रामप्रसाद पन्थीतनखा याने तँ नखा
सरकारकाे काम पनि त्यही हाे । सकेसम्म आफूले मात्रै खाने । आफ्नालाई मात्रै खुवाउने । दुःखी गरिव रूवाउने । सपना मात्रै देखाउने । विपनाहरू तुवाउने । अब त बुझ्याै हाेला नि बुढा तनखाकाे अर्थ ! तनखा याने तँ नखा ।"

रामप्रसाद पन्थी :
बजेट भाषणको दिन नजिकिँदै गर्दा सर्वसाधारण, पसले र कर्मचारी सबैमा एउटै जिज्ञासा थियाे – सरकारले तनखा कति बढाउला ? उत्तर थरिथरि आउथ्याे- “दस प्रतिशत, पन्ध्र प्रतिशत …! एकमुष्ट …हजार !” जेहाेस् तनखा बढ्नेमा सबै विश्वस्त थिए । सबै किन ? मै पनि विश्वस्त थिएँ । तनखा बढ्ने कुराले मख्ख परेर रेडियोमा कान थापेर सुनेकाे थिएँ । मन्त्रीले बजेट पाठ गरेर सिध्याए । तर तनखा बढेकाे कुरा आएन । कानले धाेका दियाे कि भनेर साथीहरूलाई फाेन घुमाएँ । सबैबाट उत्तर एउटै आयाे- “तनखा बढेन । महङ्गी भत्ता मात्रै बढ्याे ।”
आफू त परियाे रिटायर मान्छे । बीस वर्ष जागिर खाएर निस्किएको । आफूले जागिर खाने बेलाजस्तो सजिलाे पछि भएन । जमानाले के के ल्यायाे । प्रविधिको ज्ञान भएन । पुरानाे दिमाग पुरानाे टायरझैं पन्चर भयाे । त्यसैले त रिटायर हुने मन भएर घर गएकाे कुरा यहाँ भन्नलाई पनि लाज भएन ।
बीस वर्ष जागिर खाएर पनि तनखाकाे अर्थ नबुझ्ने बज्रस्वाँठ भन्नुभएको हाेला । नबुझेको कुरा किन बुझें भन्नू र ? यहीं बुझ्न मन लागेर एकजना भाइकाेमा गएँ । आफूलाई लाल बुझक्कड ठान्ने सत्ता पक्षकाे राजनीतिज्ञ मान्ने भाइले भने- “तपाईं कुराे बुझ्नु हुँदैन दाजु । सरकारले यसपालि तनखा नबढाउनुकाे कारण अर्कै छ । आगामी वर्ष तपाईंको तनखा शतप्रतिशत बढ्छ ।” अब उनीसित धेरै बाेलिरहने कुरा भएन ।
आफूलाई हरेक कुराकाे विज्ञ ठान्ने राजनीतिक रूपमा प्रतिपक्ष मान्ने अर्का भाइसित बुझ्दा उनले वर्तमान सरकार आफूले मात्रै खान जानेकाेले तनखा नबढाएकाे कुरा गरे । सरकारका बारेमा बेलबखत आउने समाचारले पनि कुरा हाे कि जस्ताे लागेकाे छ । बिचरा सरकार ! आफै भाेकाे छ । डाडु पन्यू हातमा परेकाे बेला म खा नभनेर किन कसले किन भन्छ तँ खा ? त्यसैले सरकारले पनि किन बढाओस् अरूकाे तनखा ?
यत्तिले मात्रै मेराे चित्त बुझेन । बहालवाला साथीहरूलाई भेटेर जिज्ञासा राख्दा उस्तै गुनासा सुनिए । एकजनाले त झर्किएरै भन्न भ्याए, “तपाईं जस्तो रिटायरलाई किन बढी चासाे ? घर बसेर खानेलाई किन बढाउने तनखा ? हाम्राे पनि त बढेन नि ! विरामी विदा , सञ्चयकोष, ग्रेड सबैतिर घाटा !”
बाटामा लुखुरलुखुर हिँडिरहेका एक परिचित अनुहारले भने, यसपालि सरकारले तनखा नबढाएर ठिकै गर्याे । हुनत : तपाईंहरूलाई घाटा भए हाेला । हामीलाई त राम्राे भयाे । तपाईंको तनखा बढ्दा यता बजार भाउ ह्वात्तै बढ्छ । तपाईंहरूलाई त फरक पर्दैन हामीलाई त सकस हुन्छ नि ! ” उनले एकाेहाेराे फलाकिरहे । मैले कुनै प्रतिक्रिया जनाउन चाहिन । फेरि आफू परियाे साेझाे मान्छे । साेझा कुरा बुझ्ने । साेझा अर्थ खाेज्ने । जसले जे भने पनि पत्याउने । विश्वास गरिहाल्ने । उनका कुरा पनि ठिकै जस्तो लाग्याे । तर एउटा कुराले भने पिरलिरह्याे- “तनखा शब्दकाे खास अर्थ हाे के ?”
