नन्दलाल आचार्यबाँसुरीको स्वर र बज्रपात
बाँसुरी फेरि सुनियो तर यसपटक क्रन्दनजस्तो । अघिका साधु अकस्मात हराए । जनैधारी नेताले मञ्चबाट घोषणा गरे- "भक्तिमै मुक्ति !"

नन्दलाल आचार्य :
अचानक सुनियो- गोठैगोठ गुञ्जिएको बासुरी ।
कसले बजायो ? कसैले देखेन ।
गाउँको चौतारोमा वृद्ध साधु मुस्कुराइरहे ।
“आज श्रीकृष्ण अष्टमी हो ।” उनले सम्झाएको जस्तो स्वरमा भने ।
बालबालिका रङ्गीचङ्गी पोशाकमा नाच्न थाले ।
युवाहरू सेल्फीमा रमाए । मठमन्दिरमा भीड बाक्लियो । दानपात्र भरिन थाल्यो, तर भिकारीको भाँडो खाली नै रह्यो ।
बजारमा लाउडस्पीकर गर्जियो- “धर्म रक्षा, कृष्ण पूजा !”
त्यही भीडभाडको मासु पसलमा खडा लाइन लामो हुँदै गयो । कुखुराका टाउकाको थुप्रो ठडिँदै गयो, बोका-राँगाको रगतसँगै धूपबत्तीको धुवाँ मिसियो ।
बाँसुरी फेरि सुनियो तर यसपटक क्रन्दनजस्तो । अघिका साधु अकस्मात हराए । जनैधारी नेताले मञ्चबाट घोषणा गरे- “भक्तिमै मुक्ति !”
भीड ताली बजाउँदै उन्मत्त भयो । तर, बासुरीको अन्तिम धुनले भने कठोर सत्य थुपार्यो- “कृष्णले गोठालिनीको आँसु पुछेका थिए, तिमीहरूले तिनका नातिनीलाई बेच्यौ ।”
०००
२०८२ साउन ३१ गते ।
कृष्णाष्टमी पर्व
Subscribe
Login
0 Comments
Oldest









































