साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आआफ्नो हैसियत

फूलमा सौन्दर्य हुन्छ, सुगन्ध हुन्छ अनि कोमलता हुन्छ । तर लक्ष्मीजी भने फूललाई नै कुर्सी मानेर त्यसमै बसेकी छन् । धनकी देवी हुन् नि त ! जब देवीको नै यो अवस्था छ भने उनका कृपापात्रहरूमा उत्ताउलोपन किन नहाेस् त ?

Nepal Telecom ad

हरिशंकर परसाईं :

व्यङ्ग्यानुवाद : रमेश समर्थन

अखबार सकिएपछि म विज्ञापन पढ्न थाल्छु । त्यसो त अखबारहरूमा हुन्छ पो के र ? दिनदिनै उही उही समाचार – उसले पैसा खाएको थियो, उसको पोल खुल्यो, उसको तलासी लिइयो, ऊ गिरफ्तार भयो– यही त हो । न त म उहिले पैसा खान पाइने ठाउँको वरिपरि थिएँ न अहिले पोल खुल्नेहरूको वरिपरि छु । म त त्यहाँ पनि छैनँ जहाँ पैसा खाइने अड्डाहरू खोलिएका छन् । अर्थात् आफ्नो युगको इतिहासनिर्माणमा मेरो कुनै योगदान छैन । मेरो भागमा त इतिहासको कसम खाने काम मात्र परेको छ । त, अखबारमा सरसर्ती दृष्टि पुर्‍याएर म विज्ञापन पढ्न थाल्छु– खास गरी दिल्लीका होटेलहरूको । यसमा सरसता प्राप्त हुन्छ । अशोक होटलमा फ्रेन्च पक्वान्न । वाह ! जनपथको होटल गुलनार रेस्त्राँमा मुगली भोजन । अकबर होटलमा बार–ए–कबाब ! पढ्दापढ्दै मेरो मुखमा मुगल चिकन पसेको अनुभूति हन्छ अनि मैले यसकै स्वादमा घरको दालरोटी खाइदिन्छु । वञ्चितहरूका लागि आफ्नो सामान्य दालरोटीसँगै कल्पनामा अशोक होटललाई नै चबाएर सन्तोष प्राप्त गर्नु नै उसको ‘सम्पूर्ण क्रान्ति’ ठहरिन्छ ।

आज सबै होटलहरूमा गएर खाइसकेपछि एउटा विशेष विज्ञापनमाथि मेरो ध्यान गयो । यस्तो कुनै विज्ञापन त त्यसमा दिनदिनै छापिन्छ होला तर पहिले मैले त्यस कुरामा ध्यान दिएको थिइनँ । विज्ञापनमा प्रायः कुनै वृद्धको चित्र हुने गर्थ्यो । मलाई लाग्ने गर्थ्यो यो कुनै ‘हराएको मान्छे’को विज्ञापन होला जस्तो फिल्मी हिरो बन्न बम्बईतिर भागेका केटाहरूका बारेमा छापिएको हुन्छ । म सोच्थेँ, बुढाहरू पनि भाग्न थालेछन् ! छोराहरूले छपाएका होलान्‌– बुवा, तपाई जहाँ भए पनि फर्केर आउनुस् । तपाईं गएपछि आमाको स्थिति निकै बिग्रेको छ । (यो वाक्य पढुपछि त बुढा कहिल्यै नफर्किन सक्छन् ।)

होइन, बुढा भागेका होइनन् । माथि एमानको अक्षरमा लेखिएको छ… ‘इन मेमोरियम…’ अर्थात् स्मृतिमा ! तल बुढाका छोराहरूको नाम लेखिएको छ । साथै कम्पनीको नाम ठेगाना पनि छ, मानौँ भन्न खोजिएको छ –जसलाई यिनी बाजेको यादमा रुन मन लाग्छ उसले तत्काल कम्पनीको सामान किनेपछि सबै दुःख भाग्छन् ।

यी कुनै साहूजी थिए । साहूले कुनै कम्पनी खोलेका थिए । राम्रो गरेछन् । साहू थिए त कुनै स्यालुन खोलेर थोरै बस्थे ? साहूजीको यो कम्पनी खुब चलेको थियो । यो पनि राम्रै भयो नत्र छोराहरूलाई बाबुको खर्चिलो अखबारी सम्झनाको कुनै आवश्यकता नै पर्ने थिएन । आजकै दिन लालाजीको मृत्यु भएको थियो । यो पनि राम्रै भयो । के थाहा पछि कम्पनी डुब्न पनि सक्थ्यो । तर साहूजीका छोराहरूले निकै उन्नति गरे । सपूत भनेका यस्ता हुन्छन् । छोराहरूले आज घोषित रूपमा बाबुलाई सम्झना गरेका छन् । किन नगरून् त ! कम्पनी खोलेर र जमाएर मर्ने बाउहरू नै त सम्झिनलायक हुन्छन् नि ! साहूजी कहाँ गए भन्ने त छोराहरूलाई पनि थाहा नहोला । छापिएको भने यस्तो छ– हु लेफ्ट फर हेभेनली एबोड– अर्थात् जो आफ्नो स्वर्गीय निवासमा प्रस्थान गर्नुभयो । स्वर्गमा साहूनगर कलोनीको बङ्गला नम्बर पाँच साहूजीका लागि पहिले नै आरक्षित होला ।

