साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झोले मास्टर

झोलेहरुले देश र जनताको सेवामा झोला बोक्ने भए त ठिकै थियो तर यहाँ त कुरा खोक्ने धेरै छन् र त हो । कुराले के के भने र काम चाहिँ के के गरे लाटाले पनि जान्दो हो ।

Nepal Telecom ad

रामप्रसाद अर्याल :

हो म झोले हो । तपाईँ हामी झोले हाे । झोला बोक्ने झोले हुन्छ, खोला–खोला हिँड्ने खोले हुन्छ । झोला बोकेर खोलाको बाटो चिन्ने र हिँड्ने झोलेखोले हुन्छ । जिन्दगीमा झोला कसले बोकेन होला ? तर त्यो रोग ब्याधि भन्दा पनि खतरनाक उपाधि पाउँछ भने मास्टरले मात्र । उपाधि पाउनु चानेचुने कुरा भने होइन । ठूला ठूला कार्य सम्पादन गरेर कति जनाको बुद्धिको बिर्को हरेर कतिको शरण परेर मात्र पाइने कुरा हो यो ।

त्यसो त मास्टरको जागिर पाउन चुहिएको घर छाउन भन्दा पनि गाह्रो कुरा हो । सुरुमै जागिर पाउन मख्खनले भरिएको हर्पेको ढक्कन लाएर खक्कन भएको झोला भिरेर अधिकारीको घरडेरामा सुटुक्क छिर्नु पर्छ । यो पहिलो सर्त हो । आफ्नो औकात अनुसार सौगात अधिकारलाई टर्क्याएपछि अधिकारीको प्रतीक्षामा अलि पर टुक्रुक्क बस्नुपर्छ । उनी आएपछि धनुषाकारले स्वस्ति गर्नुपर्छ । चेपारो घस्नुपर्छ । छेपारोले झैं रङ बदल्न जान्नुपर्छ । मौकामा छक्का हान्न जान्नुपर्छ नत्र जीवनभर छक्किइन्छ ।

पुरानो जमानामा पञ्चायती व्यवस्थाको विरोधमा कम्मर कस्दा, विभिन्न माग राखेर शिक्षा शाखामा धर्नामा बस्दा, मैले एक कविता सुनाएको थिएँ । “मास्टर चक र डस्टर” त्यो त्यही युगको कुरा हो । त्यतिखेर मास्टरहरूको आन्दोलन थियो । मास्टरहरूको झोलामा हुने भनेको चक र डस्टर त हो ।

त्यसो भन्दा अघि मास्टरलाई गुरु मानिन्थ्यो । गुरुको झोलामा पोथीपात्रा हुने गर्थ्यो । “गु” को अर्थ अन्धकार र “रु” को अर्थ उज्यालो प्रकाश हो भन्ने गरिन्छ । जसले आफ्ना े शिष्यहरुलाई उचित ज्ञान र उचित मार्ग देखाउँछ । त्यो गुरु हुन्छ । भनिएको पनि छ जो आफू जलेर अरुलाई प्रकाश दिन्छ त्यो गुरु हो । अध्यापक, शिक्षक, मास्टर, गुरुका  पर्यायवाची शब्द हुन् । हिजो गुरुले शिष्य छानेर लिन्थे । सम्पूर्ण बिषयगत ज्ञानमा पारागत बनाउँथे । शिष्यलाई गुरुको नाम लिँदा र गुरुलाई शिक्षकको नाम लिँदा गर्व हुन्थ्यो । सोही अनुसार मानसम्मान र मूल्याङ्कन गरिन्थ्यो । राम लक्ष्मण आदिलाई गुरु वरिष्ठले शिक्षादीक्षा दिंदा योगवाष्ठि बन्न गयो ।

अहिले पनि आम नागरिकको अगाडि बसेर जीवनको गाडी हाँकिरहेका छन् गुरुहरुले । जीप, ट्याक्टर, टिप्पर, बस कुदाउने र जुदाउने सीप उनीहरूमा छ । कहिलेकाहीँ उच्च सम्मान पाँएर बसाउने पानी खाएर बाटो कुबाटो गुडाउँछन् र त्रिशुलीमा गुडाउँछन् र पो मार्छन् त गुरुहरुले उसो त उहिलेका गुरुहरु पनि कम्ताका ज्याद्रा हुन्नथे र उनीहरूले मनभरिको गुरु दक्षिणा कुम्ल्याउँथे यदि गुरु दक्षिणा नपाएमा वचनले नै भए पनि सुम्ल्याउँथे ।

