तेजविलास अधिकारीगाईजात्रे सम्मान पो सम्मान !
यहाँ नेपाली नागरिकता नै नभएका (?) देखि नाम सच्याएर प्रमुख न्यायकर्ता हुनेसम्मलाई पनि सम्झिएर जीवित भए जीवन सम्मान दिवङ्गत भए मरणोपरान्त सम्मान गर्न पाए –– कति कति पात्र र प्रवृत्तिले ।
तेजविलास अधिकारी :
प्रत्येक वर्ष उपत्यकामा गाईजात्रा पर्व मनाउने गरिन्छ । यसको सुरु कसरी भयो भन्ने बारे हामी स्पष्ट छौँ । आशय पनि नराम्रो छैन । पछिल्ला दिनमा गाईजात्रा प्रताप मल्लले चलाएको विषय र सन्दर्भसँग मात्र सीमित नुहुन स्वभाविक हो । २००७ सालको परिवर्तन पछाडि नेपाली जनतामा आएको स्वतन्त्रताको अनुभूतिले कसैलाई त्यतिबेलादेखि नै त कतिलाई त्यसैको देखासिखी विस्तारै गाईजात्रे बनाउँदै ल्याएको देखिन्छ । निर्दलीय पञ्चायती व्यवस्थामा समेत गाईजात्राको दिन प्रस्तुत गरिएको विषयलाई आपत्ति ठानिदैनथ्यो अर्थात् लागेका कुरा गाईजात्रे पारामा मजाले भनिन्थ्यो । शायद शासकहरूलाई सच्चिने सुझाव दिन थियो कि !
मैले इतिहास पढाउन खोजेको पनि होइन मसँग त्यो हैसियत पनि रहेन । सत्तालाई साँचो काम गर भन्ने निर्देशन दिने राज्य व्यवस्था समिति पनि म होइन । देखिहाल्नु भयो राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन पास भएको विधेयक अनि कलाकारले गाईजात्राको दिन नभनेर के गरुन् त ! नेताहरूले वर्षैभरि राजनीतिलाई गाईजात्रे पाराले चलाउन हुने, सभामुखले गाईजात्रे महोत्सव जस्तो प्रतिनिधि सभा सञ्चालन गरेर विधेयक पास गर्न हुने, प्रमुख सचेतकले वेश्यालय खोल्न अनुमति प्रदान गर्ने आशयको विषय संसदमा बोल्न हुने अनि हामी मात्र हातमा दही जमाएर बस्नु पर्ने भन्ने छ र !
साँच्चै गाईजात्रा गर्ने कलाकारहरूलाई विशेष सम्मान, अभिनन्दन वा पुरस्कृत गर्न पर्ने भयो । यो मेरो मनमा उब्जिएको विषय हो । सामान्यतः सम्मानित, अभिनन्दित वा पुरस्कृत व्यक्तित्वलाई सरकारका प्रतिनिधि चाहे महिना दिने वा छिने मन्त्री, प्रधानमन्त्री, राज्यमन्त्री वा उपमन्त्री नै किन नहुन् चाहे देश दोहन गर्न अग्रसर हुँदै चोरबाटो देखाउने स्थायी सरकारका प्रतिनिधि हुन् उनकै हातबाट गराउनु पर्ने हुन्छ । हामी जस्ता मामुली मान्छे त न कलाकार बन्न सक्छ न त अभिनन्दन गर्ने कार्यक्रमको प्रमुख अतिथि नै ? अनि फेरि मनमा आइरहने एउटा कुरा नि ! सम्मान लिन कलाकारभन्दा सम्मान बाँड्ने प्रमुख अतिथि नै गाईजात्रे छ कसरी मिल्छ कुरा ? सम्मान त मलाई पो दिनुपर्छ भनेर प्रमुख अतिथिले नै लिएर हिँडे आयोजक हेरेको हेर्यै पर्छन् नि !
फेरि वर्षभरि काम गर्ने एक दिन पनि गाईजात्रा नगर्ने कुलमानहरूलाई त्यस्तोमा अतिथि बनाउन पनि मिलेन र पुरस्कार दिन पनि त मिलेन । भनेपछि विषयको विवाद संसददेखि सम्मानसम्मै हुने नै भयो । पहिले त विविध विधामा गाईजात्रा गर्न सक्ने व्यक्ति व्यक्तित्वको कि खुल्ला निवेदन आह्वान गर्न पर्यो कि भने एउटा सिफारिस समिति बनाउनु पर्ने भयो । लौ खुला निवेदन माग्दा पनि कुनि कुन विश्वविद्यालयका उपकुलपति जस्तो भनेको नटेर्ने आफ्नो काम आफैँ गर्ने खालका परे भने पनि अर्को आपत् ! सिफारिस समिति बनाउँदा पनि दुई तिहाइ माफियाहरूको प्रतिनिधित्व भएन भने अर्को आपत् । आखिर देश त कि माफी मिनाहा गर्ने निकायले कि माफियाहरूले नै त चलाएका छन् । माफिया भन्ने शब्दसँग तपाई नझुक्किनु होला नि ! यो शब्द भनेको अङ्ग्रेजीको ब्रोकर भनेको जस्तै महŒवपूर्ण शब्द हो । ब्रोकर कम्पनी विना शेयर लेनदेन हुन नसके जस्तै माफियाहरू विना सरकार सञ्चालन तथा व्यवस्थापन पनि हुन सक्दैन भन्ने जस्तो पर्दछ । नभए भू–माफियाले भूमिसम्बन्धी विधेयक, जल माफियाले जलस्रोत तथा ऊर्जा मन्त्रालय, शैक्षिक माफियाले शिक्षा (शिक्षक !) विधेयक अनि यस्तै के–के थुप्रै विषय क्षेत्रलाई कम्तीमा जनसमक्ष बहसमा ल्याउने योगदान गर्न सक्दथे त !
