भाेज अर्यालभालेहरु बास्न छोडिदेऊ !
आफ्नो घाँटीको नशा तन्काएर इन्डिया, पाकिस्तान, इजरायल हुँदै रुस र अमेरिका लगायत संसारभरका भालेहरु नबासुन् । युद्ध बिउ रोपेर शान्तिकामी विश्वका जनसमुदायको रातको मिठो निद्रा नमासुन् !

भोज अर्याल :
आफ्नो लामो लामो घाँटीको नशा नै च्यातिने गरि घरमा पालेको भाले बास्छ । कुख्राको भालेको काम नै विहान विहानै डाको छोडेर बास्ने त हो नि ! भाले बास्ने नै हो भने उसलाइ बास्न दिनै पर्छ । उता भाले बास्नै हुँदैन भन्ने कुरा सुन्दा समस्त भालेवादीहरुको कम्पारो एकाएक तात्छ । मने निश्चित रुपमा यो कुरा जायज नै हो । अब यही कुराको पोको पन्तुरो फुकाउन जाँदैछु जो ।
पोथी बास्नै हुँदैन भनेर बुझेकाहरुले भाले बास्नै हुँदैन भनेको सुन्दा रुखबाट खसे झैं भैहाल्छन् । मैले पोथी बासेको अहिलेसम्म यी फुट्ने कानले खासै सुनेको छैन । तर पोथी बासेको सुहाउँदैन भनेको मात्र दुबै कानले खुबै सुनेको छु । कोही सोच्छन् होला पोथीलाइ घरमै छाड्ने हो । उनीहरुको काम नै केवल चल्ला काड्ने हो । कुरा जे जसो भए तापनि भाले र पोथीकै सहकार्यमा नै सामाजिक संरचनाको गाडी अगाडि गुड्ने हो । भन्दा र सुन्दा कुरा राम्रो नभन्दा पनि झनै राम्रो । यो कुरा खास तपाइँको र हाम्रो ।
माथि गाउँदेखि तल बेशी हुँदै विदेशतिर नव प्रवेशी हुने बेलासम्म पनि यो भोलेको खुबै याद आउँछ । अब आफै विचार गर्नुस् । कुख्राको चल्लोसँग मान्छेले कसरी यस्तो गहिरो माया र प्रिती लाउँछ । गाउँडुल्दा उतै भुल्दा कुख्राको बथानमा एक दुइ थान भाले शिर ठड्याउँदै चारो ढड्यउँदै हिँडेको देखिन्थ्यो । गाउँघरतिर आमाबाले पालेकै हुन्थे भाले । कसैले भाले पाल्थे कसैले लगेर मासुको तलतल लाग्दा आगो बाल्थे र तावामा हाल्थे । हड्डी लुछेर ढिंडोसँगै मुछेर खान्थे । कोहि त पोथी बोकेर भालेलाइ ठुगाउँन भन्दै लान्थे । भाले घरमा पाल्नु एउटा सानकै विषय हो भनेर ठान्थे ।
हेर्दा भालेको शिरै सारै राम्रो लाग्छ । भालेले रुचाएर खाएको किरै राम्रो लाग्छ । भालेले खान्छ चारोसँगै बचेखुचेको भात । कहिलेकाहीँ त मान्छे ठुंगेरै भालेले गर्र्छ विश्वास घात । सायद भालेले आफ्नो शक्ति देखाएको होला । तर भाले नै काम लाग्ने जति बेला । चाहे घडी चाहे त्यो पोला । विहान उज्यालो हुने बेला भाले बासेकै हुन्थ्यो । जति बेला बढी भन्दा बढी मानिसहरु घडी हेर्न समेत सक्तैनथे । सबैसँग त घडी भए पो हेर्नु । आफ्नो घरमा घडी नभएपछि अरुको हातको घडी तानेर हेर्न नमिल्ने । कतिपय समयमा बाटाे हिंड्ने बटुवालाई समेत सोधिन्थ्यो । ओइ दाइ कति बज्यो होला ? ओइ दिदी समय कति भयो ?