गुरुले बनाएको मूर्ति र गुरुको स्वार्थ पूर्तिका लागि एकलव्यले दाहिने हातको बुढी औंला काटेर गुरु दक्षिणा दिएका थिय । धन्य छ एकलव्यको गुरु भक्ति ।

गुरु हिजोदेखि नै भाँतिभाँतिका हुने गरेका छन् । कर्णलाई शिक्षादीक्षा दिएर गुरु परशुरामले भने “तलाई ऐन मौकामा मैले दिएको शिक्षा काम नलागोस्‌” शिक्षा पनि जात अनुसार हुने । अन्तर्यामी गुरुले कर्णको जात जानेको भए हुने । शिक्षा र भिक्षा दिँदै नदिनु दिएपछि फिर्ता नलिनु नि । कर्णलाई दिएको शिक्षा अभिशाप हो कि बरदान मैले आजसम्म पनि भेउ पाउने हेउ गरेको छैन । जुन शिक्षाले आफ्नो शिष्यको ज्यान लियो ।

कसैकसैलाई लाग्ला गुरु भनेपछि सबैको एकै प्रकारका झोले हुन्छन् । म भन्छु त्यसो होइन र हुँदैन पनि । गुरुहरू फरक फरक धारका अन्यान्य साकार र विभिन्न प्रकारका हुन्छन् ।

जस्तो भनौँ न देवताका गुरु बृहस्पतिले जिन्दगीभर देवताकै हित चिताएर उनीहरूलाई लडाइँमा जिताएर र उनीहरूकै पक्षमा झोला बोके होला । गुरु शुक्राचार्यले दैत्यवर्गको पक्ष लिए, उनीहरुलाई युद्ध जित्ने शिक्षा दिए । नयाँ नयाँ शस्त्र र अस्त्र निमार्ण र प्रयोग गर्ने कला सिकाए । देवताका राजा इन्द्रलाई तल खसाए । उनको नीतिलाई शुक्रनीति भनिन्छ । जुन नीति अहिले व्यापक रुपमा पढिन्छ र त राजसिंहासनमा बस्ने र बसाउने, खस्ने र खसाउने खेलोको मेलो चलिरहन्छ । हाम्रै देश, प्रदेश, गाउँठाउँ, संघ, संगठनहरुमा ।
भन्ने गरिन्छ आधुनिक जमानाका विष्णुगुप्त चाणक्य अर्थशास्त्रका ज्ञाता महान पण्डित थिए । उनको नीति चाणक्य नीति बन्यो । उनको शिक्षा र नीतिले एउटा सामान्य बालकलाई सम्राट बनायो । उनी पनि झोले मास्टर नै हुन् । उनको झोलामा अर्थशास्त्र र नीतिकै पोथीपात्रा हुँदा हुन् । उनी विशाल साम्राज्यका महामन्त्री आमात्य भने सम्राट र राष्ट्रकै झोला बोके ।

श्री कृष्णका गुरु साँदीपनीले उज्जैनको आफ्नै आश्रममा बलराम र कृष्णलाई ६४ कला सिकाएका थिए। अहिले आएर ती पनि झोले भए ।

नेपालमा २०३६ सालमा सम्पूर्ण शिक्षकको एक ढिक्का भएर आन्दोलन गरेर सरकारलाई बाध्य पारेर नेपाल राष्ट्रिय शिक्षक संगठन दर्ता गरे चैत्र २९ गते । आजसम्म त्यो दिनलाई शिक्षक दिवसका रुपमा मनाइन्छ तर अहिले झोले शिक्षकहरुले टोले बनेर छुट्टाछुट्टै टोलमा कार्यक्रम गर्छन् । २०४७ सालमा देशका मुखियाले अत्यन्तै दुखिया हुँदै भने “हे मेरा पक्षमा भोट खसाल्ने झोलेहरू हो” तिमीहरुले संगठन फुटाल र संघ बनाओ । मैले तिमीहरूको दासताको झोला भरिदिउला । त्यसबाट यता देशमा जति दल त्यति दलका मास्टरहरुका झोला । कुनैको ठूलो झोला र कुनैको सानो झोला हुने र नहुने जति महासंघको छातामुनि ओतिने होला । दलका खोलेखाने झोला संघ संगठनका मञ्च परिषद् आदि भनेपछि दलका आन्तरिक कुरा चुहिने र शिक्षकहरूका माझ कुहिने गरेको इतिहास छ । गाँठी कुरा त के छ भने आन्दोलनका बेला माग पूरा गरिन्छ कुराले व्यवहारमा पूरा गर्न पर्दैन ।

