साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चश्माका रङ्गहरु र टोलको चिया पसल

अलि लफडा पर्ला जस्तो देखियो। चियामा झिँगा देख्दादेख्दै साहु भाइले भनेको पत्याउने कुरा पनि थिएन‚ यी बाक्लो चश्मा लगाएका मानिसले। चियामा केही परेको नभएपछि‚ त्यत्तिकै आरोप मानेर चुप लाग्ने कुरा पनि भएन‚ साहु भाइले।

Nepal Telecom ad

राजेन्द्रप्रसाद अधिकारी :

मान्न करै लाग्छ– यहाँ “समाजवाद” छ र सत्तामा “समाजवादी”हरुकै ढलिमली पनि छ। त्यसैले सत्तामा भएकाहरुको मान्यता के छ भने देश समृद्ध छ र जनताहरु सुखी छन्। खासमा जनता चाहिँ उनीहरुलाई खाओवादी भन्ने गर्छन्। वास्तवमा उनीहरु अगस्ती झैँ खान मै व्यस्त र अभ्यस्त पनि छन्। यो हाम्रो विडम्वना पनि हुनसक्छ र विशेषता पनि। यहि विडम्वना र विशेषता सहितको मेरो देश‚ समाज र टोल रमाइलो लाग्छ। जीवन्त छ र जीवनहरु सलबलाइरहेको देखिन्छ। यहाँ मार्क्सले परिकल्पना गरेभन्दा नितान्त फरक‚ दुई खाले भाग्यमानीहरुको यौटा वर्ग छ– यौटा खानदानी बेरोजगार‚ जसलाई काम विनै पनि‚ जीवन धान्नकै लागि‚ चिन्ता गर्नै पर्दैन। अर्को चाहिँ पेन्सन सहित निवृत्त भएका‚ विज्ञ जानकार। यिनलाई पनि आफ्नो भरण पोषणको चिन्ता गर्नु पर्दैन। अझ अलि “राम्रो ठाउँ”मा परेका र “चल्तपुर्जा”हरुको त कुरै गर्नु परेन। यिनीहरु मध्ये तुलनात्मकरुपले बढी “राम्रो ठाउँ”मा परेका र बढी “चल्तापुर्जा” चाहिँ स्वतः बढी विज्ञ र जानकार ठहरिन्छ। यहाँको परम्परा यसरी नै चलेको छ। विहानको समय अनि टोलको चिया पसल। यो चिया पसल यिनै खानदानी बेरोजगार र विज्ञ जानकारहरुको कारण चलेको छ।

“आज अहिलेसम्म पनि अँध्यारै छ‚ के भएको हो यस्तो ?” भन्दै कालो ध्वाँसे रङ्गको सिसा भएको चश्मा लगाएका सर्वज्ञानी चिया पसलमा छिरे र आफ्नो ज्ञानको गह्रुँगो झोला खोल्दै थपे– “देख्नु भो त जलवायु परिवर्तनको असर‚ उज्यालो हुनै छोडिसक्यो! हाम्रो पालामा बिहान कति राम्रो घाम लागि सक्थ्यो यति बेला।”

रातो रङगको सिसा भएको चश्मा लगाएका‚ अर्थ राजनीतिका विज्ञ हाँस्दै बोले– “हा…हा…हा…। देख्नु‚ भो त पुँजीवादको असर ! आँखामा कालो चश्मा लगाएपछि सबै अँध्यारो। उत्पादन र बजारले मानिसको सोच्ने क्षमता मै ह्रास गराईसक्यो।” उसको मान्यता थियो नाफाको लागि कालो सिसा भएको चश्माको उत्पादन गरेका हुन् नाफाखोरहरुले र बजारमा छ्यापछ्यापती बेचिदिए। मानिसहरुले बजारको प्रभावमा परेर कालो चश्मा किने अनि सबैतिर अन्धकारमात्र देख्‍न थाले। यो ठूलो सामाजिक समस्या हो र यसलाई पुँजिवादले प्रश्रय गरिरहेको छ। अर्थात् पुँजीवादको असली चरित्र यही हो। यसलाई सरकारले नियन्त्रण गर्नु पर्थ्यो तर गरिरहेको छैन। तर आफूले लगाएको रातो रङगको चश्माको भने उनलाई कहिल्यै हेक्का रहेन। त्यो पनि त उनले बजारबाटै किनेर ल्याएका थिए।

