
अनुहार देखिने ऐना !
अरुलाई बनाउने सेखीमा मानवता फक्रँदैन । विनानिदको सपनामा दौडेर देउराली को पुगेको छ र ! अरुलाई राम्रो बनाउँछु भन्ने तर आफ्नै भ्वाङ टाल्न नसिकेको मैले उसलाई असल बनाउँछु रे ।

डा. छायादत्त न्यौपाने बगर :
लौ, आउनुहोस् ! आउनुहोस् ! सज्जनवृन्द आउनुहोस् !! वासन्ती पालुवा भाँचेर रमाउने मान्छेलाई वातावरण संरक्षण समितिको अध्यक्ष चयन प्रक्रियामा सामेल हुनुहोस् । यो अवसर सधैं पाइँदैन । छिटो आउनुहोस् मताधिकारको प्रयोग गर्नुहोस् । हात थापेर खान पल्केको पौरखी मान्छेको इतिहास लेख्न अघि सर्दै छु म तपाईंले साथ दिनुहोस् । हो नि ! बेथितिको पहाड उधिनेर भञ्ज्याङ नाप्ने चुनौती कम जटिल छैन तर तपाईंको साथले मलाई ठाउँमा पुर्याएपछि असम्भव हुने कुरै भएन ! अतिरिक्त आयमा दिल बसेपछि पसिनाले पेट भर्दैन । तपाईंको बेथा मलाई थाहा छ र त स्रोत व्यवस्थापनमा सहभागी हुन आग्रह गरिरा‘छु ।
‘नबिराउनु नडराउनु पुर्खाले भनेको नीति नियम मानौं सबै विश्वले मानेको’ यो आदर्श वाक्यांश पुर्खाले भने भन्दैमा नयाँ पुस्ताले खुरुक्क मान्नुपर्छ ? यस्तो स्वाधीन इतिहास सम्झेर टाउको दुखाउने गल्ती मबाट हुँदैन । अघि बढिरहेको विश्व पछ्याउन छाडेर कहाँ स्वाभिमानको पगरी खोज्दै भौंतारिने ! यो सबै चुनाव जित्ने दाउपेच हो । ऊ पिटेजस्तो गर रोएजस्तो गर्छु कस्तो मजाको नाटक मञ्चन सम्पन्न भो । गाँठी कुरो नबुझी बिचमा प्याच्च बोल्ने दुस्साहस नगरेको राम्रो ल ! यत्रो विधि धन–जन र बखत खर्चेर बनाएको संविधानका धारा त कचाकुचु पार्दै हिँड्न पाइने संसाराँ पुर्खाका वाणी पत्याएर साध्ये लाग्छ ?
हामी सबैले थाहा पाएकै विषय मानवीय कर्तव्य पखेटामा बोकेर रमाउने अभ्यास उज्यालो हुन्छ तर सजिलो हुँदैन । हृदय खोतलेर अन्तस्करण भेट्टाउने विधि चिने शिर उचालिएला ! आँखा जुधाएर संवाद गरे पुर्खाको सन्तति भएको गौरव बाँच्ला ! म नेपाली, मेरो नेपाल, नेपाल मेरो सान, नेपाली मेरो पहिचान । म बनाउँछु नेपाल । आदर्श बोलेर पुग्ने भए सिङ्गै संसार पालिदिन्थेँ । शीतले घैला भर्ने मेरो काम ! मलाई माटो प्रिय लाग्छ । पसिना खाने मेरो स्वभाव । गन्दै छु म हातमा फोरा कति छन् ? हेर्दै छु म बारीमा के–के फल्दै छन् । मेरो खेत कति धान दिन्छ । घुम्दै छु म मेरै रनवन । के छ वनमा ? कुन–कुन जरीबुटी लहरिएका छन् मेरा वनभरि ? म तिनको सङ्ख्या जान्न चाहन्छु । म सचेत नागरिक वचनमा होइन, व्यवहारले ? वनसम्पदाको उपयोगमा प्राणीको जीवन खेल्छ । खेलले सबै खेलाडीको समान अस्तित्व माग्छ ।
तपाईंको भनाइ आफ्नो ठाउँमा ठिक होला तर मैले जानकारी लिनु छ मेरो बारीको डल्ला–डल्लामा उत्पादन शक्ति कति छ ? मेरा कति साथीहरु स्वरोजगार बने ? म जान्न चाहन्छु । मेरा ढुक्कै साथी र ठ्यक्कै आफन्त कतिले कतिलाई रोजगार दिए ? जो आफूलाई पुरुषार्थी ठानेर गौरवबोध गर्छन् ! मैले धेरै कुरा सिकेको छु । जान्ने मान्छे म । अनन्त छन् मनभरि जिज्ञासा । मेरो तीव्र इच्छा छ शिर उचालेर मुस्कुराउने लक्ष्य भेट्न । मलाई थाहा छ राम्ररी मुस्कुराउन सजिलो छैन । थाहा छ खुकुरीको धारमा टेकेर हिँड्ने जोखिमविना अधरबाटा खुसी पोखिँदैन । अरुलाई बनाउने सेखीमा मानवता फक्रँदैन । विनानिदको सपनामा दौडेर देउराली को पुगेको छ र ! अरुलाई राम्रो बनाउँछु भन्ने तर आफ्नै भ्वाङ टाल्न नसिकेको मैले उसलाई असल बनाउँछु रे । खै कस्तो असल ? कति जिम्मेवार म ! अरुले अनुशासन पालना गरिदिए,आफू असल !