भाषा भन्ने कुरा पनि बढाे विचित्रको हुँदाे रहेछ । शब्द शब्दका अर्थ नबुझ्दा धाेका खाइदाे रहेछ । केही नबुझ्ने बाेका भइदाे रहेछ । भाषाकाे भासमा फसेपछि शब्दकाे जालमा जेलिएपछि माकुरी जालमा परिदाे रहेछ ।
म परें मान्छे नेपाली । मेराे भाषा नेपाली । आमाको काखदेखि नै नेपाली सुन्दै र बाेल्दै आएकाे । स्कुल जान थालेपछि नेपाली मै पढ्दै र लेख्दै आएकाे । क्याम्पस पढ्न थालेपछि नेपालीलाई मुख्य विषय बनाएकाे । पढाउन थालेपछि नेपाली नै पढाइको । कुरा गर्याे कुराकै दुःख भएकाे छ मलाई । भाषाकाे चुराे कुराे नबुझ्ने भुराे म असाध्यै अप्ठ्यारोमा परेकाे छु ।
फारसी भाषाकाे तनख्वाहबाट नेपाली भाषा जगतमा चलेकाे तनखाले मेराे टाउको रिंगादिएकाे छ । पहिले मैले पनि तनखाकाे अर्थ परिश्रम गरेवापत् पाइने पारिश्रमिक बुझें । तपाईंको बुझाइ पनि यहीँ हाे भने गलती गरिरहनु भएकाे छ ।
लहराे तान्दा पहराे जान्छ भनेझैं तनखाकाे अर्थबाेध गर्न मैले अनेक स्राेतकाे खाेजी गर्नु पर्याे ।गाउँमा आफूभन्दा वरिष्ठ विद्वान् नहुँदा पल्लाे गाउँसम्म पाउलाई कष्ट दिनुपर्याे । पल्लाे गाउँमा नाउँ चलेका विद्वान् पण्डित खुस्केटानन्दले कहिल्यै नभुल्ने गरी तनखाकाे अर्थ लगाइदिए । जसलाई म चाहेर पनि भुल्न सक्दिन ।
गुरु खुस्केटानन्दकाेमा म पुगेकाे कुरा तपाईंलाई पनि थाहा भैसकेको विषय भयाे । म त्यहाँ पुग्दा उनले दलानमा बसेर तमाखु तानिरहेका थिए । मैले हत्त न पत्तसित गुरूकाे गाेडामा मेराे निधार टेकाएँ । गुरूकाे गाेडाबाट आएकाे गाेबरकाे बास्ना नाके ओढारबाट छिरेर टुप्पीसम्म पुगिसकेको थियाे । यद्यपि याे मेरा लागि साैभाग्यकै विषय थियाे । म अल्झिएकाे तनखाकाे अर्थकाे गाँठो फुकाउनु थियाे । गुरूले आँगनमा रहेकाे दाउराको ठुटाे चिर्न भनेपछि मैले चिरिदिएँ । गुरूले भित्रबाट खाजा झिकाए । गुरूमाले ल्याइदिएकाे मनभाेग गुरूबाले एक्लैले खाए । खाजा खाएर सिध्याएपछि गुरूबाले साेधे-“कति कामले आइस् ताे कान्छा ?”
मैले तनखा शब्दकाे अर्थ स्पष्ट पारिदिन आग्रह गरें । गुरूले स्पष्ट पारिसकेको बताएर गाउँमा काम छ भनेर हिँडे । गुरु हिँडेपछि म पनि त्यहाँबाट फर्किन बाध्य भएँ । रून्चे मुख लगाएर घर फर्किएको देखेपछि बुढीले चिन्ताकाे कारण साेधिन् । मैले घटनाकाे बेलिबिस्तार लगाएँ । बुढीले हाँस्दै भनिन्- “खुस्केटानन्द गुरूले ठिकै त भनेछन् । तपाईंलाई दाउरा चिराएर मनभाेग गुरूले एक्लैले खाए । तनखाकाे अर्थ यसमै छ । दाउरा चिर्दा तपाईं भाेकाउनु भएकाे थियाे तर मनभाेग खान पाउनु भएन । तनखा याने तँ नखा । तँले काम गर तर नखा अर्थात् खाने काम नगर । काम गर्ने तेराे जिम्मेवारी हाे तर खाने अधिकार हाेइन । खाने भनेकै ठूलाबडाले हाे । दुःख गर्नेले हाेइन ।
सरकारकाे काम पनि त्यही हाे । सकेसम्म आफूले मात्रै खाने । आफ्नालाई मात्रै खुवाउने । दुःखी गरिव रूवाउने । सपना मात्रै देखाउने । विपनाहरू तुवाउने । अब त बुझ्याै हाेला नि बुढा तनखाकाे अर्थ ! तनखा याने तँ नखा ।” बुढीकाे जवाफले म निरूत्तर भएँ ।
०००
२०८२।०२।१७
रेसुङ्गा न पा २ ,गुल्मी









































धन्यवाद सर, तनखा खान सुरु गर्दा नै अर्थ पनि थाहा पाएँ ।
धन्यवाद
धन्यवाद रमाजी
सही हो गरुदेव ! सही रहेछ – तनखा यानेकी तँ नखा ।
panthiramu83@gmail.com