उनले आफ्नो अध्ययनको गहिराईको छनक पेश गर्दै थपे– “हेर्नुस त बिहानै कस्तो राऽ…तो घाम लागेको छ। अब पुँजीवादको पतनको समय आएको संकेत हो यो।” यो चिया पसलमा आउने‚ आफूलाई विज्ञ जानकार मान्नेहरुले गर्ने तर्क र यिनीहरुले दिने उदाहरणबिच कुनै सामञ्जस्यता हुनुपर्छ भन्ने छैन र तिनका ठोस आधारहरु खोज्नु भनेको पागल हुनु हो भन्ने चाहिँ बुझ्नु पर्नेहुन्छ।

अब टोलको यो सानो चिया पसल देशको योजना आयोगको विचार–मन्थन बैठक जस्तो देखिन थाल्यो। “हेर्नुस् उत्तरआधुनिकतावाद भनेको यही हो। मानिस चारैतिर अन्धकार र निराशा मात्र देख्नो थाल्छ। म पनि हेर्नुस न सफा उज्यालो त देखिरहेको छैन। तर उहाँले भनेजस्तो अँध्यारै त होइन है। हुन चाहिँ पुँजीवादकै उपज हो यो।” राजनैतिक भागबण्डामा नियुक्ति पाएका‚ केही महिना अघि आफ्नो छोरी ज्वाईं भेट्न क्यानडा गएको बेलामा किनेर ल्याएको कफी रङगको सिसा भएको चस्मा लगाएका प्राज्ञले आफूलाई थोरै उदार ढँगबाट प्रस्तुत गरे।

आफूलाई धर्म र विज्ञानको आधिकारिक अभियन्ता ठान्ने‚ अनि पाकेको फर्सी र हरियो सागसब्जी खाए पछि आँखा तेजिलो हुन्छ भन्ने राम्ररी बुझेका‚ टोले व्यायाम–प्रशिक्षक पनि चिया पसलमा देखिएका छन्। टाढाको स्पष्ट नदेख्नेछ “मायोपिया” भएको भए पनि आफ्नो मान्यताको कारण उनी चश्मा लगाउदैनन् र दैनिकरुपमा पाकेको फर्सी र हरियो सागसब्जी खाने गर्छन्। उनी बेलाबखत सुनाउने गर्छन्‚ उनलाई अहिलेसम्म प्रेसर र सुगरको औषधि खानु परेको छैन र डाक्टर देखाउन पनि परेको छैन। यी टोले व्यायाम–प्रशिक्षकले भलादमी पारामा आफ्नो कुरा राखे– “आजकाल धेरै भइसक्यो खै के भा हो‚ आकाश सफा नै छैन। हाम्रा आमाहरु भन्नुहुन्थ्यो‚ उहाँहरुको पालामा आकाश कस्तो सफा देखिन्थ्यो रे !”

उनको छेवैमा बसेको नीलो आकाशी रङगको सिसा भएको चश्मा लगाएको मानिस बेजोडले हाँस्यो अनि “नेपालीहरु सबैलाई खाली नकारात्मक कुरा गर्ने बानी परेको छ। सकारात्मक त केही देख्दै देख्दैनन” भन्दै उसले थप्यो– “हेर्नुस् त आकाश कति सफा र निलो छ। यस्तो आकाश त नेपालमा मात्र हो। विदेशमा कहाँ पाउनु यस्तो।” सरकार चलाउने पार्टीसँग आफूलाई अलिअलि नजिक भएको ठान्ने खालको पनि रहेछ ऊ। उसले आफूलाई एक सकारात्मक सोच भएको मानिस र अरुभन्दा पृथक भएको देखाउन सफल भएको ठान्यो। आफैसँग मुसुक्क हाँस्यो र कागजको कप विस्तारै उचालेर चियाको चुस्की लिन थाल्यो।

हाम्रो यहाँको अर्को रमाइलो पक्ष के पनि छ भने आफूलाई सरकार चलाउने राजनैतिक पार्टीको नजिक भएको ठान्नेहरु चाहिँ सकारात्मक सोच भएका र देशमा विकास भइरहेको देख्नेन गर्छन् भने सत्ताभन्दा बाहिर रहेको राजनैतिक पार्टीको नजिक भएको ठान्नेहरु चाहिँ नकारात्मक सोच भएका र देशमा केही पनि नभएको दृष्टिकोण राख्नेमा गनिन्छन् र उनीहरुको यो दृष्टिकोण सरकार फेरिएसँगै फेरिइरहन्छ पनि। यस मानेमा छेपारो जस्ता हुन् यिनीहरु। छेपारो मौसम अनुसार आफ्नो रङग बदल्छ‚ यिनीहरु सरकारमा रहेको राजनैतिक पार्टी अनुसार आफ्नो दृष्टिकोण। यिनीहरुको मौलिक दृष्टि र दृष्टिकोण हुँदैन। त्यसैले त यस्ता टोले चिया पसलहरु जीवन्त रहने गर्छ।

