साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तनखा याने तँ नखा

सरकारकाे काम पनि त्यही हाे । सकेसम्म आफूले मात्रै खाने । आफ्नालाई मात्रै खुवाउने । दुःखी गरिव रूवाउने । सपना मात्रै देखाउने । विपनाहरू तुवाउने । अब त बुझ्याै हाेला नि बुढा तनखाकाे अर्थ ! तनखा याने तँ नखा ।"

Nepal Telecom ad

रामप्रसाद पन्थी :

बजेट भाषणको दिन नजिकिँदै गर्दा सर्वसाधारण, पसले र कर्मचारी सबैमा एउटै जिज्ञासा थियाे – सरकारले तनखा कति बढाउला ? उत्तर थरिथरि आउथ्याे- “दस प्रतिशत, पन्ध्र प्रतिशत …! एकमुष्ट …हजार !” जेहाेस् तनखा बढ्नेमा सबै विश्वस्त थिए । सबै किन ? मै पनि विश्वस्त थिएँ । तनखा बढ्ने कुराले मख्ख परेर रेडियोमा कान थापेर सुनेकाे थिएँ । मन्त्रीले बजेट पाठ गरेर सिध्याए । तर तनखा बढेकाे कुरा आएन । कानले धाेका दियाे कि भनेर साथीहरूलाई फाेन घुमाएँ । सबैबाट उत्तर एउटै आयाे- “तनखा बढेन । महङ्गी भत्ता मात्रै बढ्याे ।”

आफू त परियाे रिटायर मान्छे । बीस वर्ष जागिर खाएर निस्किएको । आफूले जागिर खाने बेलाजस्तो सजिलाे पछि भएन । जमानाले के के ल्यायाे । प्रविधिको ज्ञान भएन । पुरानाे दिमाग पुरानाे टायरझैं पन्चर भयाे । त्यसैले त रिटायर हुने मन भएर घर गएकाे कुरा यहाँ भन्नलाई पनि लाज भएन ।

बीस वर्ष जागिर खाएर पनि तनखाकाे अर्थ नबुझ्ने बज्रस्वाँठ भन्नुभएको हाेला । नबुझेको कुरा किन बुझें भन्नू र ? यहीं बुझ्न मन लागेर एकजना भाइकाेमा गएँ । आफूलाई लाल बुझक्कड ठान्ने सत्ता पक्षकाे राजनीतिज्ञ मान्ने भाइले भने- “तपाईं कुराे बुझ्नु हुँदैन दाजु । सरकारले यसपालि तनखा नबढाउनुकाे कारण अर्कै छ । आगामी वर्ष तपाईंको तनखा शतप्रतिशत बढ्छ ।” अब उनीसित धेरै बाेलिरहने कुरा भएन ।

आफूलाई हरेक कुराकाे विज्ञ ठान्ने राजनीतिक रूपमा प्रतिपक्ष मान्ने अर्का भाइसित बुझ्दा उनले वर्तमान सरकार आफूले मात्रै खान जानेकाेले तनखा नबढाएकाे कुरा गरे । सरकारका बारेमा बेलबखत आउने समाचारले पनि कुरा हाे कि जस्ताे लागेकाे छ । बिचरा सरकार ! आफै भाेकाे छ । डाडु पन्यू हातमा परेकाे बेला म खा नभनेर किन कसले किन भन्छ तँ खा ? त्यसैले सरकारले पनि किन बढाओस् अरूकाे तनखा ?

यत्तिले मात्रै मेराे चित्त बुझेन । बहालवाला साथीहरूलाई भेटेर जिज्ञासा राख्दा उस्तै गुनासा सुनिए । एकजनाले त झर्किएरै भन्न भ्याए, “तपाईं जस्तो रिटायरलाई किन बढी चासाे ? घर बसेर खानेलाई किन बढाउने तनखा ? हाम्राे पनि त बढेन नि ! विरामी विदा , सञ्चयकोष, ग्रेड सबैतिर घाटा !”