पाठकहरूका मनमा झोलाभित्र के के होला भन्ने जिज्ञासा उत्पन्न हुनु स्वभाविक हो । त्यसैले म तपाईको जिज्ञासा मिटाइदिन्छु । मास्टरका झोलामा पाठ्यपुस्तक सन्दर्भ सामग्री पाठ्य योजना शैक्षिक सामग्री आदि हुन्छन् । त्यसका अतिरिक्त झोले हुनुको भावले पार्टीका दस्तावेजहरू पनि हुन्छन् ।

विपन्न वर्गको झोलामा सिद्रा र खुदी हुन्छ । सम्पन्न वर्गको झोलामा गुदी हुन्छ । गुदी हुनेले विधिको प्रयोग गरेर दुनियालाई आफ्नो विचारको झोला बोकाउँछन् । आमाहरुले बोक्ने झोलामा बच्चाबच्चीका थाङ्नाका भोटा हुन्छन् । युवा युवतीका झोलामा आफ्नो केटाकेटी साथीको फोटा हुन्छन् । ससाना केटाकेटीको झोलामा गट्टा हुन्छन् । भने हुलाक कर्मचारीको झोलामा चिठीपट्टा हुन्छन् । अम्मलीका झोलामा चुरोट, सुर्ती र खैनीका बट्टा हुन्छन् । लुटेरा आतंककारीको झोलामा गोलीगठठ हुन्छन् ।

जोगी, जलन्तरीहरू र महादेवले भिर्ने झोलामा बुभुक्षा मेटाउन अन्न भेटाउन थाप्नेलाई झोली भनिन्छ भने हाम्रा मापाका अगुवाहरूले बोक्नेलाई झोला भनिन्छ । जोगीका झोलामा चामल सामल हुन्छ । भने भ्रष्टाचारी, घुसिया, दलालीहरूका झोलामा के के होला ? तपाईं आफै भन्नु होला ? म भन्दिन । भने भने जिब्रो थुतिन्छ ।

अहिले झोलाको बजार भाउ चरम चुलिएमा चढ्दै छ । ठूला बाउले र घरका माउले म झोले हुँ भनेपछि तपाईं हामी झोलेकै सन्तान भयौँ । यदि कहीँ कतै कोही कसैले म झोलेको सन्तान होइन भन्नै सक्दैन । यदि भनिहाल्यो भने हामी झोलेहरूको उत्तर आउँछ हजुरको ९० हजार भन्दा माथिको ऋणको झोला कसले बोकिदिन्छ होला ? झोले मास्टरले ।

झोला पनि फरक फरक रङका फरकफरक ढङका हुन्छन् । पञ्चहरूले बोक्ने पहेंला झोलामा बागमतीमा सेलाइएका, मरिमसान खेलाइएका, राजारानकिा फोटा हुन्छन् । सुत्केरी आमाको झोलामा राले नानीको भोटो हुन्छ । क्रान्त्रिकारीका झोलामा लाल रङका किताब सहिदहरूका चित्र विचित्रकै हुन्छन् ।

राष्ट्रवादीहरुका झोलामा देश बनाउने खाका हुन्छ । जनताको जीवन उकास्ने भाका हुन्छ । देश निर्माणको योजनाको झोला गहकिलो हुन्छ ।

हामी कहाँ परचक्रीको अगाडि सहयोगको झोला थाप्ने र उनीहरूले दिएको कुटिल वस्तुमा सन्तुष्टि हुनेहरु छन् । यहाँ विदेशी प्रभुहरूको आशीर्वादको झोला बोक्नेहरूले राष्ट्रको झोला बोकेको छु भन्दछन् । आशीर्वादको निम्ति विदेशतिर धाउने र दुःख पाउनेहरू धेरै छन् ।