वनमा गाइ बाख्रा चराउँदा कति बेला घर कुदेर जाउँ र चिसो भात वा ढिंडो खान पाउँ झैं हुन्थ्यो । बाटोमा देखिने बटुवालाई समय सोध्दै हिंडिन्थ्यो । सबै जनाले सिधा जबाफ नदिने पनि हुन्थे। कसैले त कति बज्यो भनेर सोध्दा, नारी बजेर भुत्ला मिनेट गयो भन्थे । कोही झनै बटार्रेका पनि हुन्थे । कति बज्यो होला भनेर सोधेको छ, ए भाइ किन हो र ? हिजकै जति बज्यो । यही हो उनीहरुको सिधा जवाफ । आफै बुझ्नुस् कस्ता मानिस होलान् तिनीहरु । कसैले त सुन्दा पनि अवगाल नै पारेका हुन्थे । घडी हेरेर समय भन्लान् भन्दा त, तल रानी वनको चारकोशे झाडी नै देखाउँ खोज्लान् झैं गर्थे । बाफ रे बाफ ! उनीहरुमा कसरी आयो होला त्यत्रो हिम्मत !
उता कोही बाहुनहरु कुख्रा छोइएला र फेरि डाउन भइएला झैं गर्थे । बाहुनको घरमा भाले पाल्ने चलन खासै थिएन । पाले पनि नपाले पनि कुख्राले छोएको पानी पनि खान्न भन्नुहुन्थ्यो हजुर बाले । तर छोरा नातिले ताँती लाएर खोजी खोजी भालेकै मासु खान थाले । जनै बरु मनैदेखि निकालेरै फाले । भन्दा सबै बाहुन तर भाले खान थालेसँगै सबै डाउन । हजुरआमा भन्नु हुन्थ्यो, खाँदैमा के भयो त खाने भए खाउन् ।
हुन पनि भालेको जताततै शान नै शान हुन्छ । शानवाला भाले बासेको त सानै हुँदा सुनेको पनि हो । कुखुरी काँ बासी भात खाँ भनेको किताबमै पढेर गुनेको पनि हो । तर बासी भात भालेले के खाए होला । आफैले खान पर्थ्यो । चिसो भात निल्न नसक्दा आँसु नै झर्थ्यो । यो कुरा सबैले भनेकै हुन्थे । किताब बोकि स्कूल पुग्दा केटाकेटी ठस्ठस् कनेकै हुन्थे । मलाई पनि स्कूल पढ्ने सारै रहर थियो । उता बाटो हिँड्दा भालेले ठुग्ने हो कि भन्ने डर पनि थियो । तर डरैडरमा दुइ चार कलास पढियो । एक दुइ बार खलास हुँदै अगाडि बढियो । खास कुरा नलुकाइ भन्नु पर्दा भालेको भन्दा भाले पल्टिन खोज्नेहरुको त समाजमा विगविगी नै हुन्थ्यो । लुतेहरुले भालेको ताकत देखेर कट्टुमा सु उम्काएका हुन्थे ।
गाउँघरदेखि शहर हुँदै देश विदेशमा पनि भालेहरुको भवसागर देख्न सकिन्छ । पढ्दा मात्रै हैन गेम खेल्दा पनि पेल्दासम्म पेल्नेहरु हुन्छन् । कोहि मानिस यस्ता हुन्छन् कि उनीहरुलाई सानोतिनो कुरामा भाले पल्टिइहाल्नै पर्छ । अरुको अगाडि आफ्नो शान नै बेग्लै भएको सर्वज्ञाता नै हो जस्तै उनीहरु ठान्दछन् । सायद यो नै उनीहरुले सिकेको नानीदेखिकै बानी होला । ज्यान जाला तर लाएको त्यो बानी के जाला ? कहिल्यै पनि जाँदैन । त्यसैले मानिसहरु भन्छन् के तँलाई भाले पल्टिन पर्छ ? यो एक प्रश्न अति जटिल नै भए पनि यसका अनेकौं रुप भने कुटिल नै लाग्छन् ।
भालेवाद भनेको सत्ता वा शक्तिको अर्को नाम पनि हो । शक्तिको भक्तिभजन नगाएसम्म समाज अनि यो दुनिया जगतका मानिसलाई सजिलै जीवन धान्न गाह्राे पर्छ । भन्ने कुरा बुझ्न अब कुनै आइतबार पर्खिन पर्दैन । तर उता कमजोरहरु मर्दैगर्दा भालेहरुको रौं पनि झर्दैन । जुन कुरा यत्रतत्र सर्वत्र देखेजानेकै कुरा हो । गाउँमा गोठालो जानेहरुदेखि शहरमा ठालु पल्टिलेहरु पनि धेरैजसो भाले पल्टिन खोज्छन् । गाउँका सिधासाधा जनतालाई थिचोमिचो गर्ने त कति छन् कति । जुन कुरा जानेसुनेकै वा देखेभोगेकै पनि हो । भालेवाद गाउँ हुँदै शहर अनि देश विदेशसम्म पसेकै छ । कहिले मौलाएर त कहिले बौलाएर सिंहासनमा बसेकै छ । संसारभरका ठुला ठुला वादहरुलाई लोप्पा खुवाउँदै यसले सिधाहरुको पाता कसेकै छ ।
अब खास कुरा गरौं देशतिरका अनि लागौं प्रदेशतिर । नेपाललाई उसको छिमेकी मुलुकले युगौंयुगदेखि भालेपन देखाइरहेकै छ । गर्न त उसले एक असल छिमेकी हुँ भन्दै घुर्कि दिन्छ । नेपालीहरुलाई पालेतालेकै हो झैं गर्छ । तर यो कुरा सुन्दा कानै टट्टाउन थालेका छन् । अब उसको भाले पल्टने सोंचको अविलम्ब हिसाप हुन पर्च । होइन भने छिमेकीको भालेपनले सिमाना मिच्दै अरु के के गर्च । त्यो सबै कुरा पर्खि नै पर्छ । यति मात्रै हैन नि कुरा । हाम्रो आन्तरिक मामिलामा रवाफ देखाउँनेहरुलाई समयमै जवाफ दिनै पर्छ । होइन भने हाम्रो डेरै भोलि कहाँ सर्छ । थाहा छैन । सबै कुरा भन्न पनि भा छैन । सत्य कुरा यही हो । होइन र ?