बाटामा लुखुरलुखुर हिँडिरहेका एक परिचित अनुहारले भने, यसपालि सरकारले तनखा नबढाएर ठिकै गर्याे । हुनत : तपाईंहरूलाई घाटा भए हाेला । हामीलाई त राम्राे भयाे । तपाईंको तनखा बढ्दा यता बजार भाउ ह्वात्तै बढ्छ । तपाईंहरूलाई त फरक पर्दैन हामीलाई त सकस हुन्छ नि ! ” उनले एकाेहाेराे फलाकिरहे । मैले कुनै प्रतिक्रिया जनाउन चाहिन । फेरि आफू परियाे साेझाे मान्छे । साेझा कुरा बुझ्ने । साेझा अर्थ खाेज्ने । जसले जे भने पनि पत्याउने । विश्वास गरिहाल्ने । उनका कुरा पनि ठिकै जस्तो लाग्याे । तर एउटा कुराले भने पिरलिरह्याे- “तनखा शब्दकाे खास अर्थ हाे के ?”

भाषा भन्ने कुरा पनि बढाे विचित्रको हुँदाे रहेछ । शब्द शब्दका अर्थ नबुझ्दा धाेका खाइदाे रहेछ । केही नबुझ्ने बाेका भइदाे रहेछ । भाषाकाे भासमा फसेपछि शब्दकाे जालमा जेलिएपछि माकुरी जालमा परिदाे रहेछ ।

म परें मान्छे नेपाली । मेराे भाषा नेपाली । आमाको काखदेखि नै नेपाली सुन्दै र बाेल्दै आएकाे । स्कुल जान थालेपछि नेपाली मै पढ्दै र लेख्दै आएकाे । क्याम्पस पढ्न थालेपछि नेपालीलाई मुख्य विषय बनाएकाे । पढाउन थालेपछि नेपाली नै पढाइको । कुरा गर्याे कुराक‌ै दुःख भएकाे छ मलाई । भाषाकाे चुराे कुराे नबुझ्ने भुराे म असाध्यै अप्ठ्यारोमा परेकाे छु ।

फारसी भाषाकाे तनख्वाहबाट नेपाली भाषा जगतमा चलेकाे तनखाले मेराे टाउको रिंगादिएकाे छ । पहिले मैले पनि तनखाकाे अर्थ परिश्रम गरेवापत् पाइने पारिश्रमिक बुझें । तपाईंको बुझाइ पनि यहीँ हाे भने गलती गरिरहनु भएकाे छ ।

लहराे तान्दा पहराे जान्छ भनेझैं तनखाकाे अर्थबाेध गर्न मैले अनेक स्राेतकाे खाेजी गर्नु पर्याे ।गाउँमा आफूभन्दा वरिष्ठ विद्वान् नहुँदा पल्लाे गाउँसम्म पाउलाई कष्ट दिनुपर्याे । पल्लाे गाउँमा नाउँ चलेका विद्वान् पण्डित खुस्केटानन्दले कहिल्यै नभुल्ने गरी तनखाकाे अर्थ लगाइदिए । जसलाई म चाहेर पनि भुल्न सक्दिन ।

गुरु खुस्केटानन्दकाेमा म पुगेकाे कुरा तपाईंलाई पनि थाहा भैसकेको विषय भयाे । म त्यहाँ पुग्दा उनले दलानमा बसेर तमाखु तानिरहेका थिए । मैले हत्त न पत्तसित गुरूकाे गाेडामा मेराे निधार टेकाएँ । गुरूकाे गाेडाबाट आएकाे गाेबरकाे बास्ना नाके ओढारबाट छिरेर टुप्पीसम्म पुगिसकेको थियाे । यद्यपि याे मेरा लागि साैभाग्यकै विषय थियाे । म अल्झिएकाे तनखाकाे अर्थकाे गाँठो फुकाउनु थियाे । गुरूले आँगनमा रहेकाे दाउराको ठुटाे चिर्न भनेपछि मैले चिरिदिएँ । गुरूले भित्रबाट खाजा झिकाए । गुरूमाले ल्याइदिएकाे मनभाेग गुरूबाले एक्लैले खाए । खाजा खाएर सिध्याएपछि गुरूबाले साेधे-“कति कामले आइस् ताे कान्छा ?”

