको सार्बभौमसत्ताको ग्यारेण्टी तथा संयुक्त राष्ट्र संघले घोषणा गरेको वातावरणीय सुरक्षा अन्तर्गतको सुविधा पुनः वहालीको लागि पशु समर्थन जुटाउन राष्ट्रव्यापी रुपमा आमसभाहरु गर्ने गराउने निधो गरेको पनि थाहा हुन आएको छ ।

यसै सन्दर्भमा व्यवस्थापनको मनोमानी र ज्यादतीलाई लिएर जावलाखेल चिडियाखानाका सम्पूर्ण पशुहरुले एकछाक मात्र खाएर पालैपालो आमरण अनशन बस्ने भएका छन् । राष्ट्रव्यापी रुपमा विभिन्न शहर, नगर, गाउँ र वस्तीहरुमा हुने भनिएको उक्त विरोध जुलुस तथा आम सभा गाईजात्राको पुनीत पर्वदेखि कृष्ण जन्माष्टमीसम्म गरिने जानकारी प्रपपाबाट थाहा हुन आएको छ ।

प्रपपाका महामन्त्रीबाट थाहा हुन आए अनुसार शोषितपीडित वर्गको नामबाट जँड्याहा भँड्याहा र खँड्‌याहा आचरणहीन तथा ठूलावडाका नामबाट घुस्याहा, भूस्याहा र घुस्याहा, लगायत दन्काउने, भन्काउने र फन्काउने जस्ता चरित्रका कसैलाई पनि पार्टी सदस्यता नदिने बुझिएको छ ।

“प्रजातान्त्रिक पशु पार्टी” गठनले पशु समाजमा ठूलो चहल पहल आउनुका साथै राष्ट्रिय पशुहरुलाई ठूलो राहत मिलेको विचार पर्यवेक्षकले गरेका छन् ।

०००
पर्यवेक्षक, वर्ष ७, अङ्क ५ – २०४७
कस्तो गधा रहेछ (२०५१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाहुरेकाे हुर्मत

लाहुरेकाे हुर्मत

विश्व शाक्य
धर्मपुराण

धर्मपुराण

विश्व शाक्य
दुई छोटा कविता

दुई छोटा कविता

विश्व शाक्य
लाैराेकाे जात थर

लाैराेकाे जात थर

विश्व शाक्य
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x