मानव इतिहासको प्रारम्भदेखि नै संसारमा कति धेरै लडाइँ झैझगडा अनि युद्ध भएकै छन् । ठुला भालेहरुले स-साना भुसुनाहरुको हुर्मत लिएकै छन् । केही उता आफ्नो शक्तिको अन्दाज नै नगरि भाले पल्टिन खोजेका पनि हुन्छन् । तर जब ढाड खुस्किने गरि ठुलोले ठुंग्छ अनि बल्ल रुन थाल्छन् । पाकिस्तानले रौसिँदै इन्डियासँग जोरी खोज्यो । पछि सकिन प्रभु भन्दै डाँको छोडेर रोयो । हुन पनि त्यस्तै पो भयो । सकिनसकी लडाइँमा हेलिँदा कमजोरहरुको सर्वस्व गयो तर ठूला वडा हाकिमलाई खै के भयो ?
यसै मेसोमा रसिया र युक्रेनको हानाहान र तानातान भएकै छ । बारबार पुटिनले थला पर्ने गरि पिटपाट पारेकै छन् । तर उता जेलेन्सकीले जुल्पी पारेर जवाफ दिएकै छन् । जति जवाफ दिए पनि रसिया रौसेकै छ । युक्रेनमाथि दादागिरी देखाएकै छ । मानव इतिहासमा रक्तपिपासु शासक बनेर कालो अक्षरमा नाम लेखाएकै छ । यी सबै भालेहरुले हेर्दाहेर्दै संसारलाइ तेस्रो विश्वयुद्धकाे चपेटामा पुर्याउन सक्ने अनुमान गर्न कुनै हनुमानको जोखाना हेर्नु पर्ला र ?
अनि उता अमेरिकी दादागिरीको के कुरा गर्नु । संसारकै ठुला शक्ति सम्पन्न भालेहरु न परे उनीहरु । अमेरिकी राष्ट्रपति भनेकै संसारका राजा समान परे । इतिहासदेखि वर्तमानसम्म दुनियालाई हल्लाउने यिनीहरु नै हुन् । अरुको के कुरा छिमेकी केनेडालाई टेरिफको पासोमा पारेर रन्थनिने बनाएकै छन् ट्रम्प काकाले । सायद यही नै होला शक्ति सम्पन्न भालेहरुले कमजोरहरुलाई पेलेर कहिले ठेलेर भित्तामा पुर्याउने काइदा । यो गरेर खास कसलाई हुन्छ फाइदा ? कुरोको चुरो नै बुझ्न सकिएन । जेहोस् भालेहरु बासेकै छन् । संसारका मानिसहरुको शुख र शान्ति मासेकै छन् ।
यो समाजमा भालेको यति महिमागान हुन्छ कि गीत समेत गाइएका छन् । भालेकै नाम जपेर उसकै बारेमा । जस्तै “रातो भाले क्वाएँ क्वाएँ सुत्केरीलाइ ख्वाएँ “ यो गीत सुन्दा मिठो लाग्छ । भालेको सुप खानाले सुत्केरीको समेत ताकत बढ्ने देख्न सकिन्छ । हेर्नुस् अब भालेको किन यसरी शक्ति बढ्दो छ ? यो बुझिनसक्नु नै लाग्छ । यसै मेसोमा अर्को एक गीतको याद आइरहेको छ । “रातो भाले धुरीमा करायो गरिबको निसापै हरायो ।” भालेको काम कराउँने नै हो ऊ कराओस् । तर गरिबको न्याय निसाप हराउन हुँदैन भन्ने मेरो समेत चाहना छ । तर मेरो चाहनाले केही लछार्ने पनि हैन । गरिबहरु जहाँ पनि चेपुवामा परेकै छन् । न्याय नपाएर रातदिन मरेकै छन् । न्याय नपाए गोर्खा जानु भनेर पढेको मनुवाले यो भन्दा खै के भनुँ । यो कुरा उहिलेको न्याय जति सबै आज लुतोले खुइलेको कुकुर झैं भएको छ । अघि बढौं भालेहरुको शक्ति पुजेर न्यायको मर्म बुझेर । खास् कुरा यति भनेर पनि हुँदैन पुरा ।