मेरा पिताको मृत्यु भएको पनि कैयौँ वष भयो तर मैले आजसम्म पनि उहाँ कहाँ हुुनुहुन्छ भन्ने थाहा पाउन सकेको छैनँ । स्वर्गमा हुनुहुन्छ कि नर्कमा ? पुनर्जन्म भयो कि बाँकी नै छ ? मैले उहाँको स्मृतिमा फोटो छपाउने प्रेरणा पाइनँ किनभने उहाँले कुनै व्यवसाय जमाएर यो संसार छोड्नुभएन, बरु बिगारेर जानुभयो । उहाँले वास्तविक पितापन स्थापित गर्नुभएन । साहूजीले सही पितापन स्थापित गरेर यो संसार छोडे अनि साररूपमा व्यवसाय जमाएर गए । त्यसैले साहूजी स्वर्गीय भए भने मेरा पिताजीको मृत्यु मात्र भयो । अङ्ग्रेजीमा मरेकालाई ‘दि लेट’ भनिन्छ । हामी त्यसैलाई ‘स्वर्गीय’ वा ‘दिवङ्गत’ भन्छौँ । विश्वास तथा संस्कारको भ्रम भाषामा पनि आइहाल्छ ।

के छोराहरूलाई पक्कै थाहा होला त ? मलाई भने सन्देह छ । सके साहूजीको पुनर्जन्म भइसकेको होस् । मनुष्य जन्म त चौरासी लाख जुनीहरूमा घुमेर मात्र पाइन्छ । त्यसैले यति छिटै त साहूजी मान्छे बनेनन् होला । हुनसक्छ श्वानयोनि (कुकुरको जुनी)मा जन्मेर आफ्नै कारखानाको ढोका कुरेर बसेका होऊन् । अनि ती छोराहरूले त्यो बाहिर ढोकामा भुक्ने उनीहरूकै पूज्य तथा स्वर्गीय पिता हुन् भन्ने के थाहा पाऊन् ? उनले भित्रको विवरण त पढ्दैनन् बरु कुनै देवताले इनामको लोभमा उनलाई पक्राउ पो गराउने हुन् कि भन्ने डरले हत्तपत्त त्यो अखबार नै लुकाइदेलान् ।

यी छोराहरूले किन साहूजीलाई दुःखी हुने गरी सताउँछन् हँ ?

यस अखबारलाई त त्यस कारखानाका कर्मचारीले पनि हेर्लान् । अनि सके उनीहरू भन्लान् –‘यही हो त्यो दुष्ट साहू । मजदुरहरूको रगत चुस्थ्यो । कति थोरै पारिश्रमिक दिन्थ्यो अनि कति धेरै काममा जोत्थ्यो । मजदुर एक दिन बिरामी परे पनि पैसा काट्थ्यो । अहिले त रौरव नर्क भागिरहेको होला !’

व्यापारीहरूले पनि यसलाई देख्लान् । सके उनीहरू भन्लान् –‘धत्तेरिका ! आज एकाबिहानै कसको मुख हेर्नुपर्‍यो ! अरे यस साहूले त जससित पैसा लियो त्यसलाई दिँदै दिएन । कैयौं रिनदाताहरू रोइरहेका छन् यसको नाम लिएर ।’

मेरो सुझाव मान्ने भए त म यी पितृभक्तहरूलाई भन्ने थिएँ, ‘उमेर पुगेर बित्नुभएको पिताजीको फोटा यसरी नछाप । मानिसहरूले उहाँका बारेमा नानाथरी कुरा काट्छन् । उहाँको दबेको बदनामी बाहिर छताछुल्ल हुन्छ ।’

