साइबर अपराध सम्बन्धी सचेतना सामग्री

युवा विदेश पलायन – सपनाको उडान

नजिकबाट नियालेर हेर्दा एउटा कुरा स्पष्ट भएको छ भने अन्धाधुन्ध वैदेशिक पलायनले हामीलाई दिने भनेको दुःख र शोषण मात्रै हो। विदेशको सपना एउटा जादुगरको टोपी मात्रै हो, जहाँबाट सबैको भविष्य गायब हुँदैछ।

Nepal Telecom ad

शम्भु गजुरेल /कुनाघरे काइँलो :

गाउँघरमा एउटा पुरानो भनाइ छ, “जस्तो बोली उस्तै काम।” तर आजको युगमा यो भनाइलाई मानिसहरूले उल्टो बुझेका छन्। जसको भनाइमा दम छ, मीठा सपना र आकर्षक कुराहरू छन्, उसको गराइ चाहिँ फिका र पीडादायी छ। मैले यो कुरा नजिकबाट देखेको, भोगेको र सुनेको छु। हिजोआज पहाडी गाउँदेखि तराईका फाँटसम्म एउटै सपना दौडिरहेको छ— विदेश ! यो शब्दले नेपाली युवाहरूको मनमा एउटा स्वर्णिम भविष्यको चित्र कोरिदिन्छ। जहाँ आधुनिक रेल गुड्छन्, सफा सडक छन्, र हातमा लाखौँ रुपैयाँको तलब आउँछ।

भनाइ र वास्तविकता विचको खाडल !
विदेश जाने सपना देखाउने एजेन्टहरूका लागि युवाहरूको सपना र भावना अनि भोलापन सुनको अण्डा पार्ने कुखुरी जस्तै हो। उनीहरू आफ्नो चिटिक्क परेको कार्यालयमा बसेर मीठो बोलीमा भन्छन्, “विदेशमा गएपछि महिनाको २ लाख रुपैयाँ कमाइ हुन्छ, दिनमा ८ घण्टा मात्रै काम। आरामले बस्न पाइन्छ, खानपिनको पनि राम्रो व्यवस्था हुन्छ।” यो भनाइले युवाहरूको मस्तिष्कमा धन कमाउने भूत यति सशक्त रूपमा छचल्किन्छ कि उनीहरूले त्यसको पछाडि लुकेको षड्यन्त्र देख्दैनन्।

तर, विदेशको भूमिमा पाइला राखेपछि बल्ल यथार्थको कठोर अनुहार देखिन्छ। यता भनिएको ८ घण्टाको काम, त्यहाँ १२ देखि १५ घण्टामा उक्लिन्छ भने महिनाको २ लाख रुपैयाँको तलब त सपनामा पनि देखिँदैन, त्यो त ५०-८० हजारबाट ओरालो लाग्छ । त्यो पनि समयमै पाइँदैन, कहिलेकाहीँ त महिनौँसम्म सित्तैमा काम गर्नुपर्छ। “तपाईंले त कुकको काम गर्ने हो” भनेर पठाइएका युवाहरूले विदेशका रेस्टुरेन्टहरूमा भाँडा माझ्ने, भुइँ सफा गर्ने, र सरसफाइको काम गर्न बाध्य हुन्छन्। यो त भनाइ र गराइ बीचको खाडल मात्रै होइन, सिङ्गै जिन्दगी नै सलक्क निल्ने भावना र सपनाका व्यापारी द्वारा खनिएको रसातल हो।

शोषणको योजनाकार नै नेपाली व्यापारी
झनै पीडाको कुरा के छ भने, यस्तो शोषण गर्नेहरू प्रायः आफ्नै नेपाली वा भारतीय साहुहरू हुन्छन्। आफ्नो देश र भाषाका मानिसलाई सहयोग गर्नुको सट्टा उनीहरू शोषणको नयाँ-नयाँ तरिका अपनाउँछन्। पैसा माग्दा “तपाईं सिक्न आएको हो, के को तलब ?” भन्दै अपमान गर्छन्। “यदि धेरै कुरा गर्‍यौ भने डिपोर्ट गरिदिन्छु” भनेर धम्की दिन्छन्। यस्तो अवस्थामा पीडित युवाहरू न त कसैसँग खुलेर बोल्न सक्छन्, न त नेपाल फर्कन नै। किनकि उनीहरूलाई थाहा छ, नेपाल फर्के भने गाउँघरमा बन्धकी राखेको घर-खेत कसरी फिर्ता लिने? ऋणको भारीले थिचिएर त मरिएला, तर विदेहमा दुःख सहेर भए पनि केही पैसा कमाउनुपर्छ भन्ने सोचले उनीहरूलाई अझै बोझ बोकेर उफ नगर्ने गधा बन्न बाध्य पारेको छ।