मैले तनखा शब्दकाे अर्थ स्पष्ट पारिदिन आग्रह गरें । गुरूले स्पष्ट पारिसकेको बताएर गाउँमा काम छ भनेर हिँडे । गुरु हिँडेपछि म पनि त्यहाँबाट फर्किन बाध्य भएँ । रून्चे मुख लगाएर घर फर्किएको देखेपछि बुढीले चिन्ताकाे कारण साेधिन् । मैले घटनाकाे बेलिबिस्तार लगाएँ । बुढीले हाँस्दै भनिन्- “खुस्केटानन्द गुरूले ठिकै त भनेछन् । तपाईंलाई दाउरा चिराएर मनभाेग गुरूले एक्लैले खाए । तनखाकाे अर्थ यसमै छ । दाउरा चिर्दा तपाईं भाेकाउनु भएकाे थियाे तर मनभाेग खान पाउनु भएन । तनखा याने तँ नखा । तँले काम गर तर नखा अर्थात् खाने काम नगर । काम गर्ने तेराे जिम्मेवारी हाे तर खाने अधिकार हाेइन । खाने भनेकै ठूलाबडाले हाे । दुःख गर्नेले हाेइन ।

सरकारकाे काम पनि त्यही हाे । सकेसम्म आफूले मात्रै खाने । आफ्नालाई मात्रै खुवाउने । दुःखी गरिव रूवाउने । सपना मात्रै देखाउने । विपनाहरू तुवाउने । अब त बुझ्याै हाेला नि बुढा तनखाकाे अर्थ ! तनखा याने तँ नखा ।” बुढीकाे जवाफले म निरूत्तर भएँ ।

०००
२०८२।०२।१७
रेसुङ्गा न पा २ ,गुल्मी

Subscribe
Notify of
guest

5 Comments
Oldest
Newest Most Voted
Rama Gautam
Rama Gautam
1 year ago

धन्यवाद सर, तनखा खान सुरु गर्दा नै अर्थ पनि थाहा पाएँ ।

Ramprasad panthi
Ramprasad panthi
1 year ago
Reply to  Rama Gautam

धन्यवाद

ram prasad panthi
ram prasad panthi
1 year ago
Reply to  Rama Gautam

धन्यवाद रमाजी

Jagat Ram Tharu
Jagat Ram Tharu
1 year ago

सही हो गरुदेव ! सही रहेछ – तनखा यानेकी तँ नखा ।

Ramprasad panthi
Ramprasad panthi
1 year ago
Nepal Telecom ad
सातामा विदा सात दिन

सातामा विदा सात दिन

रामप्रसाद पन्थी
ढाेग दियाँ

ढाेग दियाँ

रामप्रसाद पन्थी
झिङ्गे दाउ

झिङ्गे दाउ

रामप्रसाद पन्थी
मोबाइलको ठाँडो

मोबाइलको ठाँडो

रामप्रसाद पन्थी
सपनै सपनाको महल

सपनै सपनाको महल

माधव पोखरेल गोज्याङ्ग्रे
सातामा विदा सात दिन

सातामा विदा सात दिन

रामप्रसाद पन्थी
मुन्टाे जाेताइकाे मजा

मुन्टाे जाेताइकाे मजा

शेषराज भट्टराई
बोली

बोली

देवीप्रसाद चापागाईं
हामी उल्लूहरु !

हामी उल्लूहरु !

डा. छायादत्त न्यौपाने ‘बगर’
5
0
Would love your thoughts, please comment.x
()
x