साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुच्छर

कुर्सी प्राप्त गर्ने र कुर्सी जोगाइ राख्ने प्रमुख जग भनेको पुच्छरे प्रवृत्ति हो । हामी सबैले यो प्रवृत्ति अँगाल्नु अबेर भइसकेको छ । किनभने हिजोको सडकछाप चप्पलेले हात्तीको बाला लगाएको हामीले देखेकै छौं ।

Nepal Telecom ad

रामप्रसाद अर्याल :

सिङ हुनेको भर नपर्नु भन्थे साँचो रहेछ, यो कुरा । सिङ हुनेहरूले सिङाैरी खेल्न शुरू गरेपछि मेरो भयको तिजौरी खुल्यो । खुर हुने पशु जातिको आत्मरक्षाका लागि बर्माले (ब्रह्माले) बनाइदिएको सिङ अहिलेका मान्छेले बसुलाले तिखारेको देखेपछि मेरो हंसमा कंश पसेको छ । अनि त म झुत्रेलुत्रे कान लाएर पुच्छर लुकाएर लुरुलुरू ओरालो झरेको छु । सिङ पनि कसैको एक सिड, कसैको दुई सिङ र कसैको बाह्न सिङ हुन्छ । त्यस्तै न्यायको नौ सिङ हुन्छ रे । एक सिङ थपे दश सिङ हुन्छ, अनि भाग सिङ । न्यायको क्षेत्रसमेत सिङ देखेपछि भाग्छ भने म लुरेको के लाग्छ ?

म के ओरालो झरेको थिएँ अनि त मेरो गाउँ, समाज र देशै पछिपछि लागेछ । ओरालो झरेको मृगलाई बाच्छोलेसमेत खेद्छ भने म त आफैं ओरालो झरेको छु । अनि कसले किन न हेपोस् त ? नौ पटक नौवत ममाथि खनिए । सहाराविना बेसहारा बनें म । बेसहारालाई सहारा कसले पो दिन्छ र ? त्यसो होइन, असहायको सहाय दैव भन्ने चलन छ । यो दैव भन्ने कुरामा मलाई एकरत्ति विश्वास छैन । किनभने असहाय, दुःखी दरिद्री र पीडितहरूको संख्या अति धेरै छ र उनीहरू मभन्दा बढी पीडित छन् । उनीहरूलाई समेत दैवले कर्के नजरले हेर्न भ्याएको छैन भने मेरो नम्बर कहिले आउला ? दैवको कुरा सत्य युगको कुरा हो । वर्तमान अवस्थाको कुरा
नै हो भने तमाम असहायहरूको सहाय हुन गएको छ ‘पुच्छर ।’

हो, पुच्छर अस्त्र हो, शस्त्र हो र दिव्यास्त्र हो । प्रयोग गर्न जानेमा यसले हाम्रो रक्षा गर्छ । न जानेमा भक्ष गर्छ ।

अद्यापि मानिसहरू पुच्छर समाएर बैतरणी तर्छन् । इन्द्रको कानन वनमा चर्छन्, पुच्छर समाउन नजान्नेहरू नरकमा पर्छन् । राैरवको गौरव गर्दैनन् बरू कुम्भीपाकमा परेपछि पुच्छर नसमाएकोमा पछुतो गर्छन् ।

रामदास बन्न पहिला हनुमानदास बन्नु परेझैं पुच्छर समाउन पनि पुच्छरेहरूको पछिपछि पुत्पुताएर दौडनुपर्छ अनि बल्ल भाग्य सप्रिन्छ । दौड्न नसक्नेहरूको भाग्य कक्रिन्छ । बनिसकेको काम बिगार्ने र बिग्रेको काम बनाउन सक्ने हैसियत हुन्छ पुच्छरेहरूको ।

हामी जन्मिनासाथ पुच्छर समाएरै चोखिन्छौं । उमेर पुगेर ध्वाँके भएपछि कर्म-कुकर्म गरेमा पुच्छरैले जोगिन्छौं । मानिसको पुच्छर छैन, तर पुच्छरे प्रवृत्ति छ । प्रवृत्तिविना जीउनीवृत्ति चल्दैन । जीउनीवृत्ति चलाउन मालिक देख्नासाथ पुच्छर हल्लाउनु पर्छ, या होलाउनु पर्दछ । कुकुर बिरालोको झैं ।