नेपालको राजनीतिको व्यापारिक रूप
विदेशमा नेपाली युवाहरूको शोषण हुनुको पछाडि नेपालको राजनीति मूख्य रूपले जोडिएको छ। धेरैजसो म्यानपावर कम्पनीहरू नेता, मन्त्री र उनीहरूका आफन्तहरूका छन्। उनीहरूले पलायनलाई नै आफ्नो राजनीतिक एजेन्डा बनाएका छन्। देशमा रोजगारी सिर्जना गर्ने, उद्योगधन्दा खोल्ने र युवालाई स्वदेशमै काम गर्ने वातावरण बनाउने कुरा भाषणमा मात्रै सीमित छ। तर, व्यवहारमा उनीहरू युवाहरूलाई विदेश पठाएर आफ्नो व्यक्तिगत सम्पत्ति बढाइरहेका छन्। उदाहरणका लागि जापान:

जापानमा खुलेका कतिपय रेस्टुरेन्ट, होटल र कम्पनीहरूमा नेपाली नेताहरूको नै लगानी रहेको कुरा सार्वजनिक भएको छ। यसको अर्थ, उनीहरूले नै नेपालबाट युवाहरूलाई ठूलो रकम लिएर जापान पठाउँछन्, अनि आफ्नै कम्पनीमा काम लगाउँछन्। यो त एउटा चक्रजस्तै भएको छ, जहाँ युवाहरूलाई एजेन्टको माध्यमबाट ठग्ने, उनीहरूलाई आफ्नो व्यापारिक स्वार्थका लागि प्रयोग गर्ने र उनीहरूको पीडालाई बेवास्ता गर्ने। नेपालमा राजनीति गर्नेको नै जापानमा होटल र यता म्यानपावर कम्पनी भएको विडम्बनापूर्ण अवस्था हो।

यताको घर-खेत जङ्गल उताको जीवन उजाड
जसोतसो विदेशिएका युवाहरूले दुःख सहेर भए पनि ऋण तिर्ने प्रयास गरिरहेका छन्। उनीहरूको सपनाको फल चाख्न गाउँघरमा परिवारका सदस्यहरूले पनि अनेक दुःख भोगिरहेका छन्। घरको लालपुर्जा बैंकको लकरमा बन्धकी छ, जग्गामा खनजोत गर्न छोराछोरी नहुँदा खेतहरू बाझिएका छन्। बूढाबूढीहरूले आँखाभरि आँसु बोकेर “विदेशबाट मनग्ये खुसी लिएर आउँछ, हाम्रो दुःखका दिन सकिन्छ” भन्ने आसमा दिन गनेर बसिरहेका छन्। तर, बाझिएर जङ्गल बन्दै गएको खेतबारी जस्तै सपनामा काँडाको घारीले ढाक्दै लगेको छ ।विदेशमा पिल्सिएका युवाहरूको जीवन निराशा र उत्पीडनले कोतरेर उजाड बन्दै गएको छ ।

दूतावासको मौनता र सरकारको उदासीनता
यस्तो भयावह अवस्थामा पनि सम्बन्धित देशमा अवस्थित दूतावास जनताको करबाट आफ्नो जीवनमा हिरा चम्काउने बाहेक केही गरेको देखिदैन । यो देख्दा नेपाली दूतावास र नेपाल सरकारको भूमिकामाथि गम्भीर प्रश्न उठ्छ। दूतावासले नेपालीहरूमाथि भइरहेको शोषणका बारेमा किन बोल्दैन? के दूतावासको काम भिसा र पासपोर्ट वितरण गर्नुमा मात्रै सीमित छ? वा उनीहरूले पनि नेताहरूको स्वार्थलाई नै प्राथमिकता दिइरहेका छन्? के दूतावासमा पनि दलाल र विचौलियाको पक्कड त छैन? यो प्रश्न उठ्नु स्वभाविक लाग्दैछ ।

सरकारले पनि विदेशमा रहेका नेपालीहरूको सुरक्षा र हितका लागि कुनै ठोस कदम चालेको छैन। नेपालमा रेमिट्यान्सको पैसाले अर्थतन्त्र धानेको छ भनेर गर्व गर्ने सरकारले, रेमिट्यान्स पठाउने युवाहरूको दुःख र पीडालाई किन बेवास्ता गरिरहेको छ? यो त पलायनको नाममा राजनीति मात्रै होइन, युवाहरूको भविष्यमाथि गरिएको ठूलो अपराध पनि हो।

