पदम भण्डारीझोलाको जय होस्
'झोले' शब्द आज नेपाली राजनीतिको एउटा तीतो सत्य बनेको छ । यो शब्दले निर्दोष 'झोला' लाई बदनाम मात्र गरेको छैन, बरु हाम्रो लोकतान्त्रिक प्रणालीलाई पनि कमजोर बनाएको छ।

पदम भण्डारी :
सृष्टिको आदिम कालदेखि नै मानव सभ्यतामा ‘बोक्ने’ को ठूलो महत्व रहिआएको छ । चाहे आदिमानवले शिकार बोकोस्, चाहे भरियाले भारी, बोक्नेको भूमिका अपरम्पार छ । तर आज हामी एउटा यस्तो ‘बोक्ने’ को कुरा गर्दैछौँ, जो कुनै भारी बोक्दैन, न त कुनै वस्तु बोक्छ । ऊ बोक्छ त केवल नेताका झुट, फुर्सदमा निकालिएका गफ र कहिलेकाहीँ त नेताको ‘इगो’ समेत ! हो, हामी कुरा गर्दैछौँ नेपाली राजनीतिको पर्यायवाची बनेको ‘झोले’ शब्दको ।
नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ अनुसार ‘झोले’ शब्दका मुख्य दुईवटा अर्थहरु छन् । अर्काको झोला बोक्ने: यो अर्थले अरुको सामान बोक्ने व्यक्तिलाई बुझाउँछ। झोला बोकेर हिँड्ने: यो अर्थले सामान्य रुपमा झोला भिरेर हिँड्ने व्यक्तिलाई बुझाउँछ। यसबाहेक, नेपाली समाजमा ‘झोले’ शब्दलाई प्रायः नकारात्मक अर्थमा प्रयोग गरिन्छ। यसले नेताका पिछलग्गु वा चाटुकार कार्यकर्तालाई जनाउन पनि प्रयोग हुन्छ, जसलाई ‘मामूली’, ‘निम्न तहको’, ‘नगण्य’ वा ‘महत्त्वहीन’ व्यक्ति भनेर बुझिन्छ। राजनीतिक सन्दर्भमा कसैको अन्धो समर्थन गर्ने र आफ्नो विवेक प्रयोग नगर्ने व्यक्तिलाई पनि ‘झोले’ भन्ने गरिन्छ ।
नेपाली बृहत् शब्दकोश पल्टाएर हेर्ने हो भने ‘झोले’ शब्दको अर्थ पाउनुहुन्छ: ‘झोला भिरेको व्यक्ति वा झोला भएको।’ कति निर्दोष, कति सामान्य! यो शब्दले कुनै बदमासी गर्दैन, न त कसैको अपमान। एउटा विद्यार्थीले किताब बोक्ने झोला भिर्यो भने ऊ ‘झोले’ हुन्छ, एक जना वृद्धले ब्याग बोकेर हिँडे भने उनी ‘झोले’ हुन्छन् । यहाँसम्म त सबै ठीकठाक छ । तर नेपाली राजनीतिको कुम्भ मेलामा छिरेपछि यो शब्दले यस्तो कायापलट गर्छ कि बेलाबेला शब्दकोष नै लाजले रातोपिरो हुन्छ होला !