चारखुट्टे जनावरहरूको पुच्छर पछाडितिर हुन्छ, उनीहरूले पुच्छर घुमाउँछन्, डाेलाउँछन् र हल्लाउँछन् । भिंगा, कीराहरू धपाउँछन् । तर दुई खुट्टे जीवहरूको पुच्छर अगाडितिर हुन्छ । उनीहरूले पुच्छररूप हात जोड्दछन् । आफ्नो स्वार्थ पूरा भएपछि जोड्न छोड्छन् ।

हनुमानको पुच्छरले सुनको लङ्का जलाएको थियो । बालीको पुच्छरले रावणलाई चारैधाम डुलाएथ्यो । अहिले पनि सत्ताधारीको पुच्छर पक्रिन जान्ने हो भने देशविदेश भ्रमण गर्न पाइन्छ । त्यस्तै आयोग पास गर्न र शत्रुको नाश गर्न ठूलाको पुच्छर समाउनुपर्दछ । पुच्छर समाउनु पनि एउटा कला हो । यो कलामा तपाईं आफ्नो सुरिलो, चिप्लो, गला मिलाउन सक्नुभयो भने हरेक प्रतियोगितामा
प्रथम स्थान प्राप्त गर्न सक्नुहुनेछ ।

पुच्छरले गोपनीयता ढाकेको हुन्छ । लाज राखेको हुन्छ, तर आधुनिक पुच्छरहरूको न लाज न शर्म न धर्म नै हुन्छ । त्यो पुच्छरले राष्ट्रको मर्ममाथि प्रहार गर्न पछि पर्दैन ।

पुच्छर नाम कसरी रहन गएको हो भने मलमुत्र त्याग गरिसकेपछि तत्तत् स्थानलाई सफा गर्न पुछर भन्दाभन्दा पुच्छर हुन गएको हो । नभन्दै आधुनिक नेपाली पुच्छरेहरूले आ-आफ्ना मालिक, साहेब, मन्त्री र हाकिमहरूका पाउ मल्न हरदम एक डौसी तेल लिएर हाजिर भइरहेका हुन्छन् त कहिले एक डेली सेल लिएर ।

पुच्छरेहरू हाकिमसापको पुच्छर कतिखेर छुन पाउँला भनेर घुइँचो लागेका हुन्छन् । चानेचुने सेवाले हाकिम नेताहरूलाई छुँदैछुँदैन । त्यसैले पुच्छरेहरूले नयाँनयाँ प्रविधिहरू अपनाएका हुन्छन् । हाकिमको सट्टा हाकिमनीहरू, नेतिनीहरूलाई चाकरी गरेर । जस्तो कहिले उनीहरूलाई कुराउनीको पाप्रो, कहिले ठूलो खसीको साँप्रो त कहिले घिउको ठेकी, कहिले धनको भेटी चढाएर । त्यतिले पनि पुगेन भने महको थैलो जाँडको घैलो टक्र्याउने गर्दछन् । जब साहेबहरू उक्त कोसेलीहरूमा पौरन्छन् तब पुच्छरेहरूका ज्यान बौरन्छन् । यति भेटी चढाउँदै जाँदा, कुरा अगाडि बढाउँदै जाँदा जब हत्ते हाल्छन्, तब काम फत्ते हुन्छ ।

चरामा लामपुच्छ्रे, तारामा लामपुच्छ्रेको नाम अगाडि आउँछ ।’ नरमा पुच्छरे, बानरमा लामो पुच्छर हुनेले धाक लगाउँछन् त्यस्तै अगुवा भएर हिँड्न नसक्ने ठगुवाहरू पुच्छर समाएर हिंड्न प्रसिद्ध छन् । त्यस्तै पुच्छरेहरूले शान झार्न बढी चकचक गरे भने बाख्रीको पुच्छर खाएको बात लगाइन्छ ।

