रामकृष्ण ढकालनेता नम्बर ४२०
जसरी हुन्छ देश र जनता भनेका राजनीति र जागीर नीतिले लुछेर गोदेर टोकेर ठोकेर निचोरेर थेचारेर पछारेर लछारेर धसारेर घिसारेर बङ्ग्याएर नङ्ग्याएर दङ्ग्याएर घुर्क्याएर सुर्क्याएर झुक्याएर मुक्याएर गर्न पाउने धर्तिको बरदान नै भैहाले ।

रामकृष्ण ढकाल :
स्कूल पढिसक्दा खेरी लब्धाङ्क पत्रले लब्ध प्रतिष्ठितको त कुरै छोडौं उत्तीर्ण भएँ भन्न पनि नेता भएँ भनेजस्तो लाजमर्दो हुने अङ्क तालिका बोकेर आयो । त्यसपछि प्रचलित शब्दावलीमा क्याम्पस भनिने हल्लन्दास केन्द्रतिर अलिवर्ष हाजिरी जनाइयो । यहीँबाट वर्षैपिच्छे कहिले कसको कहिले कसको झोला बोकियो । आइपर्दा समूह मिलेर दुई चार निर्धासोझालाई ठोकियो । कहिले तालाबन्दी गरि आफ्नै पढाई रोकियो । कहिले कुनै बहानामा कहिले कुनै बहानामा नोटदेखि कोटसम्म बोकियो । आफ्नै भविष्यदेखि साथीसङ्गीलाई पनि टोकियो । जिल्लाभरका सबै दलका दलेहरूले आफ्नै मान्छे मान्थे । जहाँ भेट्यो जहिले भेट्यो च्यादेखि स्यासम्म खुवाउँथे । कहिले हसाउँथे धेरैजसो रुवाउँथे ।
कसैको पूर्व त कसैको पश्चिम कसैको उत्तर त कसैको दक्षिण कार्यकर्ता । जुन दलका झोले झाम्टे जुम्रे जगल्टे कौडे मुन्द्रे गुन्द्रुके बाघभुत्ले भेटे पनि लाग्थ्यो तिनै हुन् आफ्ना तिनै हर्ताभर्ता । जसको आन्दोलन भए पनि हुने हान्दोलनको अग्र मोर्चाको लाडाकु, भाग्न परोस् कि माफी माग्न केहिमा पनि पछि नपर्ने होनहार भइयो । हुन त रुस देशका उसबेलाका साहित्यकार म्यक्सिम गोर्कीले जुत्ता पसलको नोकर हुनु, पानी जहाजको कामदार हुनुलगायतका भोगाइलाई आफ्नो विश्वविद्यालय भनेका छन् । यता हाम्रोमा त्यसरी दुख गरेर नायक बन्नुभन्दा पाक्कपुक्क भ्वाक्कभुक्क ठाक्कठुक्क गरेर नालायक हुनुमा गर्व हुन्छ । हुन पनि किन नहोस् दस पासले दशा लगाउँदै देश हाँक्ने, निरक्षरले मन्तरी हुने र स्नातकोत्तर गरेका विद्यावारिधि गरेकाले तिनको मुन्तिर हुने देश न पर्यो ।
देव समशेरका पालाका भेडाहरूको बथान झन बढ्दै गएर टाँडी र माडीदेखि युरोप र खाडीसम्म छपक्कै भएपछि कसको के लाग्दोरहेछ र ! जब उमेरले विद्यार्थी भन्न छोडेर युवातिर लागियो तब अझै एक दर्जन दलको दलदलमा पसेर पूरा अनुभवी भइयो । जुनसुकै दलको होस् बौद्धिक होस् कि बलको होस् बन्दको गन्ध पाउनै नहुने । बाटो वरपरका इँट्टा ढुङ्गा लाटाबुङ्गा लाठो भाटो केही देख्नै नहुने कुनै हतियार त कुनै शिकार । बजारको हजारभन्दा बढी घरका सिसाले जमिनको दिशापटिको बाटो देख्यो । सग्लो सिसा देख्नै नहुने नेताले जनता र देश देखेजस्तै हुने । टोकेर ठोकेर बोकेर जे गरेर भए पनि फुटाउन बिगार्न भत्काउन हल्लाउन सल्काउन मिल्काउन परिहाल्ने ।
