रवीन्द्रनाथ त्यागीराष्ट्रिय किराको चुनाव
म व्यक्तिगत रूपमा यसको यसै प्रतिभाको कायल छु । यस्तै होनहार जीवलाई नै राष्ट्रिय किराको पद दिएमा हामीलाई जुन प्रेरणा र चरित्रबल प्राप्त हुनेछ त्यो हाम्रो संस्कृतिअनुकूल पनि हुनेछ ।

रवीन्द्रनाथ त्यागी :
व्यङ्ग्यानुवाद : रमेश समर्थन
स्वाधीनतापछि केही काम हामीले निकै ठुल्ठुलै किसिमका गरेका हौँ । यी यस्ता काम हुन् जसलाई सधैँ इतिहासमा सम्झिरहिने छ । यी कामहरूमा एउटा थियो राष्ट्रिय पन्छीको चयन गर्नु । त्यसो त राष्ट्रका सबै चराहरू राष्ट्रिय नै हुन्छन् तापनि जसरी सबै कविहरूलाई ‘राष्ट्रकवि’ भनेर सम्बोधन गरिँदैन, त्यसै गरी सबै चराहरूलाई पनि राष्ट्रिय चरा मान्न सकिँदैन । भनिन्छ, राष्ट्रिय चराको चयनमा चराहरूबाहेक मानिसहरूले पनि सहभागिता जनाएका थिए । कैयौँ चराहरूका तर्फबाट दावीहरू पेस भए । यदि परेवा शान्तिको प्रतीक हो र कविवर बिहारीलालदेखि पण्डित जवाहरलाल नेहरूसम्मका लागि प्रिय छ भने कुखुराको भाले देशका सबै होटल तथा रेस्टुरेन्टहरूको चुनावचिह्न हो । यदि हाँसले सरस्वतीको सिफारिस ल्याउन सक्छ भने लाटोकोसेरो पनि लक्ष्मीजीको पुरानो सेवक हो । अनि सुगा, मैना, चखेवा, कौवा, बुलबुल अनि ढुकुरको त कुरै के गर्नु ? हिन्दी तथा उर्दूको आधा काव्य त यिनै निर्दोष चराहरूको पखेटामा चढेर उडिरहेको छ ।
चार सय वर्षपहिलेका सबै नायिकाहरूको नाक सुगाको जस्तो हुने गर्थ्यो र यतिका दिनसम्म पनि नाकको कुनै अर्को मोडेल लोकप्रिय हुन सकको छैेन । त्यही अवस्था सुगा र मैनाको किस्साको पनि रह्यो । चखेवालाई लिएर पनि निकै मार्मिक अनुप्रासहरूको रचना भयो, ‘चकवा ज्यों चन्द्र चितैं चौगुनो चपत है ।’ एउटा अर्को चरो हुन्थ्यो हारिल जसलाई देखेर सूरदासले भनेका थिए, ‘हमारे हरि हारिल की लकरी ।’ महाकवि दागको जस्तै यो चरो पनि जहाँ बस्छ त्यहीँ बसिरहन्छ । यस चराले पनि हाम्रो चरित्रको प्रतिनिधित्व गर्न सक्थ्यो तर यसलाई पनि अवसर दिइएन । भौतिकवादको यस युगमा लक्ष्मीवाहनलाई हाम्रो राष्ट्रिय पन्छी नचुनेर हामीले मुजुरलाई पो यो गौरव प्रदान गर्यौँ । कति गलत निर्णय थियो यो ! वर्षा ऋतु आएपछि पङ्ख फिँजाएर नाच्नुबाहेक मुजुरलाई अरू के गर्न पो आउँछ र ?