मलाई त आफ्नो अनुहार देखिने ऐनामा विश्वास लाग्छ । मेरो परिवार सुन्दर, म सुन्दर परिवारको सदस्य ! अनन्त चाहना मेरा । मै जान्ने सुन्ने ! धेरै ज्ञानगुन बटुलेको, सिक्ने जाँगर मरेको, सिकाउन बल गर्ने मान्छे म । म कति नैतिक छु त्यो नसोच्नुस् । मैले दिने नैतिक शिक्षा पत्याउनुस् । यसैमा तपाईं र मेरो पनि कल्याण छ । समाज मलाई सामाजिक नियम मान भन्छ, कर गर्छ । सामाजिक मूल्य संस्कृति पछ्याउन आदेश गर्छ । म आफै जान्ने सुन्ने सिपालु मान्छे ! मलाई किन सामाजिक नियम ? प्रस्टै चिनिएन र ! तुजुक पालेर तगारोमा अल्झिरहेको मान्छे म !
म फेरि पनि भन्दै छु । म भनेको गजधम्म बसेर धर्म धान्न चाहने मान्छे, फूल टिपेर बगैँचा सजाउने धोको पालेको छु । म आफै भन्छु भनिरहन्छु सुन, सुन्नु पर्छ धेरै सुन, कम बोल । नैतिक लिस्नो नभाँच तर समाज मैलाई सोध्छ–कत्रो छ तिम्रो गाईगोठ, कति छन् भैंसी, खोरमा बाख्रा ? गाँजमा कति घरी केरा पसाउँदै छन् ? कति छन् आँपका रुख ? कति बेच्छौ सुन्तला ? कस्तो छ स्याउको बजार ? के छ भावी योजना ? झ्याप्पै पो प्रश्न गरिहाल्छन् विदेशीले ! मैले यताउता आँखा नचाइदिन्छु । के जवाफ दिनु ! बिदेसिएर ज्यामी गर्ने घरको जग्गाजमिन बाँझै ! उसले थाहा पाइहाल्यो मेरो अनुहार उडेर नाकमुख सुकेको ।
हो, दारी पाकेको दार्शनिकले झैं सोचिरहेँ ! गाउँभरिका मान्छे र तिनका कर्म ? कतै सम्झनाले झल्याँस्स झस्काइहाल्छ कि ! सहरको सरसफाइ अभियान, ढलनिकास, व्यवस्थित योजना निर्णय गर्दै छाड्दै ! खै कार्यन्वयनको कुचो ? जान्न मन छ मलाई ! कसरी हो सुरु नगरेको यात्रा गन्तव्यमा पुग्ने ? कस्तो अनौठो दुई खुट्टे म ! हिमाल चढ्ने सपना बाँडेर चारकोसेतिर दौडिने मिचाहा प्रवृत्तिको प्रहारले आफू पछौटिएको पत्तै नपाउने ! वर्षौं पछि लागेर जीवनको उर्जाशील समय स्वाहा पारेको बेथा केले निको बनाउँछ ? ठिमाहा अगुवा बाटो भत्काउँदै हिँड्छ म त्यही भत्केको बाटोमा गन्तव्य खोज्छु । पुग्छ, पुगिन्छ भन्ने विश्वास पालेर रमाइरहेको छु । पाक्दैन वीरबलको खिचडी पाको सूचना पाएर पनि समुद्रमा लागेको आगोे खरले निभाउने सिसिफसको अध्याय दोहोर्याइरहेको छु । यसैमा बहादुरी न्यानो तापेर रमाएको अभिनय गर्ने कस्तो अक्कलको अनाडी ? पिँजडामा स्वतन्त्रताको गीता गाउने मनहुस मान्छे म !
यस्ता विषय खोतल्दै जाँदा परपरा पुगिन्छ । ‘इ’ देख्नुभएन ? म त हत्केलामा पानी थापेर जिन्दगी सिंचाइ गरिरहेको छु । म गजबको मान्छे सहपाठी चिमोटेर खुसी हुने, सहकर्मी निमोठेर इमानदार कहलिने, परिवार थिचेर वीरता देखाउने फरक स्वभावको महसुर मान्छे म । हो नि ! यही हो, मेरो हिजोअस्तिदेखिको सग्लो परिचय । वरिपरिका बिरुवा थिचेर आफू अग्लिने दाउमा नृत्य गरेको दृश्य प्रसारण भएको छ । यसैमा मख्ख म पामर सोलीभरिको चामल दिएर पिठो थापिरहेछु बटुकामा ! अनि म सानसँग बाँचिरहेको छु, मस्त छु । ‘अस्तु’
०००
पर्वत, हाल– काठमाडौं
Subscribe
Login
0 Comments
Oldest