तर केटाहरूले मेरो कुरा मान्दैनन् । पिताको फोटो छपाउनु उनीहरूका लागि सजावट र विज्ञापन हो । साहूजी मरेको दिन पारेर उनको फोटो छपाउनु उनीहरूका लागि त्यति महत्त्वपूर्ण छ जति दीपावलीका दिन नयाँ साइनबोर्ड लगाउनु महत्त्वपूर्ण मानिन्छ । नत्र कसले चिन्ने साहूजीलाई ? उनले कस्तो पराक्रम गरे भनेर खोजीनिती गर्ने कसलाई चासो ? उनी मरे कि मरेनन् र मरे भने कहिले मरे भनेर थाहा पाउने आवश्यकता कसलाई छ ? तर केटाहरूले भने साहूजीको स्मृतिलाई राष्ट्रिय महत्त्व दिए ।

जब पैसा अलिक माथि पुग्छ अनि आफ्नो रूप प्रकट गर्न चाहन्छ । उसलाई म छु र पनि देखिएको छैनँ भनेर छट्पटी भइरहन्छ । ऊ आफूलाई अभिव्यक्त गर्न चाहन्छ । अनि पैसा फुटेर यसरी प्रकट हुन्छ जसरी पिलोबाट पिप निस्किन्छ ।

फोहरीपनका लागि पनि त हैसियत चाहिन्छ । मेरो हैसियत छैन त्यसैले साहूजीका छोराहरूमाथि हाँस्दै छु । यदि मसँग पैसा र फोहरीपन दुबै आए भने गाढा रङ्ग किनेर अनुहार रँगाउन चाहन्छु । एउटा गालामा पहेँलो, अर्कामा रातो, नाक हरियो अनि कपाल निलो ।

मेरा अगाडि एकजना पैसावाल युवकको विवाहको निम्तोपत्र छ । कैयौं रङ्गको छ । रङ्ग कति गाढा त भने त्यो विवाहको निम्तोपत्र हो कि सुद्ध्याइँको निम्तो हो भन्ने थाहै नहुने । बेहुलाका चित्रहरू पनि छन् – बसेको, सोचेको, लेख्दै गरेको र सितार बजाउँदै गरेको । मलाई थाहा छ लेनदेनको विषयमा यो केटो एकपटक राम्रैसँग पिटिएको थियो । एउटा फोटो त यो पनि रादिनुपर्थ्यो र लेखिनुपर्थ्यो– जुत्ता खाँदै बेहुला । यो निम्तोपत्र देखेर त वाक्वाकी लाग्छ । यस्तो लाग्छ पिलो पाकेर पुटेको छ र पिप तथा हडेदो रगत छताछुल्ल भएको छ ।

हिजो यता एउटा बरियात आएको थियो । मजदुरहरूका टाउकामा कैयौं ग्यासबत्तीहरू राखिएका थिए अनि बेहुलाको शृङ्गार देखेर त बेहुलीलाई नै बान्ता होलाजस्तो थियो । दुई दुईवटा ब्यान्ड र लाउडस्पिकर । निकै घमासान कोलाहल थियो । त्यसमा जन्तीलाई पनि थरी थरी रङ्गले पोतिदिएको भए अझ राम्रो हुँदो हो ।

मेरो भित्तामा एउटा क्यालेन्डर झुन्डिएको थियो जसलाई मैले झिकिदिएँ । ठुला व्यापारीको क्यालेन्डर थियो । त्यसमा धनकी देवी लक्ष्मी फूलमा बसेकी छन् । फूलमा सौन्दर्य हुन्छ, सुगन्ध हुन्छ अनि कोमलता हुन्छ । तर लक्ष्मीजी भने फूललाई नै कुर्सी मानेर त्यसमै बसेकी छन् । धनकी देवी हुन् नि त ! जब देवीको नै यो अवस्था छ भने उनका कृपापात्रहरूमा उत्ताउलोपन किन नहाेस् त ? फेरि पनि म भन्छु– ‘देवी, तिमीले आफ्नो आसन फेरिदेऊ । सिंहासनमा बस अनि फूल हातमा लेऊ । अथवा फूललाई कपालको जुरोमा घुसार । अनि तिमीले जसलाई मन लाग्छ धन देऊ । तर त्यससँगै एकाध किलोग्राम सुरुचि पनि दिने गर । यसबाट उनीहरूलाई इन्फेक्सन हुँदैन र सम्पन्नताको पिलोबाट गन्हाउने पिप बग्दैन ।

०००
परसाइँ रचवाली, भाग ३ बाट  ‘अपनी अपनी हैसियत’ काे नेपाली अनुवाद ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दुई लघु व्यङ्ग्य

दुई लघु व्यङ्ग्य

हरिशंकर परसाईं
नहुषको निष्काशन

नहुषको निष्काशन

हरिशंकर परसाईं
केही लघुव्यङ्ग्यहरू

केही लघुव्यङ्ग्यहरू

हरिशंकर परसाईं
भाषण गर्न सिक्नुस् !

भाषण गर्न सिक्नुस् !

हरिशंकर परसाईं
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x