अनि जहाँसम्म नाच्ने कुरो छ त भन्नेहरूले भनि नै दिएका छन्, जङ्गलमा मुजुर नाच्यो त कसले देख्यो ? अँ मुजुरको पङ्ख भने अवश्य नै मूल्यवान् हुन्छ । द्वापर युगमा कृष्णले त्यसलाई आफ्नो शिरमा लगाउँथे भने कलियुगमा किशोर साहूले उनैमाथि ‘मयूरपङ्ख’ नामको तस्वीर पनि बनाइदिए । तर यत्तिकै आधारमा त कुनै चरालाई राष्ट्रिय चरो नमानिनुपर्ने हो ।
चरासँगै एउटा राष्ट्रिय पशुको पनि चयन गरियो । यहाँ पनि विशालकाय तथा बलिष्ठ प्रकारका दावेदारहरूलाई पूरा प्रतिष्ठा दिइएन । हात्तीलाई नै लिऊँ न । हात्ती कालो भए पनि सेतो भए पनि हाम्रो देशमा धेरै मात्रामा पाइन्छ । यसले पनि हाम्रा करोडौँ जनताको सही चित्र प्रस्तुत गर्दछ – उही सुतेको पौरुष, उही लालस्य अनि उही मत्तापन । शाकाहारी हुनु पनि छुट्टै विशेषता हो । गणेशजीको सेवा गरेको चिरन्तन प्रमाणपत्र प्रस्तुत छ । एकदम विशुद्ध भारतीय प्रतिनिधि । पाँकोमा पर्यो भने पर्यो पर्यो । त्यहाँबाट निस्किन विदेशी सहायता आए मात्र सम्भव हुने । त्यस सन्दर्भमा पनि समस्या के छ भने कुनै सानोतिनो ढोईले प्रयत्न गरी भने त मत्तासँगै ढोई पनि रसातलको दिशामा प्रस्थान गर्छे । कति सुखद स्थिति होला !
अनि जहाँसम्म देशका युवतिहरूको कुरो छ त उनीहरू त शताब्दियौँदेखि नै गजगामिनी हुँदै हुन् । तर हेर्नुस् त हात्तीको दावा पनि स्वीकार गरिएन । साँढेलाई पनि यसमा स्वीकार नगरिने कुरो त झन् मेरो सोचभन्दा बाहिरकै कुरो भयो । हाम्रो त सारा विधान नै प्रेम तथा अहिंसामा आधारित छ । अब भने कसैले मलाई साँढेभन्दा ठुलो प्रेमी को छ भनेर भनिदिऊन् त ? एउटा बुन्देलखण्डी लोकगीतमा एउटा प्रेमी युवकले भगवान्सित प्रार्थना भगवान्ले उनलाई साँढे बनाइदिऊन् भनेर प्रार्थना गरेको छ र भनेको छ त्यसपछिको स्थितिलाई उसैले सम्हाल्ने छ ।
‘सय गाई अगाडि, सय गाई पछाडि । हे माता ! म त साँढे नै बन्न पाऊँ !’ गैंडा पनि शक्तिको प्रतीक हो । यसको छालाबाट ढाल बनाइन्थ्यो अनि यसको सिङबाट कामोद्दीपक औषधीहरू बन्छन् । निरालाको काव्यजस्तै पौरुष र प्रेम दुवैको ठोस प्रतीक । तर यसलाई पनि बेवास्ता गरियो । यद्यपि गैंडा यदि पूरै साइजको छ भने त्यसलाई बेवास्ता गर्न अलिक मुस्किलै पर्छ । यस्तो हुलमुलमा बिचरो गधाको अधिकारको हनन भयो त्यो अर्को पाटो भयो । गधालाई त झन् इमानदारीपूर्वक राष्ट्रिय पशु घोषित गर्न सकिन्थ्यो । घोडाका विषयमा त उसमाथि सामन्तवादको प्रतीक भएको आरोप छ तर गधा त सधैँ नै सर्वहारा वर्गमा पर्ने पशु हो नि ! त्यो हाम्रो पछौटेपन, हाम्रो सहनशीलता र हाम्रो शोषणको चिरन्तन प्रतीक रहेको छ ।
