रामप्रसाद पन्थीजिभ्राहरूदेखि हाेसियार !
जेहाेस् अनेक स्वाद चाट्न सिपालु जिभ्राे कुरा काट्न पनि सिपालु रहेछ । किन्तु, परन्तु केही हाेइन । दुईजिभ्रे र कलजिभ्रे समाजका कलङ्क हुन् । यस्ता जिभ्राहरूकाे घर, थर र भर हुँदैन ।

रामप्रसाद पन्थी :
मानिस लगायतका अन्य प्राणीकाे शरीरमा जिभ्राेले आधिपत्य जमाएकाे कुरा सर्व विदितै छ । सबैजसाे प्राणीहरूमा जिभ्राे एउटै हुन्छ । बनावटका हिसाबले सर्पहरू भने दुई जिभ्रे मानिन्छन् । पुराणहरूमा हजार जिभ्रा भएका शेष नागहरूकाे चर्चा गरिएकाे पाइन्छ ।
आकारप्रकारका कुरा गर्दा; ससाना चरा, मुसा र किराहरूका जिभ्रा सानै हुन्छन् । भ्यागुता र सर्पजस्ता किरा खाने जनावरहरूका जिभ्रा लामा र धारिला हुन्छन् । जिराफकाे जिभ्राे ४५-५० सेन्टिमिटर लामाे हुन्छ । अनुसन्धानहरूले blue whale (निलाे ह्वेल ) काे जिभ्राे ३ मिटर लामाे र झण्डै २-३ टन ताैलकाे हुने बताएका छन् । सानाे हाेस् या ठूलाे , छाेटाे हाेस् या लामाे जिभ्राका अधिनमा छन् प्राणीहरू ।
सतही रूपले हेर्दा जिभ्राे बहुत् गुनी छ । यसले गुलियाे, मिठाे, तिताे, अमिलो, टर्राे आदि अनेक स्वादहरू दिएर ज्ञानेन्द्रीय हुनुकाे भाव झल्काएकाे छ । यसैगरी मान्छेलाई स्वाद छुट्टाउने र वाणी फुटाउने काममा अहम् भूमिका खेलेकाे छ ।
जिभ्राकाे थातबासका बारेमा कसैलाई बताउनै परेन । तर यसकाे चालढाल र भावभङ्गी भने अनाैठाे छ । चाैतर्फी रूपमा तिखा दाँत र बङ्गराहरूकाे सुरक्षा घेराभित्र घेरिएर रहेकाे जिभ्राे कुनै शासक वा प्रशासकभन्दा भिन्न छैन । ओढारभित्र लम्पसार परेर यसले जंगली राज चलाएकाे छ । अजिङ्गरकाे आहारा दैवले पुर्याउछ भनेकाे त्यसै रहेनछ । अजिङ्गरकै प्रतिरूप बनेर मानिसकाे मुखमा विराजमान जिभ्राे शेष शैय्यामा शयन नारायणकै अवतार पाे हाे कि ? शङ्का लाग्छ यसका अनेक लीलाहरू देखेर ।
अन्य ज्ञानेन्द्रीयका तुलनामा जिभ्राे निकै चलाख,धूर्त र गतिशील छ । नरमपन्थीका रूपमा प्रस्तुत हुन सिपालु जिभ्राे निजी स्वार्थका लागि अधिकतम् लचकता अपनाउन पछि पर्दैन । देख्दा जिभ्राे जति काेमल र मुलायम ठान्नुहुन्छ याे उति नै कठाेर र भयानक छ । त्यसैले म यसलाई तानाशाह भन्न रूचाउछु । तानाशाह पनि निरङ्कुशतावादी र उदारवादी दुई किसिमका फेला पर्ने गरेका छन् । यी दुवैको सम्मिलन जिभ्रामा देखिन्छ ।
उहिलेका भुरेटाकुरे रजाैटाहरू जस्तै जिभ्राे पनि कामुक , व्यभिचारी र निरङ्कुशतावादी छ भन्दा फरक नपर्ला । उहिले केही रजाैटाहरूले भर्खर विवाह गरेर ल्याउदै गरेकी दुलहीसँग रातभर सुखभाेग गरेपछि मात्रै दुलाहाकाे घरमा भित्रिन पाउने व्यवस्था गरेका थिए रे ! ठीक त्यसैगरी जिभ्राले जुठाे पारेर बिटुल्याएछि मात्रै अन्न र जलहरू केवल मल बन्नैका लागि आन्द्रा प्रदेशकाे मार्ग हुँदै अगाडि बढ्दछन् । तत्पश्चात जठराग्निमा पुगेर ताप र रापले पच्दा रहेछन् । अनि मलद्वार हुँदै फालिदा रहेछन् । यहाँभन्दा निरङ्कुशताकाे कुनै सीमा र हद हुन्छ र ?
