घनश्याम रेग्मीहावाहुरी र स्याल हुइयाँ
स्यालहरू यस्तैमा पल्किएका मौकापरस्त हुन्छन् । त्यसो त आजकल जङ्गली स्यालहरू समयक्रममा गाउँ सहरतिर पस्न पल्केका छन् । हामी मान्छेले सबै जङ्गल सखाप पारेपछि तिनीहरू पनि जङ्गल नछाडेर के गरून् ?

घनश्याम रेग्मी :
साँझ परेर धुर्मैलो अँध्यारो हुन आँटेको बेला अलिअलि हावा चल्यो र पानी पनि पर्यो । हावा लागेपछि रुखका झर्न तयार भएका पात त यसै झरे, हरिया र कलिला पात पनि सोहोरिए । पुराना फालिएका झुत्रा कपडाहरू, फोहोरका डङ्गुरबाट प्लास्टिक झोला, खोल लगायतका दफ्ती कागजहरू उडाएर आकाश ढाक्यो । हावा चलेपछि धुलो उड्ने नै भयो, धुलीमण्डल भयो । टिनका टहरा उडाउने र रुखका हाँगाबिँगा भाँच्ने गरी आएको चैतको राग बोकेको बतासे पानीले अलिअलि आफ्नो रूप देखाउने नै भयो, देखायो । बिजुली बत्ती गयो र भयावह त्रासको वातावरण सिर्जना भयो ।
हावाहुरी सहित परेका चिसा पानीका थोपाहरूले गाउँको झाडीमा लुकेर बसेको जखरे स्याललाई नमिठो अनुभूति भएछ । सायद ऊ त्यस इलाकाको मुखिया हुँदो हो जो वर्षौंदेखि एउटा उचित अवसरको खोजीमा थियो । पहिले लुँड्याएर खाने गरेको त्यसले आजभोलि राम्रोसँग पिकनिक मनाउन पाएको थिएन । सकसक त पहिले देखिकै थियो । भनोस् त कसलाई भनोस् । पेट भरिनेगरी खान र गीत गाएर मनको बह पोख्न पाएको थिएन । यस्तो सुनौलो मौका उसले किन छोड्थ्यो र ? उसले हुइयाँ!हुइयाँ! गरेर आफ्नो अन्तर मनको राग अलाप्यो । सगोत्रीको आवाज सुनेपछि नजिकमा भएका अरू स्यालहरूले पनि उसको बोलीमा लोली मिलाएर कराए “हुइयाँ ! चि-हुइयाँ ! हुइया !”
बस! अब अरू के चाहियो र ? त्यसपछि त वरपर रहेका सबै स्यालहरूका हुइयाँ स्यालभाकाले गाउँ गुञ्जाएमान भयो । उनीहरू भनिरहेका थिए “हो! हो! उनैको कुरा ठिक हो । यो उनीहरूको एकछत्र राज्य हो । उनीहरू बाहेक यहाँ अरू कोही थिएन, छैन र हुने पनि छैन ।” अँध्यारोको छत्रछाया र मौकाको खोजीमा उनीहरूको आवतजावत पनि घरको नजिकै यत्रतत्र भएको आभास पाइन थाल्यो ।
स्यालहरू कराए पछि गाउँका भुस्याहा कुकुरहरू र अरू कुलीन वर्गका पाल्तु कुकुरहरूले एक तमासले भुक्न सुरु गरे । भुकेरै आफ्नो कर्तव्य पूरा हुने ठानेका उनीहरूले आफ्नो कर्तव्य पूरा गरे । भुक्नु उनीहरूको स्वामी भक्तिको उच्चतम नमूना हो भन्ने उनीहरूको ठम्याइ हो। उनीहरूका भुकाइ पछि त झन् बाक्युद्धको रूपमा शब्दहरूका दोहोरी चल्यो । यति भएपछि ससाना नानीहरू आमाको फरियाको फेरमा लुक्न आतुर । उता आमाहरूलाई भने हावाले लहरबिहिर पारेका आफ्ना घरका सरसामान यथा स्थानमा थान्को लगाउन भ्याइनभ्याई ।
केहीबेरको रौद्र रूप पछि हावाको तुजुक शान्त भयो । अनि बिजुली बत्तीको पदार्पण भयो । बिजुली बत्तीको उज्यालोमा आफ्नो उपस्थिति अलि असुरक्षित महसुस गरेर स्यालहरूले आफ्नो अलाप बन्द गरेर सुइकुच्चा ठोके । स्यालहरू कराउन छाडेपछि र घरमा बिजुली बले पछि कुकुरहरूले पनि प्रतिरोधका आवाजहरू घटाउँदै लगे । कुलीन वर्गका कुकुरहरू मालिकसँगै सोफामा विराजमान हुँदै रोस्ट र टोस्टमा सम्मिलित हुन पुगे । भुस्याहा कुकुरहरू आफ्नो पेट भर्ने जीवनदर्शनमा लागे । झन्डै एक घन्टाको अन्तरालमा हावाहुरी र स्याल हुइयाँको निर्मम चक्र शान्त भयो र गाउँमा शान्तिले लय समात्यो ।
स्वभावैले स्यालहरू जङ्गली हुन् । उनीहरू राति अँध्यारोमा सक्रिय हुन्छन् । हावाहुरी र पानी झरीको सङ्क्रमण काल उनीहरूका लागि स्वर्ण काल हो । यस्तै अस्तव्यस्त भएको बेला पारेर छुटे फुत्किएका चराचुरुङ्गी र तिनका बचेराहरू, चल्ला कुखुरा र ससाना बाख्राका पाठाहरू जिप्ट्याउनु उनीहरूको धर्म हो । स्यालहरू यस्तैमा पल्किएका मौकापरस्त हुन्छन् । त्यसो त आजकल जङ्गली स्यालहरू समयक्रममा गाउँ सहरतिर पस्न पल्केका छन् । हामी मान्छेले सबै जङ्गल सखाप पारेपछि तिनीहरू पनि जङ्गल नछाडेर के गरून् ?
त्यस दिनको हावाहुरीको बितन्डा र स्यालहरूका हुइयाँको कोपभाजनमा धेरै जना पर्नुभयो । सबैभन्दा त दानवीर दाइको फारममा पर्यो अरे भन्ने खबर रेडियो ककनी लगायत विभिन्न सञ्चारमाध्यमहरूले तात्तातै प्रसारण गरे ।
०००
बैजनाथ १, चिसापानी, बाँके
Subscribe
Login
0 Comments
Oldest








