केही अन्य कुरामा पनि उसको अवस्था निकै दृढ तथा ठुलो छ । अनि त्यो साह्रै बुद्धू नै हुन्छ भन्ने पनि छैन । गधा त्यति सारो गधा पनि त हुँदैन नि ! न वेश्या सती, न गधा जती (यति) । तर यस सुधाको हक अहिले पनि मारियो र पनि यो अदालतसम्म पनि गएन । कौवा र चीलले फाइदा लुटे अनि बाघलाई राष्ट्रिय पशु घोषित गरिदिए । अहिंसावादी राष्ट्रको प्रतीक एउटा नितान्त मांसाहारी पशु ! एउटा नितान्त नम्र देशको यति उद्यत प्रतीक ! यो बाघ बङ्गालको शाही टाइगर हुने हो कि गिर लायन या रिम्बाको सेतो सिंह हुने हो भन्ने कुराको टुङ्गो भने अझै लागेको छैन ।
मेरो विचारमा यसको समाधान देशका जनताले आफैँ गर्लान् । यसका लागि क्षेत्रीय सेनाको गठन हुनेछ जसमा नयाँ स्वयंसेवकहरू नियुक्त हुनेछन् । पछि यिनीहरूले बसहरू जलाउने छन्, यात्रीलाई लुट्ने छन् अनि रेलका लिक उखेल्ने छन् । देशका विभिन्न आन्दोलनहरूमा रेलका लिकको उपयोगितालाई हामी बिस्तारै बुझ्दै छौँ । म त कहिलेकाहीँ के सोच्छु भने यदि देशमा यति लामो रेलको लिक नहुँदो हो त यी ठुलाठुला आन्दोलनहरूले कसरी बल पाउँदा हुन् ?
पक्षी र पशुपछि एउटा राष्ट्रिय किराको चयनको प्रश्न बाँकी रहन जान्छ अनि मेरो सुझाव के छ भने यसै सुरमा यो महान् जिम्मेवारी पनि पूरा गरिहाल्नुपर्छ । आउने पुस्तालाई बितेको पुस्ताले केही काम भने अधुरै छोडे भन्ने पर्न दिनु नै हुँदैन । यदि हामीले राष्ट्रिय किराको चयन गरेनौँ भने भावी इतिहासकारले हजारौँ वर्षपछि पनि लेख्नेछन् – हिन्दुस्तान पनि कुनै देश थियो जसको आफ्नो भन्ने राष्ट्रिय किरो पनि थिएन जसको उसले समय समयमा दर्शन गरेर गर्व महसुस गर्न सकोस् !
जहाँसम्म राष्ट्रिय किराको पदको कुरो छ त स्पष्ट नै छ केही किराहरूको अधिकार अन्य किराको भन्दा बढी नै छ । सबै किराहरू एक्काइस तोपको सलामी पाउने खालका पनि त छैनन् नि ! एउटा किरो थियो जो एक पटक एउटा किताबमै किचिएर मरेपछि अकबर इलाहावादीले उसमाथि विधिवत् एउटा पूर्ण कदको किताब नै लेख्नुपरेको थियो । त्यो किताब कति मार्मिक छ भने जबजब म टेबुलमाथिको यस किरालाई देख्छु त्यसलाई त्यहीँ किचिमिची पारिदिन मन लाग्छ ।
बत्तीको पुतलीकै कुरा गरौँ न, शताब्दियौँदेखि उर्दूप्रेमी नवयुवक र नवयुवतिहरू तिनीहरूलाई हेरी हेरी प्रेमको परीक्षाको तयारी गरिरहेका छन् । त्यो पनि बडो अनुपम किरो हो । यसलाई त केवल मायामा मर्नु छ चाहे त्यो बत्ती जस्तोसुकै होस् । जुन बत्ती बलेको देख्यो त्यसैको सेवा गर्न पुग्यो । कवि भन्छन्, ‘त्यसको चित्र कुनै तरिकाले लिन पनि सकिन्न यस पुतलीको सम्बन्ध त केवल बत्तीसित रहन्छ ।’ बत्ती शब्द निकै प्यारो लाग्छ । जब त्यसको उमेर बढी हुन थाल्छ तब प्रेमीहरू त्यसकी छोरीमाथि आँखा लगाउन थाल्छन् । अनि केटीको नाम सामान्यतया टुकी रहने गरेको छ ।