लगभग बिहानको एघार बजेसम्म यो चियापसलमा मानिसहरुको चहलपहल रहने गर्छ। आउने र जानेहरु भइरहन्छ। डाक्टर कहाँ जानु पर्ने वा घर कुर्न जान हतार नभएकाहरु चाहिँ चिया थपेरै पनि बसिरहन्छन्। कोही कोही‚ चना वा अण्डा वा पफ खानेहरु पनि हुन्छन्। सार्वजनिक सेवा प्रवाह गर्ने अफिसमा बसेर सेवाग्राहीलाई सास्ती दिएरै निवृत्त भएकाहरु यहाँ चाहिँ अरुले भन्दा धेरै सुशासनका कुराहरु गर्छन्। यो अर्को विशेषता हो यो चिया पसलको। दिनमा अलि सुस्ताउँछ यो चिया पसल अनि साँझ चार बजेतिरबाट लगभग सात बजेसम्म फेरि यस्तै प्रक्रियामा चल्छ। यसैलाई यौटा सानो नेपाल भने पनि हुन्छ।

लगभग दश बज्ने बेलातिर बाक्लो चश्मा लगाएका एकजना मानिस चिया खान पसे। बेञ्चमा जीऊ यसो खुम्च्याएर कसैले उनलाई बस्ने ठाउँ मिलायो। “म त ढिलो भएछु आज” उनले आफ्नो उपस्थितिलाई सहज बनाउने कोसिस गरे। कसैले बोल्यो– “यहाँ सरको विज्ञताको खाँचो थियो। कस्तो गहन विषय उठेको थियो। आज सरै हराउनु भयो।” उनी कान अलि कम सुन्दा रहेछन्। “हजुर हजुर” भने र ङिच्च हाँस्दै बसे।

यहाँका खानदानी बेरोजगार र विज्ञ जानकारहरुको राम्रो पक्ष चाहिँ के छ भने अन्यत्र जस्तो वादविवादमा उत्रदैनन् यिनीहरु। यौटाले कुरा उठाउँछ‚ अर्कोले त्यसमा केही थप्छ वा आफ्नो भिन्न तर्क पेश गर्छ। त्यतिबेलासम्म अघि बोल्ने व्यक्ति अर्को कुनैसँग‚ अर्को कुनै विषयमा कुरा गर्दै टाउको हल्लाउन थालिसकेको देखिन्छ। आफैँले उठाएको विषय के थियो र कता पुग्यो भन्ने सम्म पनि मतलब गर्दैनन् यिनीहरु। त्यसैले त‚ यसलाई सानो नेपाल भने पनि हुन्छ भनेको। अर्थात्‚ यहाँ समय कटाउनु बाहेक कसैलाई कसैको कुरा गहिरिएर सुन्न वा त्यसलाई टुङगोमा पुर्याउन आवश्यक छैन। देशको संसदको बैठक जस्तो। बस् घरबाट निस्क। संसद भए छुट्याइदिएको कुर्सी‚ यहाँ चिया पसलमा चाहिँ खाली रहेको बेञ्च वा स्टुलमा गएर बस। मन लागुञ्जेल बस अनि संसदमा भए भत्ताको निमित्त हाजिर गरेर निस्क‚ यहाँ चिया पसलमा चाहिँ आफूले खाएको चियाको पैसा तिरेर निस्क। बाँकी दिनचर्या लगभग समान हुन्।
अघिको बाक्लो चश्मा लगाएका मानिसले चिया मगाएका रहेछन्। विना चिनीको दूध चिया। धेरै बेर भइसकेछ चिया आएको छैन। उनी अलि झोँक्किए जसरी कराए– “ए साहु भाई खै त चिया ?”
“ल्याएँ सर‚ एकै छिन।”
“विना चिनीको हो ?” उनले सोधे।
“होइन सर‚ विना चिनीको भन्नु भा हो र सरले ?” साहु भाईले प्रश्न गरे।
“मैले कैले चिनी भा’को खा’को छु र तपाईंका ?” प्रति प्रश्न गरे‚ बाक्लो चश्मा लगाएका मानिसले। ठ्याक्कै देशको संसदमा‚ सांसदहरुले बोले झैँ। साँच्चै हो कि ख्याल ठट्टा गरेको ? ठम्याउनै मुश्किल। साहु भाइले चिया फर्काएर लगे। त्यो चिया काममा आयो कि खेरा गयो थाहा भएन। देशको विकास बजेट जस्तै।

