साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिर्सनुको व्यापकता

अनि त यदि राष्ट्रिय बिर्सने प्रतियोगिता भैहालेमा आफू यस्ता पात्रहरूको अगाडि सिधै दरपीठ भइने था भयो र त्यसमा भागलिने होइन बरू त्यसबाट अन्तै भाग्ने निर्णय भयो ।

Nepal Telecom ad

रामकृष्ण ढकाल :

धेरै वर्ष पहिलेदेखि भन्ने गर्थें – म त सम्झन भन्दा बिर्सन टाठो, होस पुर्‍याउन भन्दा नपुर्‍याउन बाठो । हुन पनl अहिले आएर दोश्रो अर्धशताब्दिको बाटोमा पाइला राख्दातिरबाटै त्यो भनाई साँच्चिकै यथार्थमा परिणत भैरहेको छ । यहि बेलादेखि बाटो र माटोमा मात्र होइन कुरोकन्थो जिब्रो बोली लोली आजभोलि सबै बिर्सिइँदोरहेछ । अरू पनि केही साथीहरूले आफूलाई बिर्सनमा माथि पार्दै म त झन आफ्नो नामै अर्कालाई सोधेर मात्र भन्नुपर्ने भैसकें । के भन्छन् हो भनेको त अहिले आफ्नै अवस्था कुव्यवस्थामा गैहाल्यो ।

एकदिन यस्सो समाचार नसुनी बिचरालाइ निचोरेर हेरेको त एउटा काममा हातखुट्टा सबै हालौं हालौं लाग्यो । सबैले भन्छन् जमाना कहाँबाट कहाँ पुगिसक्यो तर आफूले त्यो मोरो जमाना उडगाडी चढेर रमाना भाको हो कि गुडगाडी चढेर । तैपनि यो बदलिएको जमानाले –  पौरुषबिना पुरुष हुन्न तरबार बिना धार भन्ने हाम्रा महाकविको झ्याउरे हरफलाई याद गरेर केक्केन पुरुषार्थ देखाउन भन्दै कुनै दिनमा राष्ट्रिय बिर्सना प्रतियोगिता गर्‍यो भने त्यसमा भाग लिनका लागि मस्तिष्क मन्थन पनि त गर्नुपर्‍यो । त्यसैले आज आधाहजार मिनेट जति बजार निस्केर अरूचाहिँ कत्तिको बिर्सन सिपालु रहेछन पहिल्यै थाहा पाइराख्नुपर्‍यो भनेर सोचें । अनि अर्को एकदिन सात मिनेटमै भातमा हात लाउने काम भ्याएर यो जमानाका जनता जनार्दनहरूको बिर्सने क्षमताको परीक्षण गर्न रमाना भएँ । यो कार्य एक दिनमै सिध्याउन भने बिर्सिएछु । त्यसओ भएर बिर्सने कर्मको मर्म बुझ्न हिँड्दा एक साताको समयनै हिँडेछ ।

हिँड्न त हिँडेँ तराब कताबाट शुरु गर्ने, केहिजानी मेसोमेलोको खेलो गर्न बिर्सेमा गुरु कसलाई मान्ने, को होला यो मामिलामा म भन्दा धेरै जान्ने अनि सजिलैसित सहयोग गर्न मान्ने भन्ने पनि सोचें । अनि एउटा जुक्तिले दिमागको माग बुझेर होला भित्रभित्रै एउटा उक्ति दियो – उँधोको पाटो लाग्ने कि उँभोको बाटो ? भनेर । अनि सकेसम्म उँधो जान त कसलाई मन हुन्छ र कुनै कुनै अपवादमा बाहेक । मैले पनि उँभो जाने नै सोचें । किराँत सँस्कृतिका देवीहरू तायामा र खियामाको बारेमा गरिने उँधौली र उँभौलीलाई ख्याल गर्दै शुरुभयो – बिर्सने समस्याको व्यापकता सम्बन्धी खोज ।

बजारमा निस्केपछि केही सूचनापाटीहरू हेरें । ती पाटीका मुनि साहु साहुनी भएर बसेका बाठा बाठीहरूको व्यवहार सम्झें । अनि थाहा भयो – तिनको पसलको सूचना पाटी बनाउँदा बनाउँदै यहाँ आउने ग्राहक नामका अभागीहरूलाई कुराको छुराले अल्मयाई ठग्नुसम्म ठगी गरिन्छ । जतिसुकै नराम्रा हानिकारक बस्तु भए पनि गणतन्त्रको नेताले गणतन्त्रलाई सराहना गरे झैं गरि ग्राहकको ढाड सेक्ने तातोले आफ्नो दुनो सोझ्याइन्छ ।