हात्तिदलदेखि भुसुना दलसम्म सबैका सार्वजनिक सभाको मञ्चमा सञ्च मानेर ओहोरदोहोर गर्ने, कोहिसँग कानेखुसी कोहिसँग बुर्कुसी सबै गर्नेमा अग्रपंक्तिमा परियो । जिन्दगीको बाटोमा गन्धगीको यस्ता भन्न सकिने नसकिने, गन्न सकिने नसकिने अनेक भाँती र भुमरीमा ठुमरी गाउँदै नाच्दै जाँदा कसैको पनि पूरा कुरा मन परेन । काम त कहिले पो गरियो र ! जति गरियो बेकाम गरियो । नकाम गरियो । बदनाम गरियो । हराम गरियो । खराब गरियो । तनाव गरियो ।
जिन्दगीले चाख्न न जाँड बाँकी भो, न राँड बाँकी भो, न साँड बाँकी भो, न भाँड बाँकी भो, न गाँड बाँकी भो, न टाँड बाँकी भो, न ढाँड बाँकी भो, न फाँड बाँकी भो । न मदिरा बाँकी भो, न मन्दिरा इन्दिरा बाँकी भो, न आन्दोलन बाँकी भो, न हान्दोलन बाँकी भो, न बन्द बाँकी भो, न दुर्गन्ध बाँकी भो, न हतियार बाँकी भो, न मतियार बाँकी भो, न चोरी बाँकी भो, न जनताका छोरी बाँकी भो । न साह्रो खान बाँकी रह्यो, न गिलो खान, न अलकत्रा खान बाँकी भो, न हिलो खान, न ताली खान बाँकी भो, न गाली खान न हालीमुहाली गर्न बाँकी भो, न नाली खान । कतै केही बाँकी रहेन । साँच्चै सर्वाहारा भैयो । बाउन्न घुस्सा त्रिपन्न ठक्कर सबै पचाइयो ।
कहिले सफाचट भै हिँडियो कहिले लामा दाह्री, कहिले निक्कै हल्का भइयो, कहिले निक्कै भारी । राजनीतिको जरादेखि टुप्पोसम्म हाँडिघोप्टे पेटदेखि गाँठको झुप्पोसम्म सबै थाहा भयो । तर बिडम्बना अझै धित मरेकै रहेनछ । बिसवर्षभन्दा बढी समयको राजनीति त बीस तुल्य नै भएछ । न देश बनाउने जनता रिझाउने, न नेताले सिकाए न यता त्यताकाले । जसरी हुन्छ देश र जनता भनेका राजनीति र जागीर नीतिले लुछेर गोदेर टोकेर ठोकेर निचोरेर थेचारेर पछारेर लछारेर धसारेर घिसारेर बङ्ग्याएर नङ्ग्याएर दङ्ग्याएर घुर्क्याएर सुर्क्याएर झुक्याएर मुक्याएर गर्न पाउने धर्तिको बरदान नै भैहाले । एउटा मात्रै बनाउनु पर्ने अड्याउनुपर्ने ठड्याउनु पर्ने सिंगार्नु पर्ने भनेको आफू आफ्नो परिवार र केही नातागोता थोरै मित्र मण्डली रहेछन् । तिनीहरू त ओझेलमा परेछन् । अब अर्ध बुढेसकालमा भए पनि तिनका लागि केही न केही त गर्नै पर्यो । नत्र पछिका लागि कीर्ति कसरी रहने ?
त्यसैले एक हप्ता घरमै बसि घोरिएँ। आफ्नो र आफन्तको विकासमा एकोहोरिएँ अन्त कतैबाट केही उपाय लाग्ला जस्तो भएन । हालसम्मको बेहाल अवस्थामा आइपुग्दा यस्सो हिसाब गरेको जम्मा चरसय उन्नाइस दलको झोला बोकिएछ । त्यसैले ती सबैलाई छोडेर अब अनुभवले बेस्सरी खारिएको मानसिकताले भन्यो- सुन मनुवा अब आफ्नै नेतृत्वमा एउटा नयाँ दल खोल । र, आफैं उच्च नेता बन त्यो पनि नेता नम्बर ४२० ।
०००
२०८२ जेठ २८
चितवन ।
Subscribe
Login
0 Comments
Oldest







