आजकाल ‘झोले’ भन्नासाथ हाम्रो दिमागमा एउटा फरक चित्र आउँछ । त्यो हो, नेताको अगाडि-पछाडि लाग्ने, नेताको जयजयकार गर्ने, नेताले जे गरे पनि ‘ठीक छ हजुर !’ भन्ने, र नेताका लागि ‘जे पनि गर्न तयार’ हुने एक प्रकारको प्रजाति। यिनीहरुलाई कुनै सिद्धान्तको मतलव हुँदैन, कुनै विचारको परवाह हुँदैन। यिनीहरुको एक मात्र लक्ष्य हुन्छ— नेताको निगाहमा पर्नु र त्यसबाट केही व्यक्तिगत लाभ लिनु।
नेताका प्रिय ‘झोले’ का विशेषताहरुमा पहिलो २४ घन्टे सेवा हो । नेता बिहान उठेदेखि राति नसुतेसम्म यिनीहरु ‘एटेन्सन’ मुद्रामा बस्छन्। नेतालाई खाजा पुर्याउनेदेखि लिएर जुत्ताको लेस बाँध्न पनि यिनीहरु पछि पर्दैनन् । यो अतिशयोक्ति होइन, यस्ता घटना सुन्न र देख्नमा आउँछन् । दोश्रो विशेषता भनेको जयजयकारको ध्वनि हो । भलै त्यो कति नै फुर्सदको किन नहोस्, नेताले भाषण गर्दा यिनीहरु ताली पिट्छन् र नेताले जोक भन्दा हाँस्छन् तथा नेताले ‘जनताको भलाइ’ को गफ दिँदा ‘वा वा’ को नारा लगाउँछन्। यिनीहरु यति ठूलो आवाजमा जयजयकार गर्छन् कि कहिलेकाहीँ साँचो जनमतको आवाज नै दबिन्छ । तेश्रो विशेषता भनेको विचारशून्यता हो । यिनीहरुको आफ्नै कुनै विचार हुँदैन। नेताले ‘पूर्व’ लाई ‘पश्चिम’ भन्यो भने पनि यिनीहरु ‘हो हजुर, पूर्व भनेको पश्चिम नै हो’ भन्न तयार हुन्छन्। यिनीहरुका लागि नेता नै सर्वोपरी, नेताको वचन नै ब्रह्माको लकिर नै हुन्छन्
त्यसैगरि चौथो विशेषता भनेको कार्यकर्ता कम, हनुमान बढी हुनु हो । यिनीहरुलाई कुनै पार्टीको वैचारिक कार्यकर्ता भन्न मिल्दैन। बरु यिनीहरु नेताका ‘हनुमान’ हुन्, जसले नेताका लागि ‘आगोमा हाम फाल्न’ पनि तयार हुन्छन्। नेताले खोला तर्नु परे पुल बनेर सुतिदिने र नेतालाई ‘देवता’ को स्वरुपमा देख्ने यिनीहरुको विशेषता हो । पाँचौं विशेषता भनेको टोल-टोलमा ‘झोले’ को सञ्जाल हुनु हो । हरेक पार्टीमा, हरेक नेताको पछाडि यस्ता ‘झोले’ हरुको ठूलो जमात हुन्छ । यिनीहरु सानातिना भेलादेखि ठूला सभासम्म नेताको पछाडि लाग्छन्, मोबाइलमा सेल्फी खिच्छन् र फेसबुकमा ‘मेरो आदर्श नेता’ भन्दै फोटो पोस्ट गर्छन्।
यो शब्द किन यति धेरै बदनाम भयो अर्थात ‘झोले’ को दुर्दशा किन भयो गम्भिर चासोको विषय बनेको छ । यो शब्दको बदनाम हुनुमा मुख्यःतया हाम्रा नेताहरु र उनीहरुका चाटुकार कार्यकर्ताहरु को हात छ । नेताहरुले आफ्ना वरिपरि यस्ता ‘झोले’ हरुको भीड जम्मा गरेर आफूलाई शक्तिशाली देखाउन खोज्छन् । उनीहरुलाई थाहा छ कि यस्ता मान्छेहरुले कुनै प्रश्न गर्दैनन्, केवल समर्थन गर्छन् । यसले नेतालाई आफ्नो मनमानी गर्न थप छुट दिन्छ।
पछिल्लो समयमा एकजना नेताले ‘झोले’ शब्दको दुरुपयोग कसरी गर्छन् भन्ने कुराको उदाहरण हेर्न सामाजिक सञ्जलामा फोटो पोष्ट्याउनेहरुको जमात हेर्दा थाहा हुन्छ । आफ्नो शक्ति प्रदर्शन गर्न नेताहरुले आँफू पछि लाग्ने ‘झोले’ हरुको संख्या गनेर आफ्नो शक्ति प्रदर्शन गर्छन् । जति धेरै ‘झोले’, उति ठूलो नेता ! आलोचनाबाट बच्ने हतियार पनि झोले शब्द बनेको छ । यदि कसैले नेताको आलोचना गर्यो भने, ती ‘झोले’ हरु तुरुन्तै अगाडि आएर आलोचना गर्नेलाई ‘दुश्मन’ घोषित गर्छन् । उनीहरु नेताको बचाउमा यति तल्लो स्तरमा उत्रिन्छन् कि