तपाईं भन्नुहोला बाँदरको पुच्छर लौरो न हतियार । त्यसो होइन । हनुमानले भीमसेनको शेखी तोड्ने काम पुच्छरैले गरेका हुन् । कुकुरको पुच्छर बाह्र वर्ष ढुड्ग्रामा राखे पनि बा‌ङ्गाको बाङ्‌गै भन्ने उखान छ । त्यो बाड्गो हुनु कुकुरको प्रकृति हो । त्यस्तै पुच्छरेहरूको मुण्टो मालिकको गन्ध पाउनासाथ निहुरी परेर बेरिएको हुन्छ । यसो गरेर आफ्नो स्वाभीमान बंचाइरहेको हुर्काइराखेको हुन्छ । यो प्रवृत्तिले आफ्नो जीउनीवृत्ति चलेको छ । विश्वमा कीर्ति राखेको छ ।

इमानदार, नैतिकवान्, सच्चरित्र र स्वाभीमानी व्यक्तिहरूले आप्नो स्वाभिमान जोगाइराख्न एउटा न एउटाको पुच्छर समाउनु आवश्यक छ । यसो गर्न सकेमा अनैतिकहरू, घुस्याहाहरू, भ्रष्ट र तस्करहरूको लस्करमा आफू समेत लाग्न सकिने छ । अनि त बहुमत प्राप्त गर्न सजिलो पर्ने छ । कसैले नैतिकवानहरू पाखा पर्ने र अनैतिकहरूले स्वार्थ पूर्ति गर्ने भनेर विरोध गरे भने उनीहरूको मुखमा बुजो लाउन सकिने छ । यसो गरेमा देश रहे पनि नरहे पनि आफ्नो कुर्सी रहिरहनेछ ।

अर्को कुरा देशभन्दा कुर्सी ठूलो हो । कुर्सीभन्दा पुच्छर ठूलो हो । पुच्छरभन्दा पुच्छरे प्रवृत्ति ठूलो हो । यो प्रवृत्ति नै रहेन भने कुर्सी प्राप्त गर्न सकिँदैन । कुर्सी प्राप्त गर्ने र कुर्सी जोगाइ राख्ने प्रमुख जग भनेको पुच्छरे प्रवृत्ति हो । हामी सबैले यो प्रवृत्ति अँगाल्नु अबेर भइसकेको छ । किनभने हिजोको सडकछाप चप्पलेले हात्तीको बाला लगाएको हामीले देखेकै छौं ।

तपाईं पनि उच्चश्रेणीमा आससन हुन चाहनुहुन्छ भने आजैदेखि यो प्रवृत्ति अपनाउनुहोस् । किनभने हामी कहाँ ‘हिँड्ने गोरूको पुच्छर निमोठ्‌ने’ प्रवृत्ति छ । यदि यो प्रवृत्ति अँगाल्न नसकेमा तपाईंको पुच्छर धेरैले निमोठ्नेछन् । अर्को कुरा यो प्रवृत्ति अँगाल्नुभयो भने ‘जुन गोरूको पुच्छर छैन उसको नाम चौँरे हुन्छ’ पुच्छर समाएर चौँरे बन्नेहरूको सङ्ख्या कति छ ? मपाईलाई सोध्नुहोस् ।

पुच्छर थमाइदिने र समाइलिनेहरूकी जय ।

२०६१/४/१५

०००
के छ हजुर (२०६२)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
हस् हजुर ! हुन्छ हजुर !!

हस् हजुर ! हुन्छ...

रामप्रसाद अर्याल ‘अविराम’
भाँजी मार्नु

भाँजी मार्नु

रामप्रसाद अर्याल ‘अविराम’
जङ्क पोलिटिक्स

जङ्क पोलिटिक्स

रामप्रसाद अर्याल ‘अविराम’
फुक्लिएको दाँत

फुक्लिएको दाँत

रामप्रसाद अर्याल ‘अविराम’
तैँले गर्दा

तैँले गर्दा

रामप्रसाद अर्याल ‘अविराम’
तब पो हुरी !

तब पो हुरी !

रामप्रसाद अर्याल ‘अविराम’
दादागिरी

दादागिरी

विश्व विनोद
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
0
Would love your thoughts, please comment.x
()
x