जहाँसम्म झोले मास्टरहरूको कुरा छ झोला नबोकी मास्टर कसरी हुन सकिन्छ । म पनि झोले मास्टर हो । शिशु कक्षादेखि मास्टर डिग्री हासिल गर्दासम्म झोला बोकेकै हो । विभिन्न दलका आन्दोलनमा बन्द हड्ताल नारा जुलुस प्रहरी र थानामा थुनिएकै हो । झोला बोकाउने पनि उनै दल, झोले भन्नेहरु पनि उनै । कुनै एउटा दलको झोला नबोकेसम्म शिक्षकले नियुक्ति पत्र पायो ? एउटा हातमा दलको टिकट अर्को हातमा नियुक्ति नव्यहोर्ने कुनै एउटा मात्र पनि शिक्षक भेटाउन भ्रष्टाचार नगर्ने कर्मचारी भेटाउन जत्तिकै दुर्लभ हुन्छ ।

हामी राष्ट्रका वफादार इमान्दार शिक्षक भएनौँ । पार्टीका झोला बोक्यो त्यसो गर्नु बाध्यता थियो । पेट पाल्नका लागि । “मर्ता क्या नही कर्ता” भनेझैँ भयांै । न त निषपक्ष बन्न सक्याैँ । न हामी आफ्नो विवेक ज्ञान र स्वाभिमानमा अडिन सक्याैँ र त झोले मास्टर भयौँ । मास्टर जति झोले हुन् किन भने पञ्चायती शासनको रासन खाने पञ्चायती झोले । कांग्रेसको शासनमा नियुक्ति हुने कांग्रेसका झोले । एमालेको सरकारको तलब भत्ता बुझ्ने एमालेका झोले । माओवादीको वकालत गर्ने माओवादीका झोले । मधेशी दलको वकालत गर्ने मधेशी झोले ।

कुनै न कुनै दलका सिद्धान्त विचारका संवाहक वा मतदाता शिक्षकहरू झोले हुन् । तत्तत विचारका । हिजोका कुनै नेताले भने गर्दथे “म देशको वफादार सिपाही हुँ” । कसैले भन्थे “म देश र जनताको सेवक हुँ” । भन्न न हो को भन्दा को कम अहिलेका मुली मन्त्री नेता र कार्यकर्ताले भने म झोले हुँ ।

झोलेहरुले देश र जनताको सेवामा झोला बोक्ने भए त ठिकै थियो तर यहाँ त कुरा खोक्ने धेरै छन् र त हो । कुराले के के भने र काम चाहिँ के के गरे लाटाले पनि जान्दो हो ।

देशको एमानका नेतादेखि लिएर झिङ्खुट्टे कार्यकर्तासम्मका भाषण सुन्ने म । एक वाक्य सिकाएको पनि गुरु हुन्छ भन्ने कुरा मान्ने म । त्यसैले सबै दलका सबै नेता मेरा झोले गुरुहरु हुन् । म पनि कमताको छु र गाउँबेसी धुईपत्ताल लाएर कुरा जोत्ने म पनि झोले मास्टर हो । मेरो कुरा सुन्नेका लागि ।

साँच्चै भनु भने धर्ती टेकाउने र बाटो देखाउने मेरी आमा लाटी भएपनि, निरक्षर रहे पनि मेरो सबैभन्दा आदरणीय गुरु हुन् । आमाको आशीर्वादको झोला माथमा रहेसम्म कोही शिष्य सन्तति अनाथ नहोला ।

अहिले देशले गरेको उच्च उन्नतिको श्रेय यिनै झोले मास्टरमा जान्छ । किनभने यिनै झोले मास्टरले सिकाए, पढाएका शिष्यहरू सत्तामा गए र त हो । तपाईंले पनि कोही न कोहीको झोला बोक्नुभएकै होला बोक्ने अवसर नपाएको भए मलाई भन्नुहोला मैले झोले मास्टर खोजिदिउँला ।

०००
पाल्पा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जता मल्कु त्यतै ढल्कु

जता मल्कु त्यतै ढल्कु

रामप्रसाद अर्याल ‘अविराम’
मलाई मनपर्ने दलको दाल

मलाई मनपर्ने दलको दाल

रामप्रसाद अर्याल ‘अविराम’
हस् हजुर ! हुन्छ हजुर !!

हस् हजुर ! हुन्छ...

रामप्रसाद अर्याल ‘अविराम’
भाँजी मार्नु

भाँजी मार्नु

रामप्रसाद अर्याल ‘अविराम’
जङ्क पोलिटिक्स

जङ्क पोलिटिक्स

रामप्रसाद अर्याल ‘अविराम’
फुक्लिएको दाँत

फुक्लिएको दाँत

रामप्रसाद अर्याल ‘अविराम’
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
0
Would love your thoughts, please comment.x
()
x