कहिलेकाहीँ त लाज पनि लजाउन थाल्छ । झोलेहरु निजी काममा प्रयोग हुन्छन् । सरकारी काममा नभ्याउने नेताहरु आफ्ना निजी काममा यी ‘झोले’ हरुलाई खटाउँछन् । चाहे त्यो घरको सरसफाइ होस् वा बच्चालाई स्कुल पुर्यायउने काम, ‘झोले’ हरु सधैँ हाजिर हुन्छन् । चाटुकारिताको प्रोत्साहन गर्न नेताहरुले चाटुकारितालाई असल र ईमान्दार कार्यकर्ताको भ्रम बाँड्छन् । जसले जति बढी चाटुकारिता गर्छ, उसले उति बढी नेताको नजरमा पर्छ र त्यसबाट व्यक्तिगत लाभ उठाउन सक्छ । यसले गर्दा समाजमा योग्य र सक्षम मान्छेहरु पछि पर्छन् र चाटुकारहरु अगाडि आउँछन् । जब नेताहरु ‘झोले’ हरुको भीडमा रमाउन थाल्छन्, तब उनीहरु जनताको वास्तविक आवाज सुन्न छोड्छन् । यसले प्रजातान्त्रिक मूल्यमान्यतामा ह्रास ल्याउँछ । नेताहरुले आफूलाई ‘सर्वज्ञ’ र ‘सर्वेसर्वा’ ठान्न थाल्छन्, जुन लोकतन्त्रका लागि असल हतियार हो भन्ने भ्रम छर्न सफल हुन्छन् ।
चाटुकार कार्यकर्ताहरु ‘झोले’ किन बन्छन् भन्ने कुरा पनि रोचक नै छ । यिनीहरुलाई कुनै सिद्धान्त वा विचारको वास्ता हुँदैन। नेताको नजिक रहेर ठेक्कापट्टा, जागिर वा अन्य व्यक्तिगत लाभ लिनका लागि यिनीहरु ‘झोले’ बन्छन् । नेताको नजिक रहेर आफूलाई शक्तिशाली देखाउने र अरुमाथि ‘हाकिम’ बन्ने चाहना पनि ‘झोले’ बन्नुको अर्को महत्वपूर्ण कारण हो । त्यसैगरि, कतिपय ‘झोले’ हरुलाई त राजनीति के हो, लोकतन्त्र के हो भन्ने पनि राम्ररी थाहा हुँदैन । उनीहरु केवल भीडको पछि लाग्छन् र नेताले जे भन्यो त्यही सही मान्छन् । समाजमा आफूलाई चिनाउन नसकेका वा केही गर्न नसकेका मान्छेहरु पनि नेताको ‘झोले’ बनेर आफ्नो अस्तित्वको खोजी गर्छन् ।
हालै झोले शब्दले बजार तातिरहेकोले झोले संस्कृतिले नेपाली समाजमा गहिरो प्रभाव पारेको छ भन्ने बुझ्न सकिन्छ । नेपाली राजनीतिमा ‘झोले’ संस्कृतिले गहिरो जरा गाडेको छ। यसले गर्दा योग्यताको अवमूल्यन भएको छ, पार्टीमा योग्यता र क्षमताको कदर हुन छोडेको छ । चाटुकारिताको आधारमा पद र जिम्मेवारी दिइन्छ । हरेक नेताको आफ्नै ‘झोले’ समूह हुन्छ, जसले गर्दा पार्टीभित्र गुटबन्दी मौलाएको छ । ‘झोले’ हरु नेताका गलत काममा पनि साथ दिन्छन्, जसले गर्दा भ्रष्टाचारलाई प्रोत्साहन मिलेको छ । जनताले योग्य नेतृत्वको अभाव देखेका छन् र राजनीतिलाई ‘झोले’ हरुको खेल ठानेका छन्, त्यसैले जनताहरुमा निराशा मौलाएको छ ।
‘झोले’ शब्द आज नेपाली राजनीतिको एउटा तीतो सत्य बनेको छ । यो शब्दले निर्दोष ‘झोला’ लाई बदनाम मात्र गरेको छैन, बरु हाम्रो लोकतान्त्रिक प्रणालीलाई पनि कमजोर बनाएको छ। यसबाट मुक्ति पाउनका लागि नेताहरुले चाटुकारितालाई प्रोत्साहन दिन छोड्नुपर्छ, कार्यकर्ताहरुले आफ्नो विवेक प्रयोग गर्नुपर्छ र नेताका गलत कामको विरोध गर्न सक्नुपर्छ, जनता सचेत हुनुपर्छ र ‘झोले’ हरुको पछि लाग्ने नेताहरुलाई भोट दिनबाट बच्नुपर्छ । त्यसो भए मात्र ‘झोले’ शब्दले आफ्नो पुरानो, निर्दोष अर्थ फिर्ता पाउनेछ र नेपाली बृहत् शब्दकोशले पनि लाजले रातोपिरो हुनबाट जोगिनेछ ।
जय होस् झोलाको ! जय होस् शब्दकोशको !! जय होस् सचेत नागरिकको !!!
०००
चितवन
Subscribe
Login
0 Comments
Oldest






