उदारवादी चरित्रका रूपमा काेमलाङ्गी र कठाेराङ्गी जस्तोसुकै वस्तुहरूलाई जिभ्राले वशीभूत गर्दाे रहेछ । काेमल र लजालु स्वभावका तरल र अर्धतरल अवस्थाका कुमारीकाे कुमारीत्व यसकाे सम्पर्कमा रहनासाथ पग्लिएर सिद्धिदाे रहेछ । कडा स्वभावका जब्बर कुमारी परेछन् भने पनि दाह्रा धसेर हाेस् या तीखा दाँतले काेपरेर जबर्जस्ती स्वाद लिएरै छाेड्दाे रहेछ । यिनैका माध्यमबाट सम्पूर्ण अङ्ग अवयहरूलाई ऊर्जासति लगेर जाेड्दाे रहेछ ।
यी त भए जिभ्राका खाद्यान्नसँगकाे नाता साइनाेका कुरा । खाद्यान्नकाे अवस्था र व्यवस्थाका कुरा । अब गराैं वाणी व्यवहारका । अमरवाणी , महावाणी , भविष्यवाणी वा आकाशवाणी आजसम्म जे जस्ता वाणीहरू प्रकट भएका छन् त्यसमा जिभ्राकै महत्त्वपूर्ण भूमिका रहेकाे छ । जिभ्राकाे मिठासयुक्त कर्णप्रिय वाणीले सुख र शान्तिकाे आनन्दप्रसाद दिलाएकाे छ । छुद्र , कर्ण कटु र कर्कशा वाणीले विनाश निम्त्याएका असंख्य घटनाहरू ताजै छन् । समाजमा शान्ति वा क्रान्ति निम्त्याउनुमा जिभ्राे नै जिम्मेवार रहन्छ भन्दा अतिशयाेक्ति हुँदैन कि ?
शरीरका अन्य अङ्गहरूसित दाँजेर जिभ्राका बारेमा पहिल्यै कहिल्यै साेच्नु भयाे ? साेच्नु भएन ! तपाईंले सधैं जिभ्रालाई विलासी बनाउनु भयाे । वस्तुले दिने स्वादमा जिभ्राे पड्काउनु भयाे । जिभ्राले दिने हरेक स्वादले शरीरलाई दिनु पर्ने तत्व दिएकै हाेलान् ! यसमा भन्नू केही छैन । के धेरै खाएपछि गुँढ तीतो हुँदैन र ? जिभ्रालाई स्वाद दिने जङ्क फुड र बजारिया पेय पदार्थ कति स्वस्थकर छन् ?
हामीलाई केही प्रवाह छैन । प्रवाह मात्रै जिभ्राकाे छ । हामीले जिभ्राकाे चित्त दुखाउनु हुँदैन । पित्तलाई अप्ठ्यारो परे केही छैन ।
“अल्छे तिघ्राे स्वादे जिभ्राे ” त्यसै भनेका रहेनछन् बढुपाकाहरूले । जिभ्राे केवल स्वादकाे भाेकाे छ । तिघ्राले जाँगर नगर्दा जिभ्राे भाेकै रहन्छ । तर जिभ्राे यति निश्चिन्त छ कि लुटेर हाेस् या गिट्टी कुटेर हाेस् मान्छे जिभ्राे पूजाका लागि पछि पर्दैन ।
केही वर्ष अघि हर्के साहिंलाले भनेका थिए, “दुई जिभ्रे नेताले देश बिगारे । अब आन्दोलनकाे विकल्प छैन । अब यी दुई जिभ्रे अजिङ्गरहरूलाई डाँडाे कटाउनु पर्छ ! “त्यसबेला कुरा नबुझेर अलिबेर अलमलिएँकाे थिएँ । मान्छेमा त एउटै मात्रै जिभ्राे हुन्छ । आफूसित पनि एउटै छ । पाेहाेर दशैमा घर आएकाे माैका पारी माननीय भएका काकालाई जिभ्राे देखाउन लगाएँ । एउटै थियाे । मैले निर्धक्क भएर काकालाई भनें “धन्न काका तपाईं त दुई जिभ्रे हाेइन रहेछ । दुई जिभ्रे नेताले देश बिगारे भनेर गाउँभरि हल्ला छ । अब बल्ल ढुक्क भइयाे ।” मेराे कुरा सुनेर काका जिल्ल परे । कुनै प्रतिक्रिया जनाएनन् ।