बत्तीको पुतलीका अतिरिक्त केही राजकुमारहरू पनि छन् जसले राष्ट्रिय किराको स्वयंवरमा सहभागिता जनाउन सक्छन् । सलह, धमिरो, सर्प , जुको, कमिला, लाम्खुट्टे अनि उडुस, यी सबै निकै खानदानी र प्रतिष्ठित किरा हुन् जसको दिग्विजयका गाथाहरू भाटहरूले कैयौं पटक गाइसकेका छन् । सलह निकै फ्यासनेबल किरो हो त्यसैले यो बम्बईतिर नै बढी पाइन्छ । यसले आफ्नो जाति र वर्गलाई निकै माया गर्छ अनि जब लुटपाट गर्नुपर्छ तब मिलेर गर्छ ।
सामूहिक विकास योजनाका क्षेत्रमा तथा सहकारी कृषि फर्महरूका विषयमा यिनीबाट प्रेरणा लिन सकिन्छ । आफ्ना रङ्गीचङ्गी पखेटाका सहायताले यिनले कोसौंको यात्रा सम्पन्न गर्छन् । यिनका पखेटा पनि कस्तो रङ्गका हुन्छन् भने कुनै पनि रूखका पातमा सजिलै लुक्न सक्छन् अनि यिनको दलबदलु प्रवृत्तिले यिनलाई विशेष प्रकारको राजनीतिक मान्यता पनि उपलब्ध गराउँछ । यसको रङ्ग पनि आसपासको वातावरण हेरेर बदलिइरहन्छ । यस किराको एउटा राष्ट्रिय गुण छ र त्यो हो अवसर हेरेर यसले अन्य किरालाई खाइ पनि दिन्छ ।
अनि धमिरो यस्तो किरो हो जुन साहित्यिक हुनुका साथै व्यावहारिक पनि हुन्छ । यसले अग्ला अग्ला गढीहरू बनाउँछ र आफ्नो समाजव्यवस्थालाई निकै चतुर्याइँका साथमा चलाउँछ । धमिराका नगरहरूमा राजा, रानी, श्रमिक अनि सिपाही धमिरा पनि छुट्टाछुट्टै हुन्छन् । रानी धमिराले माया मात्र गर्छे र परिणामस्वरूप फुल पार्छे । जुन श्रमिक धमिरा हुन्छन् तिनका न त पखेटा हुन्छन् न आँखा नै हुन्छन् । अन्य धमिराझैँ न त ती उड्न सक्छन् न त हेर्न नै सक्छन् । जीवनभरि यिनले केवल घर बनाउँछन् र रानी धमिराका बच्चाहरूको हेरचाह गर्छन् । सबै कुरो एकदम स्वाभाविक छ । धमिरा माटाभित्र नै बस्छन् ।
फारसीको एउटा कवितामा एउटा यस्तो महान् प्रेमीको कथा आउँछ जसमा प्रेमिकाको निर्दयताका कारण ऊ आत्महत्या गर्न जान्छ । उसले खेतमा एउटा खाडल खन्छ र त्यसमा बसेर ‘जिन्दगी देनेवाले सुन, तेरी दुनियाँ से दिल भर गया, मैं यहाँ जीते जी मर गया’ (ए जीवनदाता सुन, तिम्रो संसारदेखि मेरो मन भरियो, आफू त यहाँ जिउँदै मरियो !) भन्ने गीत गाउन थाल्छ । त्यति वेला सके अर्केस्ट्रा थिएन होला । गीतको प्रभाव पनि कस्तो भने सके पहिलो फाँकीपछि नै केही धमिराहरू दृश्यमा उपस्थित हुन्छन् । केही पाइजामाभित्र छिर्छन् भने केही कमिजमा पस्छन् । परिणाम के हुन्छ भने संसारको त्यस महान् प्रेमीले प्रेममार्गमा आत्महत्या पनि गर्न सक्दैन । माया गर्नेहरूलाई समय र समाजले सधैँ यसरी नै सताएका छन् ।