त्यसपछि अल्लिपर गएँ । त्यहाँको एउटा चियापसलको बाहिरको बेन्चमा सन्च मानेर बसेको त भित्रको ठेकेदारी गफ सुन्न पाइयो । ती पनि बिर्सन त सिपालु नै रहेछन् । हामिले गर्ने ठेकेदारी भनेको सकेसम्म बच्चाले भन्दा पनि कच्चा कामगरी ठग्नुसम्म ठगिवरी दिनभरी माडको कुरा साँझपरेपछि सुन्दरी र जाँडको सुरा भन्न तिनले पनि बिर्सने नै रहेछन् । त्यसपछि पुगियो एउटा खाजाघरमा । त्यहाँ भेटिए निजि विद्यालयका केही गुरुबाहरू । यी त गुरु हुन् सबैकुरा सम्झन्छन् होला भनेको त यी बिर्सनका महागुरु पो रहेछन् । विश्वकै तुच्छ मानिने फिरङ्गीका बाँदरछाउरे भाषा र सँस्कारको रटान लागाउँदा लगाउँदै आफ्नै देश भाषा भेष नाता गोता सम्मान जात्रा पर्व देशभक्ति बुद्ध शिव हिमाल पहाड गुराँस डाँफे इतिहास सबै बिर्सनेमात्र होइन बिर्सिन लगाउने नै यिनै रहेछन् । बाहुन क्षेत्री चेपाङ बोटे दराइको हिमाल पहाड तराइको महत्व बिर्सेर लाजै नमानी दुष्कर्मी पराइको नोकर बन्न युवालाई प्रेरणा दिने यिनै रहेछन् ।

यसपछि अर्को एक ठाउँमा एउटा चौरको एक कुनाको दुई चारवटा रुखको फेदमा बसेका थिए केही भविष्यका कर्णधार बीस मुनिका तर विदेश मोहको बिष लागेका होनहारहरू । तिनको बोलाईले सिङ्गै देश बिर्सेको छनक दिन्थ्यो मानौं ती यहाँका नेता हुन् अनि देश भेष चाहिँ जनता ।

अब देशको राजनीति र त्यसका मैं बाहुबली भन्नेहरूले देश जनता देशभक्ति धर्म मर्म सँस्कार सुकर्म विकाश सुधार जनताको दुख पीडा समस्या आदि बिर्सेका त युगौं भै नै सक्यो । यसरी हिँड्दैँ जाँदा घर वर इज्जत सँस्कार सबै बिर्सने र बिर्सन लाउने आधुनिक महिलाहरू, माड, जिम्मेवारी बिर्सेर जाँड र बाहिर वरिपरि रमाउने पुरुषार्थी पुरुषहरू, बुद्धलाई बिर्सेर हत्याहिंसामा रमाउने र तथाकथित वैज्ञानिकहरूको नाम सम्झँदै सिनो हसुर्ने महान  व्यक्तित्वहरू आदि अनेक अनेक बिर्सन माहिर महोलका महाधनीहरू बग्रेल्ती नै भेटिए । अनि त यदि राष्ट्रिय बिर्सने प्रतियोगिता भैहालेमा आफू यस्ता पात्रहरूको अगाडि सिधै दरपीठ भइने था भयो र त्यसमा भागलिने होइन बरू त्यसबाट अन्तै भाग्ने निर्णय भयो ।

०००
२०८२ असार ६
चितवन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कारण

कारण

रामकृष्ण ढकाल
साँच्चै हो रहेछ

साँच्चै हो रहेछ

रामकृष्ण ढकाल
भिल्लपुर वाङ्मय

भिल्लपुर वाङ्मय

रामकृष्ण ढकाल
उहाँ त  ह्वाँ ह्वाँ !!

उहाँ त ह्वाँ ह्वाँ...

रामकृष्ण ढकाल
सिङ्बिहिन तिखे गोरु

सिङ्बिहिन तिखे गोरु

रामकृष्ण ढकाल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x