धनराज गिरीखोज !
सुविधानगर जाने, अतीत बिर्सिने, विदेहीको नाम जप्ने, दूर क्षितिजमा इन्द्र कल्पना गर्ने, ॐ शान्ति ॐ, १००८ पटक जप्ने, जे जे पर्छ खप्ने । अम्लान फूल पढ्ने !

धनराज गिरी :
अनेक प्रपञ्च र घनचक्करहरू पार गरी दिक्क भएर आधा रातमा घरबाट लुसुक्क निस्कियो नभोमणि चिन्तक, बाठो हो, तर इमानदार ! उसको इमानदारीले हावा खायो । सरल र सज्जन बनेको हो, काम लागेन । गौतम बुद्ध बन्न होइन,कुन्नि के हुन हो, निस्कियो । सामाजिक संजालमा “इटहरी ब्लूज र मैनाली ब्लूज” जस्तो गरेन । चार छोरीहरूको बा, पत्नी कर्कश, आम्दानीले धान्न गाह्रो, खर्चालु जीवनसङ्गिनी, शङ्का पनि अति गर्ने। “ह्या,अरू अरू पनि भागेका हुन् … भाग्छु” सोच्यो, र टाप !
तीन महिना बरालियो । देश छोडेन । मनले के खोजेको हो ? के ? किन निस्किएको घरबाट ? थाहा छ, थाहा छैन। “मेरो खोज शान्ति हो, मनको शान्ति !” स्वसम्वाद ! “स्व” पढेको थियो । नथियाको सम्झना आयो। पागलवस्तीतिर गएन । दुई चार चुली चढ्यो । मेचीदेखि महाकालीसम्म चक्कर लगाएर पनि उसको “खोज” पूरा भएन। “हे महादेव, म यत्तिकै फर्किने त घर ? मार्छे मेरी ज्वालामुखीले ! के मुख देखाउन जाने ?” मनोवाद। कमलादी पुग्यो। एक हल, “शान्तिको खोज !” किताबको विमोचन। “आहा, यसले पो “रहबर” को काम गर्लाजस्तो छ, फिर्दौसको साँचो त यहाँ फेला पर्लाजस्तो छ!” मनमा कुरा खेलायो। एक कुनामा बस्यो । केही साहित्यप्रेमीहरू, नजीकै, लाज मानेन। परिचय गर्यो।
“म विनोद नेपाल !” सरल देखिने, एक युवक।
“म गोविन्द नेपाल !” उस्तै !
“म कोपिला घिमिरे !” शालीन नानी !
“म दुर्गा तिवारी !” तेजिला नैनास्वामिनी।
“म भगवती बस्नेत !” युवती, मीठो बोली।
“म गणेश, म विष्णु, म गफाडी, म शिव, म सिर्जना” भयो परिचय।
आफ्नो पीर पोख्यो। “खोज” बतायो ।
सबैको साझा राय, “सुविधानगर जाने, अतीत बिर्सिने, विदेहीको नाम जप्ने, दूर क्षितिजमा इन्द्र कल्पना गर्ने, ॐ शान्ति ॐ, १००८ पटक जप्ने, जे जे पर्छ खप्ने । अम्लान फूल पढ्ने ! सपनाको समाधिको भए आराधना गर्ने, बार्दलीको जूनलाई सम्मान गर्ने । उत्तम रिजालको अनुज, धर्मराज अधिकारीको शागिर्द, हाम्रा दाजी प्रोफेसर” निर्दोषनारायण भारद्वाज जमरकटेलोपाध्याय गजलश्रीको सुझाव मान्ने, “शान्ति” को दर्शन हुन्छ। ग्यारेन्टी !!”
नभोमणि लाग्यो सुविधानगरतिर।
०००
चितवन, हाल- क्यानडा
Subscribe
Login
0 Comments
Oldest







