पलायनको विकल्प र स्वदेशमै अवसर
यी सबै दुःख र पीडाहरूलाई नजिकबाट नियालेर हेर्दा एउटा कुरा स्पष्ट भएको छ भने अन्धाधुन्ध वैदेशिक पलायनले हामीलाई दिने भनेको दुःख र शोषण मात्रै हो। विदेशको सपना एउटा जादुगरको टोपी मात्रै हो, जहाँबाट सबैको भविष्य गायब हुँदैछ। अब यो सपनाको रेलबाट ओर्लने बेला भएको छ। शोषण गर्ने एजेन्टहरू र तिनलाई सहयोग गर्ने नेताहरूलाई चिन्ने र उनीहरूको विरोध गर्ने बेला आएको छ।

हामीले आफ्नो श्रम र पसिना आफ्नै देशमा बगाउँदा पक्कै पनि एक दिन राम्रो प्रतिफल प्राप्त हुन्छ भन्ने कुरा बुझ्नुपर्छ। परदेशमा गएर अपमान, शोषण र पीडाको सिक्रीमा बाँधिनुभन्दा स्वदेशमै रहेर सानैबाट भए पनि केही गर्न प्रयास गर्नु राम्रो हुन्छ। नेपालमा कृषि, पर्यटन, जलविद्युत लगायतका थुप्रै क्षेत्रहरूमा अथाह सम्भावना छन्। ती सम्भावनाहरूलाई पहिचान गरी हामीले आफ्नै विवेक र सीपको प्रयोग गर्न सकेको खण्डमा वैदेशिक पलायन रोक्न सकिन्छ। त्यसैले, अब वैदेशिक रोजगारीको नाममा ठगिएर ऋणको भारी बोक्नुको सट्टा, हामीले आफ्नै देशमा भविष्य बनाउने बाटो खोज्नुपर्छ।

सबै प्रवुद्व व्यक्तिहरूले आफ्ना सन्तानको ग्रीनकार्ड र विदेशी क्याम्पसमा लगाएका कालो गाउनको प्रचार गर्नु र तेल भिषामा समुद्रको किनार घुमेको फोटो प्रदर्शनी गर्नु भन्दा त्यहाँ आफू जाँदा सात दिनको बासी खाना तातो पानीमा डुबाएर खाने बेलामा पनि एक्लाएक्लै भएको कुरा बताउनु पर्छ । गलाको टाइ र शरीरको कोटले उज्यालो देखेपनि वैदेशिक जीवन अत्यासलाग्दो छ । यहाँको भान्छाको गुन्द्रुकको झोल हामीले उता आयात गरेर दसै मानेको कुराको मर्म युवा मस्तिष्कमा संचारित गर्न सकेमा सपनाको उडानमा जिन्दगी रित्याउने युवाको जीवन उल्लासमय हुनेछ । सन्तानमा जीवनको वैसाखी र अन्तिम यात्राको काँध देख्ने आमाबाबुका निमित्त सन्तानको प्रेमिल स्पर्श भन्दा मूल्यवान वस्तु हिरामोती हुँदैन तर तो कुरा व्यक्त गर्न सक्दैनन् उनीहरू । अन्त्यमा परिकार अनेक हुन्छ तर सामग्री पिठो चामल नैं हो त्यसतर्फ सबैले विचार पुर्‍याउन सकेमा पारिवारिक विच्छेदनबाट हाम्रो समाज प्रताडित हुँने थिएन ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Uttam Bhattarai
Uttam Bhattarai
11 months ago

हिजो, आज, भोलीको यथार्थ लेख्नु भयो बन्धु
यो लेखले पढेर सोच्न पर्ने दिमागले केही सोचोस्

Nepal Telecom ad
छद्म छायाहरू

छद्म छायाहरू

शम्भु गजुरेल
बिनाकाम दामैदाम

बिनाकाम दामैदाम

शम्भु गजुरेल
मेरो जेठो छोरो

मेरो जेठो छोरो

शम्भु गजुरेल
कालकाे काल छैन

कालकाे काल छैन

शम्भु गजुरेल
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
जागिरको जाल कि साहुको चाल !

जागिरको जाल कि साहुको...

ठाकुरप्रसाद अधिकारी
बिन्ती, बक्सियोस् आज झोली

बिन्ती, बक्सियोस् आज झोली

डिल्लीराज अर्याल
रुख महात्म्य

रुख महात्म्य

देवीप्रसाद घिमिरे
1
0
Would love your thoughts, please comment.x
()
x