हो त्यही त भनेको यहाँ समिति बनाउने हो भने त्यहीखाले माफियाको नपरे भिजिट भिसा प्रकरणको समिति जस्तो हुन्छ । त्यसमा तपाईँ ढुक्क हुनुहुन्न भने म दुःखी हुनेछु किनभने मैले ढुक्कले भनेको कुरा यहाँले ढुक्क भएर बुझिदिनु पर्यो नि ! एउटा विज्ञापन छ नि ‘माया बाँढे माया बढ्छ’ त्यो विज्ञापन कुन कम्पनी र के उद्देश्यको लागि हो त्यता ध्यान नदिनु है नभए ढुक्क नभए ढुक्कता मर्छ भने जस्तै हुन्छ । आखिर हामी नेपाली सधैँ सकार मात्र सोच्छौँ त्यसैले त के जाति ग्रेलिष्टमा पर्दा पनि हामी ढुक्क छौँ । अनि विषय त अन्तै पो गयो कि ! महादेय, मलाई माफ गर्नुहोला है कि ! यसपालिको गाईजात्रे सम्मान पछिल्लो समय जापानमा मान्छे लैजाने मन्त्रीजी र उनको सचिवालयलाई गर्ने हो सोचौँ है ! हुन त त्यसपछि हाम्रा प्रधानमन्त्रीजी अनि प्रधानमन्त्री पनि हाम्रा वा तिम्रा हुन्छन् र ! । हुन्छन् नि कस्तो नहुनु जनताले माफियालाई दिनरात तिम्रा प्रधानमन्त्रीले भ्रष्टाचार हुन दिन्न र भ्रष्टाचार सहन्न वा त्यस्तै कुरा गरेका छन् भनेर भनेको सुन्दा र पूर्व माफियाका प्रधानमन्त्रीले समेत सरकार माफियाले ढाल्ने र बनाउने भनेर भाषण गरेबाट झन् यो प्रष्ट भएन र !
आखिर हामी जनता भोट मात्र हाल्छौँ । हुन त नेताहरू चुनावमा पैसा खर्च भएको छ उठाउनु त पर्छ नि ! भनेर सोच्दा हुन् । कि हामीमध्ये कतिपयले भोटको सट्टापट्टामा एक फिर्को मासु र एक घुट्को ठर्रा पनि हाल्यौ कि ! त्यसो भएर त्यही नसामा लठ्ठिरहेका छन् भन्ने भानले नेतृत्व ‘भ्रष्टाचार गर्दिन र गर्न दिन्न’ भन्ने महान् शून्य सत्यताको भाषण गरिरहेको त छैन । मेरो विचारमा समिति गठन गरेर सिफारिस गर्न दिएपछि यो अनेक घटनाको वर्णन विवरण उनीहरूकै जिम्मामा पर्दछ । यता विस्टनको होटेल उद्घाटन गर्न हतार भइसक्यो फेरि अर्को आपत् के व्यहोर्नु ! सामान्य जनतालाई हदैसम्मको धोका, गोता दिने र शोषणको शक्तिशाली जालो बुन्नेहरूमध्येबाट यसपालिको गाईजात्रे सम्मान प्रदान गरिने भनेर हाम्रो मुखपत्रमा छापिएपछि बढिबढाउमा कानो नआउलान् । अनि यो सोचको खर्च पनि त उठाउन पर्यो नि ! कन्सल्टेन्सीले उतै कलेजबाट कमिसन लिएर यता विद्यार्थीको परिवारलाई उठिबास लाएजस्तो ।
यो कस्तो विषयमा प्रवेश गरियो कुन्नि गाईजात्रै भयो । पहिले पहिले पञ्चायतको चुनावमा नानीमैया दहालले चुनाव जित्दा अचम्म भो भन्थे । २०७० को दशकमा अर्को दहालले नेतृत्व गरेको पार्टीले चुनाव हार्दा ‘प्रचण्ड’ भो पनि भनेको सुनेको । त्यतिमात्र कहाँ हो र ! हाम्रा लौहपुरुष गणेशमान सिंहले चुनावको परिणाम गतिलो भोग्न नपाउँदा जनता भेँडाबाख्रा हुन् भनेरे भन्ने खुब सुनियो । मेलम्चीका सोचकर्ता सन्त महन्तका रसिक नेता भट्टराईजी मेलम्चीको पानीले पूरै पखालिएको इतिहास पनि त हामीबाट धेरै टाढा छैन नि !
गाईजात्रे सम्मानको विषयभित्र पर्ने विषय क्षेत्र कानदेवतादेखि बामदेवतासम्म छन् । यतिदेखि त्यतिसम्म छन् । मुकुलुङदेखि गरिबन्धु स्टेटसम्म छन् । यहाँ नेपाली नागरिकता नै नभएका (?) देखि नाम सच्याएर प्रमुख न्यायकर्ता हुनेसम्मलाई पनि सम्झिएर जीवित भए जीवन सम्मान दिवङ्गत भए मरणोपरान्त सम्मान गर्न पाए –– कति कति पात्र र प्रवृत्तिले । कसरी गर्नु निर्णय ? विषय त कति छन् कति ? जाबो सबैले जानेका कुरा लेखेर पनि साहित्यकार बन्न खोज्ने । हो तपाईमा यो भाव आइसक्यो होला । त्यसैले अब गन्थन नबढाउँ है । जय गाईजात्रा विषय । अन्तिममा निजामती कर्मचारी ऐनमा छेडखानी गर्ने संयन्त्र जिन्दावाद !
बजरस्वाँठको जदौ !
०००
चितवन
Subscribe
Login
0 Comments
Oldest







