एकछिनपछि साहु भाईले सिसाको धर्के गिलासमा‚ हेर्दै रहर लाग्दो चिया लिएर आए र बाक्लो चश्मा लगाएका मानिसको अघिल्तिर टेबुलमा राखिदिए। चिया तातो भएकोले फूः फूः गर्दै‚ मुखको चुच्चोलाई सकेसम्म लामो पार्दै‚ चियाको गिलासलाई विस्तारै उचाल्दै आँखा चिम्म पारेर चियाको पहिलो चुस्की लिए र सन्तोषको सास फेरे। आँखा खोलेर चारैतिर हेरे। “ल सर विस्तारै खानु होला। आज सर ढिलो आउनु भो‚ भोलि गफ गरौंला” भन्दै मानिसहरु विस्तारै चिया पसलबाट निस्कन थाले।

“ए साहु भाई‚ के गरेको यस्तो ? यहाँ हेर्नुस” एकाएक जङगिए बाक्लो चश्मा लगाएका मानिस।
“किन र सर के भयो ?” साहु भाई आश्चर्यमा परे र उनको अघिल्तिर उभिए।
“हेर्नुस् त चियामा झिङगा‚ के गरेको यस्तो ? हेरेर लेउनु पर्छ नि ?” साहु भाइले गिलासमा हेरे। गिलासको चिया सफा थियो। चियामा केही थिएन। चियाको पत्ति समेत रहेनछ। लामो सास फेरे साहु भाइले र भने “चियामा त केही छैन सर।”

अलि लफडा पर्ला जस्तो देखियो। चियामा झिँगा देख्दादेख्दै साहु भाइले भनेको पत्याउने कुरा पनि थिएन‚ यी बाक्लो चश्मा लगाएका मानिसले। चियामा केही परेको नभएपछि‚ त्यत्तिकै आरोप मानेर चुप लाग्ने कुरा पनि भएन‚ साहु भाइले। यत्तिकैमा एकजना खानदानी बेरोजगार नजिक आए अनि दुबैको कुरा ध्यान दिएर सुने। उनको निमित्त यो राम्रो “ट्यामपास”को काम थियो।

उनले पैला चियाको गिलासमा हेरे। साहु भाइ ठिक थियो। चियाको गिलासमा केही परेको थिएन। उनले अब कुरा बुझाउनका लागि बाक्लो चश्मा लगाएका मानिसको अनुहारमा ध्यान दिएर हेरे। केही थाहा पाए जस्तो‚ झन् गहिरिएर हेरे। अनि केही बुझेजस्तो गरी मुस्काए अनि बोले– “अङ्कल‚ हजुरले चश्मा पुछ्न बिर्सनु भएछ आज। हजुरको चश्मामा के टाँसिएको हो यो ?” चश्माको बाक्लो सिसामा कुनै कालो वस्तु टाँसिएको थियो। यो सुनेपछि एकाएक जुरुक्क उठे अङ्कल‚ अङ्कलको चश्मा आफ्नो हातमा लिएर उभिए खानदानी बेरोजगार र चियाको गिलास हातले उठाउदै उभिए साहु भाइ। पसलबाट अरु सबै क्रमशः निस्कँदै गए र अब यिनै तीन प्राणी मात्र बाँकी रहे। हल्ला शान्त हुँदै गएपछि चिया पसलको कुनै कुनामा राखिएको टेलिभिजनबाट गुञ्जिएको हिन्दी गीतको मधुरो आवाज सुनियो–
“इक रास्ता है जिन्दगी
जो थम गए तो कुछ नहीँ
ये कदम किसी मुकाम पे
जो जम गए तो कुछ नहीं…”।

०००
२०८२ साउन ३१ गते‚
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ल तपाईंलाई पनि बधाई छ !

ल तपाईंलाई पनि बधाई...

राजेन्द्रप्रसाद अधिकारी
देउता‚ अनि तिमी चाहिँ किन चुप ?

देउता‚ अनि तिमी चाहिँ...

राजेन्द्रप्रसाद अधिकारी
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
तपाईंलाई चिन्ने कसरी हो ?

तपाईंलाई चिन्ने कसरी हो...

राजेन्द्रप्रसाद अधिकारी
हैन के छ त्यस्तो हाम्रो देशमा…

हैन के छ त्यस्तो...

राजेन्द्रप्रसाद अधिकारी
टोलको यौटा मासुपसल

टोलको यौटा मासुपसल

राजेन्द्रप्रसाद अधिकारी
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x