सम्पूर्ण परिस्थितिहरूलाई ध्यानमा राख्दै म जुको नै त्यस्तो किरो हो जुन राष्ट्रिय किरो बन्नका निम्ति अन्य किराहरूभन्दा बढी उपयुक्त छ भन्ने अन्तिम निष्कर्षमा पुगेको छु । यस किराको संस्कृतसम्मत नाम जलौका हो जसबाट चन्द्रवंश र सूर्यवंशको जस्तै यसको घराना पनि निकै शालीन तथा पुरानो हो भन्ने देखाउँछ । यसले स्थितिअनुकूल काम गर्छ र मिठो पानी र नुनिलो पानीमा पनि उत्तिकै आरामले बस्न सक्छ । अनि अर्को खुसीको कुरो त के पनि छ भने यसले अरूको रगत चुसेर जीवननिर्वाह गर्छ र यो काम निकै जिम्मेवारीपूर्वक सम्पन्न गर्छ जसका लागि यसको शरीरको दुवैतर्फ चषक लागेको हुन्छ । यसका कैयौँ जोर आँखा हुन्छन् । यसले पौडिन पनि जानेको हुन्छ र पदयात्रा पनि गर्न सक्छ ।
मौका पर्दा एउटा जुकाले अर्को जुकालाई पनि खाइदिन्छ जसबाट यसको पारस्परिक प्रेम पनि प्रकट हुन्छ । निष्कर्षमा पुग्दा सबैभन्दा ठुलो कुरो त के छ भने यो उभयलिङ्गी हुन्छ र अवसर पाउँदा भाले वा पोथी दुवैको भूमिका राम्रोसँग निर्वाह गर्न सक्छ । म व्यक्तिगत रूपमा यसको यसै प्रतिभाको कायल छु । यस्तै होनहार जीवलाई नै राष्ट्रिय किराको पद दिएमा हामीलाई जुन प्रेरणा र चरित्रबल प्राप्त हुनेछ त्यो हाम्रो संस्कृतिअनुकूल पनि हुनेछ ।
अब भने हामीले राष्ट्रिय किराको चयन छिटै गर्नुपर्छ । देशमा समय थोरै छ र गर्नुपर्ने कामहरू धेरै छन् । एउटा अर्को कुरो पनि छ र त्यो के हो भने हामीले राष्ट्रिय जनावर, चरा र किराको चयनसँगै तिनका सहायकको पनि नियुक्ति गर्नुपर्छ । सरकारको तरिकामा त विद्यालयहरूका लागि निरीक्षक, उपनिरीक्षक, सह उपनिरीक्षक र सहायक सह उपनिरीक्षक पनि हुने गरेका छन् । यस्तो अवस्थामा राष्ट्रिय चरा तथा राष्ट्रिय किराका ‘सहायक’ या ‘उप’ या ‘अतिरिक्त’ या ‘संयुक्त’ का विना तिनलाई राख्नु तिनीप्रति अत्याचार नै हुनेछ । बरु यस विषयमा विचार गर्नका लागि एउटा समिति पनि बनाउन सकिन्छ र विभिन्न राजनीतिक दलहरूसित परामर्श पनि गर्न सकिन्छ किनभने यस्ता सार्वजनिक महत्त्वका निर्णयहरू गर्दा हामीले सार्वजनिक रायको उपेक्षा पनि त गर्न सक्दैनौँ नि !
०००
रवीन्द्र त्यागीको ‘प्रतिनिधि व्यङ्ग्य’को ‘राष्ट्रीय कीडे का चुनाव’ शीर्षकको निबन्धबाट नेपाली अनुवाद ।
Subscribe
Login
0 Comments
Oldest






































