साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हावाहुरी र स्याल हुइयाँ

स्यालहरू यस्तैमा पल्किएका मौकापरस्त हुन्छन् । त्यसो त आजकल जङ्गली स्यालहरू समयक्रममा गाउँ सहरतिर पस्न पल्केका छन् । हामी मान्छेले सबै जङ्गल सखाप पारेपछि तिनीहरू पनि जङ्गल नछाडेर के गरून् ?

Nepal Telecom ad

घनश्याम रेग्मी :

साँझ परेर धुर्मैलो अँध्यारो हुन आँटेको बेला अलिअलि हावा चल्यो र पानी पनि पर्‍यो । हावा लागेपछि रुखका झर्न तयार भएका पात त यसै झरे, हरिया र कलिला पात पनि सोहोरिए । पुराना फालिएका झुत्रा कपडाहरू, फोहोरका डङ्गुरबाट प्लास्टिक झोला, खोल लगायतका दफ्ती कागजहरू उडाएर आकाश ढाक्यो । हावा चलेपछि धुलो उड्ने नै भयो, धुलीमण्डल भयो । टिनका टहरा उडाउने र रुखका हाँगाबिँगा भाँच्ने गरी आएको चैतको राग बोकेको बतासे पानीले अलिअलि आफ्नो रूप देखाउने नै भयो, देखायो । बिजुली बत्ती गयो र भयावह त्रासको वातावरण सिर्जना भयो ।

हावाहुरी सहित परेका चिसा पानीका थोपाहरूले गाउँको झाडीमा लुकेर बसेको जखरे स्याललाई नमिठो अनुभूति भएछ । सायद ऊ त्यस इलाकाको मुखिया हुँदो हो जो वर्षौंदेखि एउटा उचित अवसरको खोजीमा थियो । पहिले लुँड्याएर खाने गरेको त्यसले आजभोलि राम्रोसँग पिकनिक मनाउन पाएको थिएन । सकसक त पहिले देखिकै थियो । भनोस् त कसलाई भनोस् । पेट भरिनेगरी खान र गीत गाएर मनको बह पोख्न पाएको थिएन । यस्तो सुनौलो मौका उसले किन छोड्थ्यो र ? उसले हुइयाँ!हुइयाँ! गरेर आफ्नो अन्तर मनको राग अलाप्यो । सगोत्रीको आवाज सुनेपछि नजिकमा भएका अरू स्यालहरूले पनि उसको बोलीमा लोली मिलाएर कराए “हुइयाँ ! चि-हुइयाँ ! हुइया !”

बस! अब अरू के चाहियो र ? त्यसपछि त वरपर रहेका सबै स्यालहरूका हुइयाँ स्यालभाकाले गाउँ गुञ्जाएमान भयो । उनीहरू भनिरहेका थिए “हो! हो! उनैको कुरा ठिक हो । यो उनीहरूको एकछत्र राज्य हो । उनीहरू बाहेक यहाँ अरू कोही थिएन, छैन र हुने पनि छैन ।” अँध्यारोको छत्रछाया र मौकाको खोजीमा उनीहरूको आवतजावत पनि घरको नजिकै यत्रतत्र भएको आभास पाइन थाल्यो ।

स्यालहरू कराए पछि गाउँका भुस्याहा कुकुरहरू र अरू कुलीन वर्गका पाल्तु कुकुरहरूले एक तमासले भुक्न सुरु गरे । भुकेरै आफ्नो कर्तव्य पूरा हुने ठानेका उनीहरूले आफ्नो कर्तव्य पूरा गरे । भुक्नु उनीहरूको स्वामी भक्तिको उच्चतम नमूना हो भन्ने उनीहरूको ठम्याइ हो। उनीहरूका भुकाइ पछि त झन् बाक्युद्धको रूपमा शब्दहरूका दोहोरी चल्यो । यति भएपछि ससाना नानीहरू आमाको फरियाको फेरमा लुक्न आतुर । उता आमाहरूलाई भने हावाले लहरबिहिर पारेका आफ्ना घरका सरसामान यथा स्थानमा थान्को लगाउन भ्याइनभ्याई ।

केहीबेरको रौद्र रूप पछि हावाको तुजुक शान्त भयो । अनि बिजुली बत्तीको पदार्पण भयो । बिजुली बत्तीको उज्यालोमा आफ्नो उपस्थिति अलि असुरक्षित महसुस गरेर स्यालहरूले आफ्नो अलाप बन्द गरेर सुइकुच्चा ठोके । स्यालहरू कराउन छाडेपछि र घरमा बिजुली बले पछि कुकुरहरूले पनि प्रतिरोधका आवाजहरू घटाउँदै लगे । कुलीन वर्गका कुकुरहरू मालिकसँगै सोफामा विराजमान हुँदै रोस्ट र टोस्टमा सम्मिलित हुन पुगे । भुस्याहा कुकुरहरू आफ्नो पेट भर्ने जीवनदर्शनमा लागे । झन्डै एक घन्टाको अन्तरालमा हावाहुरी र स्याल हुइयाँको निर्मम चक्र शान्त भयो र गाउँमा शान्तिले लय समात्यो ।

स्वभावैले स्यालहरू जङ्गली हुन् । उनीहरू राति अँध्यारोमा सक्रिय हुन्छन् । हावाहुरी र पानी झरीको सङ्क्रमण काल उनीहरूका लागि स्वर्ण काल हो । यस्तै अस्तव्यस्त भएको बेला पारेर छुटे फुत्किएका चराचुरुङ्गी र तिनका बचेराहरू, चल्ला कुखुरा र ससाना बाख्राका पाठाहरू जिप्ट्याउनु उनीहरूको धर्म हो । स्यालहरू यस्तैमा पल्किएका मौकापरस्त हुन्छन् । त्यसो त आजकल जङ्गली स्यालहरू समयक्रममा गाउँ सहरतिर पस्न पल्केका छन् । हामी मान्छेले सबै जङ्गल सखाप पारेपछि तिनीहरू पनि जङ्गल नछाडेर के गरून् ?

त्यस दिनको हावाहुरीको बितन्डा र स्यालहरूका हुइयाँको कोपभाजनमा धेरै जना पर्नुभयो । सबैभन्दा त दानवीर दाइको फारममा पर्‍यो अरे भन्ने खबर रेडियो ककनी लगायत विभिन्न सञ्चारमाध्यमहरूले तात्तातै प्रसारण गरे ।

०००
बैजनाथ १, चिसापानी, बाँके

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
आमा !

आमा !

घनश्याम रेग्मी
सेकेण्ड ह्याण्ड

सेकेण्ड ह्याण्ड

भोजराज रेग्मी ‘मुखाले’
श्राद्ध

श्राद्ध

त्रिलोचन ढकाल
बानीले रानी हुन्छ, बानी बिग्रे खरानी हुन्छ

बानीले रानी हुन्छ, बानी...

नगिता लेप्चा राई
तर्सिङहोम (२)

तर्सिङहोम (२)

कृष्ण प्रधान
0
Would love your thoughts, please comment.x
()
x