दिनहरू बित्दै जाँदा उनै आदरणीय माननीय काका सामाजिक सञ्जालमा भाइरल भएकाे समाचार आयाे । गाउँलेहरूलाई अनेक सपना देखाउन खप्पिस काका अनेक काण्डमा मुछिएकाे कुरा थियाे ।
गाउँघरमा केही दिनदेखि भित्र भित्र युवा जिभ्राहरू कानेखुसी गर्दै थिए । नभन्दै एकदिन युवा विद्यार्थीहरू सडकमा उत्रिएकाे खबर आयाे । केही छिनमै युवाहरू गाेली लागेर मृत्युकाे मुखमा पुगेकाे सुनियाे । देशभर आगाे लाग्याे । काला जिभ्राहरू व्यक्तिका घर र सार्वजनिक सम्पति खरानी बनाउन सक्रिए भएकाे गाइँगुइ कानले सुनायाे ।
खरानीकाे थुप्राेमा उभिएर केही जिभ्राहरूले उद्घाेष गरे -“सत्ताकाे स्वादमा रमाएका जिभ्राहरू एकएक गरी खेदिनेछन् । शहीदका सपना साकार पारेरै छाेडिनेछ । भ्रष्टाचारको अन्त्य, पारदर्शिता र सुशासन अबकाे गन्तव्य हाे ।”
उसैगरी अर्काथरि जिभ्राहरू खरानी घसेर भन्दै थिए, “विद्यार्थीका नाममा देशी विदेशी प्रतिक्रियावादीकाे घुसपैठले विध्वंसात्मक गतिविधि गर्याे । यसकाे एकएक हिसाब हुनेछ । ए .आइ. काे फेक भिडियो प्रदर्शन गरेर चरित्र हत्या गरियो । सत्यतथ्य छानबिन् हाेस् ।”
जिभ्राहरूका आ-आफ्नै अडान थिए । जसका कुरा सुने पनि हाे कि हाे कि लाग्ने ? आज बल्ल थाहा पाएँ – जिभ्राकाे शक्ति, जिभ्राकाे करामत ! हाड नभएकाे जिभ्राे जता पनि पल्टिन्छ भन्थे हाे रहेछ ! समय र परिस्थितिलाई समातेर एकाएक मालामाल हुने एकाथरि जिभ्राहरू हुँदा रहेछन् । आफूलाई बाघ र अरूलाई बिराला ठान्ने अर्काथरि दम्भी जिभ्राहरू आफूआफूमा हात हालाहाल गर्दा रहेछन् । यस्तै द्वैध चरित्रका जिभ्राहरूकै कारण देश कङ्गाल भएकाे ठम्याइ तेस्रा थरिका जिभ्राहरूकाे पाइयाे ।
भैंसीले पाडाे पाए पनि बिगाैती पाडी पाए पनि बिगाैती । बिगाैतीमा रमाउने जिभ्राहरूलाई बिगाैतीकाे स्वाद भए भयाे । जसरी पनि स्वाद फेर्न पल्किएका जिभ्राहरूलाई देश रहे वा नरहे पनि फरक पर्दैन । लाेकतन्त्र वा राजतन्त्रले फरक पार्दैन । यस्ता जिभ्रालाई बिरालाे बिहाउनु वा तुहिनुसँग सम्बन्ध हुँदैन । ढाडेसित मिलेर हाेस् या साँढेसित जिभ्राे पड्काएर डकार्न पाए पुगिहाल्याे ।
जेहाेस् अनेक स्वाद चाट्न सिपालु जिभ्राे कुरा काट्न पनि सिपालु रहेछ । किन्तु, परन्तु केही हाेइन । दुईजिभ्रे र कलजिभ्रे समाजका कलङ्क हुन् । यस्ता जिभ्राहरूकाे घर, थर र भर हुँदैन । बिना ठेगानका , बिना लगामका स्वार्थी जिभ्राहरूदेखि हाेसियार !
०००
२०८२ कार्तिक २
रेसुङ्गा न पा २ गुल्मी
Subscribe
Login
0 Comments
Oldest








