अहिलेसम्म अन्त नगई गरियो भाले र भाले भिडन्तका कुरा । भालेले किरा खाए झैं ठुलाले सानालाई किरा नै मानेका छन् अनि आफुलाइ हिरा । बुझ्नै नसकिने कुरा रहेछ यो । उनीहरुले सबैको हरिविजोग बनाएर आफूलाइ खै के ठानेका छन् । जे जसो भएता पनि भालेवादको भ्रमबाट मुक्त हुन अपरिहार्य नै छ । तर हामीले चाहेर मात्रै त्यो कुरा संभव नहुने रहेछ । मानिसहरु किन यसरी भालेको नाम र कामसँग हिरिक्क हुने गर्छन् होला ? जुन कुरा बुझ्नै गाह्राे रहेछ । अब एक प्रसंग कोट्ट्याउँछु । अनि मात्र कुरा छोट्ट्याउँछु ।
भालेसँग मोहनी लागेर नै होला नाम नै रातो भाले राखेर होटल खोल्नेहरु पनि काठमाण्डौमा भेटियो । रातो भालेकै शान सौगात मानेर ठूलावडाको गोडा मोल्ने पनि कति देखियो । तर गोडा मोल्न नजान्दा कतिपय अवस्थामा सानाहरुले संकटको सामना गरेका हुन्छन् । अब नेपालको कुरा गरौं । पहिलो गणतान्त्रिक संविधान बनाउँदा छिमेकीलाई उसले रिझाउन सकेन । नसकेकै हुनाले यो संविधान उसलाई बिझ्नुसम्म बिझायो । जसले गर्दा नेपालले नाकाबन्दी पनि झेल्यो । ठूलो भालेले सानालाई पेल्नुसम्म पेल्यो । यति मात्रै होइन इन्डियाले बारबार हामीमाथि खुबै खेल्यो । सबैको नासो चासो र गुनासो यही हो । जुन चुल्लिएर छताछुल्ल भएकै छ । छेउ र टुप्पो मिचेर असल छिमेकीले आफ्नैतिर लगेकै छ । अनि भन्छ, “हमारा संबन्ध तो रोटी बेटीका है !” रोटीको नाताले कति चोटी चोट दियो । हिसाब गर्दा पनि पिसाब नै झर्ला झैं लागेर आउँछ भन्या ।
अन्तमा, यति मात्र भन्न सकिन्छ । आफ्नो घाँटीको नशा तन्काएर इन्डिया, पाकिस्तान, इजरायल हुँदै रुस र अमेरिका लगायत संसारभरका भालेहरु नबासुन् । युद्ध बिउ रोपेर शान्तिकामी विश्वका जनसमुदायको रातको मिठो निद्रा नमासुन् ! हामीले जानेको कुरा यही हो । त्यो समय आइसकेको छ जो । जुन कुरा भाले बासेर कानैमा संकेत नगरे पनि हाम्रो हातको घडीले बडि नगरौं है भालेहरु भनिरहेको छ । अब भाले र भालेवादी चरित्रको जयगान गरेर बस्न हुँदैन । शान्तिको बाटो छोडेर अन्तहिन युद्धकाे चपेटामा फस्न हुँदैन ! अन्याय अत्याचार दादागिरी र थिचोमिचो सहेर कदापि बस्न हुँदैन ! सबैको जय होस् । विश्वमा सुख शान्ति छावस् ।
०००
क्यानाडा
Subscribe
Login
0 Comments
Oldest









































